विकासन्युज

उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । निर्वाचन आयोगले लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।

आगलागी हुँदा १० लाखको क्षति

बनियानी । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाख रुपैयाँबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

एमाले सचिवालय बैठक भोलि

काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उनले दिए।

इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, तत्काल स्थानान्तरणको माग

काठमाडौं । धनगढी उपमहानगरपालिका-३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छिन् । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्कर नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ । ‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ,’ माधवीले भनिन, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।’ केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । डिपो अगाडि नै रहेको धनगढी-अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन् । नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झन्छन् । चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाउँछन् । ‘कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ, आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्,’ उनले भने । केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउँछन् । ‘डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयो भने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ,’ प्रमुख हमालले भने, ‘लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ ।’ डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उनले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिए । पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन । निगमका उपनिर्देशक प्रदीप यादव पनि डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउँछन् । ‘घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ,’ उपनिर्देशक यादवले भने । सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ । निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो । धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसी बताउँछन् । हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उनले बताए । हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारको योजना छ । भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ । निगमको धनगढीस्थित डिपो कुल एक बिघा आठ कठ्ठामा फैलिएको छ । उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि ७६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् । उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

बहालवाला मन्त्रीकै कम्पनी कालोसूचीमा, एक दर्जन बढी ठेकेदार कारवाहीमा

काठमाडौं । सरकारले विभिन्न एक दर्जन बढी कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन बढी कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा कान्छाराम कन्स्ट्रक्सनसमेत परेको छ । कान्छाराम कन्स्ट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी हो । कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यस्तै, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको कार्यालयको भनाइ छ । कालोसूचीमा पर्नेमा तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् । यी कम्पनीहरूलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए । यस्तै, रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि, पोखरा पनि कालोसूचीमा परेको छ । इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् । काम सन्तोषजनक नभएमा कम्पनीहरू कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरू कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हकप्रदको रकम जम्मा गर्न सञ्चालक र ठूला सेयरधनीलाई लिवर्टीको ताकेता

काठमाडौं । लिवर्टी इनर्जीले सञ्चालक लगायत ठूला सेयरधनीहरूलाई हकप्रद सेयर बापतको रकम जम्मा गर्न निर्देशन दिएको छ । हकप्रद सेयरबापत आफ्नो हकमा पर्न आएको रकम समयमै जम्मा गर्न भनेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारीमा छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइसकेको छ । सर्वसाधारण सेयरधनीहरूलाई आवेदन खुल्ला गर्नुपूर्व संचालक लगायत आधारभूत (चुक्ता पूँजीको १ प्रतिशत र सो भन्दा बढी सेयर धारण गर्ने) सेयरधनीहरूले आफुले लिनुपर्ने हकप्रद सेयर वापतको रकम बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम आफ्नो स्वामित्वमा पर्न आएको हकप्रद सेयर बापतको प्रतिकित्ता १ १ सय रुपैयाँ अंकित मूल्य दरले दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो । कम्पनीले कात्तिक २९ गतेभित्र कम्पनीमा सम्पर्क गरी उक्त रकम जम्मा गर्न सेयरधनीहरूलाई अनुरोध थरेको हो । यदि कुनै सञ्चालक लगायत आधारभुत सेयरधनीहरुबाट हकप्रद सेयरको लागि आवेदन सहितको रकम प्राप्त नभएमा नियमानुसार हुने कम्पनीले जनाएको छ ।

पूर्णबहादुरको सारङ्गीले कमायो ८.२५ करोड, एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहीबार नेपालभरका हलमा ३८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले काठमाडौं उपत्यकामा १८० र उपत्यका बाहिरका २ सय गरी देशभरका ८९ हलमा ३८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको जानकारी दिए । हालसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै ८ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बरालले जानकारी दिए । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा रहेका छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका-१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए । ‘रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ,’ उनले भने, ‘गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।’ फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् । घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताए । घटनाका बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ । घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताए । उनका अनुसार चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकारेका छन् । जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जङ्गली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु जिल्लामा हराउन थालेको स्थानीयले बताएका छन् ।