विकासन्युज

सदीक्षासँग शिक्षा र व्यवसायका कुरा, ‘विद्यार्थीलाई बिजनेससँग जोड्छु’

काठमाडौं । मिस नेपाल भन्नेबित्तिकै हामी उसको शारीरिक सुन्दरतालाई हेर्छौं । अझ उनीहरूले गर्ने काम भनेको मनोरञ्जन क्षेत्रमात्र हो भन्ने बुझ्छौं । नेपालका मिस नेपाल (सुन्दरीहरूलाई) हेर्ने हो भने यो स्वाभाविक पनि हो । मिस नेपालको काम भनेको अभिनय गर्नुमात्र हो भन्ने भाष्य नेपाली समाजमा स्थापित भएको छ । कतिपय मिस नेपालहरूले सामाजिक विकृतिविरुद्ध आवाज उठाइरहेका भएपनि धेरैजसो भने मनोरञ्जन क्षेत्रमै लागेको पाइन्छ । शिक्षा क्षेत्र जसलाई हामी बौद्धिक क्षेत्र भन्छौं, अझ यो क्षेत्रमा भने सुन्दरीहरू लागेको पाइँदैन । सुन्दरीहरूले मनोरञ्जन क्षेत्रमै मात्र काम गर्ने भन्ने मानसिकतालाई चिर्दै चर्चित मोडल, उद्घोषिका एवं पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बौद्धिक क्षेत्रको यात्रा सुरुवात गरेकी छन् । उनी अहिले बागबजारमा रहेको मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी) मा प्रोगाम डिरेक्टर स्कुल अफ बिजनेशको रूपमा नियुक्त भएकी छन् । जीवनमा सबैभन्दा पहिलो आवश्यक्ता शिक्षा ठान्ने उनी शिक्षालाई व्यवसायसँग जोडेर लाँदा अझै उत्कृष्ट हुने बताउँछिन् । कार्यक्रम निर्देशकको जिम्मेवारीमा रहेकी उनी आफ्नो पहिलो प्राथमिकता शिक्षालाई व्यवसायसँग जोड्ने रहेको बताउँछिन् । इन्टरनेशनल अमेरिकन यूनिभर्सिटी आईयूसँगको सहकार्यमा काठमाडौंको बागबजारमा सञ्चालनमा रहेको मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी)ले ले सदीक्षालाई केही दिन अगाडिमात्र यो पदमा नियुक्त गरेको हो । यहाँ बीबीए र एमबीए कार्यक्रम चलिरहेका छन् । स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन गरी उच्च शिक्षामा व्यवस्थापन र सूचना प्रविधि (आईटी)का कार्यक्रमहरू सञ्चालन गरिरहेको कलेजमा आफू जोडिन पाउनु अवसर भएको बताउँदै उनले अब शिक्षालाई उद्याेगसँग जोड्न पहल गर्ने उल्लेख गर्छिन् । यो काम पहिले गरिरहेको भन्दा नयाँ भएकाले चुनौतीसँग लड्दै उत्कृष्ट बनाउन पहल गर्ने उनको भनाइ छ । शिक्षा क्षेत्रमा आउनु स्वाभाविक कि जीवनको ट्रनिङ प्वाइन्ट हो भन्ने प्रश्नमा उनले भनिन्, ‘म यसलाई नेचुरल ट्रान्जेसन भन्छु ।’ सदीक्षाको परिवारमा पढाइलाई धेरै प्राथमिकता दिइन्छ । सानैदेखि यही वातावरणमा हुर्केपछि उनलाई पनि जीवनको पहिलो आवश्यकता शिक्षा लाग्छ । यसै कारण पनि उनले पढाइमा निकै मिहिनेत गरिन् । आइएस्सी गरिसकेपछि सदीक्षाले सन् २०१० मा मिस नेपालमा भाग लिएर उपाधि चुमिन् । त्यसपछि उनलाई पढाइ अझ महत्त्वपूर्ण लाग्यो । ‘मैले कति पनि समय खर्च गरिनँ, मिस नेपाल भइसकेपछि आफ्नो स्वाभाविक डिग्रीमा लागें,’ उनी भन्छिन्, ‘मिस वर्ल्डमा भाग लिन चीन गएँ, त्यसपछि ब्याच्लर्स गरें अनि मास्टर्स गर्न विदेश गएँ ।’ विदेश जानुअघि सदीक्षाले कुन देश, कुन कलेज पढ्नै भन्दै खोजी गरिन् । एमबीए डिग्री कहाँ लिने भन्ने खोजी गर्दैगर्दा उनलाई केही समय लाग्यो । त्यो समयमा उनले नेपालमै पनि ६ महिना एमबीएस अध्ययन गरिन् । आफूले पढाइबाट आफ्नो साथ कहिल्यै नछुटेको भन्दै सदीक्षाले यसलाई टर्निङ प्वाइन्टभन्दा पनि जीवनलाई लेभल अप गर्ने एउटा अवसरको रूपमा लिएको बताउँछिन् । धेरैजसो सुन्दरीहरू अहिले गुमनाम छन् । सदीक्षा भने आफूलाई कुनै न कुनै रूपमा समाजमा प्रस्तुत गराइहाल्छिन् । उनी सबैभन्दा पहिला कुनै पनि काम गर्न चाहना र इच्छा हुनुपर्ने बताउँछिन् । ‘कतिपय मिस नेपाललाई समाजमा देखिन मन छैन होला, उहाँहरू मिडियाभन्दा बाहेक उद्यमी भएर होस् वा समाजसेवी भएर होस्, विभिन्न कार्य गरिरहनुभएको छ,’ उनी भन्छिन्, ‘म आफै पनि मिडिया फिल्डमा भएकाले चाहेर या नचाहेर पनि सधैं क्यामेरा अगाडि आउनुपर्ने भएकाले नेचुरल नै यस्तो हुन गयो होला भन्ने लाग्छ ।’ शिक्षा क्षेत्रका चुनौती एमआईटीमा प्रोगाम डिरेक्टर स्कुल अफ बिजनेशकाे रूपमा नियुक्त भएपछि अहिले सदीक्षा आफ्नो पूरा समय विद्यार्थी र कलेजमा बिताउँछिन् । बाँकी रहेको समयमा भने अभिनय अनि उद्घोषलाई छुट्याउँछिन् । शिक्षा क्षेत्रमा पाइला  अगि बढाएकी उनी शिक्षा क्षेत्रमा अहिले धेरै किसिमका चुनौती रहेको बताउँछिन् । शिक्षा भनेको बेसिक फाउन्डेसन राइट हो तर विभिन्न कारणले गुणस्तरीय शिक्षाबाट धेरैजसो विद्यार्थी वञ्चित भइरहेका छन् । अहिले ब्याचलर्स गर्न चाहने विद्यार्थीको लागि ठूलो कन्फ्युजन भनेको नेपालमै ब्याचलर्स डिग्री गरौं कि विदेश जान्ने भन्ने छ । सदीक्षा आफूले कलेज जाेइन गरेको मुख्य उद्देश्य पनि शिक्षा र सोचको ठूलो खाडल ग्याप रहेकाले सबैभन्दा पहिले यो विषयमा काम गर्नु हो । उनी मास्टर्स डिग्री विदेशमा गएर गर्ने विद्यार्थीलाई नेपालमै बस भन्नु उपयुक्त नहुने बताउँछिन् । ‘म आफैंले पनि एसियन इन्सिच्युट अफ टेक्नोलोजी (एआइटी) थाइल्याण्डमा अध्ययन गरेकी हुँ, विद्यार्थीलाई विदेश जान हुँदैन, कोही नजानू, नेपालमै बस्नू भन्ने कुरा म गर्दिनँ,’ सदीक्षा भन्छिन्, ‘कुन ठाउँ के पढ्ने भन्ने विद्यार्थीको अधिकार हो, तपाईं सक्नुहुन्छ, इच्छा छ, म इन्टरनेशनल डिग्री लिन चाहनुहुन्छ भन्ने अठोट छ भने अवश्य जानूहोस्, त्यो सबैभन्दा सुन्दर अनुभवमध्ये एक हुनेछ ।’ जबसम्म बच्चाहरू आमाबुवाको छत्रछायामा हुर्किन्छन् त्यतिबेलासम्म आफूलाई विकास गर्ने अवसर पाउँदैनन् । जब तपाईं घर पुग्दा तातोभात तयार हुन्छ, तपाईं बिहान उठेर गएको ओच्छयान चटक्क मिलेको पाउनुहुन्छ त्यतिसम्म जीवन के हो भन्ने कुरा बुझिँदैन । ब्याचलर्समा होस् या मास्टर्समा होस् नेपालभन्दा बाहिर डिग्री लिन चाहनेहरूको अहिले ठूलो जमात छ । तर, त्यसका लागि प्रक्रिया त्यति सजिलो छैन । विद्यार्थीले बैंक ब्यालेन्सदेखि आफ्नो