विकासन्युज

सहकारीको रकम भ्रष्टाचार गर्नेलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा(एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन् । उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए । विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताए । आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको जानकारी दिए । उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गरे । राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताए । सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राखे । ‘नेपाली समाजवादको एउटा रुप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त गर्यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ’, उनले भने । जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताए । क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने जानकारी दिए ।

आज अमेरिका प्रस्थान गर्दै अर्थमन्त्री, विश्व बैंक समूह र आईएमएफको वार्षिक बैठकमा भाग लिने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार अमेरिका प्रस्थान गर्दैछन् । उनी विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्न लागेका हुन् । डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

एकसाथ ४० सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । एकसाथ ४० जना सहसचिव सरुवा भएका छन् । कार्तिक २ गते बसेको मन्त्रिपरिषद्काे बैठकले एकसाथ ४० जना सहसचिव सरुवा गर्ने निर्णय गरेको हो । [pdf id=518191]

दिल्लीको वायु गुणस्तर खराब स्तरमा

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३४९ मा झरेको छ । चिसो मौसम, पूराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदुषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । धुलो धुवाँले राजधानीलाई ढाकेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो । इन्डिया गेट नजिकैका वरपरका क्षेत्रहरूमा एक्यूआईको तह ३०९ रेकर्ड गरिएको छ भने सफदरजङ्गमा ३०७ रेकर्ड गरिएको छ । यो तहले वायुको खराब गुणस्तरलाई चिन्ह्ति गर्छ । यसैबीच, भारतका नदीहरूमा प्रदूषणको स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको जनाइएको छ । वातावरणविद् विमलेन्दु के झाले यस घटनालाई दिल्लीको वातावरण मैन्त्री शासनको पूर्ण उपहासको रुपमा व्याख्या गरेका छन् । उनले प्रदूषण दिल्लीबाटै भएको उल्लेख गरेका छन् । यसअघि एएनआईसँग कुरा गर्दै इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरको कोटक स्कुल अफ सस्टेनेबिलिटीका डिन प्रोफेसर सच्चिदानन्द त्रिपाठीले ‘यमुना नदीमा विषाक्तताको प्रभाव खतरनाक रहेको बताएका थिए । उनका अनुसार साबुन, डिटर्जेन्ट र अन्य प्रदूषकहरूबाट नदीमा बग्ने फोहोर पानीमा ठूलो मात्रामा मिसिनाले बारम्बार यस्ता घटना हुने गर्छन् ।

बन्द भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने

काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौडा सिमेन्ट कारखानाको पनि धावर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्यांकन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रकृया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिनेछ । समितिको बैठकमा दिइएको जानकारी अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योग, विराटनगर जुट मिल, वुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयेदेखि बन्द र रुग्ण छन् । यसैगरी उदयपुर र हेटौडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, संघीय संसद अर्थ समितिका सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य तथा निजीकरण समितिका सदस्य राजन केसी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, मन्त्रालयहरुका सचिव लगायत सहभागी थिए ।

रारा रिसोर्ट निर्माण : स्वीकृति भयो आईईई, डेढ वर्षभित्र निर्माण सम्पन्न हुने, लगानी करिब २ अर्ब

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनको समयमा सम्झौता भएको नेपालकै ड्रिम प्रोजेक्ट रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अष्ट्रेलियन लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो । उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले सोमबारमात्र स्वीकृति प्रदान गरेको हो । विभागले रारा क्षेत्रमा १९ वटा भवनमा ६२ कोठा र ९८ शैया क्षमता रहने गरी लक्जरी रिसोर्ट निर्माणका लागि आईईई अनुमति प्रदान गरेको हो । अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्न लागेको उक्त होटलको लागत करिव २ अर्ब रुपैयाँ रहनेछ । अष्ट्रेलियाका एक्सपर्ट ग्ररुपको मूख्य लगानी रहने उक्त रिसोर्टमा नेपाली साझेदारका रूपमा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले नेतृत्व गर्नेछन् । उक्त रिसोर्ट मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्न लागेको हो । डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोत-साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको सञ्चालक शाहले बताए । ‘भर्खरै मात्र पर्यटन विभागले रिसोर्ट निर्माणका लागि आईईई स्वीकृति प्रदान गरेको छ,’ शाहले भने, ‘अब केही समयभित्रै अन्य थप प्रक्रिया पुरा गरी निर्माण चरणमा प्रवेश गर्नेछौं ।’ साथै उक्त रिसोर्ट निर्माणसँगै रारा क्षेत्र विकासको लागि कोशेढुंगा सावित हुने स्थानीय सरोकारवालाहरू बताउँछन् ।

