विकासन्युज

घुमघामको याम : यी हुन् गण्डकीका गन्तव्य

काठमाडौं । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ । कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । तपाईँ पनि यो शरद्याममा घुमफिरको योजनामा हुनहुन्छ भने गण्डकी प्रदेशमा रहेका पर्यटकीयस्थल यहाँका लागि उपयुक्त हुनसक्छन् । प्रकृति, संस्कृति र साहस (नेचर, कल्चर र एडभेन्चर) लाई गण्डकी प्रदेशको पर्यटनको मूल आधार मानिन्छ । पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा भइसकेको स्थितिमा यहाँ हुने पर्यटकीय गतिविधिले मुलुककै पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्छन् । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै बामे सरेको यस क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्ने गरेको सरकारी तथ्याङ्क छ । यहाँ भित्रिने आन्तरिक पर्यटकको कुनै लेखाजोखा नभए पनि पर्यटकीय सहर पोखरा अधिकांश नेपालीको पहिलो रोजाइ बन्ने गरेको छ । विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्ष, मनास्लुलगायत गन्तव्यस्थल गण्डकीका पर्यटकीय वैभव हुन् । नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गरेका यी गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन् । समुन्द्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ । प्राचिन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरुको बसोबास रहेको यो प्रदेश साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका साँस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खा, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् । मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचिन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पवर्त र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ । स्याङ्जाका रुद्रमान गुरुङले २०५४ मा पहिलोपटक ग्रामिण पर्यटनको अवधारणा नेपाल भित्राएका थिए । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लामा विस्तारित घरबास ९होमस्टे० कार्यक्रमले ग्रामिण पर्यटनको उत्थानमा महत्वपूर्ण टेवा पुर्याएको छ । जनजाति बाहुल्य समुदायमा घरबास सञ्चालित छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् । यी हुन् गण्डकीका गन्तव्य कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङलगायतका पर्यटकीय गाउँ लोभलाग्दा छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै, कोरी आदि क्षेत्र पदयात्राका लागि प्रसिद्ध मानिन्छन् । बागलुङका पर्यटकीय गन्तव्यहरुमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत पर्छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र हो । बर्सेनि दुई याममा उक्त आरक्षमा वन्यजन्तुको वैधानिक सिकार गरिन्छ । साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि विदेशी सिकारीहरु ढोरपाटन पुग्नछन् । ढोरपाटन उपत्यका, बुकी, भुटानी शरर्णाथी बस्तीलगायतले पनि त्यस क्षेत्रको आकर्षण बढाएका छन् । तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कोरला नाका, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । मुक्तिनाथ विश्वभरका हिन्दु धर्मवालम्बीहरुमाझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङ पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे-डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् । व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले पाँच वर्षअघि प्रदेशका ११ वटै जिल्लाका १०/१० गरी ११० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो । गत वर्ष चैतमा गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।

छठका लागि ५ करोडको केरा माग, भारतबाट आयात गर्नुपर्ने बाध्यता

काठमाडौं । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्र ५ करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले अघिल्लो वर्ष करिब ४ करोड रुपैयाँभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब ५ करोड रुपैयाँ बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए । जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए । ‘छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५/३० ट्रक बढी केरा मगाइएको छ,’ सचिव पूर्वेले भने । फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा १ हजार २ सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रुपैयाँ पर्छ । बजारमा प्रत्येक केराको घरीलाई ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मूल्यमा बिक्री गरिन्छ । नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ । साथै देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरू बताउँछन् ।

सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् । नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपराह्न ३ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन् । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२१) को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो । उक्त सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए । उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । यस्तै, सम्मेलनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सहअध्यक्ष, महानिर्देशकलगायत विभिन्न पदमा नयाँ कार्यसमिति चुन्ने कार्यक्रमसमेत छ । उक्त सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यकपर्ने अमेरिकी डलर एक हजार अर्ब भन्दा बढीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ । यसले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धीमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्नेछ । सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ । उक्त सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य उर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यासहरुको आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतको नवीकरणीय उर्जामन्त्री एवम् ‘आइएसए’को अध्यक्ष प्रह्लाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा नेपालको नविकरणीय उर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ । आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ । उक्त सम्मेलनमा भाग लिन मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठसमेत नयाँदिल्ली गएका हुन् ।

