विकासन्युज

एकैदिन ४ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन तोलाकाे एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा, १२०० मेगावाट विद्युत् प्रवाह गर्नसक्ने

  काठमाडौं । चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशुली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ सात बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजनाअन्तर्गतकै त्रिशुली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशुली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् जुनसुकै बेला जोड्न सकिने बताए । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ । रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । दशैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो । २८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ । हेलिकोप्टरबाटसमेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो । भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढी-पहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध,कोभिड–१९, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ¬)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो । प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशुली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशुली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज () २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

नेपाल पुनर्बीमाले ३ महिनाभित्र रेटिङ पाउने अध्यक्ष ढुङ्गानाको दाबी

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले तीन महिनाभित्र रेटिङ पाउने कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाले दावी गरेका छन् । कम्पनीको ११औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले कम्पनीले ३ महिनाभित्र रेटिङ पाउने जानकारी दिएका हुन् । पुनर्बीमा कम्पनीले रेटिङ गर्न ढिला गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीले ११ वर्षसम्म पनि रेटिङ नगराएको भन्दै आक्रोश व्यक्त गरेका थिए । स्थापनाको २ वर्षमा नै हिमालयन रिइन्स्योरेन्सले रेटिङ गराएको थियो । तर, ११ वर्षसम्म नेपाल पुनर्बीमाले रेटिङ गराउन नसकेपछि प्राधिकरणका अध्यक्षले आक्रोश पोखेका हुन् । यस्तै, कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले पनि यसमा रेटिङ नभएको भन्दै टिका टिप्पणी गर्ने गरेका थिए । अध्यक्ष ढुङ्गानाका अनुसार सिङ्गापुरको रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्रक्रिया सुरु भइसकेको छ । अबको तीन महिनामा रेटिङ भइसक्ने उनको दाबी छ । उनले भने, ‘एएम बेस्ट, सिङ्गापुरबाट रेटिङ लिएर विश्व बजारमा छिर्ने छौं । रेटिङको काम फाइनल चरणमा पुगेको छ । ३ महिनाभित्र रेटिङ गरिसक्छौं ।’ तर, कम्पनीका यसअघिका अध्यक्ष ईश्वर अर्यालले पनि कम्पनीको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै केही महिनामा नै रेटिङ पाउँछौं भनेर दाबी गरेका थिए । अर्थ मन्त्रालयका तत्कालीन सहसचिवसमेत रहेका अर्यालले यस्तो दाबी गरेको ५ महिना भइसकेको छ । उनले हिमालयन रिकोभन्दा राम्रो रेटिङ आउने पनि दाबी गरेका थिए । हिमालयन रिले एएम बेस्ट, सिङ्गापुरबाट बी प्लस रेटिङ पाएको थियो । अर्यालले अवकास पाइसकेका छन् भने ढुङ्गाना अध्यक्षमा नियुक्त भएका छन् । केही दिनअघि अध्यक्ष बनेका ढुङ्गानाले पनि फेरि ३ महिनामा रेटिङ गछौं भनेर दाबी गरेका हुन् । उनले रेटिङ लिएर विश्व बजारमा छिर्न जनशक्ति व्यवस्थापन, सिस्टमको विकास, मार्केटिङको काम अगाडि बढाएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