सरकार परिवर्तनको हल्ला सेयर बजारमा, ‘छिट्टै उच्च बिन्दुमा पुग्छ’

काठमाडाैं । दशैंपछि लगातार बढेको सेयर बजार पछिल्लो दुई दिनदेखि फेरि घट्न थालेको छ । पछिल्लो दुई दिनमा सेयर बजार परिसूचक नेप्से १०५.४३ अंकले घटेको छ । हिजो आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ३९.९२ बिन्दुमा रोकिएको छ । आज १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस दिन २२१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २३ वटा कम्पनीको मूल्य वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले वृद्धि हुँदा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ अंकले वृद्धि भएको छ । न्यादी ग्रुप पावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । हिमालय रिको २२ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । किन घट्यो ? सेयर बजारका जानकारहरूले राजनैतिक हलचलका कारणले सेयर बजार घटेको बताउँछन् । सेयर लगानीकर्ता राधा पोखरेलले पछिल्लो समय सरकार ढल्छ भन्ने समाचारहरू आएकाले त्यसको असर सेयर बजारमा देखिएको बताउँछिन् । उनले भनिन्,  ‘रवि लामिछाने पक्राउ परेपछि सरकार ढल्छ भन्ने हल्लाहरू आएका छन् । यस्ता हल्ला रवि पक्रिनुपूर्व पनि आएका थिए । यिनै कुराले सेयर बजार घटेको हुनसक्छ ।’ इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार पनि सरकार परिवर्तन हुने कुराले बजार घटेको बताउँछन् । उनले भने, ‘दुई तिहाइको सरकार ढल्ने समाचारहरू आएका छन् । यसले लगानीकर्ताको मनोबल खस्किएको हुनसक्छ । त्यसले गर्दा सेयर बजार घटेको हो ।’ तर, उनले अहिले सरकार परिवर्तन भएपनि बजारलाई असर नगर्ने बताए । उनका अनुसार अहिले बैंकको ब्याजदर न्यून रहेको छ । बैंकले तरलता पनि प्रशस्तै छ । चाहिए जति ऋण बैंकले दिने अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो बेला भनेको सेयर बजार उकालो लग्ने बेला हो ।’ रौनियारले यथार्थलाई नबुझेर विभिन्न हल्लाको पछि नलाग्न पनि लगानीकर्तालाई अनुरोध गरेका छन् । उनले एक-दुई दिन बजार ओरालो लागे पनि खासै चिन्ता लिनु पर्न अवस्था नहरेको बताए । उनका अनुसार केही दिनमै बजारले आफ्नो लय पक्रिने छ । उनले बजार उकालो लागेर बजारले नयाँ रेकर्ड राख्ने दाबीसमेत गरे । उनले भने, ‘बजारले एक-दुई दिनमै उकालो यात्रा तय गर्छ । पहिलाको उच्चतम बिन्दुको रेकर्ड पार गरेर अघि बढ्छ ।’

खानेपानी मन्त्रालयको कार्यप्रगतिः उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याउन सफल