भूमिहीन शिविरमा छैन तिहारको रौनक

कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ । ‘त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ,’ शिविरका दलबहादुर बोहराले भने, ‘दसैँ तिहार जे आए पनि कष्ट उस्तै छ ।’ टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेश्की पैसा लिएको उनले बताए । ‘साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए । अनुनय विनय गर्दा रु छ सय मागेर ल्याएँ,’ उनले भने । ७ वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्को पानी त चुहिन्छ नै । हिउँदमा शीतका थोपा झुपडी भित्रै खस्छ । ‘मजदुरी नगरे चुल्होमा आगो बल्दैन, मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरुसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनु परेको छ,’ अमृता साउदले भनिन् । ६ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन् । ‘चार महिना काम पाइयो, बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो । अहिले रित्तो फर्किएका छौँ,’ उनले भने । तिहारका बेला शिविर नजिकैका बस्तीहरु बत्तीले झकिझकाउ छन् । ‘दिउँसो त उज्यालो हुन्छ, रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काटनुपर्छ,’ शिविरका दीपेन्द्र सोवले भने । शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याईदिएको मोबाइल चार्ज गर्न समस्या छ । एकपटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा १० रुपैयाँ बुझाउनुपर्छ । सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन । दाताले उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरु छन् । शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरै जना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहँदा उनीहरु समस्यामा छन् । सामुदायिक वन छेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ । झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कैयौँ दिन भोकै बस्नु परेको कलावती दमाईले सुनाइन् । शुक्लाफाँटा नगरपालिकाकै बासिन्दा भए पनि पीडा सुनिदिने जनप्रतिनिधि नपाएको उनी बताउँछिन् । ‘यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे,’ प्रेमबहादुर साउदले भने, ‘अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौँ ।’ सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उनीहरुको माग छ । ‘सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौँ,’ राधिका सोवले भनिन्, ‘सुकुम्बासीको फाराम पनि भरेका छौँ, हालसम्म पुनःस्थापनले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौँ ।’ सामुदायिक विद्यालयमा बालबालिका पढाउँदा शुःल्क तिर्नुपर्ने हुँदा कक्षा ६/७ सम्म पढाएर बीचमै विद्यालय छुटाइ मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ । पहिरोले घरखेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौँदेखि अर्काको घरमा काम गर्नेहरुलाई विसं २०६२मा शिविरमा सारिएको हो । शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन् ।

सुनसान छन् तिहारमा गाउँघर

सोलुखुम्बु । ‘पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । ५/६ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,’ सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।’ उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले बताए । ‘गाउँघरमा पाका पुस्ताहरु मात्र बाँकी छन् युवा धेरै विदेशमा छन् । काठमाडौं गएकाहरु पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन्,’ उनले भने । युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार गाउँघरदेखि जिल्लाका बजारमा देउसीभैलो खेल्ने खासै देखिएका छैनन् । केटाकेटीहरु छिटफुट देउसी खेल्न हिँडेको उनले बताए । विगतमा टोलैपिच्छे विभिन्न समुह तथा क्लबले दिउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरुमा सामूहिक देउसी खेल्नेक्रम बढेको छ । गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउण्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताए । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमा झैँ चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ । अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक ९० हजार रुपैयाँसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले १० हजार रुपैउाँको व्यापार भएको सल्लेरीका व्यापारी निरकुमार नेपालीको भनाइ छ । ‘आर्थिक सङ्कटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको ५/६ वर्ष भयो । तर, यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन, तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो तर किन्ने मान्छे नै आएनन्,’ उनले भने । किराना होस वा अन्य पसलमा ग्राहकहरुको उपस्थिति थोरै छ । व्यवसायीमा निराशा छाएको देखिन्छ । ‘कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो, तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडवाडको उमङ्ग देखिँदैन,’ बासाका स्थानीय व्यापारी उजीर कार्कीले भने । विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसीभैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर पनि रातभर देउसीभैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गरे । यस वर्ष २४सै घण्टा देउसीभैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर देउसीभैलो खेल्नेहरु भेटिँदैनन् । रातभर गुञ्जिने देउसे गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ । पहिलेपहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरु तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको सङ्ख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ । यद्यपि जिल्ला भित्रिनेको सङ्ख्या न्यून हुँदा कतिपय गाडीहरु खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातयात समितिका सदस्य जीवन थापाले बताए । ‘अघिल्लो वर्ष काठमाडौँबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौँ फर्काउनु परेको थियो । यसपाली त्यस्तो छैन् । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौँ मै थन्किएर बसेका छन्,’ उनले भने । लोप हुँदै मौलिकता तिहार भन्नेबित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर, पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका-६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसीभैलोको याद खुब आउँछ । तर पछिल्ला वर्षहरुमा देउसीभैलो खेल्दा त्यो मौलिकता नभेटिएको उनले बताए । हरेक चाडपर्वको आफ्नै महत्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसीभैलो हो । तर पछिल्लो समय देउसीभैलो खेल्ने शैली परिवर्तन भएको छ । आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका-७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउँछन् । देउसीभैलो खेलिने प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरु तिहारको समयमा देउसीभैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर आधुनिकताको प्रभाव बढ्दा देउसीभैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेलको बताउँछन् । ‘एक त गाउँघरमा युवा छैनन्, भएकाहरु पनि क्यासेट बजार नाच्छन् गाउँछन् मुखले भट्टाएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो,’ कट्टेलले भने । मौलिक देउसीभैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसीभैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अङ्ग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसीभैलो मान्ने जमात बढ्दो छ ।