तपाईंको पेट लगातार दुखिरहन्छ ? यी हुन सक्छन् रोग

सांकेतिक तस्बिर । काठमाडौं । तपाईंले आफ्नो खानपानमा कत्तिको ध्यान दिनुहुन्छ ? के थाहा छ ? तपाईंका सबै समस्याको सुरुवात खानपानबाटै हुन्छ । छैन भने अब ध्यान दिनूहोस् । यदि तपाईंको खाने बानी राम्रो छ भने तपाईं स्वस्थ हुनुहुन्छ । तर तपाईंलाई खाना पचाउन समस्या छ र लगातार पेट दुखिरहन्छ भने तपाईं पाचन विकारको शिकार हुन सक्नुहुन्छ । तपाईंको पाचन प्रणालीले खानालाई टुक्राटुक्रा पार्छ र ऊर्जाको रूपमा प्रयोग गर्दछ ताकि तपाईंको खाना पचाउन सकियोस् । यस प्रक्रियालाई पाचन भनिन्छ । तर जब तपाईं राम्रोसँग खानुहुन्न वा तपाईंको पाचन प्रणालीले राम्रोसँग काम गर्दैन भने तपाईं पाचन विकारबाट ग्रस्त हुन सक्नुहुन्छ । यदि तपाईंको खाना ठीकसँग पचिरहेको छैन भने तपाईं आफैले थाहा पाउनुहुनेछ, तर तपाईंलाई कुनै पनि विकार छ भने केही लक्षणहरू हेरेर थाहा पाउन सक्नुहुन्छ । जस्तै- पेट राम्रोसँग सफा नहुनु र सधैं पेट खराब हुनु, दिशामा रगत देखियाे भने पाचनमा गडबड भएको थाहा पाउन सकिन्छ । तपाईंले जीवनशैलीमा परिवर्तन गरेर यी समस्याहरूलाई निको पार्न सक्नुहुन्छ । अझै पनि राहत महसुस गर्नुभएन भने तपाईंले चिकित्सकको सल्लाह लिनुपर्छ । आउनूहोस् पाचनसम्बन्धी समस्या भयो भने कस्ता रोगहरू देखिन्छन् ? यस बारेमा जानौं । इरिटेबल बोवेल सिन्ड्रोम (आइबीएस) इरिटेबल बोवेल सिन्ड्रोम भनेको पेट र आन्द्रामा समस्या हुने एक प्रकारको दीर्घकालीन (क्रोनिक) पाचन प्रणालीसम्बन्धी विकार हो । यो अवस्थामा आन्द्रामा नियमित काम बिग्रिएर पेट दुख्ने, फुल्ने, अपच हुने र पाचन प्रणालीमा गडबडी हुने गर्दछ । जसका कारण पेट दुख्ने, अपच हुने, ग्यास भरिने हुन्छ । गालस्टोन्स पित्त थैली पाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने एक सानो थैली हो, जुन कलेजोको मुनि हुन्छ । पित्त थैलीले कलेजोबाट आउने पित्त संकलन गरेर पाचन प्रक्रिया सुचारु राख्छ । तर कहिलेकाहीं पित्तमा हुने पदार्थहरू जमेर ढुंगाजस्तो कडा पदार्थ बन्छन्, जसलाई गालस्टोन भनिन्छ । कोइलिएक रोग यो रोगको लक्षण व्यक्तिअनुसार फरक-फरक हुन्छ । यसले पाचनसम्बन्धी समस्या जस्तै पेट दुख्ने, फुल्ने, बान्ता आउने, पखाला लाग्ने वा कब्जियत हन्छ । पोषक तत्वहरू शरीरले राम्रोसँग नलिएकाले गर्दा थकान महसुस हन्छ । सानो आन्द्राले पोषण तत्वहरू अवशोषण गर्न नसक्दा तौल घट्ने समस्या हुन्छ । क्रोहन रोग क्रोहन रोग भनेको एक प्रकारको क्रोनिक (दीर्घकालीन) पाचनसम्बन्धी विकार हो, जसमा पाचन प्रणालीको कुनै पनि भाग (मुखदेखि मलद्वारसम्म) मा हुने सुजन र घाउ मुख्य लक्षण हुन् । यसले विशेष गरी सानो आन्द्रा र ठूलो आन्द्रामा बढी असर गर्छ । क्रोहन रोग इन्फ्लामेटोरी बाेवेल डिजिज (आईबीडी) का दुई मुख्य प्रकारहरूमध्ये एक हो, अर्को प्रकार अल्सरेटिभ कोलाइटिस हो । लक्षण सबैभन्दा साधारण पाचन विकारको लक्षण लगभग समान हुन्छन् । जसमा पेट खराब हुने र अक्सर पेट दुख्ने भइरहन्छ । यसका साथै कब्जियत हुने वा पखाला लाग्ने पनि हुन सक्छ । यसबाहेक ग्यास हुनु, अपचको महसुस हुनु, पेट फुल्नु, दिशामा सेतो पदार्थ देखिनुजस्ता अन्य धेरै लक्षण देखिन्छन् । कस्तो अवस्थामा चिकित्सक कहाँ जानुपर्छ ? यदि तपाईंका लक्षणहरू घट्नुको सट्टा झन् बढ्दै जान्छ र तपाईंलाई कडा पेट दुखाइको अनुभव हुन्छ भने यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ । पेटबाट जहिले पनि कुनै किसिमको आवाज आउने वा सार्वजनिक रूपमा लाजमर्दो क्षणको सामना गर्नुपरेमा ढिलो नगरी चिकित्सककहाँ जानुपर्छ । यस्तो अवस्थामा हामी घरमै बस्यौं अथवा चिकित्सकको सल्लाह लिएनौं भने पछि जटिल समस्या निम्त्याउन सक्छ । कारणहरू पाचन गडबडीको पछाडि धेरै कारणहरू हुन सक्छन् । जसमध्ये मुख्य भनेको तपाईंको आहार हो । यदि तपाईं कम फाइबरयुक्त आहार खानुहुन्छ भने तपाईंले पाचनसम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । यसबाहेक, अत्यधिक क्याफिन, कार्बोनेटेड पेयपदार्थ र जंक फूडको सेवन गर्नुहुन्छ भने तपाईंले यो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ । यदि तपाईंको पाचन प्रणालीमा कुनै प्रकारको अवरोध छ भने पनि यो समस्याको कारण हुन सक्छ । यो समस्या अक्सर गर्भावस्थाको समयमा देखिन्छ । उपचार यदि तपाईंको समस्या सामान्य छ र कुनै गम्भीर लक्षणहरू देखिएन भने लक्षणहरू व्यवस्थापन गर्न तपाईंले आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउन प्रयास गर्नुपर्छ । यसका लागि आफ्नो आहारमा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ । अन्य फाइबरयुक्त खानाहरू खानुपर्छ । यदि तपाईंको लक्षणहरू गम्भीर छन् भने तपाईंले चिकित्सकलाई भेट्नुपर्छ र औषधी लिन सुरु गर्नुपर्छ ।