डिग्री, भाषा परीक्षणलगायतका कुराहरू देखाउनुपर्छ, जसका लागि समय लाग्छ । विदेश पढ्न जाने तयारीका लागि लाग्ने समयमा नेपालमै अध्ययन गर्दा विद्यार्थी थप सजिलो हुने सदीक्षाकाे अनुभव छ । उनी यसका लागि उपयुक्त ठाउँ एमआइटी रहेको बताउँछिन् । यहाँ अन्तर्राष्ट्रिय अमेरिकन विश्वविद्यालय आईएयु क्वालिफोर्नियासँग एशोसिट भएको कारण जसलाई बाहिर गएर डिग्री लिन मन छ, समय लागिरहेको छ भने यहाँ आएर आफ्नो समय सदुपयोग गर्न सकिने उनी बताउँछिन् । यसो गर्दा समय र पैसा नाश नहुने उनकाे भनाइ छ । अहिले धेरैजसो नेपाली विद्यार्थी पढाइको लागि स्वदेशभन्दा विदेश रोज्छन् । नेपालमा १२ पास गरिसकेपछि धेरैको सपना बाहिरकै हुन्छ । कतिपय विद्यार्थी पढ्नकै लागि जाने भएपनि कतिपय भने विद्यार्थी भिषामा गएर पढाइ छोडेर काम गरिरहेको पाइन्छ । कतिपय विद्यार्थी भने विदेशी विश्वविद्यालयको राम्रो शिक्षा ग्रहण गरेर आफ्नै देश फर्केर केही गर्ने आश राख्छन् । यही आशाराख्ने मध्येकी एक सदीक्षा पनि हुन् । विदेश पढेर काम गर्न नेपाल आउनुपर्छ भन्ने सदीक्षाको मत छ । उनी विदेश गइसकेका विद्यार्थी नेपाल फर्कनु/नफर्कनुमा उनीहरूकै व्यक्तिगत इच्छामा भर पर्ने बताउँछिन् । भन्छिन्, ‘आफूलाई जन्म दिने आमाबुवाले त हाम्रो जीवनमा यस्तो गर भनेर आदेश दिन सक्दैनन्, यसमा पढ्न जाऊ नानीबाबुहरू हो, फिर्ता चाहिं स्वदेशमै हौ भन्ने अधिकार हामीलाई छैन ।’ सदीक्षा मुलुकका सहज नीति बनाउन सकियाे भने ४०/५० वर्ष विदेशमा बसेकाहरू पनि नेपाल फर्कन तयार हुने बताउँछिन् । अहिले विदेशमा अध्ययन गरिरहेका विद्यार्थी राम्रो अवसर पायो भने नेपाल फर्कन तयार छन् । विदेशमा लिएको डिग्री र सीप नेपालमा प्रयोग गर्न सके नेपालमै राम्रो भविष्य रहको उनको दाबी छ । उनी सुन्दरीको उपाधिपछि आफ्ना लागि सुनौलो अवसर नेपालमै छ भन्ने लागेकाले विदेशमा डिग्री गरेर नेपालमा काम गरेको सुनाउँछिन् । भूमिका र जिम्मेवारी मनोरञ्जनजस्तो फरक पेशाबाट शिक्षाको यात्रामा आएकी सदीक्षा बीबीए तथा एमबीएका कार्यक्रमलाई प्रमोट गर्नुको साथै प्रभावकारी तरिकाले अगाडि बढाउने आफ्नो योजना रहेको बताउँछिन् । उनको अर्को योजना विद्यार्थीलाई राम्रो उद्योग र शिक्षाको सन्तुलन, अनुभव दिनु पनि हो । उनी भन्छिन्, ‘विद्यार्थीको सबै किसिमको सिकाइ अनुभव राम्रो होस् र पढाइ सकिएपछि डिग्रीमात्र नभइकन धेरै जीवनाेपयोगी सीप पाए भन्न सक्ने हुन् भन्ने मेरो जिम्मेवारी हो ।’ सदीक्षाले यो कलेजमा काम सुरु गर्नुभन्दाअघि विभिन्न कलेजमा गएर ब्याचलर्स तहका विद्यार्थीहरूलाई सार्वजनिक स्थलमा कसरी बोल्ने, कुन व्यक्तिसँग कुन कामको लागि बोल्दा कसरी बोल्ने भन्नेबारे क्लास दिन्थिन् । क्लासमा सबैभन्दा पहिले उनको प्रश्न हुन्थ्यो- तपाईंहरूमध्ये कति जना काम गर्नुहुन्छ ? उनले सोध्दा फाट्टफुट्ट विद्यार्थीको मात्र हात उठ्थ्यो । जब कि यो समयमा विद्यार्थीसँग प्रशस्त समय हुन्छ । बिहान कलेज जाँदा दिनभरिको समय खाली हुन्छ । कमैले मात्र काम गरिरहेको सुन्दा उनलाई नमज्जा लाग्थ्यो । बाँकी समय के गर्नुहुन्छ भनेर सोध्दा धेरैको उत्तर हुन्थ्यो- ‘दिनभर सुत्छौं अनि कसैको यतिकै बस्ने ’ हुन्थ्याे । त्यसैबेला उनकाे दिमागमा एउटा कुरा खेल्याे- नेपालमा ब्याचलर्समा पढ्ने विद्यार्थीलाई काम गर्ने मौका, इन्टर्नसीप, जागिर दिने किन हुँदैन ? सदीक्षा अब एमआइटीमा पढ्ने विद्यार्थीका लागि पढाइसँग काम र इन्टर्नसीपको अवसर सिर्जना गर्ने दाबी गर्छिन् । माग अनुसारको उत्पादन छैन अहिले बजारमा सबैभन्दा धेरै सुनिने कुरा हो, दक्ष जनशक्ति नपाइनु । उद्योग, संस्थाहरूले दक्ष जनशक्त नपाएको गुनासो गरिरहँदा यता उत्पादन भएको जनशक्तिले काम नपाएर विदेशिनु परेको अर्को गुनासो छ । बजारमा माग पनि छ, कलेजले उत्पादन पनि गरिरहेको छ तर किन तालमेल मिलेन भन्नेमा ठूलो प्रश्न छ । कुनै पनि कम्पनीले कामदार खोज्दा सबैभन्दा पहिले उसको कामको अनुभव खोज्छ । तर, नेपालको सन्दर्भमा डिग्री भएपनि विद्यार्थीसँग अनुभव हुँदैन । सदीक्षा एउटा विद्यार्थी ब्याचलर्समा भर्ना हुँदा जागिर गर्न सुरु गर्‍याे भने ब्याचलर्स सक्दा उसँग ४ वर्ष कामको अनुभव हुने बताउँछिन् । ‘नेपालमा उद्योगले हामीले काम गर्ने मानिस पाइरहेका छैनौं भन्छन्, काम गर्ने विद्यार्थीले हामीले जागिर पाइरहेका छैनौं भन्छन्,’ उनी भन्छिन्, ‘यसको मतलब माग पनि छ उत्पादन पनि छ तर यसलाई जोड्न सकिरहेको छैन । यहाँनेर देखिएको ठूलो दूरीलाई भर्नैपर्छ।’ सदीक्षाका अनुसार विद्यार्थीले  पनि कुन काम सानो, ठूलो भनेर हेर्न हुँदैन । अभिभावकले पनि आफ्ना बच्चाहरूलाई सानो ठूलो जस्तो भए पनि काम गर्न प्राेत्साहित गर्नुपर्छ । उनी यसका लागि आफूले विद्यार्थीको इन्टर्नसीपका लागि जोड दिने बताउँछिन् । ‘मैले चिन्ने, मसँग जोडिएका विभिन्न संघसंस्थामा जोड्ने प्रयास गर्छु,’ भन्छिन्, ‘सानो इन्टर्नसीपदेखि सुरुवात किन नहोस्, यो गर्न इनकरेज पनि गर्छौं र उहाँलाई त्यो वातावरण मिलाउन प्रयास गछौं । ’ नेपालका उद्योग कारखानाले नेपालमा राम्रो कामदार नपाउँदा बाहिरबाट ल्याउने गरेको पाइन्छ । कामदारदेखि मेनेजरसम्म बाहिरबाट ल्याइरहेको सुनिन्छ ।  अब एमआइटीमै यस्तो किसिमको जनशक्ति उत्पादन गर्ने सदीक्षा बताउँछिन् । नेपालमा पढाउने शैली पहिलाकाे भन्दा धेरै सुधार भएको उनकाे बुझाइ छ । अन्य देशभन्दा स्कुल तहको शिक्षामा नेपालीको शिक्षा उत्कृष्ट नै रहेको विज्ञहरू बताउँछन् । अन्य देशका तुलनामा नेपालका विद्यार्थी पढाइमा पनि उत्कृष्ट हुन्छन् । सदीक्षा आफैं पनि थाइल्यान्ड एआइटीबाट एमबीए गर्दा कक्षाको सबैभन्दा टप हुने विद्यार्थी थिइन् । कक्षामा टप हुँदा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गोल्ड मेडल