विकासन्युज

ट्रम्पको अर्थ नीति : यी तीन शीर्षकमा कर नलाग्ने, भन्सार शुल्क बढाउनेदेखि ब्याजदर घटाउनेसम्म

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा पुनः डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । हप्तौंको चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन् । उनले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो पटक विश्व शक्तिमान राष्ट्र अमेरिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् । राष्ट्रपतिमा ट्रम्पको पुनः आगमनसँगै अब अमेरिकासँगै अन्य देशहरूको पनि व्यापार व्यवसाय, कुटनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा पनि बहस हुन थालेको छ । ठूलो अर्थतन्त्र भएको देश भएकोले पनि अमेरिकाको नेतृत्वको कार्यशैली र नीतिले धेरै देशमा प्रभाव पार्छ । ट्रम्प राष्ट्रपति बनेसँगै अब अमेरिकासँगै अन्य देशको अर्थतन्त्र कस्तो दिशा समात्ला ? उनको आर्थिक नीति के हो ? उनले चुनावी सभामा के कस्ता कार्यक्रम तथा प्रतिवद्धताहरू गरेका थिए ? आज हामीले उनले चुनावमा अगाडि सारेका प्रतिवद्धता र अब अवलम्बन गर्न सक्ने नीतिको विषयमा चर्चा गरेका छौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा कर राहत प्रदान गर्ने, मूल्य कम गर्ने, भन्सार शुल्क बढाउने र अर्थतन्त्रलाई मजबुत बनाउने कार्यक्रमहरू अगाडि सारेका थिए । उनका तिनै प्रतिवद्धताहरू मन पराएर अमेरिकी जनताले उनलाई बहुमत दिएर जिताए पनि । अहिले उनका ती प्रतिवद्धतालाई धेरै चासोका साथ हेरेका छन् । ट्रम्प यसअघि राष्ट्रपति हुँदा पनि उनले सन् २०१७ मा ट्याक्स कट्स एन्ड जब्स ऐन पारित गरेका थिए । सो ऐनले विभिन्न वस्तुमा कर घटाउन सहयोग पुर्‍याएको थियो । डेमोक्र्याटहरूले भने यो ऐनले धनीहरूलाई फाइदा भएको भन्दै आलोचनासमेत गरेका थिए । ट्रम्प पुनः यस ऐनले प्रदान गरेका सबै व्यक्तिगत आय कर र सम्पत्ति कर कटौतीलाई विस्तार गर्न चाहन्छन् । उनी व्यक्तिको आम्दानीमा लाग्ने कर र सम्पत्ति करको दर घटाउन चाहन्छन् । साथै, ट्रम्पले राज्य र स्थानीय कर कटौतीमा रहेको सीमा हटाउने प्रस्ताव पनि गरेका छन् । ट्रम्पले कर्पोरेट कर दरलाई १५ प्रतिशतमा झार्ने प्रस्ताव गरेका छन् । अहिले अमेरिकामा २१ प्रतिशत कर्पोरेट कर छ । ट्रम्पले कम्पनीहरूलाई उपकरण र अनुसन्धानमा लगानीको लागत तुरुन्तै कटौती गर्न सक्ने व्यवस्था पनि पुनः लागू गर्ने योजना बनाएका छन् । कर हटाउने योजना राष्ट्रपति ट्रम्पले विभिन्न कर के कसरी घटाउने, कति घटाउने भन्ने विषय चुनावी अभियानमा घोषणा गरेका थिए । उनले टिप्स, सामाजिक सुरक्षा र ओभरटाइम पारिश्रमिकमा लाग्ने कर हटाउने योजना प्रस्तुत गरेका थिए । ट्रम्पले टिप्समा लाग्ने कर अन्त्य गर्ने प्रतिवद्धता गरेका थिए । ट्रम्पले संघीय आयकर र पे–रोल कर (जसले सामाजिक सुरक्षा र मेडिकेयरलाई वित्तीय सहायता पुर्‍याउँछ) दुवै कर हटाउने प्रतिवद्धता पनि चुनावी प्रचारप्रसारमा गरेका थिए । ट्रम्पले टिप्समा लाग्ने पे-रोल कर हटाएमा लगभग सबै टिप्स प्राप्त गर्ने कर्मचारीहरूले कर राहत पाउनेछन् । उनले जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षामा पनि कर नलाग्ने घोषणा गरेका थिए । ट्रम्पले ओभरटाइम पारिश्रमिकमा लाग्ने कर हटाउने पनि प्रस्ताव गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले यी तीन शीर्षकमा कर नलाग्ने व्यवस्था गरेमा सामाजिक सुरक्षा कोषलाई वित्तीय चुनौती हुनेछ । यसले सरकारको राजस्व पनि घट्नेछ । ट्रम्पले यसको सट्टा भन्सार शुल्कबाट प्राप्त राजस्व प्रयोग गर्ने योजना बनाएका छन् । मध्यम वर्गलाई राहत ट्रम्पले चुनावी अभियानमा अमेरिकन नागरिकहरूको जीवनयापनको लागत कम गर्न विभिन्न योजनाहरू सार्वजनिक गरेका छन् । उनले क्रेडिट