उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ९बिना नुन हालेको० खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए । षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए ।
यी हुन् विश्वका सबैभन्दा ठूला दाता, कसले कति गरे ?
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति २९० अर्ब डलर पुगेको छ । तर, दान गर्ने हिसाबले उनी विश्वको दशौं स्थानमा छन् । टाटा समूहका संस्थापक जमशेदजी टाटा यस सूचीमा पहिलो नम्बरमा छन् । अहिलेको महँगाईलाई एडजस्ट गरेर हेर्ने हो भने जमशेदजी टाटाले आफ्नो जीवनमा लगभग १०२.४ बिलियन डलर दान गरेका थिए । ३ मार्च १८३९ मा गुजरातको एक पारसी परिवारमा जन्मेका जमशेदजी टाटाले भारतलाई औद्योगिक राष्ट्र बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले सन् १८६८ मा टाटा समूह स्थापना गरेका थिए, जुन आज भारतकाे सबैभन्दा ठूलो औद्योगिक घराना हो । टाटा समूहका ३० भन्दा बढी कम्पनीहरू छन् र यसको व्यवसाय विश्वभर फैलिएको छ । जमशेदजी टाटाले आफ्नो परिवारमा परोपकार र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई बढावा दिए । उनका छोरा दोराबजी टाटा र रतनजी टाटाले यो विरासतलाई अगाडि बढाए । आज पनि टाटा परिवार धेरै प्रकारका परोपकारी कार्यहरूमा संलग्न छ । तीमध्ये शिक्षा र स्वास्थ्य प्रमुख हुन् । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको ६६ प्रतिशत टाटा ट्रस्टको स्वामित्वमा छ । टाटाले बनाएका संस्थाहरूबाट आज लाखौं मानिस लाभान्वित भइरहेका छन् । भारतका अजिम प्रेमजी सबैभन्दा धेरै दान गर्ने व्यक्तिको सूचीमा पाँचौं स्थानमा छन् । विप्रोका संस्थापकले हालसम्म २१ अर्ब डलर दान गरिसकेका छन् । सबैभन्दा ठूला दाता धेरै दान दिनेकाे सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स दोस्रो स्थानमा छन् । उनले ७५.८ बिलियन डलर दान गरेका छन् । प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटले ३२.१ बिलियन डलर र जर्ज सोरोसले ३२ बिलियन डलर दान गरेका छन् । यसैगरी, अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले १४ अर्ब डलर दान गरेकी छन् । त्यस्तै, माइकल ब्लूमबर्गले १२.७ बिलियन डलर, ली का-शिंगले १०.७ बिलियन डलर, एन्ड्रयू कार्नेगीले ९.५ बिलियन र एलोन मस्कले ७.६ बिलियन डलर दान गरेका छन् । (एजेन्सीको सहयोगमा) Billionaires who donated their wealth to charity: 🇮🇳 Jamsetji Tata: $102.4 Billion donated 🇺🇲 Bill Gates: $75.8 Billion 🇺🇲 Warren Buffett: $32.1 Billion 🇺🇲 George Soros: $32 Billion 🇮🇳 Azim Premji: $21 Billion 🇺🇲 MacKenzie Scott: $14 Billion 🇺🇲 Michael Bloomberg: $12.7 Billion… — World of Statistics (@stats_feed) November 6, 2024
सञ्चालन भएको दुई वर्षमा दुइटा मात्रै अन्तर्राष्ट्रिय उडान, पोखरा विमानस्थललाई बिजनेस पाउन सकस
काठमाडौं । विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुइटामात्रै अन्तर्राष्ट्रिय उडान भएको छ । बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो पटक अन्तर्राष्ट्रिय उडान भएको हो । चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको करिब दुई वर्ष अर्थात् १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान गरेको हो । आज चीनको कुनमिङ विमानस्थलबाट १२० यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो २ः४० मा अवतरण भएको थियो । तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू नेपाल आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आएको थियो । त्यसयता आन्तरिक उडान निरन्तर भइरहेपनि अन्तर्राष्ट्रिय उडान भने यो बल्ल दोस्रो पटक मात्रै हो । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई सहजीकरण गर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई आग्रह गरिरहेको छ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय पनि गरिसकेको छ । सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट, ग्राउन्ड ह्यान्डलिङ, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिभर छुट दिने निर्णय गरिसकेको छ । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यो विमानस्थल सञ्चालन भएको दुई वर्षमा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले लगानी उठाउन पनि सकस भएको छ भने ऋणको साँवा ब्याज भुक्तानीमा पनि समस्या हुने देखिन्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२२ जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । पोखराबाट भारतका विभिन्न सहरमा उडान गर्न भारतबाट अझै अनुमति नपाइएकाे अधिकारीहरू बताउँछन् । नेपालले हालसम्म ४१ वटा देशसँग हवाई सम्झौता गरेको छ ।
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध हुने भएकाे छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपलब्ध गराउने भएको हो । १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएकाे छ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल भित्रिएकाे थियाे । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर, र विश्व कार डिजाइन अफ दि इयरजस्ता पुरस्कारहरू प्राप्त गरेकाे थियाे । अन्तर्राष्ट्रिय रूपमा समेत हुन्डाई आयोनिक ५ ले चर्चा पाएकाे थियाे । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ । आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुनेछ । करिब एक महिनाभित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सकिने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएकाे छ । प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक-५ लक्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो । आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।
तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी
रामपुर । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएका छन्। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेका थिएनन् । सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका रुपमा मानिन्छ । तरकारीले बजार नपाए नोक्सानी हुने चिन्ताका बीच उनले व्यवसाय विस्तार गर्दै जाने योजनासहित तरकारीखेतीमा लागे । अहिले तरकारीखेतीले बजार पाएपछि यसबाटै जीविकोपार्जन भइरहेको बस्यालले बताए । वार्षिक रुपमा सबै खर्च कटाएर तरकारी बिक्रीबाट सात लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए । उनी स्थानीय बजारको अवस्था र ग्राहकको माग अनुसार तरकारी लगाउने गर्छन् । यहाँ आलु, काउली, बन्दा, गोलभेँडालगायत जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा जोड दिने गरेका छन् । बस्यालले हाल १२ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन् । दश रोपनी जग्गा १० वर्षका लागि वार्षिक ५० हजार रुपैयाँ बुझाउने गरी भाँडामा लिएको बताउँदै स्थानीय बजारमा तरकारीको खपत हुन थालेपछि व्यवसाय विस्तार गरी १२ रोपनी पुर्याएको उनले जानकारी दिए । तरकारी खेतीबाट परिवारको सबै खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन हुँदै आएको बस्यालले बताए । ठूला सहर तथा बजार पुग्ने सडक जोडिए पनि पक्की र व्यवस्थित सडक नहुँदा, रामपुर गाउँ भएकाले बजार सानो हुनसलगायत कारणले केही समस्या भने हुने उनको भनाइ छ । ‘भविष्यमा यो व्यवसायले आयआर्जनको बलियो माध्यम बनाउन सकिन्छ भन्ने सोचका साथ तरकारीखेती सुरु गरेँ, तरकारीबाट सोचेजस्तै आम्दानी भइरहेको छ’, बस्यालले भने, ‘हाम्रो परिवारको जीविका राम्रैसँग चलेको छ, यस व्यवसायबाट हामी सन्तुष्ट छौँ ।’ पहिले स्याङ्जाको वालिङ, गल्याङलगायत विभिन्न बजारमा लगेर तरकारी बिक्री गरेको स्मरण गर्दै उनले अहिले भने उत्पादित तरकारीले रामपुरमा नै खपत भइरहेको जानकारी दिए । उनको व्यवसायमा श्रीमती राधिका बस्यालले सघाएकी छन् । श्रीमान् श्रीमती दुवैजना तरकारी खेतीमा आबद्ध छन् । उनीहरुको यो व्यवसाय देखेर अहिले गाउँघरमा छिमेकीले पनि तरकारी लगाउन थालेका छन् । बारी हरिया तरकारीले ढाकिएका छन् । उनको बारीमा अहिले काउली, बन्दा, आलु, सागमुला, धनियालगायत सागसब्जी तयार हुँदैछन् । गत भदौमा मात्रै एक रोपनी जग्गामा लगाएको काँक्राबाट एक लाख रुपैयाँ आम्दानी भएपछि व्यवसायमा हौसला थपिएको राधिकाले बताइन् । ‘तरकारीखेती थालेपछि वरिपरि हरियाली भएको छ । गाउँमा विस्तारै पहिचान पनि बन्दै गएको छ । अहिले बजारको समस्या छैन, व्यापारीले घरमा आएर खरिद गरेर तरकारी लैजानुहुन्छ’, उनले भनिन् । बर्सेनि तरकारीका साथै बिरुवासमेत उत्पादन गर्न थालेको राधिकाको भनाइ छ । उनका अनुसार करिब एक रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारीका बिरुवा उत्पादन भइरहेका छन् । पछिल्लो समय यहाँको बजार बढ्दै गएपछि निर्वाहमुखी खेती गर्ने किसानले पनि व्यावसायिक तरिकाबाट खेती गर्न थालेका रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । व्यावसायिक खेतीमा जोड दिने किसानलाई नगरपालिकाले खेती गर्ने प्रविधिसम्बन्धी तालिम, गोष्ठी, बिउबिजन, उपकरण तथा प्राविधिक सेवा दिँदै आएको उनले जानकारी दिए । रासस
लघु बीमा कम्पनीले कृषि बीमा बेच्न पाउने, पूर्वाधार निर्माण गर्न प्राधिकरणको निर्देशन
काठमाडाैं । लघु बीमा कम्पनीहरूले पनि कृषि बीमाको पोलिसी बेच्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीहरूलाई कृषि तथा पशुपंक्षी बीमाको पोलिसी बिक्री गर्न आवश्यक तयारी थाल्न सुझाव दिएको छ । कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरेपछि पोलिसी बिक्री गर्न अनुमति दिने तयारीमा प्राधिकरण रहेको छ । हाल नेपालमा ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ४ वटा निर्जीवन कम्पनी रहेका छन् । उक्त ४ कम्पनीलाई कृषि तथा पशुपंक्षीको बीमा गर्नका लागि पूर्वाधार बनाउन प्राधिकरणले सुझाव दिएकाे हो । कार्तिक महिनाको पहिलो साता ४ वटा लघु निर्जीवन कम्पनी र प्राधिकरणबीच यसबारेमा छलफल भएको थियो । छलफलमा उनीहरूलाई पूर्वाधार तयार गरेर आउन सुझाव दिएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । प्राधिकरणका उपनिर्देशकसमेत रहेका अधिकारीले भने, छलफलमा उनीहरूलाई पहिला पूर्वाधार खडा गर्न भनेका छौं । पूर्वाधार तयार भएपछि पोलिसी बिक्रीका लागि अनुमति दिन्छौं । कम्पनीहरू पनि सकारात्मक देखिएका छन् ।’ उनका अनुसार कृषि तथा पशुपंक्षीको बीमा गर्न कम्पनीहरूले अभिकर्ता बनाउनु पर्ने, सिस्टम बनाउनु पर्ने, पोलिसी जेनेरेट गर्न सफ्टवेर प्रणाली विकास गर्नु पर्ने, कृषि बीमाको पोलिसी छपाई, पोलिसीकाे अध्ययन, तार्गेट ग्रुप पहिचान गर्ने, कृषि तथा पशुपंक्षी अध्ययन गरेको कर्मचारी हायर गर्ने र सोहीअनुसार तालिम दिनुपर्ने काम पहिला कम्पनीहरूले गर्नुपर्छ । त्यसपछि प्राधिकरणले अनुमति दिनेछ । सूचना अधिकारी निर्मलका अनुसार लघु बीमा कम्पनीहरूलाई ५० लाख रुपैयाँसम्मको कृषि बीमा पोलिसी बिक्री गर्ने गरी अनुमति दिने प्राधिकरणको तयारी छ । लघु निर्जीवन बीमा