पाइन् । यस्तो राम्रो धेरै विद्यार्थीले गरिरहेका छन् । उत्कृष्ट विद्यार्थी र शिक्षा हुँदा पनि विद्यार्थीले अवसर पाउने अवस्था नभए उनको भनाइ छ । यसका लागि कलेजहरू पनि विभिन्न संघसस्थासँग पार्टनरसीप गरेर अगाडि बढ्दा समस्या समाधान हुने सदीक्षाकाे विश्वास छ । एउटा ग्राजुएट भएको विद्यार्थी हायर गर्न खोज्दा ऊसँग पढाइभन्दा बाहेक अरू हुँदैन, जब पढाइसँग काम गर्ने विद्यार्थी छ भने उसले हरेक काम राम्रो गर्छ । नेपालमा जति पनि उद्योगहरू छन् ती चल्न राम्रो मेनपावर चाहिने भएकाले एमआइटी एकेडेमी र इन्ड्रष्टीको काेलाब्रेसनतर्फ एमआइटी द्रूतरूपमा अगाडि बढ्ने उनको दावी छ । म्यानेजमेन्ट आवश्यक नेपालमा अहिले देखिएको पहिलो चुनौती भनेको बीबीए र एमबीए गर्ने विद्यार्थीको संख्या घट्दै जानु हो । आजभोलि मान्छेलाई मन पर्ने चाहना भएको लिन खोज्ने डिग्री भनेको आइटीका डिग्री हुन् । तर, सदीक्षा ‘ब्याच्लर्स इन बिजनेस स्टडिज’ र ‘मास्टर इन बिजनेस एड्मिनेस्ट्रसन’ सबैभन्दा महत्त्वपूर्ण र आवश्यक भएको बताउँछिन् । व्यवस्थापन (म्यानेजमेन्ट) बिना जतिसुकै ठूलो कम्पनी खडा गर्दा पनि यसलाई राम्रोसँग चलाउन सकिँदैन । हस्पिटालिटी क्षेत्र हेर्ने हो भने करोडौं, अरबौं संरचना तयार पारे पनि तर त्यसलाई व्यवस्थापन गर्न कुशल व्यवस्थापक आवश्यक पर्छ । त्यसैले यस्ता विषयहरू त्यतिकै आवश्यक छन् । व्यवस्थापनले समयको सदुपयोग कसरी गर्ने भन्नेबारे सिकाउँछ । जब व्यक्तिलाई कुनै कुरा चाहिन्छ तब इनोभेटिभ बाटाहरू आफै निकाल्न सुरु गरिन्छ । उदाहरणका लागि कोही मान्छे मोटो छ, उसले आफ्नो तौल घटाउनु छ भने ऊ खाना कम खान्छ, हिँड्न अथवा दाैडन सुरु हुन्छ, शारीरिक व्यायाम गर्न सुरु गर्छ । इच्छा हुनुपर्‍याे योभन्दा माथि आवश्यकता हुनुपर्‍याे । डिग्रीसँगै काम गर्न आवश्यक छ भन्ने लाग्छ भने त्यो जस्तो ठूलो कारण केही पनि हुँदैन । अभिभावकले पनि आफ्नो बच्चालाई आफै कमाऊ भन्ने सिकाउनुपर्छ । कुनै पनि बच्चा आफै कमाउँछ भने उसलाई अभिभावकले पैसा कमाउन गरेको दुःख थाहा हुन्छ र उसलाई पनि केही गर्नुपर्छ भन्ने सोच आउँछ । आफैले पनि पैसाको लागि नभए पनि अनुभवका लागि भए पनि केही काम गर्नुपर्छ । नेपालको उदेकलाग्दो शिक्षा नेपालको स्नातक र स्नातकोत्तरमा अहिले पनि ठूलो समस्या छ । समयमा परीक्षा नहुने, रिजल्ट समयमा नआउनेलगायतका थुप्रै समस्या छन् । सदीक्षा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउँछिन् । समयमै रिजल्ट नआउँदाको परिणाम सदीक्षा आफैंले पनि भोग्नुपरेको छ । नेपालमै ‘ब्याचलर्स इन बिजनेस स्टडी’ गर्दा ३ वर्षको कोर्समा उनलाई हातमा रिजल्ट आउन ५ वर्ष लाग्यो । ‘यत्रो दुई वर्ष भनेको जोक होइन, यो २ वर्षमा मैले कतिधेरै काम गर्न सक्थें , एउटा डिग्री पनि लिन सक्थें, यो विषयमा अहिले पनि ठूलो कम्जोरी छ,’ उनी यो विषयमा सम्बन्धित निकायको ध्यान जानु पर्ने बताउँछिन् । शिक्षा र सुन्दरता सुन्दरता भन्ने बित्तिकै धेरैजसो शारीरिक सुन्दरतालाई हेरिन्छ । सुन्दरता के हो भन्ने प्रश्नमा सदीक्षा भन्छिन्, ‘शिक्षित मान्छे सुन्दर पनि हुन सक्छ, सुन्दर मान्छे पनि शिक्षित हुन सक्छ, शिक्षा छ भने सुन्दर हुन सकिँदैन भन्ने होइन ।’ उनी सुन्दरताको परिभाषा मान्छेपिच्छे फरक हुने बताउँछिन् । ‘धेरैलाई मलाई देख्दा ओहो कस्तो राम्री भन्ने लाग्न सक्छ, कसैलाई यो कस्तो मान्छे कति बोलिरहेको होला भन्ने लाग्ला,’ उनी आफूलाई सुन्दरताभन्दा शिक्षालाई धेरै महत्त्व दिने बताउँछिन् ।

एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच नेपालपे कार्डका लागि समझदारी

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच नेपालपे कार्ड जारी तथा पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान तथा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरे । नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रूपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र  नेश्नल  पेमेन्ट सिस्टम कार्यान्वयनको लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ । उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नको लागी एस्सीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपश्चात एनपीएस-एनसीएस एसएफको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र इन्टिग्रेट गर्न सक्नेछ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ, स्विचिङ तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमार्फत हुनेछ । एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंक वित्तीय संस्थालाई अन्य कार्ड स्कीमको प्रोसेसिङ र कार्ड सर्भिसिङकाे सुविधा प्रदान गर्दै आएको छ भने एस्सीटीले बैंक वित्तीय संस्थाहरूलाई कार्ड प्रोसेसिङको सेवा दिँदै आएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम तीन महिनामा सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा । काठमाडौं । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ– बुटवल सडक विस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम सकिएको छैन । विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक बिस्तारको काम सकेको छैन । निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै सरकारले अब तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास निर्माणका सबै सडक सरकारको नियन्त्रणमा नै रहेको बताए । उनले समय पनि सकिएको र काम पनि कम भएको सडकखण्ड नारायणगढ बुटवल रहेको जानकारी दिए । उनले त्यसमा पनि निर्माण ठेक्का कम्पनीलाई तीन महिनाको लक्ष्य दिएर डिसेम्बरसम्म नसकिए ठेक्का तोड्ने योजना रहेको उल्लेख गरे। सचिव शर्माले तीन महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने सूचना जारी गरिसकेको पनि बताए । उनले ठेक्का कम्पनीले जनशक्ति बढाएर सडक बिस्तारको कामलाई तीब्रता नदिए सरकारले पुनर्विचार गरी ठेक्का तोडेर अगाडि जानुपर्ने बाध्यता रहेको बताए । उनले निर्माण व्यवसायीहरूको क्षमताको कमीको कारण विकास निर्माणको काम समयमा सम्पन्न हुन नसकेको जानकारी दिए । कम क्षमता भएका निर्माण कम्पनीहरूले धेरै ठेक्का लिएर क्यास व्यवस्थापन गर्न नसक्दा विकास निर्माणको काम ढिलासुस्ती भएको उनकाे भनाइ छ । सचिव शर्माले निर्माणको लागि पूर्वतयारी समयमा रुख काट्ने, पोलहरू समयमा ननिकाल्ने गर्दा समस्या आएको बताए । नारायणगढ–बुटवल सडकको यात्रा सात वर्ष पुग्दा समेत अवस्था उस्तै देखिएको छ । सडक निर्माणको काम अलपत्र रहेकाले नारायणगढ–बुटवल सडकमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् । बिस्तारको क्रममा रहेको नारायणगढ—बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ । कोरोनाकालमा निर्माण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो । पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । नारायणगढ–बुटवल सडक खण्डको हालसम्म ५३ प्रतिशत कार्य प्रगति भएको छ । नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर कालोपत्र गरिएको छ ।

साफ वुमेन्स च्याम्पियनसिप : सडकमा लाइन लगाएर टिकट बिक्री, वालेटलाई नकाट्न उर्दी

काठमाडौं । नेपाल र बंगलादेशबीच साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेल हेर्न नेपाली खेलप्रेमी तथा शुभचिन्तकहरू तम्तयार छन् । साफ वुमन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न सकेकाे छैन । यो पटक उपाधि उचाल्ने दाउमा नेपाल छ । फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेर उपाधि हात पारेर नेपाली दर्शकलाई खुसी दिलाउने रणनीतिमा नेपाली फुटबल टिम छ । यसअघि नेपाल र बंगलादेशबीच १२ खेल भएका छन् । जसमध्ये ६ खेल नेपाल र १ खेलमा बंगलादेशले जितेकाे छ भने ५ खेल बराबरी भएको छ । नेपाली टिमलाई साथ दिनका लागि खेलप्रेमीहरू बिहानैदेखि लाइन लागेर टिकट काटिरहेका छन् । बेलुका साढे ६ बजेदेखि सुरु हुने भए पनि टिकटका लागि भने बिहानैदेखि सर्वसाधारण लाइनमा छन् । यसअघि नेपाल र भारतबीच सेमिफाइनलमा रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि फाइनलको टिकट भने एन्फा आफैले बिक्री गरिरहेको छ । तर, त्यसको चौतर्फी विरोध भइरहेको छ । फाइनल खेलमा कम टिकट काटेर दर्शक कम हुने वातावरण सिर्जना गरिरहेको आरोप सामाजिक सञ्जालमा छ । सूचना प्रविधिको युगमा लाइन लगाएर टिकट काट्न लगाउनु उचित नभएको भन्दै सामाजिक सञ्जाल एन्फाको विरोध भइरहेको छ । यसअघि टिकट बिक्रीका लागि जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै एन्फाले आफै टिकट