छठमा सजिएको काठमाडौं (फोटो फिचर)

काठमाडौं । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ पूजा आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । छठका लागि काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाटहरू सिंगारिएको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको मानिन्छ । छठ पर्वको रौनक र सिंघारिएका छठ घाटसम्बन्धी कैद गरेको केही तस्बिरहरु आजको फोटो फिचरमा ।    

हामीले चुनाव हार्यौैँ, नतिजा स्वीकार गर्छौं : कमला ह्यारिस

काठमाडौं । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् । वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् । आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् । उनले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयको लागि बधाई दिएको बताइन् । शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताइन् ।

८ सय बढी अर्बपतिका घरभित्र रहेकाे विश्वकै महँगो क्लब

काठमाडौं । तपाईंले संसारको सबैभन्दा महँगो घर, सबैभन्दा महँगो कारको बारेमा सुन्नु भएको होला । के तपाईंले संसारको सबैभन्दा महँगो क्लबको बारेमा सुन्नुभएको छ ? यो महँगो क्लब अमेरिकामा छ । ‘येलोस्टोन’ नामको यो क्लब विश्वको सबैभन्दा महँगो क्लब हो । यस क्लबमा संसारभरिका ८ सयभन्दा बढी अर्बपतिहरूका घरहरू छन् । यसका सदस्यहरूमा मार्क जुकरबर्ग, बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा आदि छन् । यस क्लबमा पर्यटकीय स्थलहरूका साथै खाना र पेय पदार्थहरूको लागि विलासी सुविधाहरू छन् । योसँग संसारको एकमात्र निजी स्की र गल्फ समुदाय छ । यो क्लब अमेरिकाको मोन्टाना राज्यको येलोस्टोन राष्ट्रिय निकुञ्जबाट करिब ८० किलोमिटर टाढा छ । यस क्लबमा जम्मा ८८५ अर्बपतिको घर छ । उनीहरूको कुल सम्पत्ति २४ लाख करोड रुपैयाँभन्दा बढी छ । यस क्लबका अर्बपतिमा फेसबुकका मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्स, गुगलका पूर्वसीईओ एरिक स्मिट, गोप्रोका अर्बपति संस्थापक निक वुडम्यान, पप स्टार जस्टिन टिम्बरलेकलगायत रहेका छन् । यसमा खास के छ ? यो क्लब स्कीइङ र गल्फका लागि परिचित छ । यहाँ धेरै ठूला पहाडहरू छन् । यसबाहेक यहाँ नदीहरू पनि बग्छन् । जाडो, गर्मी र वर्षायाम अनुसार यहाँ विभिन्न गतिविधि हुने गर्दछ । यहाँ बनेका घरहरूमा धेरै अर्बपतिहरू पनि स्थायी रूपमा बस्छन् । धेरै मानिसहरू यहाँ छुट्टी मनाउन मात्र आउँछन् । यस क्लबमा पोखरी र फिटनेस सेन्टर पनि छ । यहाँ विवाह, पार्टी, कार्यक्रम वा निजी कार्यक्रमको लागि छुट्टै ठाउँ छ । यसलाई ‘द बार्न’ नाम दिइएको छ । यसको गोल्फ कोर्स क्षेत्र २८०० वर्ग फिटमा फैलिएको छ। स्कीइङका लागि २९ सय भन्दा बढी क्षेत्रहरू छन् । यी बाहेक यहाँ बसोबास गर्नेहरूका लागि धेरै प्रकारका साहसिक गतिविधिहरू पनि आयोजना गरिन्छ । एजेन्सी

चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् । गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैँले भत्काउन थालेको बताउँछन् । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काइरहेका छन् । पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट छ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन् ।