ग्लोबल आइएमई बैंकले पायो वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४
काठमाडौं । ग्लोबल आइएमई बैंकले वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ । उक्त अवार्ड ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गरेको हो । उक्त अवार्ड बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शनिवार अमेरिकामा ग्रहण गरे । ग्लोबल फाइनान्सले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न विधामा अवार्ड दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरूमध्येबाट प्रदान गर्ने वर्ल्ड बेष्ट बैंक अगार्ड-२०२४ बाट ग्लोबल आइएमई बैंकलाई विभूषित गरेकोमा निकै खुसी लागेको छ । ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान हो । यो अवार्डले ग्लोबल आइएमई बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ, ’ अवार्ड प्राप्त गरेपछि बैंकका अध्यक्ष ढकालले भने । ‘यो उपलब्धि हामी सबैको लागि प्रेरणा हो । यसले हामीलाई अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्नेछ,’ उनले थपे, ‘आगामी दिनहरूमा पनि अझै जिम्मेवार भई उच्चस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ ।’ बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले यो उपलब्धि प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।
घिमिरे किक बक्सिङको विश्व विजेता, फ्रान्सका मार्काेनीलाई एक मुक्कामै ढाल्न सफल
काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका हुन्। इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिए । ‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउण्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेशनल किक बक्सिङ’को उपाधि चुमेका हुन् । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए । उनले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई वटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्। कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।
रोक्का गरिएको रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जीसेभनको अन्तिम निर्णय
वासिङ्टन/ एएफपी । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जीसेभनका नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोग स्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तीमार्फत शुक्रबार घोषणा गरेका छन् । सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन् । “युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ”, जीसेभनका नेताहरूले बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो । “युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौँ”, समूहले प्रतिबद्धता जनाएको छ । उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् ।
वितरणयोग्य नाफा, ईपीएस र खराब कर्जाको आधारमा २० वाणिज्य बैंकको तुलना, को केमा अगाडि ?
काठमाडाैं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिला त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकहरूले सार्वजनिक गरेको रिपोर्टअनुसार वितरणयोग्य नाफामा नबिल बैंक अगाडि रहेको छ । यसैगरी, प्रतिसेयर आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ भने खराब कर्जा कम हुनेमा एभरेष्ट बैंक अगाडि छ । वितरण योग्य नाफा नबिलको ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । वितरण योग्य नाफाका आधारमा कृषि विकास बैंक दोस्रो नम्बरमा रहेको छ । कृषि विकासको २ अर्ब ७९ करोड ३१ लाख रपैयाँ वितरण योग्य नाफा रहेको छ भने प्राइम कमर्सियल बैंकको २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब २ करोड ५ लाख, ग्लोबल आईएमई बैंकको १ अर्ब ९१ करोड ६१ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब ८६ करोड ९० लाख, सानिमा बैंकको १ अर्ब ७१ करोड ३५ लाख, एभरेष्ट बैंकको १ अर्ब ६३ करोड ९ लाख, एनएमबी बैंकको १ अर्ब ६ करोड ६७ लाख र माछापुच्छ्रे बैंकको १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) प्रतिसेयर आम्दानी (ईपीएस)का आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ । स्ट्याण्डर्डको ईपीएस ३६.५७ रुपैयाँ रहेको छ भने नेपाल एसबीआई बैंकको ३१.