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेका सय दिनमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री यादवले सोमबार यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर पानी पथान्तरण गर्न सफल भएको बताए । यस वर्षको ‘मनसुन’ सुरु भएपछि बन्द भएको मेलम्ची खानेपानी आयोजना सञ्चालनका क्रममा आवश्यक मर्मतसम्भारसहित विरोधमा उत्रेका स्थानीय जनतासँग निरन्तर छलफल र समन्वय गरी मेलम्चीको पानी काठमाडौं ल्याएको उनले स्पष्ट गरेका छन् । मेलम्चीवासीसहित मुहान क्षेत्रका सरोकारवाला जनताका तर्फबाट विभिन्न माग राखी चरणबद्ध रुपमा आन्दोलन भइरहेको अवस्थामा विरोधमा उत्रेका स्थानीय जनतालाई विश्वासमा लिएर मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवले बताए । गत असोज २२ गतेदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण तथा वितरण कार्य सुरु भइसकेकाले अब काठमाडौंवासीले खानेपानीको समस्या झेल्नुनपर्ने मन्त्रालयले बताएको छ । यसैगरी, काठमाडौंको कोर क्षेत्रअन्तर्गत न्युरोड–ठमेल क्षेत्रमा बिच्छ्याइएको थप ३० किमी पाइपलाइनमा परीक्षणका रुपमा पठाएको पानी वितरण प्रणालीमा समस्या नदेखिएपछि नयाँ पाइप सञ्जालबाट आपूर्ति व्यवस्था मिलाएको तथा ठमेलसहित आसपासका क्षेत्रमा ३४ दशमलव ८९ किमी पाइपलाइनमा समेत परीक्षण कार्य पूरा गरी नियमित रूपमा पानी आपूर्ति गर्न लागेको मन्त्रालयले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा अहिलेसम्म एक हजार सात सय किमी पाइप विस्तार गरेको, सो आयोजनामार्फत दैनिक १७ हजार लिटर पानी आपूर्ति हुने गरेको तथा हाल उपत्यकामा ४७ हजार लिटर पानीको माग देखिएको स्पष्ट गरेको छ । खानेपानी मन्त्रालयले गत असोज १० गतेदेखिको बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा बिग्रेभत्केका ढलहरुको मर्मतसम्भारसहित व्यवस्थापन गरेको उल्लेख गरेको छ । यसैगरी, कीर्तिपुरमा ६० लाख र महाँकालचौरमा ८० लाख लिटर क्षमताको पानीपोखरी निर्माण कार्य गत असोजमा पूरा गरी त्यस क्षेत्रका जनतालाई पानी सुनिश्चित गर्ने काम भएको मन्त्रालयले जनाएको छ । योसँगै कीर्तिपुरमा ६ हजार र महाँकालचौरमा आठ हजार घनमिटर क्षमताको पानीपोखरी तयार भएको छ । बाढीपहिरोका कारण पानी आपूर्ति व्यवस्था बन्द भएको ललितपुर जिल्लामा खानेपानीको प्रबन्ध गर्ने क्रममा सम्बद्ध क्षेत्रका सङ्घीय तथा प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरू समेतको सहयोगमा ललितपुरवासीलाई खानेपानीको व्यवस्था गरेको मन्त्रालयले स्पष्ट गरेको छ । त्यस्तै, तीन करोड ७० लाख लिटर क्षमताको धोबीघाट फोहोरपानी प्रशोधन केन्द्रलाई हालैको बाढीले नोक्सान पुर्याएपछि  प्रशोधन कार्य रोकिएको सन्दर्भमा बीमा कम्पनीबाट क्षतिग्रस्त उपकरणको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थासहित मर्मतसम्भार तथा सञ्चालनको कामलाई दु्रतगतिमा अघि बढाउन दिएको निर्देशनअनुसार काम भइरहेको छ । यसैगरी, बाढीका कारण काठमाडौँ उपत्यकामा बिग्रएका काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) का पानी प्रशोधन केन्द्रका उपकरणहरु तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिनु भई अहिले काम सुरु भइरहेको मन्त्रालयले जनाएको छ । ललितपुर जिल्लाको नल्लु, वासुकी, र देवकीस्थित खानेपानी मुहान क्षेत्रमा पुगेर पछिल्लो समय आएको बाढीले खानेपानीको संरचनामा पुर्याएको क्षतिको विवरण लिई अवरुद्ध भएको खानेपानी आपूर्ति यथासक्य छिटो सञ्चालन गर्न निर्देशन दिएबमोजिम सम्बद्ध निकायमार्फत द्रुतगतिमा काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकास्थित मन्त्रालयसम्बद्ध एकीकृत खानेपानी आयोजना, नेपाल खानेपानी संस्थान तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको परियोजनामा पुर्याएको क्षतिको जानकारी लिई मर्मतसम्भारका लागि निर्देशन दिनुभएअनुसार तदारुकताका साथ काम भइरहेको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्रालयको पहलमा गत महिना भेरी पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्ने क्रममा  चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भई संयुक्त रूपमा सर्वेक्षेणको कामसमेत सुरु भएकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको व्यवस्था हुने भएको छ । सय दिनको यस अवधिमा जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण कार्य सम्पन्न भएको खानेपानी मन्त्रालयले जनाएको छ ।