विकासन्युज

दराज ११.११ को आयोजना हुँदै, ८० प्रतिशसम्म छुट

काठमाडौं । दराजले सेल दराज ११.११ को आयोजना गर्दैछ । नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ (कार्तिक २६ देखि मंसिर ६ गते) सम्म आयोजना हुने भएको छ । कम्पनीअनुसार यस सेलमा ८० प्रतिशसम्म छुट हुने भएको छ । साथै, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरू लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन् । दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २ हजार ५०० रुपैयाँसम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम २५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकहरू नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंकका डेबिट कार्डमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २ हजार ५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् । साथै, यस अभियानमार्फत दैनिक रुपमा ११ रुपैयाँ, १११ रुपैयाँ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९ रुपैयाँ, ९९९ रुपैयाँ, १९९९ रुपैयाँ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।

विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ : सी जिनपिङ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । उनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा यस्ताे बताएका हुन् । हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पलाई पठाएको पहिलो सन्देशमा सीले भनेका छन्, ‘चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउँछन् र मुठभेडबाट पीडित हुन्छन् भन्ने कुरा इतिहासले देखाएको छ । स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ र यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप छ।’ उनले वासिङ्टन र बेइजिङलाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गरे । उनले भने, ‘नयाँ युगमा दुवै देश र विश्वलाई फाइदा पुर्‍याउन विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ।’ चिनियाँ उपराष्ट्रपति हान झेङले पनि अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सलाई सन्देश पठाउँदै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचार अभियानका क्रममा रिपब्लिकन नेता ट्रम्प र उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा वर्तमान् उपराष्ट्रपति कमला ह्यारिस दुवैले बेइजिङसँग कडा कदम चाल्ने नारा दिएका थिए । ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । स्टिमसन सेन्टरका सिनियर फेलो युन सुनले एएफपीसँग भने, ‘नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीनबीचको व्यापारमा केही हदसम्म सन्तुलन मिलाउने लक्ष्य राख्नुभएको छ ।’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार ट्रम्पलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिँदै ‘दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै हितका लागि सहकार्यका सिद्धान्तलाई कायम राख्ने’ विश्वास व्यक्त गरेका थिए ।

रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी,  केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली  र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ । पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताए । संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताए । पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ । यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ । उनले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिए । ‘सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ । हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ’, उनले भने । उनले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पारे । रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ । संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताए । ‘उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ’, उनले भने । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । जम्मा ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्वाचन आयोगले तोकेको छ ।

बेहोस गर्ने औषधीले बालिकाको मृत्यु, तीन जना डाक्टर प्रहरी नियन्त्रणमा

काठमाडौं । डोटीको राजपुरस्थित सुजङ अस्पतालका तीनजना डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खेल्ने क्रममा लडेर हात भाँच्चिएर घाइते भएकी बालिका उपचारका लागि अस्पताल पुग्दा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न डा. पक्राउ गरेको जनाइएको छ । दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएपछि बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डा. राजमणि यादव, डाक्टर सुरेन्द्रकुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकाको शव हाल अस्पतालमै छ।

व्यावसायिक ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै, एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म फल दिने

