वैदेशिक रोजगार बोर्डका हाकिमले २० लाख घुस लिएको आरोप
काठमाडाैं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. द्वारीक उप्रेतीले २० लाख रुपैयाँ घुस लिएको उजुरी परेको छ । उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै भूपाल विश्वकर्मा नाम भएका व्यक्तिबाट २० लाख रुपैयाँ लिएको आरोपसहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको हो । कार्यालयले उक्त विषयको छानविन गर्नका लागि श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयलाई पत्र पठाइसकेको मन्त्रालयका सहसचिव निश्चल पाण्डेले विकासन्यूजलाई जानकारी दिए । उनले भने, ‘२० लाख लिएको उजुरी परेको भन्दै छानविनका लागि मन्त्रालयलाई कार्यालयले पत्र पठाएको छ । छानविन समिति पनि गठन भइसकेको छ ।’ उनका अनुसार उप्रेतीलाई मन्त्रालयमा तानिएको छ । छानविनका लागि उपसचिव शारदा राउतको नेतृत्वमा समिति पनि गठन भएको छ । मन्त्रालयले हाल बोर्डको नेतृत्वको लागि सहसचिव जीवलाल भूसाललाई जिम्मेवारी दिएको छ । छानविन समितिको संयोजक राउतले अबको केही दिनमा नै छानविन सुरु हुने बताइन् । आरोपका विषयमा विकासन्यूजले उप्रेतीसँग साेधपुछ गर्न खाेजेकाे थियाे तर फोन रिसिभ भएन ।
अस्ट्रेलियामा टेक्सास कलेजलाई उत्कृष्ट आइटी कलेजको उपाधि
काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले उत्कृष्ट आइटी कलेजको उपाधि जितेको छ। अस्ट्रेलियाको अस्ट्रेलिया नेशनल युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा कलेजले उपाधि जितेको हो । टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले अवार्ड ग्रहण गरे । उक्त कार्यक्रम कलेज रिडर्स म्यागेजिनले आयाेजना गरेकाे थियाे । साेही अवसरमा उत्कृष्ट शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो । निर्णायक मण्डलले नेपालका विभिन्न कलेजहरूको आइटी शिक्षा, नवप्रवर्तन र विद्यार्थीहरूको सफलतालाई आधार मानेर मूल्याङ्कन गरेको मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपकबहादुर शाक्यले जानकारी दिए । उनकाे संयाेजकत्वमा निर्णायक मण्डल गठन गरिएकाे थियाे । अवार्ड ग्रहण गरेपश्चाते टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ ।
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ६७ हजार ४ सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनकाे मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे । उक्त रेकर्ड आज ताेडिएकाे हाे । यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।
अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की
काठमाडौं । गर्भ रोक्न के गर्नुपर्छ ? सजिलो उत्तर हो- परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने । अस्थायी साधन महिलाका लागि थरिथरिका छन् भने पुरुषहरूका लागि मात्र कण्डम एउटा अस्थायी साधन हो । त्योभन्दा अर्को विकल्प भनेको प्राकृतिक विधि हो, जुन वीर्य स्खलन गर्नुअघि लिंगलाई योनीबाट बाहिर निकाल्नु । तर, यो विधिले गर्भ रोक्छ भन्ने यकिन हुँदैन । महिलाका लागि सुइदेखि खाने चक्कीहरू उपलब्ध छन् । तर, अब भने पुरुषहरूका लागि पनि गर्भनिरोधक चक्कीहरू पनि बजारमा आएको छ । जसले अनिच्छित गर्भबाट बच्न सहयोग पुग्ने छ । अहिले विश्वभर दुई अरबभन्दा बढी पुरुषहरू छन्, जो आफ्नो प्रजनन उमेरमा छन्, अर्थात् पिता बन्ने सबैभन्दा राम्रो उमेरमा । कयौं पटक अनिच्छित गर्भधारणका घटना पनि बाहिर आउने गर्छन् । महिलाहरूले अक्सर अनावश्यक गर्भधारणबाट बच्नको लागि भार वहन गर्नुपर्छ, जबकि पुरुषहरूले आफ्नो प्रजनन रोक्नको लागि कुनै विकल्प छैन । हामी भन्न सक्छौं कि पुरुषहरू अनावश्यक गर्भावस्था रोक्न कुनै पनि तरिकाले मद्दत गर्न सक्षम छैनन् । यस्तो अवस्थामा अहिले खुसीकाे खबर आएकाे हाे । अब पुरुषहरूको लागि अनावश्यक गर्भावस्था रोक्न धेरै विकल्पहरू छन् । पुरुषहरूसँग पनि यस्ता धेरै विकल्पहरू छन् जुन तुरुन्तै किन्न सकिन्छ । तर, गर्भवती हुन नदिन बजारमा जे पनि पाइन्छ, त्यहाँ कुनै सय प्रतिशत ग्यारेन्टी छैन कि तिनीहरू पूर्ण रूपमा प्रभावकारी हुनेछन् वा हुनेछैनन्। प्रजनन् क्षमता नियन्त्रणमा पुरुषको चासो अहिले विश्वभर अधिक पुरुषहरूले आफ्नो प्रजनन क्षमता नियन्त्रण गर्न चासो देखाउँछन्। गेट्स फाउन्डेसन र संयुक्त राष्ट्रसंघजस्ता संस्थाहरूद्वारा समर्थित विश्वव्यापी अध्ययनले पुरुषहरूमा गर्भनिरोधकहरूमा रुचि बढ्दै गएको देखाएको छ । बंगलादेशमा ७६ प्रतिशत, नाइजेरियामा ७६ प्रतिशत, भियतनाममा ७० प्रतिशत, कंगोमा ६६ प्रतिशत,आइभरी कोस्टमा ६२ प्रतिशत पुरुष, केन्यामा ५२ प्रतिशत पुरुष र अमेरिकामा ३९ प्रतिशत पुरुषले यसमा चासो देखाएका छन् । पुरुषहरूका लागि गर्भनिरोधक विकल्पहरू पुरुषहरूले खान र प्रयोग गर्न मिल्ने गर्भनिरोधकका लागि वैज्ञानिकहरू सयभन्दा बढी आविष्कारहरूमा काम गरिरहेका छन् । कतिपय विधिहरूले शुक्राणुको विकास हुनबाट रोक्छ । अन्य विधिहरूले शुक्राणुलाई पौडी खेल्नबाट रोक्नमा ध्यान केन्द्रित गर्छ, जसले शुक्राणु अण्डामा पुग्न सक्दैन । अन्य विधिहरूले शुक्राणुलाई फेरि रोक्छ । केही प्रविधिहरूले शुक्राणुलाई अण्डा निषेचन गर्नबाट रोक्न सक्छ । अहिलेसम्म पुरुषहरूको लागि नयाँ गर्भनिरोधक विधिहरू विकास गर्ने प्रयासहरू बारम्बार असफल भएका छन् । हालसम्म काँधमा लागू गरिएको एनईएस/टी जेल क्लिनिकल परीक्षणहरूमा दौडको नेतृत्व गरिरहेको छ । थप रूपमा त्यहाँ कन्ट्रालाइन भनिने जेल छ जसले शुक्राणु बोक्ने नलिकालाई रोक्छ र तपाईंको रोजाइको गैर–हर्मोनल दैनिक गोली पनि हुन्छ । अहिले मानिसमा यसको परीक्षण भइरहेको छ तर आगामी ५ देखि १० वर्षमा यो बजारमा उपलब्ध हुनेछन् । पुरुषहरूको लागि जन्म नियन्त्रणमा काम गरिरहेकी नर्स ल्याब्रिट भन्छिन्, ‘अहिले पुरुषहरूले थर्मल गर्भनिरोधक प्रयोग गर्न सक्छन्, यसका लागि पर्खनु पर्दैन।’ ल्याब्रिटले आफ्नो व्यक्तिगत समस्यालाई ध्यानमा राखेर यी सिलिकन रिङ्हरू आविष्कार गरेका हुन् । थर्मल गर्भनिरोधक शुक्राणु उत्पादन तापमानप्रति संवेदनशील हुन्छ । याे रिङ्ग अण्डकोषलाई शरीरको नजिक लैजान्छन्,जसले गर्दा शरीरको प्राकृतिक तापलाई सोस्न सक्षम हुन्छ । तापक्रममा केही डिग्रीको वृद्धिले पुरुषको प्रजनन क्षमतालाई अस्थायी रूपमा रोक्न सक्छ । तताउने प्याचसहितको थर्मल अन्डरवेयर फ्रान्समा बिक्री भइरहेको छ । यसमा अण्डकोषलाई तातोको तहमा बेर्छ, जसले शुक्राणु उत्पादनमा बाधा पुर्याउँछ। प्रजनन अनुगमन गर्ने मुख्य तरिकाहरूमध्ये एक सेमिनोग्राम (वीर्य परीक्षण) मार्फत हो, जसले शुक्राणुको गुणस्तर मूल्याङ्कन गर्दछ । यो समस्या समाधान गर्न एक जर्मन खोजकर्ता डा. रोल्फ तोबिशले एक होम सेमिनोग्राम विकसित गरेको छ । यो एक उपकरणमार्फत घरमा बसेर आफ्नो फर्टिलिटी जाँच गर्न सकिन्छ । तर, यो उत्पादन बजारमा ल्याउनु चुनौती बनेको छ । यसका लागि चिकित्सा प्रमाणीकरण गर्न धेरै समय लाग्नुकाे साथै महँगो पनि छ । ठूला औषधि कम्पनीहरू यसमा लगानी गर्न तयार छैनन्। उनीहरूले एक महिनाको १० मिनेट मात्र अण्डकोषलाई तताउने थर्मल गर्भनिरोधक उपकरण पनि विकास गरेका छन् । यसले पुरुषको प्रजनन क्षमतालाई अस्थायी रूपमा रोकेको उनीहरूको दाबी छ । ‘मेडिकल प्रमाणीकरणमा धेरै वर्ष लाग्न सक्छ,’ तोबिशले भने, ‘व्यापक प्रयोगशाला अनुसन्धान, क्लिनिकल परीक्षण र स्वास्थ्य अधिकारीहरूबाट स्वीकृति चाहिन्छ।अन्तिम उपायको रूपमा, धेरै आविष्कारकहरूले आफ्ना उत्पादनहरूलाई सेक्स वा स्वस्थ खेलौनाको रूपमा छुट्टै ब्रान्ड गर्छन्।’
