विकासन्युज

तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु

काठमाडौं । तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ । अहिले वीरगञ्जसहित तराई–मधेसमा छठको रौनक सुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीब्र बनेको छ । पर्साको मुख्य आर्यनको केन्द्रमा रहेको घडीअर्वा पोखरी, रानीघाट र मुडी छठ को लागी दुलही झैं सिंगार्न सुरु गरिएको छ । चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्यवस्तु अनिर्वाय रूपमा बार्ने चलन रहिआएको छ ।

सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

काठमाडौं । सिटिजन्स बैंकका दुई जना संस्थापकले आफ्नो सेयर स्वामित्व घटाएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष तारा विष्ट र दिग्विजय विष्टले आफ्नो सेयर स्वामित्व घटाएका हुन् । बैंकका अनुसार गत असारसम्म दिग्विजय विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४७ लाख ९६ हजार रुपैयाँ र तारा विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४३ लाख ५१ हजार रुपैयाँ सेयर स्वामित्व छ । जबकि अघिल्लो वर्ष तारा विष्टको १.६५ प्रतिशत अर्थात् २३ करोड ४३ लाख ५१ हजार रुपैयाँ, र दिग्विजय विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४६ लाख ८६ हजार रुपैयाँ सेयर स्वामित्व थियो । यस्तै, संस्थापक रमेश शर्माले बैंकमा आफ्नो स्वामित्व बढाएका छन् । उनको १.०२ प्रतिशत अर्थात् १४ करोड ५१ लाख १ हजार रुपैयाँ सेयर स्वामित्व छ । अघिल्लो वर्ष शर्माको १.०१ प्रतिशत अर्थात् १४ करोड ३९ लाख ८८ हजार रुपैयाँ स्वामित्व थियो । सिटिजन्स बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेका २६ व्यक्ति तथा कम्पनीको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर लगानी छ । बैंकमा सबैभन्दा धेरै नागरिक लगानी कोषको ३.३५ प्रतिशत अर्थात् ४७ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात् ४६ करोड ९२ लाख ६८ हजार रुपैयाँ, बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात् २२ करोड ५३ लाख ६५ हजार रुपैयाँ, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात् १९ करोड ४६ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ । यस्तै, पवित्रकुमार कार्कीको १.२८ प्रतिशत अर्थात् १८ करोड १९ लाख ५४ हजार रुपैयाँ, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत अर्थात् १८ करोड १३ लाख ७६ हजार रुपैयाँ, सावित्री शर्माको १.१८ प्रतिशत अर्थात् १६ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, सोनी जोशीको ०.९४ प्रतिशत अर्थात् १३ करोड ३२ लाख २९ हजार रुपैयाँ, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत अर्थात् ११ करोड ९९ लाख २९ हजार रुपैयाँ, जगन्नाथ ज्ञवाली ०.७३ प्रतिशत अर्थात १० करोड ३९ करोड २४ हजार रुपैयाँ र डा.शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत अर्थात् १० करोड २९ लाख ७८ हजार रुपैयाँ, विष्णु प्रसाद पोखरेलको ०.७१ प्रतिशत अर्थात् १० करोड १ लाख ९६ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, सुलोचन राजभण्डारीको ०.६८ प्रतिशत अर्थात् ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ, प्रमिला नेपालको ०.५६ प्रतिशत अर्थात् ७ करोड ८८ लाख ६३ हजार रुपैयाँ, रमिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६८ लाख ७९ हजार रुपैयाँ र मनिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६७ लाख ३७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, प्रतापजंग पाण्डेको ०.५२ प्रतिशत अर्थात् ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ, राजेश खड्काको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ५१ हजार रुपैयाँ, राम प्रसाद श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ७ करोड १८ लाख २७ हजार रुपैयाँ, प्रेम बहादुर श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ७ करोड १८ लाख २५ हजार रुपैयाँ, एस.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को ०.५० प्रतिशत अर्थात् ७ करोड १५ लाख ८३ हजार रुपैयाँ र अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत अर्थात् ७ करोड १० लाख ७७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

