विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा हालै आयोजित कार्यक्रममा उनले नेपालका प्राकृतिक साधन, स्रोत र सम्पदाको अधिकतम उपयोग गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्नेमा जोड दिएका हु्न् । महासंघका अनुसार अध्यक्ष ढकालले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।
प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, यस्तो छ १२ वर्षको लाभांश इतिहास
काठमाडौैं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने भएकाे हाे । बैंकको १२ वर्षको लाभांश इतिहास : १. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले सेयरधनीहरूलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो आर्थिक वर्षमा बोनस सेयर वितरण भएको थिएन । २. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस र ७.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । ३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । ४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । ५. आर्थिक वर्ष २०७१/७२ : यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस र ०.९५ प्रतिशत नगद गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । ६. आर्थिक वर्ष २०७२/७३ : यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १७.२५ प्रतिशत बोनस र १.२१ प्रतिशत नगद गरी कुल १८.४६ प्रतिशत लाभांश वितरण गरेको थियो । ७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले सेयरधनीहरूलाई २७ प्रतिशत बोनस वितरण गरेको थियो । ८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो । ९. आर्थिक वर्ष २०७५/७६ : यस आवमा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो । १०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस वितरण गरेको थियो । ११. आर्थिक वर्ष २०७७/७८ : यस आवमा बैंकले सेयरधनीका लागि १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा बैंकले १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । १२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा बैंकले ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण गरेकामे थिएन ।
देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको आग्रह, विकासका लागि अधिक पुँजी आवश्यक
वासिङ्टन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका मन्त्री पौडेलले यहाँस्थित नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गरेका हुन् । मन्त्री पौडेलले भने, ‘वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ ।’ उनले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाए । साथै उनले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताए । छलफलका सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे जिज्ञासा राखेका थिए ।
भारतको विदेशी मुद्रा सञ्चिति ६८८.२६७ बिलियन अमेरिकी डलरमा झर्यो
काठमाडौं । भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति अक्टोबर १८ मा समाप्त भएको सातामा २.१६३ अर्ब अमेरिकी डलरले घटेर ६८८.२६७ बिलियन डलर पुगेको छ । देशको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डियाले जारी गरेको साप्ताहिक तथ्यांकले देखाएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको यो लगातार तेस्रो साता हो । अघिल्लो साता विदेशी मुद्रा सञ्चिति १०.७४६ अर्ब डलरले घटेको थियो । जुन झन्डै तीन वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो अंश विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ८६५ करोड डलरले घटेर ५९८.२३६ अर्ब डलरमा झरेको छ । सुनको भण्डार १.७८६ अर्ब डलरले बढेर ६७.४४४ अर्ब डलर पुगेको छ ।
एमएडब्लु वृद्धिले सुरु गर्यो भक्तपुरमा दिपलको नयाँ सोरुम
भक्तपुर । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले शुक्रबार भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले संयुक्त रुपमा दिपलको भक्तपुर सोरुमलाई उद्घाटन गरे । उद्घाटन समारोहमा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरु नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए । ‘अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,’ उनले भने, ‘सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुरमात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीधान, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ ।’ उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताए । त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए । ‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार इभी हुन् । यसबाट नेपाली प्रयोगकर्तामाझ इभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ’. उनले भने । उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गर्न पाउँदा आफूले गर्व महसुस गरिरहेको बताए । ‘६ महिनाअघि सार्वजनिक गरेयता हामीले पाँच सय ५० भन्दा बढी दिपल इभी डेलिभरी गरिसकेका छौं र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ’, उनले भने । कार्यक्रममा स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले भक्तपुरमा औपचारिक रुपमा सोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालिसकेको बताए । एमएडब्लु वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, विरगंज, नारायणघाट, विराटनगर र विर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।
पुष्पमेलामा तीन दिनमा ९० लाखको कारोबार, व्यापार पढ्दा व्यवसायी उत्साही
गोदावरी । ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाख रुपैयाँको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा ५० लाख रुपैयाँ बराबरको कारोबार भएको उनले जानकारी दिए । उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको संकेत गरेको संयोजक तामाङ बताउँछन् । नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
वीरगञ्ज नाकाबाट आयात-निर्यात घट्दा पनि राजस्व संकलनमा वृद्धि
वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार रुपैयाँ बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार रुपैयाँ बराबरका सामान आयात भएका थिए । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व संकलन भने बढेको छ । चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार रुपैयाँ मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् । गत आवको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका थिए ।