०३ रुपैयाँ रहेको छ । यसैगरी, नबिल बैंकको २९.८३ रुपैयाँ प्राइम कमर्सियल बैंकको ईपीएस २६.५३ रुपैयाँ, एनएमबी बैंकको २४.९५ रुपैयाँ र प्रभु बैंकको १७.६४ रुपैयाँ ईपीएस रहेको छ । ईपीएस कम हुनेमा एनआईसी एशिया बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ । खराब कर्जा सबैभन्दा धेरै खराब कर्जा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगाको जम्मा कर्जाको ५.८४ प्रतिशत खराब कर्जा रहेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ र सिटिजन्स बैंकको ५.४१ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरी, हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४ं९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्सियलको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत खराब कर्जा रहेको छ ।
विद्युत महशुलको विवादबारे सरकारी निकायहरुको साझा धारणा हुनुपर्ने
विराटनगर । औद्योगिक तथा लगानीको वातावरण निर्माण गर्न सरकारका सबै सम्बन्ध निकायहरुले समन्वयात्मक ढंगले नतिजामूखि कार्य गर्नुपर्नेमा सरकारका आफ्नै विभिन्न निकायहरु बिच आपसी समन्वय नहुदा औद्योगिक एवं लगानीको वातावरण बिग्रदै गएको भन्दै उद्योग संगठन मोरङले चासो व्यक्त गरेको छ । लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड विद्युत महशुलको विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणले शुक्रबार उद्योगहरुमा पुनः लाईन काटेपछि उत्पन्न परिस्थितीलाई लिएर संगठनले विवाद समाधान गर्ने भन्दा पनि सरकारी निकायहरु बिचमै आफ्नो अनुकुलतामा कहिले लाईन काट्ने कहिले जोड्ने श्रृङ्खला चलेको र यस प्रकारको कार्यले औद्योगिक वातावरण सुद्दृड हुन नसक्ने जनाएकोे छ । विवाद समाधानका लागी जिम्मेवार निकायहरु नेपाल विद्युत प्राधिकरण, नेपाल सरकार तथा अन्य सम्बन्ध सरकारी निकायहरु बिच यस्तो संवेदनशिल विषयका सम्बन्धमा एउटै धारणाका साथ आउनु पर्नेमा तत् निकायहरु बिच मै यो तहको ढिलाई, लिङंरिङ तथा फरक फरक व्याख्या हुने, एउटा विवादको निरुपण यति लामो समयसम्म हुन नसक्दा औद्योगिक वातावरण प्रभावित हुने भन्दै यो विवादको यथाशक्य न्यायोचित समाधान गर्न सरोकारवाला सबैलाई संगठनले अपिल गरेको छ । गलत गर्नेले उन्मुक्ती कदापी पनि पाउनु हुदैन भन्ने कुरामा संगठन स्पष्ट रहेको जनाउँदै संगठनले जिम्मेवार निकायहरुले समन्वयात्मक ढंगबाट यो विवादित समस्याको तत्काल समाधान गरि समग्र नीजि क्षेत्रप्रति बढ्दै गरेको नकारात्मक भाष्यप्रति संवेदनशिल हुन नेपाल सरकार तथा सम्बन्धी सबैलाई आग्रह गरेको छ ।
सिंगापुरका काम लगाइदिने भन्दै करोडौं रकम असुल्ने सुजन आचार्य विमानस्थलमै पक्राउ
काठमाडौं । युवा सुजन आचार्य पक्राउ परेका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । ठगी आरोपमा आचार्यविरुद्ध पक्राउका लागि इन्टरपोलमा नोटिस जारी गरिएकाे थियाे । उनलाई अध्यागमन र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको छ । आचार्य २ वर्षअघि करोडौं रुपैयाँ ठगेर फरार भएका थिए । झण्डै ५० भन्दा बढी युवाहरूले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उनले सिंगापुरका हाेटलमा काम लगाइदिने भनी थुप्रै युवाबाट कराेडौं रकम असुलेर फरार भएका थिए । इन्टरपोलमा नोटिस जारी गरेको भए पनि आचार्य आफै आज विमानस्थल झरेपछि अध्यागमन कार्यालयले पक्राउ गरेको हो । उनले पीडितहरूलाई पैसा फिर्ता गरेर मुद्दा मिलाउन स्वदेश आएको दावी गरेका छन्। सिंगापुरमा काम लगाइदिने भन्दै आचार्यले अनुमानित १० करोड रुपैयाँ ठगेको हुनसक्ने बताइएकाे छ ।
कलंकीको भाटभटेनीमा काठमाडौं महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरले कलंकीस्थित भाटभटेनीमा डोजर चलाएको छ । महानगरले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो । महानगरले भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको हाे । चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै महानगरले हटाउन आग्रह गरेकाे थियाे । उक्त आग्रह भाटभटेनीले अटेर गरेपछि डोजर चलाइएकाे हाे । महानगरले सार्वजनिक जग्गा अतिक्रमित गरी बनाएकाे दुईवटा शौचालय पनि भत्काएकाे छ ।
अध्ययन भन्छ- धेरैजसो हृदयघात सोमबारको दिन किन हुन्छ ?
