विकासन्युज

प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरे । सामाजिक सञ्जाल फेसबुकमा एयर एसियाको विमानलाई पानीको फोहराले स्वागत गरिएको ३७ सेकेण्डको भिडियो साझा गर्दै उनले भने, “भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ ।” नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ । रासस

बहिनी शारदा र चन्दाले लगाइन् राष्ट्रपति पौडेललाई टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र, करोडौं कमाइ

 काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ । गत दसैँ हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ”, उनले भने । दसैँ लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार ग(यो । चलचित्र ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि राम्रो व्यापार गरिरहेको छ । यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन् । “दर्शकहरुले माया गर्नुभएको छ । यो मेरा लागि नौलो अनुभव हो । मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु”, अभिनेता बरालले भने । चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा ल्याए । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ । चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, “चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौँ ।” दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङख्या वृद्धि भएको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् । रासस

प्रधानमन्त्री ओलीले लगाए बहिनीहरुबाट टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

अडानीले बंगलादेशलाई दिए चेतावनी, बिजुलीको बक्यौता नतिरे बिजुली काटिने

  काठमाडौं । बंगलादेशमा बिजुलीको संकट उत्पन्न हुने देखिएको छ । अडानी समूहले बंगलादेशलाई नोभेम्बर ७ सम्ममा बक्यौता तिर्न भनेको छ । रकम नतिरे अडानी पावरले बंगलादेशमा विद्युत् आपूर्ति बन्द गर्नेछ । यदि यस्तो भयो भने बंगलादेशमा बिजुली संकट आउन सक्छ । अहिले अडानी पावरले बंगलादेशमा आधा आपूर्ति बन्द गरेको छ । अडानी पावरले बंगलादेशलाई बिजुली आपूर्ति गर्दै आइरहेकाे छ । बंगलादेशले अडानी पावरलाई ८५० मिलियन डलर (लगभग ७ हजार २०० करोड भारु) तिरेको छ । यो रकम माग गर्न अडानी पावरले बंगलादेशको अन्तरिम सरकारसँग पटकपटक वार्ता गरे पनि समाधान हुन सकेको छैन । यस्तो अवस्थामा अडानीले बिजुली आपूर्ति काट्ने बताएको छ । यसभन्दा अघि अक्टाेबर ३१ सम्मको समयसीमा टाइम्स अफ इन्डियाका अनुसार अडानीले बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) लाई बक्यौता तिर्न र भुक्तानीको सुरक्षा सुनिश्चित गर्न १७० मिलियन डलर (लगभग १ हजार ५ सय करोड भारु) को लेटर अफ क्रेडिट (एलसी) उपलब्ध गराउन आग्रह गरेको थियो । यसका लागि अक्टाेबर ३१ सम्मकाे समयसीमा तोकिएको थियो । स्रोतका अनुसार बीपीडीबीले बक्यौता रकमका लागि कृषि बैंकमार्फत एलसी जारी गर्न माग गरेको थियो । तर यो कदम विद्युत् खरिद सम्झौताको सर्तबमोजिम भएन । यसको एउटा कारण डलरको अभाव रहेको बताइएको छ । यही कारणले बीपीडीबीले अडानी पावरलाई एलसी दिन नसकेकाे बताइएकाे छ । बिजुली आपूर्ति आधा अडानी पावर झारखण्ड लिमिटेडले एलसी नपाएपछि बंगलादेशमा विद्युत् आपूर्ति आधा बन्द गरेको छ । बंगलादेशमा विद्युत् संकट उत्पन्न भइसकेकाे छ । अडानी पावर झारखण्ड बंगलादेशको सबैभन्दा ठूलो बिजुली आपूर्तिकर्ता हो । त्यसपछि पायरा (१ हजार २४४ मेगावाट), रामपाल (१ हजार २३४ मेगावाट) र एसएस पावर १ (१ हजार २२४ मेगावाट) प्लान्टहरू छन् । अडानी पनि प्रभावित हुने गोड्डा प्लान्टबाट बंगलादेशलाई विद्युत् आपूर्ति गरिँदै आइएकाे छ । यस प्लान्टबाट बिजुली खरिदकर्ता गर्ने बंगलादेश एकमात्र देश हाे । बंगलादेशमा आधा आपूर्ति बन्द भएपछि अडानी पावर झारखण्डले ८०० मेगावाटका दुई युनिटमध्ये एउटा बन्द गर्नुपरेको छ । यस्तो अवस्थामा यसको असर अदानी समूहमा पनि देखिनेछ ।

जुवाको खालबाट नगद ९ लाखसहित १५ जना पक्राउ

धरान । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार रुपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ । निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान, वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुने

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह आइतबार वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः०० बजे इजिप्टको कायरो प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा बिदाइ गरेका थिए । विश्वका एक सय ५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् । अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहने मन्त्रालयले जनाएको छ । सहरी विकासका बारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीनवटा सत्रलाई सम्बोधन गर्नेछन् । सो क्रममा उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्नेगरी कसरी सहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनेछन् । त्यस्तै, सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यही नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ । उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारीहरू पनि कायरो प्रस्थान गरेका छन् । उनी कार्यक्रममा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किनेछन् ।

रिलायबल नेपाल लाइफको डीसीईओमा तिवारी चयन

काठमाडाैं । रिलायबल नेपाल लाइफको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपेशबाबु तिवारी चयन भएका छन् । कम्पनीको वरिष्ठ सहायक महाप्रबन्धक रहेका तिवारीलाई सञ्चालक समितिले डीसीईओमा चयन गरेको हो । कार्तिक एक गतेदेखि कम्पनी सचिवको जिम्मेवारीसमेत पाएका तिवारीसँग बैंकिङ र बीमा क्षेत्रको करिब दुई दशकको अनुभव रहेको छ । एमबीए र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका तिवारी व्यवस्थापनमा अब्बल मानिन्छन् । उनले फाइनान्स कम्पनीबाट आफ्नो करिअर सुरुआवत गरेका थिए । पछि उनी बीमा क्षेत्रमा प्रवेश गरेका हुन् ।