विकासन्युज

५ करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार भएकी थिइन् । आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो । साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाहीका लागि काठमाडौं ल्याइएको हो । उनलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

आजबाट खुले सरकारी कार्यालय

काठमाडौं । तिहार पर्वको बिदापछि मंगलबारदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाईटिकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो । गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय, डेढ दशकको बैंकिङ अनुभव

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा यशोधन पाण्डेय नियुक्त भएका छन् । बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरी पाण्डेयलाई एजीएममा बढुवा गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले जानकारी दिए । यसअघि पाण्डेय बैंकको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा १५ वर्ष बढीको अनुभव रहेका पाण्डेय चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । उनले भारतको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया (आईसीएआई) तथा नेपालको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आक्यान) बाट सीए गरेका हुन् भने भारतकै द इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटी (आईजीएनओयू) बाट व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् । विभिन्न बैक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा रही अनुभव संगालेका पाण्डेय ९ वर्षभन्दा बढी समयदेखि शाइन रेसुङ्गामा काम गर्दै आएका छन् । प्रबन्धक पदबाट शाइन रेसुङ्गामा आवद्ध भएका उनी अडिट तथा जोखिम व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

मंगलबार २८ सयले घट्यो सुनको भाउ, तोलाको १,६८,२०० रुपैयाँ

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । तिहारअघिको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य तोलाको एक लाख ७१ हजार रुपैयाँ थियो । तिहारपछिको पहिलो कारोबार दिन आज २ हजार ८ सय रुपैयाँले मूल्य घटेको हाे । आज छापावाला सुन तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदीको मूल्य २ जहार ८० रुपैयाँ थियो ।

हवाई कम्पनीको व्यवसाय ३० प्रतिशतले घट्ने, भैरहवामा सस्तोमा टिकट पाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडानका साथै आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागेकाले उडान कटाैती गर्न लागेकाे जनाएकाे छ । यही कामका लागि कार्तिक २३ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएकाे हाे । गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । महानिर्देशक अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए । उनले भने, ‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वेमा निकालेर एप्रोनमा ल्याउँछौं । त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घट्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो अनुमान छ ।’ महानिर्देशक अधिकारीले सो कामको योजना करिब ८ महिनाअघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीति नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो । उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको पनि जानकारी दिए । प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ । आन्तरिक उडानमा ३० प्रतिशतको कटौती हुँदा हवाई कम्पनीको व्यापार पनि सोही मात्राले घट्नेछ । महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए । उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब तीनवटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए । महानिर्देशक अधिकारीले भने, ‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ । तर डोमेस्टिक एयरलाईन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौं । उहाँहरू एकदमै सकारात्मक हुनुहुन्छ । यो बनिसकेपछि एयरर्पोटको इफिसेन्सी नै अर्को हुन्छ नि । यो वर्षेदेखि पाइलटले खोजेको कुरा हो नि । यो विषयमा उहाँहरूको पूर्ण समर्थन छ । ३ वटा अन्तर्राष्ट्रिय वायु यान उडान भर्ने प्रतिवद्धता आएको छ । भैरहवाबाट ३ वटा वायु यानले आफ्नो उडान निकट भविष्यमा नै सुरु गर्नेछन् ।’ सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

धानखेत मासेर किबीखेती : एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने

गलकोट । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन् । गत वर्ष पाँच सय केजी किबी बजार पठाएका उनको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ । किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उनीजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी तीन सय रुपैयाँमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । ‘सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि किबीखेती गर्न सकिन्छ’, उनले भने, ‘कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो, कोदो जम्मा आठ–दश मुरीमात्र फल्थ्यो पहिला त्यही बारीमा ।’ बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूलखेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । ई कँडेलले यो वर्ष तीन लाख रुपैयाँ बढीको किबी बिक्री गर्ने लक्ष्य लिएका छन् । पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किबी फलेको बताए । उनले किबीको बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन आफूले सुझाएको जानकारी दिए । ‘बीस क्विन्टल किबी फलेको छ, एकैपटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ’, उनले भने, ‘एकपटक लगाउने, समय–समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किबी फल्छ, तरकारीखेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुने ।’ किबीलाई सुन्तलाको जस्तै बजारीकरणको भने आवश्यकता रहेको अनुभव सुनाउँछन् । किबीको उत्पादन बढेपछि छ सय रुपैयाँ पर्ने किबीको मूल्य भने घटेर तीन सय रुपैयाँ प्रतिकेजीमा झरेको छ । गाउँ–गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देखिन थालेको छ । केही वर्ष पहिलासम्म आयात गरेको किबी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन् । बागलुङ नगरपालिका–८ सिगानाका पूर्ववडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबीखेती गर्दै आएका छन् । बहुगुणी फल भएको भन्दै जिसीले घरमा खाने र पाहुनालाई समेत पठाउने गरेको बताए । आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूलखेतीमा आकर्षण गर्न आफैँबाट सुरु गरेको बताए । बागलुङ –१० भकुण्डेका हर्कबहादुर थापा, निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मी, गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती र ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायत बागलुङका करिब एक सयभन्दा बढी किसान किबीको व्यावसायिक खेतीमा लागेका छन् । केही नयाँ छन् भने केही किबीका पुराना किसान छन् । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन् । मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने किबी किसान मेहरसिंह पाइजाले बताए । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबीखेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले बताए । रासस

लाभांश पारित गर्न ग्लोबल आइएमईले डाक्यो १८औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले १८औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफले किन्यो हेटौडामा पौने १८ करोडमा भवन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले मकवानपुरको हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले मकवानपुरको उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको भवनसहितको जग्गा पौने १८ करोडमा खरिद गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिए । उनका अनुसार ६० धुर क्षेत्रफलमा रहेको उक्त भवन १७ करोड १० लाख रुपैयाँमा खरिद गरेको र ७९ लाख ५१ हजार ५१ हजार ५ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १७ लाख ८९ लाख ५१ हजार ५ सय रुपैयाँ लागत लागत लागेको हो । कम्पनीको व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि कात्तिक १४ गते उक्त जग्गा र भवन खरिद गरेको उनको भनाइ छ ।