सांकेतिक तस्बिर । काठमाडौं । हृदयघात (हर्टअट्याक) कसलाई कतिखेर आउँछ थाहा नै हुँदैन । आजभोलि विश्वमै हृदयघात भएर ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पनि धेरैजसोको मृत्यु हृदयघातबाटै भएको सुनिन्छ । हृदयघात कुन बेला हुन्छ, कसरी हुन्छ भनेर विभिन्न अध्ययन-अनुसन्धानले आ-आफ्नै तर्क पेस गरेका छन् । तर एउटा अनुसन्धानले अन्य दिनभन्दा सोमबारको दिनमा हृदयघात हुने गरेको देखाएको छ । चिकित्सक र केही रिपोर्टहरूले सोमबार हृदयघात बढी हुने बताएका छन्। आउनुहोस्, हर्टअट्याकको समय के हो ? यो विषयमा संक्षिप्त वर्णन गरौं । धेरैजसो हृदयघात दिनको कुन समयमा हुन्छ ? आधुनिक समयमा हृदयघातको जोखिम निकै बढेको छ । अहिले वृद्धवृद्धा मात्र नभई युवाहरू पनि हृदयघातको शिकार बन्दै गएका छन् । ठूला सेलिब्रेटीहरू पनि सानै उमेरमा हृदयघातको सिकार हुने गरेका छन् । हर्टअट्याकको कुनै निश्चित समय नभए पनि के तपाईंलाई थाहा छ?- अधिकांश हृदयघात एक निश्चित दिनमा हुने गर्दछ । हो, ब्रिटिस हार्ट फाउन्डेसनको रिपोर्टले अधिकांश हृदयघात सोमबार हुने गरेको दाबी गरेको छ । अन्य दिनको तुलनामा यो दिनमा हृदयघातको दर १३ प्रतिशत बढी हुन्छ । धेरैजसो व्यक्ति सोमबारलाई ‘ब्लु सोमबार’ पनि भन्ने गर्छन् । यसैगरी, सोमबार बिहान ६ देखि १० बजेसम्ममा सबैभन्दा बढी हृदयघात हुने गर्छ । तर यसबारे कुनै ठोस वा सही अनुसन्धान भने भएको छैन । केही मुख्य कारणहरू यस्ता काममा फर्कने तनाव साप्ताहिक रूपमा आराम गरेपछि काममा फर्किंदा धेरैलाई मानसिक तनाव हुन्छ । सोमबार कामको चापले अचानक तनाव र ब्लड प्रेशर बढाउँछ, जसले हृदयघातको जोखिम बढाउँछ । सुत्ने तालिका बदलिनु धेरैले राति ढिलोसम्म जागै बसी बिहान ढिलो उठ्ने गर्छन् । यसले शरीरको प्राकृतिक घडीमा परिवर्तन ल्याउँछ । जसले उनीहरूको निन्द्रा पूरा नहुन सक्छ । अनिद्राको कारण हृदयमा तनाव पर्न जान्छ, जसले हृदयाघातको जोखिम बढाउँछ । शारीरिक गतिविधि अचानक बढाउनु कतिपयले सोमबारदेखि व्यायाम सुरु गर्ने सोच बनाउँछन् । तर अचानक कडा व्यायाम गर्दा हृदयमा तनाव पर्न जान्छ, विशेषगरी यदि शरीर तयार नभएको खण्डमा हृदयघात हुनसक्ने सम्भावना हुन्छ । कार्डियोथोरासिक सर्जन डा. श्रीराम भन्छन्, ‘सोमबार बिहान उठ्दा रगतमा कोर्टिसोल हर्मोनको स्तर निकै उच्च रहन्छ । यसले सर्काडियन लय, सुत्ने र उठ्ने चक्रको परिणाम हुन सक्छ । कोर्टिसोल हर्मोनमा अचानक उतारचढावका कारण, निद्रा र ब्यूँझने चक्र प्रभावित हुन्छ । यस्तो अवस्थामा हृदयाघातको सम्भावना बढ्छ ।’ एजेन्सीको सहयाेगमा