कम्पनी बन्द हुने चिन्तामा वायु सेवा सञ्चालक, समयमै विमानस्थलको स्तरोन्नति सक्न माग
काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि करिब ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दैछ । जसका कारण साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरिएको छ । ‘प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा समानान्तर ट्याक्सी वेबीचको लिकङ्रोड निर्माणकार्य तोकिएको समयमा नै सम्पन्न गर्नेछ भन्ने सङ्घले पूर्णविश्वास लिएको छ । सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माणकार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तोरोन्नति तदारुक्ताका साथ गरिदिनुहुन सङ्घ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीको करिब ३० प्रतिशत उडानसमेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा सङ्घ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपश्चात् सदस्य वायुसेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा समेत दिर्घकालीन रूपमा सहज, सरल तथा सुविधा हुने सङ्घको विश्वास रहेको छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम वर्षा हुने, यस्तो छ देशभरको मौसम
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, १ डलरको १३५.१६ रुपैयाँ, यूरो र पाउण्ड ह्वात्तै घट्यो
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५४ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । अमेरिकी डलरले नयाँ रेकर्ड कायम गर्दा यूरो र पाउण्डको भाउ भने ह्वात्तै घटेको छ । बिहीबार युरोपियन यूरोको एकको खरिदर १४४.२१ रुपैयाँ र बिक्रीदर १४४.८६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.२० रुपैयाँ र बिक्रीदर १७३.९७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.४८ रुपैयाँ र बिक्रीदर १५४.१६रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१३ रुपैयाँ र बिक्रीदर ८८.७३ रुपैयाँ तोकेको छ । यसअघि हिजो युरोपियन यूरोको एकको खरिदर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.८२ रुपैयाँ र बिक्रीदर १५६.५२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ तोकेको थियो । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.७५ रुपैयाँ र बिक्रीदर ९७.१८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८७ रुपैयाँ र बिक्रीदर १०१.३२ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७६ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८२ रुपैयाँ र बिक्रीदर ३५.९८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९१ रुपैयाँ र बिक्रीदर ३७.०८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६१ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३८ रुपैयाँ र बिक्रीदर १२.४४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३४ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२३ रुपैयाँ र बिक्रीदर ४४०.१९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.९३ रुपैयाँ र बिक्रीदर ३५८.५२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
२४ वर्षपछि हरिबोधनी एकादशी मेला
काठमाडौं । कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत उक्त मेला प्रसिद्ध थियो । हजारौँले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो तर शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता मेला हुनसकेको छैन । पछिल्लो सयम भने यहाँका स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ । उक्त समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट सुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिए । उनले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताए । ‘विसं २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुननसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्ने हाम्रो योजना छ । त्यसका लागि बुधबारबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न सुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रूपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ । बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो हुनेछ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ,’ अध्यक्ष राजभण्डारीले भने । विसं २०५७ सालअघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयाससमेत भएपछि रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको जानकारहरू बताउँछन् । रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गरिएका छन् । आरती वाचक तथा गायक रमेश खड्काले पुर्खौँदेखि लाग्दै आएको मेला नेपालकै ठूलो मेलामध्येको एक रहे पनि पछिल्लो समय हराउँदै गएकामा सबै जनाको सल्लाहबमोजिम पुनः सुरु गर्न लागिएको सुनाउनुभयो । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीपसमेत प्रज्वलन गरिने छ । यही २६ गते तोरणलाई बागलुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गरिने योजना छ । मेला, धार्मिक पूजा, तोरण तान्नेलगायतका क्रियाकलाप सञ्चालन गर्न यस वर्षबाट सुरुआत गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । आफ्नो धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई २४ वर्षपछि निरन्तरता दिन थालिएको उहाँले बताए । मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दिप संकलन, गङ्गा पूजन र सरसफाइलगायत कार्यक्रमका लागि उपसमितिसमेत गठन गरिएका छन् ।
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकारहरू बताउँछन् । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ । व्रतविधि कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना¬० षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए । ‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्र्घ दिएपछि यो पर्व समापन हुन्छ,’ उनले भने । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराई मधेशलगायत सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरूप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रूपमा स्थापित भएको छ ।
ट्रम्पले गरे मस्कको खुलेर प्रशंसा, ट्रम्प राष्ट्रपति हुँदा मस्कलाई के-के हुनसक्छ फाइदा ?
