विकासन्युज

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले बुधबार जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् । सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए । यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि  सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे । उनले भने, ‘हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।’

राति १० बजे विमानस्थल बन्द हुनुभन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गर्न आग्रह

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति १० बजे विमानस्थल बन्द हुनुभन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गर्न आग्रह गरेकाे छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले यस्ताे आग्रह गरेकाे हाे । ‘विमानस्थल स्तोरोन्नतिको काम जाडो महिनामा हुने भएकोले अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिविलिटिका कारण नियमित उडान प्रभावित हुने, आईएफआर उडान हुने विमानस्थलमा रात्रि उडान भएतापनि १० बजेभित्र सम्पन्न गरिसक्नु पर्ने, सदस्य वायुसेवा कम्पनीहरूका चेक इन काउण्टर उडान समयभन्दा करिब १५ मिनेट अगाडि नै बन्द हुने भएकोले यात्रु महानुभावहरूले वायुसेवा कम्पनीहरूले जारी गरेको टिकटमा उल्लेखित समयमा नै चेक इन काउण्टरमा रिपोर्टिङ गरिदिनु हुनका लागि समेत यो संघ हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्तिक २३ गतेदेखि करिब ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न लागेकाे छ । ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने भएकाे हाे । विमानस्थल दैनिक १० घण्टा बन्द हुन लागेकाे हाे । यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छन् । विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपश्चात सदस्य वायुसेवा कम्पनीहरू तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीन रूपमा सहज हुने विश्वास संघकाे छ । प्राधिकरणले विमानस्थलको मर्मतका क्रममा वायुसेवा कम्पनीहरुलाई पोखरा र भैरहवा विमानस्थलबाट उडान गर्न आग्रह गरेको छ । संघका सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर) हरूले भिएफआर उडानअन्तर्गत नलिञ्चोक हेलिप्याडबाट सूर्योदयदेखि सूर्यास्तसम्म नै हेलिकप्टर उडान तथा अवतरण हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजे देखि उडान तथा अवतरण हुने भएकोले सम्बन्धित सरोकारवाला सबैलाई सोहीअनुसार गर्न/गराउन पनि संघले अपिल गरेको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग तथा समानन्तर ट्याक्सी वे वीचको लिकंरोड निर्माण कार्य तोकिएको समयसम्ममा नै सम्पन्न गर्ने छ भन्ने विश्वाससमेत लिएको छ । सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माण कार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनीहरु अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नु पर्ने अवस्था सृजना हुन जाने भएकोले पनि तोकिएको समयमा ट्याक्सी वे बीचको लिंकरोड निर्माण गर्न पनि वायुसेवा सञ्चालक संघले अपिल गरेको छ ।

अमेरिकाको ४७ औं राष्ट्रपति बने डोनाल्ड ट्रम्प

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् । निर्वाचन आयोगले भने आधिकारिक घोषणा गर्न बाँकी नै छ । राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ । जित निश्चित भएपछि ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्दै धन्यवाद दिएका थिए । उनले अमेरिकाले पुन एकपटक जितेको बताए । राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसद्को दुबै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ । यस्तोमा सिनेटमा भने ट्रम्पको पार्टीले बहुमतसहितको जित निकालेको छ । सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बनेका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । अहिले ट्रम्प तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।    

कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट हुने भएको छ । बैंकले धुलिखेल, काभ्रेस्थित दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरे ।

महिला यु-१९ विश्वकप क्रिकेट छनोट : नेपालले थाइलैन्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइलैन्डविरुद्ध ब्याटिङ गरिरहेको छ । थाइलैन्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । बुधबारदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्यान्डको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयनुसार दिउँसो ३ः१५ मा हुनेछ । युनाइटेड अरब इमिरेट्स ९युएई० मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन् ।

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री गुप्ता

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताएका छन् । टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य आधारभूत मानव अधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका हुन् । व्यक्ति, परिवार र समग्र समुदायको विकासका निम्ति शिक्षा र स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तर कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘नयाँ शैक्षिक संस्थाहरू खोल्ने भन्दा भएका संस्थाहरूको क्षमता वृद्धि गरी अघि बढ्नु उपयुक्त हुन्छ । यसले खर्च कम हुनाका साथै गुणस्तरमा पनि गुणात्मक विकास हुन्छ ।’ शिक्षाले वर्तमान समयको आवश्यकता पूरा गर्न सक्नुपर्ने धारणा उनको छ । नेपालमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने भन्दै उनले नेपालका लागि गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए । नेपालको विद्यमान गरिबी, बेरोजगारी र अशिक्षा जस्ता समस्याको समाधान गर्न पनि गुणस्तरीय र व्यावहारिक शिक्षा आवश्यक रहेको उनले बताए । शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापनले मात्रै नेपाली समाजमा समानता, सामाजिक न्याय र अवसरहरू सृजना हुने उनको भनाइ छ । मन्त्री गुप्ताले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि राज्य, गैरसरकारी संस्था र जनसमुदायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यस्तै, मन्त्री गुप्ताले टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए । विगतको आठ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको क्लबले थुप्रै काम गरेको स्मरण उनले गरे । बालबालिकाले विद्यालयमा शिक्षकसँग ज्ञान लिएर मात्रै उसको शिक्षा पूरा नहुने चर्चा गर्दै मन्त्री गुप्ताले बालबालिकाहरूलाई अभिभावकले पनि घरमा उचित शिक्षा दिनुपर्ने आवश्कता औंल्याए । यस्तै, उनले सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बाध्यता रहेको बताए । ‘देश दिनप्रतिदिन गरिब हुँदै गएको छ । थोरै लगानीमा पनि धेरै उपलब्धि हासिल गर्नुपर्ने अवस्थामा हामी छौँ,’ मन्त्री गुप्ताले भने, ‘कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो ।’ कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहान, उपप्रमुख रुबी ठाकुर, पूर्व नगरप्रमुख मन्टु रौनियार लगायतको उपस्थिति थियो ।