बिक्री गरिरहेको हो । जावलाखेल खेल मैदान, एन्फा मुख्यालय सातदोबाटो र भद्रकालीस्थित आर्मी अफिसर्स केन्द्रमा टिकट बिक्री केन्द्र राखिएको छ । माउन्ट एभरेस्टले ८० लाख रुपैयाँमा टिकट बिक्री अधिकार प्राप्त गरेको थियो । एन्फाले साधारणतर्फ ११ हजार र भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गर्ने बताएको छ । रंगशालाको क्षमता १५ हजार मात्रै भए पनि त्यो दिन करिब २० हजार दर्शक थिए । एन्फाले वालेट कम्पनीलाई पनि टिकट नकाट्न उर्दी गरेको बुझिएको छ । यसअघि वालेट कम्पनी खल्तीले टिकट काट्दै आएको थियो । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएको छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो ।

युनिलिभर नेपालको साधारण सभाबाट लाभांश पारित

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडकाे ३१औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सोमबार सम्पन्न भएकाे साधारण सभाले सेयरधनीहरूलाई हालसम्मकै उच्च लाभांश पारित गरेकाे हाे । कम्पनीकाे सभाले गत वर्षकाे नाफाबाट सेयरधनीहरूलाई १ हजार ७ सय १४  प्रतिशत लाभा‌ंश पारित गरेकाे हाे । जुन हालसम्मकै उच्च लाभांश हाे । युनिलिभर नेपालका अध्यक्ष देव बजपाईले कम्पनीको वर्तमान अवस्थासम्म ल्याइपुर्‍याउन सेयरधनीहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा देव बजपाईको प्रारम्भिक सेवानिवृत्तिको पनि घोषणा गरिएकाे थियाे, जसले विगत ४ वर्षमा यूएनएलको नेतृत्व प्रदान गरेका थिए ।

नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिङ क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेको छ । उनी एक कुशल बैंकर हुन् । नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् ।

रिपब्लिक मिडियाको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडाैं । नेपाल रिपब्लिक मिडियाले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर १० गतेका लागि आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो । थापागाउँको काठमाडौं ब्याङ्केटमा सभा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २८ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ । यसैगरी, चालु आर्थिक वर्षको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछ ।

‍माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएकाे छ । साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित भएका छन् । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्याैपानले हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी मिति असाेज २१ गते योजनासमेत दर्ता गरी स्वीकृतिको प्रक्रियामा रहेको जानकारी गराए । यसका साथै उनले कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्नेगरी काम गर्ने विश्वास व्यक्त गरे ।