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका हुन् । विजयपछि ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो विजयी भाषण दिएका थिए । सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी व्यापारी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको निकै तारिफ गरे । आफ्नो सम्बोधनका क्रममा ट्रम्पले मस्कलाई नयाँ स्टार भनेका थिए । उनले भनेका छन्, ‘उनी (एलन) सुपर जिनियस हुन् । हामीले हाम्रा प्रतिभाशाली मानिसहरूलाई जोगाउनु पर्छ । हामीसँग त्यस्ता व्यक्तिहरू थोरै छन् ।’ आफ्नो सम्बोधनका क्रममा पूर्वराष्ट्रपति ट्रम्पले मस्कको कम्पनी स्पेसएक्सले अमेरिकाको अन्तरिक्ष क्षेत्रलाई अगाडि बढाउनका लागि गरेको प्रयासको खुलेर प्रशंसा गरे । मस्कले चुनावी अभियानका क्रममा ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । मस्कको तारिफमा ५ मिनेट खर्च ट्रम्पले आफ्नो भाषणमा करिब ५ मिनेट मस्कको उल्लेख गरेका थिए । ट्रम्पले मस्कलाई अद्भूत व्यक्तिको रूपमा व्याख्या गरेका छन् । मस्कले फिलाडेल्फिया र पेन्सिल्भेनियाका विभिन्न भागमा दुई साता प्रचार अभियानका क्रममा ट्रम्पसँग बिताएका थिए । आफ्नो भाषणमा ट्रम्पले मस्कका धेरै कामको चर्चा गरे । ट्रम्प राष्ट्रपति बन्दा मस्कलाई के-के फाइदा ? प्रशासनमा स्थान पाउन सक्ने मस्कले ट्रम्पको प्रशासनमा स्थान पाउन सक्ने अथवा आयोगको नेतृत्व गर्न सक्ने अनुमान गरिएकाे छ । ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन ह्युजका अनुसार मस्कले ‘आयाेग’को नेतृत्व गर्ने ट्रम्पको विश्वास छ । यसको उद्देश्य सरकारलाई थप प्रभावकारी बनाउन र करदाताको पैसाको राम्रो उपयोग सुनिश्चित गर्नु हो । मस्कको इच्छाअनुसार कर कटौती हुनसक्ने एलन मस्कले पनि कर कटौतीबाट लाभ उठाउन सक्छन् । ट्रम्प कर्पोरेशन र धनीहरूका लागि कम कर कायम राख्ने कुरा गर्दै आइरहेका छन् । आफ्नो पहिलो कार्यकालमा उनले कर्पोरेट कर दर ३५ बाट २१ प्रतिशतमा झारेका थिए । मस्कका कम्पनीलाई छुट ट्रम्पको जितसँगै मस्कका कम्पनीहरूले पनि धेरै छुट पाउन सक्छन् । मस्कको कम्पनी स्पेसएक्सले सबैभन्दा बढी फाइदा लिनसक्छ । यस कम्पनीले यसअघि पनि धेरै सरकारी सम्झाैता पाइरहेको छ । यी सम्झौताहरू ट्रम्पको शासनमा पनि जारी रहन सक्छन् र यी सम्झौताहरूको संख्या पनि बढ्न सक्छ । यी चुनौतीबाट राहत पाउन सक्ने मस्कका धेरै कम्पनीहरूले जो बाइडेन प्रशासनबाट धेरै चुनौतीको सामना गरेका छन् । यसमा स्पेसएक्स र टेस्ला कारखानालगायतका कम्पनी समावेश छन् । मस्कको अमेरिका पीएसीसँग पनि अदालतमा मुद्दा चलिरहेको छ । यसमा दैनिक एक मिलियन डलर मूल्य तिर्ने कुरा पनि समावेश छ । एक्सलाई पनि मिल्न सक्छ लाभ मस्कले पनि ट्रम्प प्रशासनबाट सोशल मिडिया प्लेटफर्म एक्स (पुरानो ट्वीटर) को बारेमा पनि विभिन्न अपेक्षा गर्न सक्छन् । मस्कले यसलाई अक्टोबर २०२२ मा ४४ बिलियन डलरमा किनेका थिए । तर, यसपछि प्लेटफर्मले धेरै समस्याबाट गुज्रनुपर्यो । यसको प्रयोगकर्ताको संख्या पनि घट्न थालेको छ । ट्रम्पको विजयपश्चात मस्कले आफ्नो व्यवसायमा वृद्धिको आशा गर्न सक्छन् । (एजेन्सीको सहयोगमा)
प्राइम बैंकको डीजीएम बने सुमितबाबु खत्री, कर्जा तथा मार्केटिङमा लामो अनुभव
काठमाडौं । प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका उनी यसअघि सिटिजन्स बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । २ दशक सिटिजन्स बैंकमा काम गरेका खत्री एक महिनाअघि मात्रै बाहिरिएका थिए । कर्जा तथा मार्केटिङ क्षेत्रमा लामो अनुभव रहेका खत्रीले फाइनान्समा एमबीए गरेका छन् । खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन् ।
टेलिकमले मल्टीपल टीभी जडान गर्ने, मूल्य कति ?
काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरूको मागलाई ध्यानमा राखी मल्टीपल टीभी जडान गर्ने भएको छ । जसअन्तर्गत चारवटा वा सोभन्दा धेरै जडान गर्ने कर्पोरेट ग्राहकहरूले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरू खरिद गर्न सक्ने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार ४ देखि १० वटा मल्टीपल टीभी जडान गर्ने ग्राहकले प्रति सेटटप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटाभन्दा बढी मल्टीपल टीभी जडान गर्ने ग्राहकले प्रति सेटटप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् । यस सेवासम्बन्धी आवश्यक जानकारीका लागि १९८ मा कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरूमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएकाे छ ।