नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनकोे निरन्तरता
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको बैंकले जनाएको छ । कात्तिक १२ गते काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महाविर पुनका बीच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत श्री तिलक राज पाण्डेयले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।
तेस्रो विश्वयुद्ध सुरु भइसकेको डिमोनको दावी, रुस-चीन र इरान-उत्तर कोरियाको गठबन्धन डरलाग्दो
काठमाडौं । जेपी मोर्गन चेसका सीईओ जेमी डिमोनले विश्वले ठूलो खतराको सामना गर्ने चेतावनी दिएका छन् । युक्रेन र मध्यपूर्वमा जारी युद्ध, रुस–चीनको बढ्दो निकटता र इरान–उत्तर कोरियाको गठबन्धन विश्वका लागि ठूलो खतरा बन्न सक्ने उनको विश्वास छ । डिमोनले भने, ‘तेस्रो विश्वयुद्ध सुरु भइसकेको छ । यो विश्व अर्थतन्त्रका लागि ठूलो खतरा हो । यसलाई गम्भीरतापूर्वक लिइएन भने यसको परिणाम निकै नराम्रो हुनसक्छ ।’ वासिङ्टनमा इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सको वार्षिक बैठकमा डिमोनले उक्त कुरा बताएका हुन् । बिजनेस इनसाइडरको रिपोर्टका अनुसार उनले अमेरिकाका शत्रुहरू विश्व व्यवस्था परिवर्तन गर्न चाहने बताए । रुस–युक्रेन र इजरायल–हमास द्वन्द्व नयाँ विश्वयुद्धमा परिणत हुनसक्ने उनकाे भनाइ छ । सीईओ डिमोनले आफ्नाे बैंकको जोखिम व्यवस्थापन टोलीले गरेकाे कामले सबैलाई अचम्म पार्ने बताए । सुरु भइसक्यो तेस्रो विश्वयुद्ध डिमोनको अनुसार जोखिम धेरै उच्च छ । तेस्रो विश्वयुद्ध सुरु भइसकेकाे छ । धेरै देशकाे भूमिमा लडाईंहरू भइरहेकाे छ । चीन र रुसले दोस्रो विश्वयुद्धपछि पश्चिमा राष्ट्रले स्थापित गरेको व्यवस्थालाई भत्काउने कुरा गरिरहेका छन् । यो धम्कीलाई गम्भीरतापूर्वक नलिए नतिजा नराम्रो हुनसक्ने चेतावनी उनकाे छ । डिमोनले भने, ‘यो समस्या आफै समाधान हुन्छ भन्ने भ्रममा बस्नु हुँदैन ।’ उनले आगामी १०० वर्षसम्म लोकतान्त्रिक पश्चिमी संसारका लागि यसलाई उचित रूपमा समाधान गर्न कदम चाल्नुपर्नेमा जोड दिए । डिमोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्धलाई गम्भीर खतरा भनेका छन् । ‘ पुटिनकाे युक्रेनविरुद्धकाे युद्ध खतरनाक छ । हामी स्पष्ट हुनुपर्दछ कि हामीले त्यहाँ नराम्रो नतिजा देख्न सक्दैनौं । हामीले कहिल्यै एक व्यक्तिले परमाणु ब्ल्याकमेलको धम्की दिने परिस्थिति देखेका छैनाैं । यदि यसले तपाईंलाई डर देखाउँदैन भने अब तपाईं डराउनु पर्छ,’ उनले भने । डिमोनले आणविक हतियारको प्रसारलाई मानवजातिको लागि सबैभन्दा ठूलो खतराको रूपमा वर्णन गरे । उनले भने, ‘यदि इरानले आणविक बम प्राप्त गर्यो भने अन्य धेरै देशहरूले पनि त्यस्तै गर्नेछन् । विश्वव्यापी आर्थिक स्थिरताको आवश्यकतामा जोड युक्रेनको युद्ध र हमास र हिजबुल्लाह विरुद्ध इजरायलको आक्रमणको सन्दर्भमा डिमोनले यसले छोटो अवधिमा आर्थिक नोक्सान निम्त्याउन सक्ने बताए । सबैभन्दा महत्त्वपूर्ण कुरा- यसको प्रभाव दीर्घकालीन रूपमा गम्भीर हुनेछ । डिमोनले मुद्रास्फीतिको दर सुस्त रहेको बताए । अमेरिकी अर्थतन्त्र मन्दीबाट जोगिएको छ । तर, धेरै महत्त्वपूर्ण मुद्दाहरू बाँकी छन् । यसमा ठूलो वित्तीय घाटा, पूर्वाधार आवश्यकता, व्यापार पुनर्संरचना र विश्वको पुनर्मिलन समावेश छ । उनले विश्वव्यापी आर्थिक स्थिरताको आवश्यकतालाई जोड दिए । डिमोनले जेपी मोर्गनले नियमित रूपमा विश्वव्यापी अस्थिरता परिदृश्यहरूको मूल्याङ्कन गरिरहने बताए । डिमाेनकाे चेतावनी रे डालियोसँग मिल्दाेजुल्दाे छ । जेपी मोर्गन चेस अमेरिकाको मल्टीनेसनल फाइनान्स कम्पनी हो, जसकाे हेडक्वार्टर न्यू याेर्कमा रहेकाे छ । जेमी डिमोन सन् २००५ देखि यस कम्पनीकाे सीईओकाे रूपमा कार्यरत छन् । (एजेन्सीहरूको सहयाेगमा )
३ हजार १७५ गुम्बालाई मान्यता प्रदान
काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले ३ हजार १७५ गुम्बालाई मान्यता दिएको छ । देशभर सार्वजनिक गुम्बा ३ हजार ७० र निजी १०५ गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो । लामा धर्म गुरुको बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक होमबहादुर दोङ्गले जानकारी दिए । उनका अनुसार बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, संवर्द्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्च वर्षीय रणनीतिक योजना-२०७१ समेत तयार गरी त्यसका आधारमा भौतिक रुपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गरिएको छ । समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्द्धन तथा नेपालमा रहेका गुम्बा, विहार, वहा, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै तीनको व्यवस्थित सञ्चालनका लागि देशमा रहेका गुम्बा तथा बहाः बहीको दर्ता गर्दै आइरहेको छ । बौद्ध दर्शनको संरक्षण, विकास र बौद्ध धर्म संस्कृतिको संवर्द्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारको संरक्षण संवर्द्धन तथा बुद्धको शान्तिका सन्देशलाई मानवहितका लागि उपयोग गर्ने नीति समितिले लिएको छ । बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बा, बिहार तथा लामा, भिक्षु, भिक्षुणीहरूलाई आत्म निर्भर बनाउनका लागि विभिन्न प्रकारका सीपमूलक तालिम पनि यस समितिले सञ्चालन गरेको जनाएको छ । समितिको तथ्याङ्कअनुसार भूकम्पबाट देशभरका १ हजार ३१८ गुम्बा क्षतिग्रस्त भएका छन् । जसमध्ये १ हजार १३१ गुम्बा अनुदानको व्यवस्था गरिएको थियो । भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको संरक्षण, जीर्णोद्वार तथा पुनः निर्माणसम्बन्धी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वयमा समितिले क्षतिग्रस्त करिब एक हजार एक सय गुम्बा तथा बिहार पुनःनिर्माण गरेको जनाएको छ । एक सय वर्ष पुगेका सम्पदा पुनःनिर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनःनिर्माण गर्ने प्रावधान छ । समितिको तथ्याङ््कअनुसार अनुदान पाउने गुम्बाको सूचीमा सबैभन्दा बढी सिन्धुपाल्चोकका १५४ वटा थिए । त्यस्तै, गोरखाका ७९, रामेछापका ६३, धादिङका ६८, काभ्रेपलाञ्चोकका ८१, रसुवाका ४५, मकवानपुरका ८०, नुवाकोटका ९५, दोलखाका ७५, ओखलढुङ्गाका १७, सिन्धुलीका ३९, चितवनका ३९, नवलपरासीका ९, कास्कीका ५, बाग्लुङको १, तनहुँका १४, खोटाङका १३, भोजपुरका १७, धनकुटाका ६, सोलुखुम्बुका ४९, लमजुङका १४, संखुवासभाका ११, काठमाडौंका १४, ललितपुरका ११ र भक्तपुरका २ गुम्बा÷बिहार अनुदानको सूचिमा राखिएको थियो ।
धमाधम बचत फिर्ता हुँदै, ६ हजार १५५ बचतकर्ताले पाए शतप्रतिशत रकम
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । कात्तिक १२ गते सोमबारसम्म ४३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको जानकारी दिए। ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको पनि उनले बताए । मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको जानकारी पनि मन्त्री अधिकारीले कार्यक्रममा गराएका थिए । अहिलेसम्म तीनवटा सहकारीका माग दावीकर्ताको रकम फिर्ता गरी राफसाफ गरिएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य ९ वटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको मन्त्री अधिकारीले बताए । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बचत फिर्ता गर्ने र समस्या नआउने गरी कानुन संशोधनको तयारी भइरहेको बताए । समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि समितिको कार्यालयलाई जनशक्ति र साधनस्रोतको पनि व्यवस्था गर्न लागिएको पनि उनले सुनाए । बचत पीडितसँग गरिएको समझदारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुहुँदै सचिव पोखरेलले अब कुनै पनि आन्दोलन जरुरी नभएको बताए । समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि काम भइरहेको बताए । बाँकी १९ वटा सहकारीका ऋणीलाई यही कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको उल्लेख गर्दै उनले चुक्ता नगर्ने ती सहकारीका ऋणीको एकाघरका सदस्यको सम्पत्ति, राहदानी रोक्का गर्ने तयारी भएको पनि उनले जानकारी दिए। ऋण नतिर्ने ऋणीका परिवारका सदस्यको सम्पत्ति र राहदानी तिहारपछि देखि नै रोक्का गरिने छ ।
साफ च्याम्पियनसिपको टिकट एन्फा आफैँले बिक्री गर्ने, रङ्गशालाभित्र यस्ता वस्तु लान निषेध