सुन पसलमा नक्कली नोट उत्पादन, व्यवसायी सोहिल शाक्य पक्राउ

काठमाडौं । पसलको नाम ईन्द्र ज्वेलर्स सुनचाँदी । सुन व्यवसायीको नाम सोहिल शाक्य । ठेगाना सिपाडोल, भक्तपुर । दर्ता व्यवसाय सुनचाँदीको कारोबार । धन्दा नक्कली नोट उत्पादन । सुन्दा अपत्यारलाग्दो काण्डका नाइके सोहिल शाक्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी) ले कात्तिक २० गते पक्राउ गरेको छ । काठमाडौं उपत्यकका विभिन्न स्थानमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबारसमेत भइरहेको भन्ने विशेष सूचना नेपाल प्रहरीले पायो । त्यसपछि प्रहरीले सूचनाको जाँच र अनुसन्धानलाई अगाडि बढायो । यही क्रममा सीआईबीबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्ला सूर्यविनायक न.पा. वडा नं.८ सिपाडोलस्थित सोहिल शाक्यले सञ्चालन गरेको ईन्द्र ज्वेलर्स सुनचाँदी पसलमा छापा मार्‍याे । त्यस क्रममा नेपाल राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरणसमेत भएको र राष्ट्र बैंकले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनधिकृतरूपमा नेपाली नोट एक हजार  पाँच सय दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोटहरू फेला पर्‍याे । सीआईबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार खानतलासीको क्रममा उक्त पसलमा एक हजार रुपैयाँ दरका ११३ थान नक्कली नोट भेटिएका छन् । त्यसमा श्री ९९९९ उल्लेख गरिएका एक हजार दरका ४८ थान नक्कली नेपाली नोट भेटिएकाे उनले जानकारी दिए । त्यस्तै, एसडी ०००००० उल्लेख भएका ४० थान, ट५६, ८२१३८३ उल्लेख भएको एक हजार दरका २५ थान नक्कली नोट प्रहरीले बरामद गरेको छ । उक्त पसलबाट श्री ९९९९ उल्लेख भएको पाँच सय दरको २८ थान नोट नक्कली नोट भेटिएको सीआईबीले जनाएको छ । प्रहरीले ३० वर्षीय सुन व्यवसायी शाक्यलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेकाे छ ।

बढ्यो क्रिप्टोकरेन्सीको मूल्य : बिटक्वाेइनले ७५ हजार डलर नाघ्यो, डजकोइन २० प्रतिशतभन्दा बढी

  काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पकाे जित निश्चितजस्तै छ । आधिकारिक रूपमा घोषणा हुन भने बाँकी नै छ । ट्रम्पको आगमनलाई ध्यानमा राख्दै क्रिप्टोकरेन्सी पनि बढ्दै गएको छ । आज बिटक्वाेइनलगायत धेरै मुद्राको मूल्य बढेको छ । बिटक्वाेइनले अहिलेसम्मकै उच्च मूल्यमा पुग्दा डजकोइन २० प्रतिशतभन्दा बढी वृद्धि भएकाे छ । बिटक्वाेइनको मूल्य ७५ हजार डलर नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसैगरी डजकोइन २०% भन्दा बढी बढेर ०.२० डलर पुगेकाे छ । ट्रम्पसँग के सम्बन्ध छ ? अमेरिकामा यो चुनावी सिजन क्रिप्टोकरेन्सीमा केन्द्रित छ । दुबै पार्टीका उम्मेदवारहरूले क्रिप्टो क्षेत्रको विकासलाई समर्थन गरिरहेका छन् । यद्यपि, डेमोक्र्याटिक्सकी उम्मेदवार कमला ह्यारिसभन्दा ट्रम्पलाई क्रिप्टोकरेन्सीको बढी सहयोगी मानिन्छ । ट्रम्पले आफ्नो चुनावी प्रतिज्ञाहरूमा प्रो-क्रिप्टो एजेन्डाको वाचा गरेका थिए । यसमा राष्ट्रिय बिटकोइन रिजर्भ सिर्जना गर्ने, यूएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) का अध्यक्ष ग्यारी जेन्सलरलाई बर्खास्त गर्ने र बिटक्वाइन लेनदेनमा करहरू हटाउने समावेश छन् । यही कारण क्रिप्टोकरेन्सीको मूल्य बढ्न थालेको कारण हुनसक्छ । डजकोइन किन बढ्यो ? डजकोइन अर्बपति एलन मस्कको मनपर्ने क्रिप्टोकरेन्सी पनि हाे । विगतमा पनि उनले समय समयमा डजकोइनमा आफ्नो रुचि देखाउँदै आएका छन् । कुनै समय उनले यो मुद्रामा धेरै लगानी पनि गरेका थिए जसकारण यसको मूल्यले आकाश छुन थालेको थियो । उनले ट्रम्पलाई खुलमखुला समर्थन गर्दै आइरहेका थिए । ट्रम्पको सरकार बनेमा मस्कको यो मनपर्ने मुद्राको मूल्यले आकाश छुने विश्वास गरिएको छ ।