विश्व सहरी फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौं । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सो सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । विश्वका १५० भन्दा बढी देशको सहभागिता हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका सहरबाट (स्थानीय पालिका) चन्द्रागिरि नगरपालिकाले भाग लिने लागेको हो । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरिले ‘भिएलआर’ प्रतिवेदन तयार गरेको थियो । सम्मेलनमा भाग लिन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी शनिबार इजिप्टको कायरोतर्फ प्रस्थान गरेका छन् । उनले सम्मेलनमा नगरपालिकाका तर्फबाट भिएलआर प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति एवं सम्बोधन समेत गर्नेछन् । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको थियो । प्रमुख गिरीले भने, ‘दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । यही प्रतिवेदनका बारेमा मैले अन्तराष्ट्रिय समुदायमा जानकारी गराउँदछु । यो नगरपालिका एवं मेरो लागि ऐतिहासिक अवसर हो ।’ उनले नगरपालिकालाई थप आवश्यक सहयोग जुटाउन विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनम महत्वपूर्ण हुने विश्वाससमेत गरे । दिगो विकास लक्ष्यका विभिन्न विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् । चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ । सहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न चन्द्रागिरिले उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाले दातृ निकायका सहकार्यमा ‘कोभिड–१९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहलमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना’ पनि सञ्चालन गरिरहेका छ । सहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन एकापसमा अन्तरसम्बन्धित हुने बताइएको छ । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष गरेर सहरीकरणका लागि मुख्य चुनौती बनिरहेका खानेपानी, सरसफाइ र सहरी पूर्वात्रधारको व्यवस्थापनको विषयमा सहभागी देशका बीचमा छलफल हुने जनाइएको छ । साथै बस्ती विकासका क्रममा भोगका समस्या, जलवायु परिवर्तनका कारण देखिएका असरका बारेमा अनुभव आदान प्रदान हुने छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, ‘सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने ध्येयलाई पूरा गर्न ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ प्रतिवेदनले सहयोग पुर्याउँछ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्दै समुन्नत नगर बनाउने हाम्रो प्रमुख ध्येय हो । यसैमा हाम्रा समग्र नीति, योजना तथा कार्यक्रम केन्द्रित छन् । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाउनु नगरपालिकाका लागि अवसर मिलेको छ ।’ उनले नगरपालिकाले भौतिक पूर्वाधारका साथसाथमा विशेष गरेर शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता क्षेत्रमा नयाँ ढङ्गबाट काम गरिरहेका जानकारी दिए ।

कोरलामा खानेपानी र शौचालयको अभाव, नेपाली टहरामा, चीनतर्फ भव्य महल

काठमाडौं । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि ४ हजार ६ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने समस्या रहेको गुनासो गरे । ‘एउटा सार्वजनिक शौचालय भए पनि फोहोर भएकाले प्रयोग गर्न नमिल्ने भएको रहेछ, पानीको पनि सुविधा नभएकाले झाडी खोज्नुपर्दा असहज भयो,’ उनले भने । नेचुङमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका अनुसार असोज महिनायता दैनिक ३ सय वटाको हाराहारीमा बस, जिप र मोटरसाइकलमा हजारौँ आन्तरिक पर्यटकहरु कोरला नाका घुम्न पुगेका छन् । छोसेरदेखि माथि कोरलातर्फ विदेशी पर्यटकलाई निषेध गरिएको छ । आन्तरिक पर्यटकहरुलाई पनि नेचुङभन्दा माथि क्यामेरा लैजान र कोरोला नाकामा चीनतर्फ फर्किएर तस्बिर खिच्न रोक लगाइएको छ । सुक्खा मरुभूमिजस्तै समथर फाँट, पृष्ठभूमिमा देखिने हिमाल र सीमापारि चीनले बनाएका संरचना हेर्न तथा किनमेलका लागि नेपालीहरु कोरला नाका पुग्ने गर्छन् । मोटरसाइकल चढेर कोरला नाका पुगेका पोखराका सौरभ गौतमले सूचनामूलक होडिङ बोर्ड र फोहोर फाल्ने डस्टबिन राख्नुपर्ने बताए । प्रदेश सरकारले सुरक्षा निकाय र आपत्कालीन आश्रयका लागि कोरलामा बनाएको १० कोठे प्रिफेक प्रविधिको अस्थायी संरचनाको भवनमा गत हप्ता अध्यागमन कार्यालय स्थापना भएको छ । अध्यागमन कार्यालय स्थापना गर्नुअघि कोरला नाकामा मोबाइल, इन्टरनेट र विद्युत् सुविधा विस्तार भएको थियो । कोरलामा ब्यवसाय गर्दै आएका लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले खानेपानी र शौचालयको अभाव खड्किएको बताए। ‘चीनले कहिलेकाहीँ ट्याङ्करमा दिने पानीले पुग्दैन्, १० किलोमिटर तलबाट गाडीमा पिउने पानी ओसार्ने गरिएको छ,’ उनले भने । संसदीय समितिको सुझाव कात्तिक दोस्रो साता गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको टोलीले कोरला नाकाको निरीक्षण गरेको थियो । निरीक्षणमा सहभागी मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य बिकल शेरचनले कोरलामा तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको विषयमा सरकारलाई सुझाव दिएको बताए । खानेपानी र शौचालयका साथै फोहोर व्यवस्थापनका लागि तत्कालै काम गर्नुपर्ने उनले बताए । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो । चार वर्षपछि २०८० कात्तिक २७ गते कोरला नाका सञ्चालन भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत-जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता देखिएको गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिका सदस्य हरिबहादुर भण्डारीले बताए । चीनलाई सुरक्षाप्रति विश्वस्त बनाउन नाकामा सुरक्षा र राज्यका निकायको नियमित उपस्थितिका लागि पूर्वाधार निर्माणको काम तत्कालै अघि बनाउन समितिले सरकारलाई सुझाव दिएको छ । कोरलामा बन्दरगाहा निर्माणका लागि सरकारले एक हजार रोपनी जग्गाको व्यवस्थापन पनि गरिरहेको छ । तर स्थायी भौतिक संरचना बनाउन बजेट व्यवस्थापन तथा काम सुरु भएको छैन । नेपाली टहरामा, चीनतर्फ भव्य महल कोरलाको चीनतर्फ निर्माण भएको भवनभित्र पसलहरु छन् । भवन पछाडि ठूलो बस्ती बसेको छ । चीनले कोरलासम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रवेश अनुमतिपत्रका आधारमा मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा चिनियाँ बजारमा किनमेलका लागि जाने गर्छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाका लागि पनि प्रवेशपत्र वितरणको काम भइरहेको छ । हालसम्म करिब ३ हजार जनाले प्रवेश अनुमतिपत्र लिएका प्रशासनले जनाएको छ । छोसेरका व्यवसायीहरुले नेपालतर्फ त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिया तथा खाजा पसल खुलेपछि पर्यटक र व्यापारीलाई सहज भएको छ । अस्थायी टहरा नहुँदा चिसो बतास चल्ने सो ठाउँमा चिसोले ५ मिनेट टिक्न पनि मुस्किल पर्ने गरेको थियो । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पीठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना रहेको छ । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान चीनतर्फ निकासी हुन सकेको छैन । आर्थिक वर्ष २०८०÷८१ मा ८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको नेचुङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख १० हजार रुपैयाँ राजस्व उठेको जनाएको छ । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट भएको उहाँले व्यवसायी मीना गुरुङले बताए। अध्यागमन कार्यालयसँगै भन्सारसम्बन्धी सेवा र सुरक्षा पोष्ट पनि कोरलामै राख्नुपर्ने ब्यवसायीहरुले बताएका छन् । सरकारको प्रतिवद्धता अधिकृतको नेतृत्वमा आठजना कर्मचारी रहने गरी स्थापना भएको अध्यागमन कार्यालय चीनबाट नेपाल आउन र नेपालबाट चीन जानका लागि भिसा जारी गर्ने, भिसा ट्रान्सफरसम्बन्धी सेवा प्रवाह हुने अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । अध्यागमन कार्यालयको कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको थियो । उनले कोरलालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको, हिन्दू धर्मावलम्बीहरुलाई मानसरोवरको तीर्थयात्रा र बौद्ध धर्मावलम्बीलाई लुम्बिनी आवतजावतको व्यवस्था मिलाइने बताएका थिए । उनले नेचुङमा निर्माण भएको सशस्त्र प्रहरी बलको (बिओपी)को भवनको पनि उद्घाटन गरेका थिए । जोमसोमदेखि कोरला नाकासम्म ११० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक स्तरोन्नति थालिएको ८ वर्षमा पनि पूर्णता पाएको छैन । पोखरासम्मकै सडकलाई सहज बनाउन सरकारले प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताएक थिए । लोमान्थाङको लुङ्कुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वर्ष प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटबाट बनेको भवनमा अध्यागमन कार्यालय स्थापना भएको बताउँदै थप आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय तथा साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताए । चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई गण्डकी प्रदेशको भाग्यरेखाका रुपमा प्राथमिकता दिएर स्तरोन्नतिको काम भइरहेको पनि उनले बताए ।

एक सातादेखि स्थिर रह्यो अमेरिकी डलरको भाउ, यूरो १४५.४३ रुपैयाँमा झर्‍यो

काठमाडौं । एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अन्य देशको मुद्राको भाउ घटबण् भइरहँदा अमेरिकी डलरको मूल्य भने उच्च बिन्दुमा स्थिर रहेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.४३ रुपैयाँ र बिक्रीदर १४६.०८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.५३ रुपैयाँ र बिक्रीदर १७४.३० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.२८ रुपैयाँ र बिक्रीदर १५४.९७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.२० रुपैयाँ र बिक्रीदर ९६.६३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.२३ रुपैयाँ र बिक्रीदर १०१.६८ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७७ रुपैयाँ र बिक्रीदर ८.८१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९५ रुपैयाँ र बिक्रीदर ३.९७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६६ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७२ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४९ रुपैयाँ र बिक्रीदर १२.५४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५० रुपैयाँ र बिक्रीदर १९.५९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६७ रुपैयाँ र बिक्रीदर ४३९.६३ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०२ रुपैयाँ र बिक्रीदर ३५७.६२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

भोजभतेरममा बचेको खाने डोम समुदायमा छठसँगै आउँछ खुसी

धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन । क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्, ‘समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरु काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गज्रिनु परिरहेको छ ।’ उनी चाडपर्बका बेला भने आफूहरूको सीपले महत्व पाउने गरेको सुनाउँछन् । छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याइ रहेको मल्लिकको भनाइ छ । ‘सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास”, उनले हँसिलो मुद्रामा भने । दीपावलीलगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा ! तराईवासी हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धुनषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकारहरू बताउँछन् । छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका-१ स्थित धर्मवान टोलका श्याम मल्लिक डोमले सुनाए । सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बीच आउँने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताइन् । ‘अरु बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो,’ उनले खुसी हुँदै भनिन् । महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाए । त्यही बेचेर राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको उनको भनाइ छ । छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा ५/७ वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति १० रुपैयाँदेखि २० हजार रुपैयाँ र प्रत्येक परिवारले सरदर २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । मिथिला नगरपालिका(७ का ५५ वर्षीय राजबिर डोमले चाडपर्व आफूहरूका लागि पीर बिसाउने अवसरसमेत भएको बताए । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, सहरमा हुने भोजभतेरममा बचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाइन् । छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ । मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाए । हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन् । पछिल्लो समय तराईमा मात्रै नभइ देशको राजधानी काठमाडौंसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आश्यक सहयोग गर्नुपर्ने यसमा सङ्लग्न डोम समुदायका अगुवाहरूको भनाइ छ ।

तारजालकोट क्षेत्रमा गुल्जार, १० वर्षमा फेरियो मुहार

गलकोट (बागलुङ) । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने आधार बनेका छन् । यो क्षेत्र बाइसेचौबिसे राजाका पालमा यस्तै आकर्षक थियो भनिन्छ तर लामो समयसम्म संरक्षणको अभावमा वन्जर बन्यो । पछिल्लो समय यही तारजालकोटसहित पाँचकोटलाई एकीकृत रूपमा पञ्चकोट बनाउने सङ्कल्प गर्नुभएका पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पहलमा यो धार्मिक पर्यटकीय क्षेत्र बन्न सफल भएको हो । तारजालकोट भनिने उजाड डाँडा अहिले पञ्चकोटको रूपमा विश्वचर्चित बनेको बागलुङ नगरपालिका–६ सिमका स्थानीय गोविन्द आचार्यले बताए । पञ्चकोटलाई नेपाल सरकारले १ सय पर्यटकीय गन्तव्यमा समेत सूचीकृत गरेपछि पञ्चकोटको महिमा झनै बढेर गएको उनको भनाइ छ । ‘सानातिना पाँच वटा कोट थिए, स्वामी कमलनयनाचार्यको गृह गाउँ भएकाले २०७० सालमा स्वामी यहाँ भएको एक यज्ञमा आउनुभयो, त्यसक्रममा उहाँले अहिले पञ्चकोट भएको स्थानमा ध्यान र तपश्या गर्ने क्रममा पाँचकोटको सङ्गमस्थल बनाउने परिकल्पना गर्नुभएको थियो,’ आचार्यले भने, ‘स्वामीज्यूको परिकल्पनालाई स्थानीयले साथ दिएका कारण अहिले त्यो उजाड डाँडा धार्मिक पर्यटकीयस्थल बनेको छ ।’ आचार्यका अनुसार स्वामी कमलनयनाचार्य भान्सास्थित सदाशिव आधारभूत विद्यालयमा आयोजना गरिएको महायज्ञमा आएपछि उहाँले पञ्चकोटको विकास गर्ने परिकल्पना गर्नुभएको थियो । त्यसपछि अहिले पञ्चकोटमा रहेको गरुडशिलाभित्र रहेको गुफामा कुटी बनाएर ध्यान तपश्या गर्दै आउनुभएको र २०७१ साल फागुन ९ गते पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलशसहित अन्य संरचना बनाउन थालिएको थियो । करिब ९० रोपनी जग्गामा अहिले दर्जनौ धार्मिक संरचना निर्माण भइसक्दा पञ्चकोटको महत्व बढेको मात्रै छैन विश्वव्यापीसमेत भइसकेको धेरैको भनाइ छ । प्राकृतिक छटाले भरिपूर्ण पञ्चकोट क्षेत्रको ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसारकोट गरी पाँच कोटको संयुक्त रूपलाई नै पञ्चकोटका रूपमा विकास गरिएको छ, पछिल्लो समय पञ्चकोटमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समेत लगानी बढ्न थालेको छ । बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र केसीले तारजालकोटमा पञ्चकोटको संरचना बनेको र भने अन्य कोटलाईसमेत पुनःनिर्माण गरी नित्य पूजाआजा गर्न थालिएको जानकारी दिए । ‘अहिले पञ्चकोट भनिएको ठाउँ तारजालकोट हो, त्यसमाथिका चार वटा डाँडाँमा अरु कोट रहेका छन् कारिकोट, माझकोट, राङराङ्कोट र त्यो क्षेत्रकै सबैभन्दा अग्लो डाँडामा संसारकोट रहेको छ,’ केसीले भने, ‘पञ्चकोटका कारण अन्य कोटहरूमा समेत सामान्य पूर्वाधार निर्माण भइरहेका छन्, अन्य कोटमा जाने पदमार्ग, सत्तललगायत संरचना निर्माण भइरहेका छन् ।’ पञ्चकोटमा १० वर्षको अवधिमा रु ५० करोडभन्दा बढी लगानीमा विभिन्न भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले यस भूमिलाई धार्मिक क्षेत्र बनाउन लागि १० वर्ष लागेको र अझै अन्य योजनाहरू कार्यान्वयनको चरणमा रहेको बताए । दामोदरकुण्ड, मुक्तिक्षेत्र, गलेश्वरधाम, पञ्चकोट, शालग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामसम्मको धार्मिक क्षेत्रलाई एकीकृत गरी पञ्चकोटको विकास भइरहेको उनले जानकारी दिए । ‘कालीगण्डकीले कुँदेको पहाडमा यो विशाल संरचना त्यसै बनेको छैन, यहाँ धेरैको सहयोग, लगानी छ । हाल सरकारीस्तरबाट समेत बजेट आइरहेको छ, यहाँ राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको सवारी भइसकेको छ,’ उनले भने, ‘१०८ फिट अग्लो कलश निर्माणका लागि समय समयमा महायज्ञ गर्दै आइएको छ ।’ पञ्चकोटमा गत फागुनमा मुक्तिनाथ महाघण्ट स्थापना गरिएको छ । पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको स्वामीको भनाइ छ । महाघण्ट ८ वर्षदेखिको परिकल्पना हाल आएर पूरा भएको र पञ्चकोटका सम्पूर्ण योजनाले पूर्णता पाउन भने अझै १० वर्ष लाग्ने जनाइएको छ । पञ्चकोटमा अहिलेसम्म सिसमहल, गरुड शिला, गण्डकीमाताको मन्दिर, पञ्चयज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले यी संरचना बनेका हुन् । समुन्द्री सतहदेखि १ हजार ७५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि विसं २०७१ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए । करिब १ सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भइसकेको छ । यस्तै, गण्डकी माताको मन्दिर र गरुणशिला, सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर बनिसकेको छ ।रासस

भानु नगरपालिकाको ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

काठमाडौं । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन युवाको सक्रियतामा पार्क निर्माण गरिएको जानकारी दिए। ‘यसलाई विशेषगरी टिकटक पार्कको रूपमा विकास गरिएको छ । गाउँमा पर्यटकीयस्थल बनाएर आन्तरिक पर्यटक भित्र्याउने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने । बानियाँका अनुसार हाल दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । ‘दसैँका बेला यहाँ रोटेपिङ हालेका थियौँ । यसले पनि आन्तरिक पर्यटकलाई लोभ्याएको छ । ३० फिट अग्लो नेपालको झण्डा फहराएका छौँ । विश्रामस्थलसमेत बनाएका छौँ। हरियाली डाँडापाखाको दृश्यले धेरैलाई लोभ्याउँछ,’ उनले भने । ओझेलमा रहेको सम्जुर गाउँको प्रचारप्रसारका लागि यहाँ पार्क निर्माण गरिएको हो । ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने अभियानअन्तर्गत गाउँका युवा र विदेशमा रहेका युवाको लगानीमा पार्क निर्माण गरिएको अध्यक्ष बानियाँले उल्लेख गरे । पार्क निर्माणका लागि भानु घर भई विदेशमा रहेकालाई आग्रह गरिएको र यसको निर्माणमा यही रहेका युवाले श्रमदान गरेका थिए । यस ठाउँलाई थप आकर्षक बनाउन अन्य पूर्वाधारसमेत निर्माण गर्ने क्लबको योजना रहेको जनाइएको छ ।