कार्डको ब्याजदरलाई अस्थायी रूपमा १० प्रतिशतको हाराहारीमा बनाउने घोषणा गरेका छन् । जुन वर्तमान ब्याजदरको आधाभन्दा कम हुन आउँछ । ट्रम्पले गाडी कर्जामा तिर्ने ब्याजलाई पूर्ण रूपमा कर कटौती गर्ने योजना अगाडि सारेका छन् । धेरैले उनको यो नीतिले धनी अमेरिकनलाई मात्रै राहत मिल्ने बताइरहेका छन् । जेष्ठ नागरिक र तिनीहरूका परिवारका सदस्यलाई मद्दत गर्न ट्रम्पले परिवार हेरचाहकर्ताहरूका लागि कर क्रेडिटको प्रस्ताव गरेका छन् । साथै उनले घरमै हेरचाह सेवा बढाउने र हेरचाहकर्मीको अभावमा पुग्ने विकृति हटाउने योजना पनि अगाडि सारेका छन् । भन्सार शुल्क र व्यापारमा वृद्धि ट्रम्पले चुनावी घोषणा कार्यक्रममा आफू पुनः राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । उनले चिनियाँ वस्तुको आयातमा ३० प्रतिशतसम्म शुल्क लगाउने घोषणा गरेका थिए । यस्तै, उनले मेक्सिकोमा बनेका गाडीहरूमा वा अमेरिकाबाट मेक्सिकोमा उत्पादन स्थानान्तरण गर्ने कम्पनीहरूले बनाएका उत्पादनहरूमा १०० प्रतिशतदेखि २०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने प्रतिवद्धता गरेका थिए । भन्सार शुल्क बढाउँदा अमेरिकी निर्माण उद्योगलाई प्रवर्द्धन गर्ने, रोजगार सिर्जना गर्ने र अन्य नीतिहरूको लागि आवश्यक लाखौ‌ं डलर राजस्व उठ्ने उनको भनाइ थियो । मूल्य घटाउने ट्रम्पले निवर्तमान राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले मूल्य बढाउन भूमिका खेलेको भन्दै आलोचना गर्ने गरेका थिए । उनले आफू राष्ट्रपति बनेपछि ग्यास, किराना सामान र अन्य आवश्यक वस्तुहरूको मूल्य घटाउने प्रतिवद्धता जाहेर गरेका थिए । ‘तेल र ग्यासको उत्पादनलाई बढाएर मूल्य घटाउन सकिन्छ, थप ड्रिलिङको अनुमति दिएर उत्पादन बढाउन सकिन्छ,’ उनले चुनावी घोषणा कार्यक्रममा भनेका थिए । ट्रम्पले इन्फ्लेसन रिडक्सन एक्ट अन्तर्गत खर्च नगरेका कोषहरू रद्द गर्ने घोषणा पनि गरेका थिए । उनले संघीय सरकारको वित्तीय र प्रदर्शन अडिट गर्ने नयाँ कार्यकुशलता आयोग पनि स्थापना गर्ने योजना अघि सारेका छन् । अर्बपति एलन मस्कले उक्त आयोगको नेतृत्व गर्न सहमति जनाएका छन् । आवासलाई सस्तो बनाउने ट्रम्पले आवासलाई सस्तो बनाउने प्रतिवद्धता पनि गरेका छन् । आवासलाई बढी पहुँचयोग्य बनाउन र आपूर्ति बढाउनका लागि विद्यमान कानुन संशोधन गर्ने उनको भनाइ थियो । उनले आवास कर्जाको ब्याजदर पनि घटाउने बताएका थिए । उनले यस्तो घोषणा गरेपनि बैंकको ब्याजदर घटबढ गराउनमा राष्ट्रपतिको कुनै भूमिका हुँदैन । बैंकहरू ब्याजदर घटाउन वा बढाउन स्वतन्त्र हुन्छन् । ट्रम्पले आवासको मूल्य बढ्नुमा अवैध आप्रवासीहरूलाई दोष दिएका छन्, जसलाई उनले सामूहिक निष्कासनमार्फत समाधान गर्ने र तिनीहरूलाई मोर्टगेज प्राप्त गर्न रोक्ने प्रस्ताव गरेका छन् । उनले पहिलो पटक घर खरिद गर्नेलाई विशेष सुविधा तथा सहुलियत दिने घोषणा गरेका छन् । अमेरिकी व्यवसायमा लगानी गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पले भन्सार शुल्कहरू बढाउने र कर्पोरेट कर दर घटाउने योजनाले अमेरिकी निर्माण उद्योगमा ठूलो वृद्धि हुने अपेक्षा गरेका छन् । भन्सार शुल्कहरूले विदेशी वस्तुहरूलाई अमेरिकी उत्पादनहरूभन्दा महँगो बनाउनेछ । भन्सार शुल्क बढाएर विदेशी वस्तु आयातमा कमी गर्ने उनको योजना छ । उनले अमेरिकाभित्र उत्पादन गर्ने कम्पनीहरूको लागि कर्पोरेट कर दरलाई १५ प्रतिशतमा झार्ने नीतिले निर्माणमा पुनर्जागरण हुने उल्लेख गरेका छन् । सर्वसुलभ स्वास्थ्य सेवा स्वास्थ्य सेवा ट्रम्पको पहिलो कार्यकालको प्रमुख प्राथमिकता थियो । उनले अघिल्लो कार्यकालमा औषधीको मूल्य घटाउने प्रयास गरेपनि त्यो सम्भव हुन सकेन । अब उनले सर्वसुलभ स्वास्थ्य सेवामा जोड दिने बताइरहेका छन् । एजेन्सी