मन्थली । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको रामेछाप र मन्थली नगरपालिका तथा खाडादेवी गोकुलगङ्गा र लिखु तामाकोसी गाउँपालिकासहित अधिकांश पालिकामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकरी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गरेको रामेछाप–८ का शिवराम श्रेष्ठले जानकारी दिए । ‘सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको ?’ भनेर आलोचना पनि गरे । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरुले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो’, उनले भने । रामेछाप बजार नजिक एक रोपनी जग्गामा खेती गरेको जनाउँदै श्रेष्ठले बजारमा ड्रागनको माग बढी भएकाले बजारीकरणको समस्या नरहेको बताए । साठी वर्षीय शिवाराम पेसाले किराना तथा हार्डवेयर व्यवसायी हुन् । पसलका साथै कृषि कर्ममा रमाउने उनी पछिल्ला केहीवर्षयता व्यावसायिक ड्रागन खेतीमा रमाइरहेका छन् । मन्थली नगरपालिका–५ का रामबहादुर शाही र वडा नं ७ का दिलबहादुर सार्कीले पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन् । वर्षमा दुई पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको रामबहादुरले बताए । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या नआउने उनको भनाइ छ । यो फल एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरिकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको रामबहादुरले बताए । वनमारा उमे्रेको पाखो बारी फँडानी गरेर करिब तीन रोपनी जग्गामा ड्रागनका बिरुवा लगाएको उनले जानकारी दिए । यसको खेती गरिएको जमिनभित्र सयपत्री फूलको पनि खेती गरिरहेको रामबहादुरले उल्लेख गरे । यस वर्षको तिहारमा सयपत्रीको फूल र माला बिक्री गरी एक लाख रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । ड्रागन खेती गरिरहेका कतिपय किसानले सयपत्री, गोदावरी, मखमलीलगायत फूल लगाएका छन् भने कतिपय लसुन प्याज, काउली, बेसारलगायत खेती पनि गरिरहेका छन् । खेती गर्न सहज हुनुका साथै नगदेबाली लगाएर आम्दानी गर्न सकिने भएकाले जिल्लामा ड्रागन खेती गर्ने किसान बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ  । अहिले बगैँचाबाट तीनदेखि तीन सय ५० रुपैयाँसम्ममा फल बिक्री हुने गरेको मन्थली–७ का किसान दिलबहादुर सार्कीले जानकारी दिए । ‘पाखो तथा सुख्खा बारीमा यसअघि मकै तथा अन्य अन्नबाली रोप्ने गरेको थिएँ । उत्पादन कम हुने र मूल्य पनि नपाउने समस्या थियो । अहिले परीक्षणका रुपमा ड्रागन खेती थालेकामा एक वर्षमा नै उत्पादन दिन थालेको छ’, उनले बताए । सार्की पेसाले शिक्षक छन् । पठनपाठनका साथै उनले खेती पनि गरिरहेको उल्लेख  गरे । किसानले स्थानीय तथा सङ्घीय सरकारले ड्रागन खेती विस्तार गरी जिल्लालाई ‘ड्रागन फ्रुट जोन’ का रुपमा विकास गर्नुपर्ने माग गरेका छन् । जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेती विस्तरका लागि कार्यलयसँग रकम अभाव भएकाले कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । परियोजना कार्यालयका प्रमुख थिरलाल गैरेले अन्य कार्यक्रमबाट मिलाएर ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिने बताए । उनले नेपालमा यसको व्यावसायिक खेती सुरु भएको धेरै वर्ष नभएको भन्दै किसानलाई यसका सकारात्मक पक्षका बारेमा जानकारी गराउँदै यसको खेतीतर्फ थप आकर्षित गराउन सकिने धारणा राखे । आन्तर्राट्रिय बजारमा ड्रागनको माग बढी भएकाले पनि बजार अभाव नहुने भन्दै प्रमुख गैरेले किसानले खेती विस्तार गर्दै लैजानुपर्ने बताए । ‘परियोजनामार्फत अन्य कार्यक्रमलाई परिमार्जन गरी ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिन्छ । यसबारे सरोकार भएका निकायसँग छलफल गर्नेछौँ’, उनले भने । ड्रागन फ्रुटको खेती विकास र विस्तर गरी स्थानीय र सङ्घीय सरकारअन्तर्गतका कृषि विकास कार्यालय, प्रधानमन्त्री आधुनिकीकरण परियोजनालगायत सरोकार भएका निकायले किसानलाई अनुदान दिएर सहयोग गर्नुपर्ने स्थानीय समाजसेवी बिपीन भट्टराईले बताए । किसानलाई प्रोत्साहन गर्न आवश्यक तालिम, प्राविधिक ज्ञानलगायत सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । रासस