तस्बिरमा भीआईपीहरूको भाइटीका (फोटोफिचर)

काठमाडौं । तिहारको अन्तिम दिन आइतबार देशका भीआईपीहरूले पनि भाइटीका लगाएका छन्। दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् । झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उनले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छिन् । टीका लगाउसँगै उनले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । उनले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।  

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

अमेरिका: ए देखि जेड सम्म, २०२४ को चुनाव अभियान अक्षरैपिच्छे

काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनाव बुझ्न गाह्रो भइरहेको छ ? यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको लडाइँका बारेमा मार्गदर्शन गर्न एउटा ए-जेड शब्दकोश छ । ए-गर्भपतन (एबोर्सन): एक संवेदनशील मुद्दा जसलाई डेमोक्रेटहरूले राष्ट्रपतिका रूपमा ट्रम्पले सङ्घीय अधिकार समाप्त गरेका कारण उहाँको कमजोरीका रूपमा प्रयोग गर्ने आशा गरेका छन् । बी-सीमा (बोर्डर): राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसको कार्यकालमा मेक्सिकोको सीमाबाट लाखौँ कागजात बिनाका आप्रवासीहरूले पार गरेको आरोप लागेसँगै बाइडेनसँगको सहयोगका कारण उपराष्ट्रपति ह्यारिसका लागि कमजोरी । सी- क्यालिफोर्नियाः ह्यारिसको उदारवादी गृह राज्य । यस परिस्थितिले उनलाई स्वतन्त्र र रिपब्लिकन मतदाताहरूलाई लोभ्याउन अझ बढी मध्यमार्गी देखिने प्रयास गर्न प्रेरित गरेको छ । डी-बहस (डिबेट): जुनमा बाइडेनको विनाशकारी प्रदर्शनले उहाँलाई चुनावी प्रतिस्पर्धा छाड्न बाध्य पार्यो । ट्रम्पलाई ह्यारिसले बहसमा पराजित गर्नुभयो र ट्रम्पले चुनाव दिनअघि पुनः बहस गर्न अस्वीकार गरे । ई-एलन मस्कको रूपमा: प्रविधि उद्योगपति मस्कले आफ्नो मुख, पैसा र मिडिया प्लेटफर्म ट्रम्पको सेवामा लगाएका छन् । एफ- कोष सङ्कलन (फन्डरेजिङ): बाइडेनको स्थान लिएपछि, ह्यारिसले अचानक खुसी समर्थकहरूबाट ठूलो मात्रामा चन्दा आकर्षित गरेर अमेरिकालाई चकित पारे । कुकुर र बिरालो खाने ? जी-जननेन्द्रिय  (जेनिटेलिया) : दिवङ्गत गल्फ महान् अर्नोल्ड पामरको शारीरिक विशेषतालाई ट्रम्पले चुनावी र्यालीमा सम्बोधन गर्न उचित ठाने । एच-हैटियन: ओहायोमा बस्ने केही आप्रवासीको राष्ट्रियताका बारेमा ट्रम्प, उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्स र अन्य रिपब्लिकनहरूले गलत रूपमा मानिसहरूका कुकुर र बिरालो खाइरहेको आरोप लगाए । आई-जानकारी (इनफर्मेसन, गलत र भ्रामक) : पाल्तु जनावर खाने हैटियन र रिपब्लिकन विधायक मार्जोरी टेलर ग्रिनको रत्नजस्तो फर्जी दाबीको कुहिरोले बाइडेन प्रशासनको मौसमलाई नियन्त्रण गरिरहेको छ । जे-जनवरी ६: सन् २०२० को चुनावमा बाइडेनसँग हारेपछि ट्रम्पलाई सत्तामा राख्न चाहने हिंसक ट्रम्प समर्थकहरूद्वारा सन् २०२१ को क्यापिटल विद्रोहको मिति । ट्रम्पले हालै विद्रोहलाई ‘प्रेमको दिन’ भनेका छन् । के-कमला : नाममा के छ रु यदि निर्वाचित भएमा । उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति र दक्षिण एसियाली वंशको पहिलो राष्ट्रपति हुनुहुनेछ । दुवै ऐतिहासिक उपलब्धिहरू उहाँको नाममा प्रतिबिम्बित छन् । एल-महिलाहरू (लेडिज) :बिरालो भएका तर बच्चा नभएका । भान्सले वर्षौंअघि परिभाषित गरेको जनसाङ्ख्यिकी समूह । यसले उनलाई उनलाई सताउन फर्केर आयो । एम-मिडिया स् ह्यारिसलाई एक-एक अन्तर्वार्ताहरू टार्ने आरोप लागेको थियो । यसले अमेरिकीहरूले उहाँका बारेमा धेरै नजानेको छाप बलियो बनायो । तथापि उनी हालै यस कार्यमा विकसित भएका छन् । फक्स न्युजसँगको शत्रुतापूर्ण अन्तर्वार्ता समेत सामना गरेका छन् । सबैभन्दा सुन्दर शब्द एन-राष्ट्रिय सुरक्षा (नेसनल सिक्योरिटी): ट्रम्पले यसलाई बलियो बनाउने बताएका छन् भने ह्यारिसले ट्रम्प यसका लागि खतरा भएको ठाने । ओ-पुरानो (ओल्ड): ८१ वर्षीय बाइडेन अर्को कार्यकालका लागि धेरै थकित भएको छाप परेकोले पछि हटे । ७८ वर्षीय ट्रम्प अहिलेसम्मकै सबैभन्दा पाको अमेरिकी उम्मेदवार हुन् । तुलनात्मक रूपमा ६० वर्षीय ह्यारिस जवान देखिन्छिन् । पी-प्रोजेक्ट २०२५ : ट्रम्पअन्तर्गत अति-दक्षिणपन्थी शासनका लागि एक प्रमुख थिङ्क ट्याङ्कको खाका । क्यू-राजीनामा (क्विट): बाइडेन दौडबाट बाहिरिनु । यस जुलाईमा पदस्थ राष्ट्रपतिले किनारा लागेर ह्यारिसलाई स्थान दिएको राजनीतिक भूकम्पले अर्को ट्रम्प कार्यकालका लागि बढ्दो रूपमा आत्मसमर्पण गरेका डेमोक्रेटहरूलाई पुनर्जीवित गर्यो । आर-अस्वीकार (रिफ्युजल) : अर्को जनवरी ६ जस्तो विद्रोहको छायाँ उठाउँदै ट्रम्पले नोभेम्बरमा हार स्वीकार गर्ने वाचा गर्न अस्वीकार गरेका छन् । एस-स्विङ राज्यहरू स् सात राज्य जुन जुनसुकै तर्फ जान सक्छन् र चुनाव निर्धारण गर्ने मानिन्छन् । टी-भन्सार शुल्क (ट्यारिफ): ट्रम्पले अमेरिकामा हुने सबै आयातमा लगाउने भनिएकाे कर । ‘यो शब्दकोषको सबैभन्दा सुन्दर शब्द हो’ उनले भनेका छन् । यू-‘अयोग्य’ र ‘अस्थिर’ (अनफिट र अनस्टेबल): ह्यारिसले ट्रम्पलाई वर्णन गर्ने तरिका । भी-अस्पष्ट (भेग): ह्यारिसले सम्भावित मतदाताहरूलाई अलग नपार्न जानाजान आफ्नो नीतिगत स्थितिहरू अस्पष्ट छोडेको आरोप सामना गरेकी छिन् । ट्रम्पले पनि तिनीहरूलाई कसरी सत्य बनाउने भन्ने विवरण नदिई ठूला वाचाहरू गरेका छन् । डब्ल्यू-विचित्र (वेर्ड): ह्यारिसकी उपराष्ट्रपति उम्मेदवार टिम वाल्जले ट्रम्प, भान्स र उनीहरूको परिधिमा रहेका अन्यहरूलाई वर्णन गर्न यो शब्द गरेका छन् । यसले डेमोक्रेटहरूलाई धेरै खुसी तुल्यायो । एक्स-थकित (एक्जस्टेड):ट्रम्पका एक सहयोगीले कठिन अन्तिम चरणमा रिपब्लिकनलाई वर्णन गर्न प्रयोग गरेको भनिएको शब्द । वाई-यस म्यान स् ट्रम्पले दोस्रो कार्यकालमा आफूलाई घेर्ने मानिसहरू । यसको अर्थ हठी वा खतरनाक व्यवहारको विरुद्ध कुनै सुरक्षा बार नहुने डर । जेड-जेलेन्स्की, भोलोदिमिर: निश्चय नै २०२२ को आक्रमणको आदेश दिने पुटिनप्रति ट्रम्पको झुकावका बारेमा चिन्तित युक्रेनी राष्ट्रपति ।