कम्पनीहरूले ५० लाख रुपैयाँसम्मको बीमा गर्न पाउने व्यवस्था रहेको छ । सोहीअनुसार कृषि बीमामा पनि बीमांक रकम ५० लाख रुपैयाँसम्मको बीमा गर्न दिने तयारी रहेको उनले बताए । कृषि तथा पशुपंक्षी बीमा प्रिमियम अनुदान उपलब्ध गराउने निर्देशिकाअनुसार बीमा गर्दा किसानले ८० प्रतिशत अनुदान पाउने व्यवस्था थियो । तर, गत असोजको दोस्रो साता बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्देशिका कार्तिक एक गतेदेखि लागु हुनेगरी खारेज गर्याे । सो निर्देशिका खारेज भएसँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि बीमाको अनुदान दिने कार्यविधि तयार गरेको थियो । कार्तिक एक गतेदेखि निर्देशिका खारेज र कार्यविधि लागू भयो । उक्त कार्यविधिले कृषि बीमाको अनुदानलाई ३ खण्डमा संरचना बनायो । एक करोडभन्दा धेरै बीमांक रकमको बीमा गर्नेले बीमाशुल्कको ५० प्रतिशत अनुदान पाउन ५० देखि १ करोड रुपैयाँसम्मको बीमांक रकम भए ६५ रुपैयाँ अनुदान पाउने र ५० लाख रुपैयाँभन्दा कम रकमको बीमा गर्दा किसालने ८० प्रतिशत अनुदान पाउने कार्यविधिमा उल्लेख छ । निर्देशिकाअनुसार लघु बीमा कम्पनीले अनुदानको कृषि बीमा गर्न पाउन थिएनन् । सो निर्देशिकाको परिभाषामा बीमक भन्नाले जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनी भरेर उल्लेख गरिएकाे थियो । जसमा लघु बीमाको परिकल्पना नै गरिएको थिएन । तर, कार्यविधिले लघु बीमा कम्पनीलाई पनि बीमकको परिभाषामा समेटेकाले उनीहरूले पूर्वाधार तयार गर्नासाथ कृषिको पोलिसी बिक्री गर्न पाउने सूचना अधिकारी निर्मलको भनाइ छ । सो कार्यविधिले बीमकको परिभाषामा सो शब्दले लघु निर्जीव बीमा कम्पनीलाई पनि जनाउने उल्लेख छ । यसो भएकाले लघु बीमकलाई कृषिको पोर्टफोलियो अनुमति दिइँदा कुनै कानुनी संशाेधन गर्नुपर्ने झन्झट छैन । मात्र प्राधिकरणले अनुमति दिए पुग्छ भने बीमा कम्पनीहरूले आवश्यक पूर्वाधार, कर्मचारीको व्यवस्थापन, शाखा, विभाग आदिको स्थापना गर्नुपर्ने हुन्छ । लघु निर्जीव बीमा कम्पनीले हाल सम्पत्ति बीमाअन्तर्गत घर बीमा र मोटर, तेस्रो पक्ष बीमाअन्तर्गत चोरी र दुर्घटना बीमाको पोलिसी बेच्दै आएका छन् । अब उनीहरूले कृषि तथा पशुपंक्षीको बीमा पनि गर्न पाउने भएका हुन् ।
राष्ट्रपति पौडेलले गरे छठी माताको पूजाआराधना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे । यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे । राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
दराज ११.११ को आयोजना हुँदै, ८० प्रतिशसम्म छुट
काठमाडौं । दराजले सेल दराज ११.११ को आयोजना गर्दैछ । नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ (कार्तिक २६ देखि मंसिर ६ गते) सम्म आयोजना हुने भएको छ । कम्पनीअनुसार यस सेलमा ८० प्रतिशसम्म छुट हुने भएको छ । साथै, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरू लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन् । दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २ हजार ५०० रुपैयाँसम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम २५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकहरू नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंकका डेबिट कार्डमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २ हजार ५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् । साथै, यस अभियानमार्फत दैनिक रुपमा ११ रुपैयाँ, १११ रुपैयाँ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९ रुपैयाँ, ९९९ रुपैयाँ, १९९९ रुपैयाँ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।