प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।
७२ अर्बका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने
काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व-पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी, तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताको लागि डिजिटल सेवा रूपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाहरुको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन् भने आवश्यकताअनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ । बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरू पेस गरिने योजना छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजनाहरू स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए । उनले नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने पनि बताए । बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीहरूको उपस्थिति थियो ।
१८ करोड लागतमा अस्पताल निर्माण गरिँदै
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा १८ करोड रुपैयाँ लागतमा अधारभूत अस्पताल निर्माण थालिएको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न १८ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो । सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा अधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता थियो । यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उनले बताए । अधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए । अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उनको भनाइ छ । सरावल–५ का स्थानीयले दुई बिघा छ कठ्ठा दुई धुर जग्गा अधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताए । यहाँ अधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि सहज उपचार पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गरे ।
बजार घट्दा पनि २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडाैं । सेयर बजार परिसूचक (नेप्से) बुधबार सामान्य अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २ हजार ६ सय ७५.५१ अंकमा झरेको हाे । यस दिन जम्मा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बजार घट्दा पनि आज नारायाणी डेभलपमेन्ट बैंक र बलेफि हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । नाराणयाीको सेयर मूल्य १० र बलेफिको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । कुथेलि बुथेली स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटको छ । सो कम्पनीको सेयर मूल्य ९.५५ प्रतिशतले घटेको छ । यस दिन नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको सेयर ३५ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको सेयर २३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
मिथिलासहित मधेसका जिल्लाहरूमा छठको रौनक
काठमाडौं । मिथिलासहित तराई/मधेसका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो । जनकपुर धाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरूको भीड देख्न सकिन्छ । साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरुको भीड पनि त्यत्तिकै रहेको छ । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए ।
रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश’ मिल्यो : पूर्वराष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् । ‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,’ उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुन:स्थापित भएकोतर्फ सङ्केत गर्दै भने । उनले सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । सम्बोधनका क्रममा ट्रम्पले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् । मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन् ।
सेयर कारोबारबाट नबिल र हिमालयनको बढी कमाइ, कुनको कति ?
काठमाडौं । तीन महिनाको अवधिमा वाणिज्य बैंकहरूले सेयर कारोबारबाट २ अर्ब बढी आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा असोजसम्म बैंकहरूले सेयर कारोबारबाट २ अर्ब २४ करोड ७८ लाख रुपैयाँ बढी सेयर आम्दानी गरेका हुन् । जबकि गत वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ बढी यस्तो आम्दानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूको सेयर कारोबारबाट हुने आम्दानी ३८.२७ प्रतिशत बढेको देखिन्छ । बैंकहरूले निक्षेप संकलन गरेर कर्जा लगानीबाहेक अन्य गतिविधिबाट पनि आम्दानी गरिरहेको हुन्छ । अन्य गतिविधिबाट हुने आम्दानीलाई बैंकहरूले अन्य सञ्चालन आम्दानीमा समावेश गरेका हुन्छन् । जसमा बैंकहरूले गरेको विदेशी विनिमयको पुनः मूल्यांकन आम्दानी, धितोपत्र अर्थात् सेयर बजारमा गरिएको सेयर खरिदबिक्रीबाट हुने नाफालाई अन्य सञ्चालन आम्दानी तथा घाटामा समावेश गर्ने गरेका छन् । साथै, सेयर लगानी गरेका कम्पनीबाट प्राप्त लाभांशलाई सोही सूचकमा राखिएको हुन्छ । यस्तै, सम्पत्तिको बिक्रीमा हुने नाफा नोक्सान, सञ्चालित लिज आम्दानी र सुन चाँदीको बिक्रीमा हुने नाफा नोक्सान पनि अन्य सञ्चालन आम्दानीमा समावेश गरिएको हुन्छ । समीक्षा अवधिमा यस्तो आम्दानी सबैभन्दा नबिल बैंकको बढेको देखिन्छ । नबिलको ३८४.७५ प्रतिशत बढेर २६ करोड ३७ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । जबकि गत वर्षको असोजसम्म बैंकले ५ करोड ४४ लाख रुपैयाँ मात्रै अन्य सञ्चालन आम्दानी गरेको थियो । यस्तै, हिमालयन बैंकको २४२.६४ प्रतिशत बढेर ४ करोड ५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १६७.४७ प्रतिशत बढेर ६ करोड २५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १५७.२६ प्रतिशत बढेर ७ करोड ४० लाख रुपैयाँ, प्राइम बैंकको १४९.९४ प्रतिशत बढेर १७ करोड ३२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानीबाट गरेका छन् । यस्तै, कृषि विकास बैंकको ९८.२३ प्रतिशत बढेर २६ करोड ४१ लाख रुपैयाँ, सानिमा बैंकको ६३.३४ प्रतिशत बढेर १२ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ६०.९१ प्रतिशत बढेर १५ करोड ३२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४८.२ठ प्रतिशत बढेर २ करोड ८७ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९.२६ प्रतिथशत बढेर १६ करोड ६९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २६.३१ प्रतिशत बढेर १४ करोड ८४ लाख रुपैयाँ, कुमारी बैंक बैंकको २५.५३ प्रतिशत बढेर २२ करोड ८० लाख रुपैयाँ सेयर कारोबार लगायतबाट आम्दानी गरेका हुन् । तर, समीक्षा अवधिमा विभिन्न ७ बैंकको भने सेयर कारोबार लगायत अन्य सञ्चालन आम्दानी घटेको देखिन्छ । गत साउनदेखि असोजसम्म एभरेष्ट बैंकको सबैभन्दा धेरै यस्तो आम्दानी घटेको देखिन्छ । बैंकको यस्तो आम्दानी ९३.९४ प्रतिशत घटेर १८ लाख ९८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ३ करोड १३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । यस्तै, नेपाल एसबीआई बैंकको ५८.३२ प्रतिशत घटेर १ करोड २९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३७.७८ प्रतिशत घटेर १० करोड ३९ लाख रुपैयाँ, प्रभु बैंकको ३३.४९ प्रतिशत घटेर ५ करोड ५६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६.४३ प्रतिशत घटेर १७ करोड ८९ लाख रुपैयाँ, नेपाल बैंकको ९.८८ प्रतिशत घटेर ९ करोड १३ लाख रुपैयाँ र एनएमबी बैंकको ५.६४ प्रतिशत घटेर ७ करोड ५ लाख रुपैयाँ सेयर कारोबार लगायतबाट आम्दानी गरेको तथ्यांक छ । तर, गत वर्ष अन्य सञ्चालन आम्दानी ऋणात्मक रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको यसपटक भने ८८ लाख ५५ हजार रुपैयाँ धनात्मक छ । गत वर्षको असोजसम्म ५८ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा थियो ।