यी १३ बैंक वित्तीय संस्थाको लाभांश घोषणा, आर्थिक मन्दीको प्रभाव प्रतिफलमा
काठमाडौं । थोरै भए पनि बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । विगतका वर्षहरूमा उच्च लाभांश वितरण गर्दै आएका बैंक तथा वित्तीय संस्था पछिल्लो समय भने न्यून लाभांश भए पनि घोषणा गर्दै आएका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको असर बैंक तथा वित्तीय संस्थाको व्यवसायमा परेर लाभांशमा त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । हालसम्म घोषणा गर्ने संस्थाको उच्च लाभांश नै १५ प्रतिशत छ । अहिलेसम्म पाँचवटा वाणिज्य बैंक, एउटा विकास बैंक र सातवटा लघुवित्त संस्थाले लाभांश घोषणा गरेका छन् । हालसम्म वाणिज्य बैंकमा एभरेष्ट बैंक, सिटिजन्स, ग्लोबल आइएमई, सानिमा र प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेका छन् । विकास बैंकमा कामना सेवाले पनि लाभांश घोषणा गरेर पनि वितरण गरिसकेको छ । एभरेष्ट बैंकले पनि लाभांश घोषणा गरेर पारित पनि गरिसकेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । बैंकको साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको हो । यस्तै, सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । बैंकले कात्तिक १२ गते साधारणसभा बोलाएको छ । सानिमा बैंकले आव २०८०/०८१ को सञ्चित नाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए । प्राइम कमर्सियल बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आव २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने जानकारी बैंकको छ । यसैगरी, कामना सेवा विकास बैंकले पनि लाभांश घोषणा गरेर पनि वितरण गरिसकेको छ । बैंकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, सातवटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन् । आशा लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश घोषणा गरेको छ । गुराँस लघुवित्तले पनि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । फरवार्ड माइक्रो फाइनान्सले पनि सेयरधनीका लागि लाभांश घोषणा गरिसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । यस्तै, आरएसडीसी लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत, सपोर्ट लघुवित्तले १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत र नेशनल लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
म्याग्दीका ६०० घरमा विद्युत् सुविधा विस्तार, बिजुली बलेपछि स्थानीय भए खुसी
म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो । मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि २२ करोड बजेट रुपैयाँको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए् । वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उनले बताए । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताए। विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र ढुंगाना जेभीसँग तीन करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ स्थानमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । गत वर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन् । रासस
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
भरतपुर । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए ।