विकासन्युज

१ करोड बढी लगानीमा बायोप्लान्ट उद्योग सञ्चालन, प्लास्टिक निरुत्साहित गर्ने

काठमाडौं । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका-१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो । भजनी-५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन ल्याएका हुन् । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताए । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ । १ करोड रुपैयाँभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्नसक्नेछ । झोला बनाउने उपकरण खरिद गर्न मात्रै रु ८० लाख खर्च भएको विकले जानकारी दिए । ‘आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने मानसिकताले समयको आवश्यकताअनुसार उद्योग सञ्चालनमा ल्याएका हौँ, स्थानीय सरकारको साथ सहयोग भयो र प्लास्टिक निषेध गर्न सकियो भने स्थानीयस्तरमा रोजगारी सिर्जनादेखि व्यवसाय चलायमान बन्दै जाने विश्वास गरेका छौँ,’ उनले भने । दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्कीले बताए । उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहने उनको भनाइ छ । ‘स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्न सक्नुपर्छ । यो अहिलेको आवश्यकता हो भने सरकारले ल्याएको कार्ययोजनाको कार्यान्वयन गर्ने आधार पनि हो, हामीले प्लास्टिकको विकल्पको आधार तयार गरेका छौँ । यसमा व्यापारी र सरकारको साथ चाहिएको छ,’ कार्कीले भने । भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको बताउँदै कार्कीले सोही कारण बजारीकरणमा चुनौती हुने उल्लेख गरे । प्लास्टिकको झोला बजारमा प्रतिकेजी ३ सय रुपैयाँमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी ३५० रुपैयाँमा बिक्री गर्नु परिरहेकाले बजारीकरणमा समस्या हुने उनको भनाइ छ । स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको कार्कीले बताए । ‘धनगढीमा प्लास्टिक निषेध गरिएको छ । त्यहाँ हाम्रो उद्योगको झोलाको माग बढिरहेको छ, स्थानीय बजारमा व्यापारी महँगोमा झोला खरिद गर्न चाहिरहनुभएको छैन,’ उनले भने । गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास उनीहरुको छ ।

३२५ अर्ब डलर नगद लिएर बसेका वारेन बफेटको के छ योजना ?

काठमाडौं । अमेरिकाका प्रशिद्ध लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले लगातार आफ्नो क्यास (नगद) वृद्धि गरिरहेको छ । तेस्रो त्रैमासिकमा कम्पनीको नगद सञ्चिति रेकर्ड ३२५.२ बिलियन डलर पुगेको छ । यो भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको मार्केट क्यापभन्दा करिब ११७ अर्ब डलर बढी हो । मुकेश अम्बानीको कम्पनीको मार्केट क्याप हाल २०८ बिलियन डलरको आसपास छ । ९४ वर्षीय बफेटले सन् १९६५ देखि बर्कशायरको नेतृत्व गर्दै आएका छन् र कम्पनीको बाघडोर उपाध्यक्ष ग्रेग एबललाई सुम्पने अपेक्षा गरिएको छ । प्रश्न यो छ- अमेरिकी बजार रेकर्ड स्तरमा छ भने बफेटले किन यति धेरै नगद जम्मा गरिरहेका छन् ? अमेरिकाको एसएन्डपी ५०० इन्डेक्स अक्टोबर २०२३ देखि ४० प्रतिशतले बढेको छ । कम्पनीको १२ महिनाको इतिहासमा यो सबैभन्दा ठूलो छलाङ हो । बफेट आफ्नो कम्पनीलाई जोखिममा राख्न चाहँदैनन् । उनले आफ्नो नगद होल्डिङ मात्र बढाएका छैनन्, उनले आफ्नो ट्रेजरी बिल पनि बढाएर २८८ बिलियन डलरमा पुर्‍याएका छन् । बर्कशायर ह्याथवेले तेस्रो त्रैमासिकमा कुनै पनि कम्पनीको सेयर किनेको छैन भने गत वर्षको सोही अवधिमा कम्पनीले ३४५ मिलियन डलरकाे सेयर किनेको थियो । पछिल्लाे दुई वर्षमा कम्पनीको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वर्कशायरको नगद विश्वका धेरै कम्पनीको मार्केट क्यापभन्दा बढी बर्कशायर ह्याथवेको नगद ब्यालेन्स विश्वका धेरै कम्पनीकाे मार्केट क्यापभन्दा बढी छ । तेस्रो त्रैमासिकमा कम्पनीले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको १४.३ बिलियन डलरको सेयर बेचेको छ । पछिल्ला दुई वर्षमा बफेटले १०० अर्ब डलरको एप्पलको सेयर बेचेका छन् । (एजेन्सीहरूकाे सहयोगमा)

काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

विश्वका सबैभन्दा धनी राजा, घरजग्गा, बैंक र सिमेन्ट उद्योगमा ठूलो लगानी

काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नलाई राजा राम दशौं भनेर चिनिन्छ । उनी संसारकै सबैभन्दा धनी राजा हुन् । ६६ वर्षीय वजिरालोङकोर्नले आफ्ना पिता भूमिबोल अदुल्यादेजको मृत्युपछि अक्टोबर २०१६ मा राजगद्दी सम्हालेका थिए । उनका बुबाले ७० वर्ष शासन गरेका थिए । भूमिबोल संसारमा सबैभन्दा लामो समय शासन गर्ने राजा थिए । मे २०१९ मा वजिरालोङकोर्नले राज्याभिषेक गरेका थिए । अचम्मको कुरा के छ भने बेलायतका राजा चार्ल्स तृतीय संसारभरका एक प्रभावशाली राजा हुन् । तर, उनी विश्वका शीर्ष १० धनी राजाको सूचीमा भने परेका छैनन् । उनको कुल सम्पत्ति लगभग ४४७ मिलियन अमेरिकी डलर अनुमान गरिएको छ। यता महा वजिरालोङकर्नको कुल सम्पत्ति भने ४३ अर्ब डलर छ । राजा भूमिबोल अदुल्यादेज जसले ७० वर्षसम्म थाइल्यान्डको राजाकाे रूपमा शासन गरेका थिए । थाई शाही परिवारले शताब्दीयौंदेखि जम्मा गरेको विशाल सम्पत्ति र स्रोतसाधनलाई वजिरालोङकोर्नको सम्पत्तिको श्रेय मान्न सकिन्छ । रिपोर्टका अनुसार उनको ठूलो सम्पत्ति मुख्यतया रियल स्टेटमा उनकाे लगानीका साथै  थाइल्यान्डकाे सबैभन्दा ठूलो सिमेन्ट कम्पनी र बैंकको स्वामित्वबाट आएको हो । थाइल्याण्डले आफूलाई संवैधानिक राजतन्त्रको रूपमा मान्यता दिँदै आएकाे छ । फक्स बिजनेसका अनुसार राजा महा वजिरालोङकर्नको अनुमानित कुल सम्पत्ति ३० अर्ब डलरदेखि ४५ अर्ब डलरको बीचमा छ । रोयटर्सका अनुसार उनका पिता भूमिबोल अदुल्यादेजलाई २०११ मा विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वको सबैभन्दा धनी शासकको सूचीमा राखेको थियो । शासकको अधिकांश सम्पत्ति क्राउन प्रोपर्टी ब्यूरोबाट आउँछ । स्रोतका अनुसार क्राउन प्रोपर्टी ब्यूरोसँग थाइल्याण्डमा ६ हजार ५६० हेक्टर (१६ हजार २१० एकड) जमिन छ । यसअन्तर्गत देशभर ४० हजार भाडा सम्झौता छन् । जसमध्ये १७ हजार राजधानीमा छन् । राजा वजिरालोङकोर्नले यो सम्पत्तिको एक महत्त्वपूर्ण हिस्सा विरासतमा पाएका थिए । यसमा विशाल रियल स्टेट होल्डिङ, व्यापक व्यावसायिक हित र लगानीको ठूलो पोर्टफोलियो समावेश छ । चार सन्तानमध्ये एक छोरा सन् १९५२ मा जन्मेका वजिरालोङकोर्न राजा भूमिबोल र रानी सिरिकिटका चार बच्चामध्ये दोस्रो र एकमात्र छोरा हुन् । थाइल्याण्डमा आफ्नो प्राथमिक शिक्षा पूरा गरेपछि वजिरालाेङकोर्नले बेलायत र अष्ट्रेलियाका निजी विद्यालयमा पढेका थिए । उनले क्यानबेरा, अष्ट्रेलियाको रोयल मिलिटरी कलेज डन्ट्रोनमा पनि अध्ययन गरेका थिए र अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयबाट सैन्य अध्ययनमा स्नातक डिग्री हासिल गरेका थिए । राजाको आधिकारिक जीवनीका अनुसार वजिरालोङकोर्न एक योग्य हेलिकप्टर र लडाकु पाइलट पनि हुन् । उनले रोयल थाई आर्मीमा क्यारियर अफिसरको रूपमा सेवा गरेका थिए । वजिरालोङकोर्न एक योग्य हेलिकप्टर र लडाकु पाइलट पनि रहेको जनाइएकाे छ । चार विवाहको कथा के हो ? राजा महा वजिरालोङकर्नले आफ्नो वयस्क जीवनको अधिकांश समय विदेशमा बिताएका छन् । उनको जर्मनीमा घर समेत छ । उनले चार पटक विवाह गरिसकेका छन्, जसबाट उनका सात सन्तान छन् । बीबीसीका अनुसार सन् १९७७ मा राजा वजिरालोङकर्नले आफ्नी भतिजी राजकुमारी सोम्सावलीसँग विवाह गरेका थिए । डिसेम्बर १९७८ मा उनीहरूको पहिलो बच्चाकाे रूपमा राजकुमारी बज्रकितियाभाको जन्म भएको थियो । तर, त्यतिबेलासम्म उनको युवधिधा नामकी अभिनेत्रीसँग सम्बन्ध गाँसिएको थियो । १९७९ देखि १९८७ सम्म वजिरालोङकोर्नका पाँच सन्तान थिए । राजाले अभिनेत्रीसँग सन् १९९४ मा विवाह गरे । तर, १९९६ मा उनले सार्वजनिक रूपमा अभिनेत्री श्रीमतीको निन्दा गरे र आफ्ना चार छोराहरूलाई अस्वीकारसमेत गरे । उनीहरू त्यतिबेला बेलायतमा अध्ययनरत थिए । राजा महा वजिरालोङकोर्न र रानी सुथिदा । रिपोर्टमा वजिरालोङकोर्नले २००१ मा तेस्रो श्रीमती श्रीरास्मीसँग विवाह गरेको उल्लेख छ । २००५ मा तिनीहरूको अर्को छोरा राजकुमार दिपाङकोर्नको जन्म भयाे । महा वजिरालोङकोर्न आफ्नो राज्याभिषेक हुनुभन्दा केही दिनअघि मे २०१९ मा रानी सुथिदा बज्रसुधाबिम्बलक्षासँग विवाह गरेका थिए । दरबारले उनी रानी सुथिदा बन्ने र शाही परिवारको हिस्साकाे रूपमा शाही उपाधि र पदहरू धारण गर्ने घाेषणा गरेकाे थियाे । (एजेन्सीहरूकाे सहयाेगमा)

मौसममा आएको खराबीले हवाई उडान प्रभावित, सुगम क्षेत्रका विमानस्थलको उडान नियमित

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । ‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने । काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ । देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौं उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

ट्वीटरका पूर्वकर्मचारीले मस्कविरुद्ध हाले मुद्दा, वाचाअनुसारको तलब नदिएको गुनासो

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई अमेरिकी अदालतले ठूलो झट्का दिएको छ । क्यालिफोर्निया अदालतले ट्वीटर (अहिले एक्स)का पूर्वसीईओ पराग अग्रवाल र अन्य अधिकारीहरूलाई मस्कविरुद्ध मुद्दा दायर गर्न अनुमति दिएको हाे । ब्लुमबर्गको रिपोर्टअनुसार अदालतलाई भनिएको छ कि मस्कले २०२२ मा ट्वीटर किन्दा कुनै सूचनाबिना नै यी कार्यकारीहरूलाई बर्खास्त गरेको थियो । अधिकारीहरूले मस्कले आफूहरूलाई राजीनामा दिने मौका पनि नदिएकाे र उनले धोखापूर्वक बर्खास्त गरेको आरोप लगाएका छन् । पूर्वकार्यकारीहरूले मस्कविरुद्ध मुद्दा हालेका छन् । पराग अग्रवालबाहेक, पूर्व सीएफओ नेड सेगल, कानुनी र नीति प्रमुख विजया गड्डे र पूर्वट्वीटर जनरल काउन्सिल सीन एजेटले मस्क विरुद्ध मुद्दा दायर गरेका हुन् । के हाे पूरा विषय ? मस्कले २०२२ मा ट्वीटर किनेका थिए र यसको नाम परिवर्तन गरेर ‘एक्स’ राखेका थिए । उनले कर्मचारीहरूलाई जागिरबाट बर्खास्त गरी पैसा र अन्य सुविधा (विच्छेदन तलब) नदिएको आरोप छ । पूर्वकार्यकारीहरूले मार्च २०२४ मा मस्कविरुद्ध उजुरी दिएका थिए । मस्कले आफूलाई एक वर्षको तलब र अन्य सुविधा दिने वाचा गरेको तर आफूले नपाएको उनीहरू बताउँछन् । मस्कविरुद्ध धेरै मुद्दा मस्कविरुद्ध अन्य धेरै मुद्दा पनि विचाराधीन छन् । ट्वीटर खरिद गरेपछि उनले धेरै कर्मचारीलाई बर्खास्त गरेका थिए । यीमध्ये धेरै कर्मचारीहरूले मस्कलाई अनुचित रूपमा बर्खास्त गरेको आरोप लगाएका छन् । ट्वीटरका पूर्व कोर टेक महाप्रबन्धक निकोलस काल्डवेलले पनि मस्कविरुद्ध मुद्दा हालेका छन् । काल्डवेलले २० मिलियन डलरको क्षतिपूर्ति माग गरेका छन् । जुलाईमा मस्क र ‘एक्स’ले करिब ६ हजार कर्मचारीको तर्फबाट दायर गरेको ५० करोड डलरको मुद्दा जितेका थिए ।

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । दशैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको उल्लेख गरे । रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । ‘भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो,वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभावजस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुन ठूलो उपलब्धि हो,’ उनले भने । ‘उत्तरतर्फको छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि चिलिमे–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको छ, चिलिमे–त्रिशूली प्रसारण लाइनले नै चीनलाई जोड्ने छ,’ कार्यकारी निर्देशक घिसिङले थपे । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । त्रिशूली थ्रि बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौंको मातातीर्थसम्मको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ । सान्जेन र रसुवागढी जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँदा राष्ट्रिय प्रणालीमा समाहित हुनेछ । २८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले बताए । निर्देशक थापाले खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरु ढुवानी गरी ९ वटा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी २ वटा टावर निर्माण गरिएको उल्लेख गरे । उत्तरगया गाउँपालिका-१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मि. लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो । प्रसारण लाइन अन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली-१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख अमेरिकी डलर रहेको चिलिमे-त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

डीभी भर्ने समय २ दिन थपियो

काठमाडाैं ।  अमेरिकाले इलेक्ट्रिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन दिने समय २ दिन थप गरेको छ । यससँगै नोभेम्बर ७ तारिख (बुधबार)सम्म डीभी भर्न पाइने भएको छ । अक्टोबर २ तारिखदेखि नोभेम्बर ५ तारिखसम्मका लागि अमेरिकाले डीभीको आवेदन खुल्ला गरेको थियो । आज ५ तारिख नेपालस्थित अमेरिकी राजदूतावासले एक सूचना सार्वजनिक गर्दै डीभी भर्ने मिति नोभेम्बर ७ तारिखसम्मलाई बढाइएको जानकारी दिएको हाे । अमेरिकाले हरेक वर्ष डीभीमार्फत विश्वबाट ५० हजार मानिसलाई आप्रवाशन दिँदै आएको छ । नेपालबाट पनि हरेक वर्ष डीभीमार्फत २ हजार ५ सय देखि ४ हजार ५ सय जनाको हाराहारीमा अमेरिका जाने गरेका छन् ।