अनिल अम्बानीको कम्पनी ऋणमुक्त, समय अगाडि नै तिरे १ हजार ३१८ करोड भारु

काठमाडौं । भारी ऋणमा डुबेका उद्योगपति अनिल अम्बानीको एउटा कम्पनी ऋणमुक्त भएको छ । रिलायन्स पावरको सहायक कम्पनी रोजा पावर सप्लाई कम्पनीले सिंगापुरको ऋणदाता भेर्डे पार्टनरलाई ४८५ करोड भारु ऋण चुक्ता गरेको हाे । योसँगै रोजा पावर अब ऋणमुक्त कम्पनी बनेको छ । कम्पनीले शून्य ऋण स्थिति हासिल गरेको र निर्धारित समयभन्दा अगाडि नै १ हजार ३१८ करोड रुपैयाँ तिर्न बाँकी ऋण पूर्णरूपमा चुक्ता गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि रोजा पावरले सेप्टेम्बरमा भर्डे पार्टनरलाई ८३३ करोड भारु तिरेको थियो । रोजा पावरले उत्तर प्रदेशको शाहजहानपुर नजिकै रोजा गाउँमा १ हजार २०० मेगावाटको कोइलाबाट चल्ने थर्मल पावर प्लान्ट सञ्चालन गर्दै आइरहेकाे छ । यसले रिलायन्स पावरको ब्यालेन्स शीटलाई बलियो बनाउने बताइएकाे छ । कम्पनीले भर्खरै १ हजार ५२५ करोडको प्रिफेरेन्सियल इस्यू (अधिमान्य मुद्दा) जारी गरेको थियो । नियामक जानकारीका अनुसार कम्पनीको प्रिफेरेन्सियल इस्यूले रिलायन्स पावरको नेटवर्थ ११ हजार १५५ करोड रुपैयाँबाट बढेर १२ हजार ६८० करोड रुपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले कम्पनीलाई हरित ऊर्जा क्षेत्रमा आफ्नो स्थिति बलियो बनाउने अवसर दिने बुझिएकाे छ । रिलायन्स पावर देशको सबैभन्दा ठूलो निजी क्षेत्रको कम्पनी हो । यसमा कोइला, ग्यास, जलविद्युत र नवीकरणीय ऊर्जाको ठूलो पोर्टफोलियो छ । रिलायन्स पावरको स्थापना क्षमता ५ हजार ३ सय मेगावाट छ । भारतका दाेस्राे धनी व्यक्ति गौतम अडानीको नजरमा मुम्बईमा बिजुली आपूर्ति गर्ने रिलायन्स पावर प्लान्ट रहेकाे छ । (एजेन्सीकाे सहयाेगमा)

कामना सेवा विकास बैंकले गर्यो मठमन्दिर सरसफाई

काठमाडौं । कामना सेवा विकास बैंकले मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकले १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । ‘साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो’ भन्ने बोध गर्दै, कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाई तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु तथा अन्य कर्मचारीको बाक्लो उपस्थिती रहेको थियो । बैंकले यस कार्य मार्फत धार्मिक स्थलहरूको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

जनकपुरमा छठ मनाउनेहरूको भीड

काठमाडौं । मिथिलाञ्चलमा छठ पर्व मनाउनेहरूको भीड लागेको छ । छठका अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरूमा आज विहानैदेखि भीड लागेको हो । चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ्य तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीणी सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरूलाई पूजाको लागि विशेष रुपले सजाइएको छ । स्थानीय युवा क्लबहरूले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन् । छठमा केरा, भुसबा, ठेकुवा, नरिवल, उखु, मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्य लाई अर्घ्य दिने गर्छन् । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ । घर, परिवारको सुख, शान्ति र समृद्धिका लागि व्रत बसेको व्रतालु महिलाहरू बताउँछन् । आदिकालमा सती अनुसुयाले रोगग्रस्त पतिलाइ निको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पूजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवलाई पराजित गर्नका लागि सूर्य देवको उपासना गरी छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठको व्रत बस्नाले दुःख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासको साथ छठ पर्व मनाउने गरिन्छ ।