लाहुर जान हिडेका प्रकाश दुतराज कलाकार बने, गीत गाएरै बुवाआमालाई विदेशबाट फर्काए

म्याग्दी । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका थिए । ‘परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दा सम्म बेनीको एक कार्यालयमा मासिक तीन हजार पाँच सय रुपैयाँ ज्यालामा साँझ/बिहान सरसफाइको काम गरेको थिए,’ उनले भने  ‘१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।’ सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम पर्यो पानी…’ बोलको गित रेकर्ड गराएका थिए । बाध्यताले पढाईलाई भन्दा कमाईलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाई बहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न वि.स. २०७१ मा काठमाडौ छिरेका प्रकाशले दोहोरी साँझमा काम पाए । ‘विदेशको चक्करमा काठमाडौ छिरेको म ज्यान पाल्नका लागि चार वर्ष छ महिना दोहोरी साँझमा काम गरे । दोहोरीसाँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गित, संगित सिक्ने पाठशाला पनि भयो,’ उनले भने ‘दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठ वटा गित बनाएपनि आर्थिक हिसाबले फाइदा भएन ।’ विदेशको प्रयासमा वि.स. २०७४–७५ को डेढ वर्ष सांगितिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाईको आग्रहमा सामाजिक विषयवस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा…’, चोली मैलो भो…, बोलको गित बनाए । आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरु, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जिवनको झल्को दिने कथामा आधारित थियो । सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौं पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिए । आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुदाँ नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनिको, लौन सार्है मन पर्यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो । ‘अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युमा राखेर घर आएको बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,’ प्रकाशले भने ‘गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युव’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि सुखीको सिमा रहेन् । विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिए । गित चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरे ।’ ‘युट्युव’मा हालसम्म चार करोड बीस लाख ५६ हजार रुपैयाँ भन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन् । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् । गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युव’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उनको आम्दानीको स्रोत हो । प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगित मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उहाँ गीतको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्छन् ।  उनका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन् । मीठास शब्द र संगितले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् । नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । ‘अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,’ उनले भने ‘हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।’ प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ । मनोरञ्जनको साथमा सन्देश तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरुको सल्लाह सुझाव अनुसार संगित र म्युजिक भिडियो बनाउदा सफलता मिलेको उनले अनुभव सुनाए । ‘करिम’ बोलको गितको म्युजिक भिडियोको कथा र केही दृष्यको विषयमा भएको विवादलाई उनले कमजोरीबाट पाठ सिक्ने अवसरका रुपमा लिएका छन् । गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ । युवा विदेशिदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली…’को म्युजिक भिडियो हालसम्म दुई करोड १८ लाख १७ हजार पटक हेरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युवमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ ।  हालसम्म चार करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपीना गोतामेले साथ दिएका छन् । डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा तीन/चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गरेका छन् । रेशम गीतको भिडियो युट्युबमा राखेको दुई महिनाको अवधीमा एक करोड ३४ लाख ७२ हजार भन्दा बढी पटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिएका छन् । रासस