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलकोे टिकट बिक्री आफैँले गर्ने भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भोलि साँझ हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए। उक्त खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेट बाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ । टिकट बिहान ८ देखि वितरण हुनेछ । एन्फाले साधारणतर्फ ११ हजार र भिआइपीतर्फ एक हजार मात्र टिकट बिक्री गरिने बताइएको छ । साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआइपी प्याराफिटतर्फ रु एक हजार टिकट दर तोकिएको छ । त्यसैगरी एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिसँगको सम्झौता पनि रद्द भएको जानकारी दिएको छ । फाइन खेलमा एन्फाले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको छ । त्यसैगरी अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको छ ।
दोस्रो ठूलो चाड तिहार सुरु, किनियो नयाँ भाँडा (फोटोफिचर)
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ । धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरे पनि कूल परम्पराअनुसार कसैले भने लक्ष्मी पूजाकै दिन गर्छन् । आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ । आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ । आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो । बुधबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । बिहीबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । शुक्रबार यस वर्ष तिहारको कुनै पर्व परेको छैन ।
गृह र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति, रोकियो आन्दोलन
काठमाडौं । निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयका प्रतिनिधिबीच आज तीनबुँदे सहमति भएको छ । आज साँझ भएको सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षका तर्फबाट रुबी खानले हस्ताक्षर गर्नुभएको छ । उक्त सहमतिसँगै आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन स्थगित गरेको छ । सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच गत असार १० गते भएको सहमतिअनुसार शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने र विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई थप अनुसन्धानका लागि आवश्यकताअनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने उल्लेख छ । यस्तै आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लेखी पठाउने तथा उल्लिखित प्रकरणका सम्बन्धमा विभिन्न माग राखी आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन अन्त्य गर्ने सहमति भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी अधिकारकर्मी विजयबाबु शिवाकोटीसहित आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर वागवान, वसन्त रन्जितकार, मनकुमारी गुरतालको रोहबरमा उक्त सहमति भएको वार्ताको नेतृत्व गर्नुभएका गृह मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव दिलकुमार तामाङले जानकारी दिए । यसअघि दुवै पक्षबीच गृह मन्त्रालयमा एक चरणको वार्ता गरी सहमति नजिक पुगेपछि साँझ पुनः आन्दोलन गरिरहेकोस्थल माइतीघरमै पुगेर गृहको टोलीले सहमति गरेको हो ।
यातायात व्यवस्था विभागमा मन्त्री दाहालको आकस्मिक अनुमगन, छरितो सेवा दिन निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल आज अपराह्न मीनभवनस्थित विभागको कार्यालय पुगेका हुन् । उनले सेवाग्राहीसँग विभागबाट प्रवाह भइरहेको सेवाका बारेमा जानकारी लिए । सेवाग्राहीले छिटोछरितो सेवा प्रवाहको वातावरण बनाइदिन आग्रह गरेका थिए । सेवाग्राहीसँग कुराकानीपछि मन्त्री दाहालले टोकन प्रणाली लागूगरी लाइन नलागेर सेवालिने प्रबन्ध मिलाउन विभागका महानिर्देशकलगायत सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए । उनले डिजिटल सवारी चालक अनुमतिपत्र र इम्बोस्ड नं छपाइका बारेमा पनि जानकारी लिए। विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक चार हजारका दरले चालक अनुमतिपत्र छपाइ भइरहेको जानकारी गराए । प्रदेशस्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा केही चाप घटेको र डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उनको भनाइ छ। ‘इम्बोस्ड नं जडानलाई थप तीव्र र व्यवस्थित पार्दैछौँ । विद्युतीय सवारी दर्ता प्रणालीलाई देशैभरि कार्यान्वयन गरिने छ । यस्तै नयाँ सडकमा थप रुट निर्धारणका लागि अध्ययन भइरहेको छ,’ महानिर्देशक पोखरेलले भने ।