राति १० बजे विमानस्थल बन्द हुनुभन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गर्न आग्रह

<p>काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति १० बजे विमानस्थल बन्द हुनुभन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गर्न आग्रह गरेकाे छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले यस्ताे आग्रह गरेकाे हाे । &#8216;विमानस्थल स्तोरोन्नतिको काम जाडो महिनामा हुने भएकोले अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिविलिटिका कारण नियमित उडान प्रभावित [&hellip;]</p>

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति १० बजे विमानस्थल बन्द हुनुभन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गर्न आग्रह गरेकाे छ ।

बुधबार विज्ञप्ति जारी गर्दै संघले यस्ताे आग्रह गरेकाे हाे ।

‘विमानस्थल स्तोरोन्नतिको काम जाडो महिनामा हुने भएकोले अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिविलिटिका कारण नियमित उडान प्रभावित हुने, आईएफआर उडान हुने विमानस्थलमा रात्रि उडान भएतापनि १० बजेभित्र सम्पन्न गरिसक्नु पर्ने, सदस्य वायुसेवा कम्पनीहरूका चेक इन काउण्टर उडान समयभन्दा करिब १५ मिनेट अगाडि नै बन्द हुने भएकोले यात्रु महानुभावहरूले वायुसेवा कम्पनीहरूले जारी गरेको टिकटमा उल्लेखित समयमा नै चेक इन काउण्टरमा रिपोर्टिङ गरिदिनु हुनका लागि समेत यो संघ हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्तिक २३ गतेदेखि करिब ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न लागेकाे छ ।

ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने भएकाे हाे । विमानस्थल दैनिक १० घण्टा बन्द हुन लागेकाे हाे ।

यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छन् ।

विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपश्चात सदस्य वायुसेवा कम्पनीहरू तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीन रूपमा सहज हुने विश्वास संघकाे छ ।

प्राधिकरणले विमानस्थलको मर्मतका क्रममा वायुसेवा कम्पनीहरुलाई पोखरा र भैरहवा विमानस्थलबाट उडान गर्न आग्रह गरेको छ ।

संघका सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर) हरूले भिएफआर उडानअन्तर्गत नलिञ्चोक हेलिप्याडबाट सूर्योदयदेखि सूर्यास्तसम्म नै हेलिकप्टर उडान तथा अवतरण हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजे देखि उडान तथा अवतरण हुने भएकोले सम्बन्धित सरोकारवाला सबैलाई सोहीअनुसार गर्न/गराउन पनि संघले अपिल गरेको छ ।

संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग तथा समानन्तर ट्याक्सी वे वीचको लिकंरोड निर्माण कार्य तोकिएको समयसम्ममा नै सम्पन्न गर्ने छ भन्ने विश्वाससमेत लिएको छ ।

सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माण कार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनीहरु अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नु पर्ने अवस्था सृजना हुन जाने भएकोले पनि तोकिएको समयमा ट्याक्सी वे बीचको लिंकरोड निर्माण गर्न पनि वायुसेवा सञ्चालक संघले अपिल गरेको छ ।

Share News