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

NEB खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो । विसं २०८० चैत–२० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए । गत असोज–१३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक–४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुवा परशुराम राईले जानकारी दिए । हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन् । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो । अब भने पछिल्लो नतिजा अर्थात् (३.४५ जीपीए) कायम हुने जनाइएको छ । परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसइई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए । छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट भएका थिए । केपिलासगढी गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरुप एक/एक रुपैयाँ लाख पुरस्कार दिँदै आएको छ । गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुवा पर्शुरामको आरोप छ । उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज–२२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन । रासस

ट्रम्पको जितले मस्कलाई मालामाल, एकैदिन बढ्यो २६.५ बिलियन डलर सम्पत्ति

काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले खुलेर ट्रम्पको समर्थन गरेका थिए । चुनावी प्रचारप्रसारका क्रममा उनले ट्रम्प क्याम्पलाई ११९ मिलियन डलर पनि सहयाेग गरेका थिए । बुधबार अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउनेबित्तिकै मस्कको कम्पनी टेस्लाको सेयर १४.७५ प्रतिशतले बढेको थियो । यसले मस्कको कुल सम्पत्ति २६.५ बिलियन डलरले बढ्यो । अर्थात् मस्कले एकै दिनमा आफ्नो लगानीको २२ हजार ५४४ प्रतिशत प्रतिफल पाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति अहिले २९० अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६१.३ बिलियन डलरले बढेको छ । मस्कसँग टेस्लाको ४११ मिलियन सेयर छ । बुधबार कम्पनीको सेयर १४.७५ प्रतिशतले वृद्धि भएकाे थियाे । योसँगै सेयर मूल्य दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । टेस्ला ९२६.१९ बिलियन डलरको मार्केट क्यापका साथ विश्वको १० औं सबैभन्दा मूल्यवान कम्पनी हो । मस्कले ट्रम्पको र्‍यालीमा जसरी प्रचार गरे त्यसले उनलाई सरकारमा पनि स्थान दिन सक्ने अनुमान गरिएको छ । उनलाई अर्थमन्त्री बनाइने अनुमान पनि छ । एक र्‍यालीमा उनले अमेरिकी बजेटमा दुई ट्रिलियन डलर बचत गर्न सक्ने बताएका थिए । शीर्ष १० मा को-को ? अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ पनि बुधबार ७.१४ बिलियन डलरले बढेको छ । उनी २२८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग (२०२ बिलियन डलर) तेस्रो स्थानमा, ल्यारी एलिसन (१९३ बिलियन डलर) चौथो स्थानमा र बर्नार्ड अर्नाल्ट (१७३ बिलियन डलर) पाँचौं स्थानमा छन् । यस सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१५९ बिलियन डलर) छैटौं, ल्यारी पेज (१५८ बिलियन डलर) सातौं, सर्गे ब्रिन (१४९ बिलियन डलर) आठौं, वारेन बफेट (१४८ बिलियन डलर) नवौं र स्टिभ बाल्मर (१४६ बिलियन डलर) दशौं स्थानमा छन् अम्बानी-अदानीको अवस्था मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ पनि बुधबार बढेको छ । रिलायन्सका अध्यक्षको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेसँगै उनी फेरि १०० बिलियन डलरको क्लबमा सामेल भए । अडानी समूहका अध्यक्षको कुल सम्पत्ति ३ अर्ब ६२ करोड डलरले बढेर ९७.२ अर्ब डलर पुगेको छ । विश्वका धनी व्यक्तिको सूचीमा अम्बानी १७औं र अडानी १८औं स्थानमा छन् । अहिले दुवैको नेटवर्थमा तीन अर्ब डलरभन्दा कमको अन्तर छ । यस वर्ष अम्बानीको कुल सम्पत्ति ४.०१ बिलियन डलरले बढेको छ भने अडानीले १२.९ बिलियन डलर कमाएका छन् । एसियाली धनीहरूको सूचीमा अम्बानी पहिलो र अदानी दोस्रो स्थानमा छन् । (एजेन्सीको सहयाेगमा)

छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी

जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्सा हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन् । उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस अध्ययन गर्न ४६ लाख रुपैयाँ लाग्नेमा गाउँपालिकाले २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए । चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत छिन् । कनकासुन्दरी गाउँपालिका– ५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै छन् । बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिए ।

निर्माण व्यवसायीले पाए ५ अर्ब रकम भुक्तानी, साढे ३ अर्ब पाउन बाँकी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा । काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताएका छन् । सचिव शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालयअन्तर्गत ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरेको बताएका हुन् । उनले अर्थमन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकामान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको बताए । उनले ८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए । उनले अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीको लागि रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको बताए । सचिव शर्माले कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले चाँडै बाँकी भुक्तानी हुने विश्वास रहेको बताए । उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीहरूलाई ६० प्रतिशत रकम भुक्तानी गरिसकेकाे छ । रकम अपुग भएकाले ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी छ । अर्थ मन्त्रालयबाट त्यो रकम निकासा हुनुपर्ने छ । विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न सकेनौं । कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेका छौं । अर्थ मन्त्रालयले व्यवस्थापन गर्दै छ । सम्भवतः चाँडै बाँकी भुक्तानी हुन्छ ।’ सचिव शर्माले मन्त्रालयअन्तर्गतको रकम रकमान्तर गर्न अर्थ मन्त्रालयको स्वीकृत नपर्ने सम्बन्धमा केन्द्रीय लेखा प्रणाली आयव्याय प्रणाली बिग्रने गरीको स्वतन्त्रता मन्त्रालयहरुले खोज्नु नहुने बताए । उनले मन्त्रालय अन्तर्गतका शिर्षकबाट समस्या फुकाउनसक्ने अधिकार दिनुपर्ने पनि बताए ।

यु-१९ महिला टि-२० विश्वकप : नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले एक सय छ रनको अन्तरले कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान परिवर्तन

काठमाडौं । नेपाल वायुसेवा निगमको उडानको समय तालिका परिवर्तन भएको छ । कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै उडानको समय परिवर्तन भएकाे जानकारी दिएको हो । कम्पनीका अनुसार भाेलि (शुक्रबार)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको कार्य हुने भएकाले विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द रहने छ । निगमले जारी गरेको सूचनाअनुसार काठमाडौंबाट राति ११ः५० मा हुने जापानको नारिता उडान भोलिबाट राति ९ बजेर १५ मिनेटमै हुने भएको छ । नारिताबाट फर्कदा पनि बिहान ११ः २५ मा आइपुग्ने जहाज अब ९ः२५ मै आइपुग्ने भएको छ । काठमाडौंबाट दोहा उडान भोलिबाट साढे नाैमै हुनेछ । यसअघि राति ११ बजे उडान हुने भनिएकाे थियाे । दोहाबाट काठमाडौं आउने उडान पनि बिहान ३ः २५ नभई अब २ बजे आउने छ । काठमाडौंबाट दुबई उडान अहिले राति ११ः१५ मा हुँदै आएकोमा अब ९ः३५ मै हुनेछ । यसैगरी, दुबई-काठमाडौं उडान ४ः१० बजे हुँदै आएको उडान भने यथावत नै छ ।