विकासन्युज

वेवारिसे अवस्थामा रहेको सामानसहितको ट्रक नियन्त्रणमा

काठमाडौं । भारतबाट अवैधरूपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक सशस्त्र प्रहरीले कार्तिक २२ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरवेडी इलाकाबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको सुरक्षा फौजले ना ४ ख ५७८४ नम्बरको ट्रकमा लोड गरी वेवारिसे अवस्थामा रहेको १ सय ४० किलो चिनी, ३३ बोरा धान र २० पोका भुजा बराद गरेको हो । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ । उक्त सामान तथा ट्रकको भन्सार दाखिला मूल्य ४६ लाख १९ हजार ६ सय रुपैयाँ रहेको छ ।

सुर्खेतमा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते

दैलेख । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको बताए । तीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

अमेरिकामा मनाइयो छठ

वाशिङ्टन डिसी । नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् । मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ । आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताए । उनले बिहीबार व्रर्तालुले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका भन्दै यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको जानकारी दिए । यादवले भने, ‘हामीहरूले यो प्रवासी भूमिमा हाम्रो सनातन धर्मको मूल्य मान्यता र यसको वैज्ञानिक कारणसहित दोस्रो पुस्तालाई छठ मनाउन उत्प्रेरित गरिरहेका छौँ । अमेरिकामा नेपाली रहेको स्थानमा कतिपयले आफ्नै घरमा, समूहमा मिलेर तथा मन्दिरमा गएर छठ पर्व मनाउने गरेका छन् ।’

वैदेशिक रोजगारबाट फर्किएर कृषिमा रमाउँदै जयसवाल

नवलपरासी । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक रूपमा कृषि पेसामा आबद्ध भएका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि दुई वर्षदेखि उनले व्यावसायिक कृषि पेसा गर्दै आएका हुन् । जीविकोपार्जन र आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा कृषिकर्मबाट मनग्ये आम्दानी गर्न सकिने जयसवालले बताए । वार्षिक एक हजार रुपैयाँका दर जग्गा भाडामा लिएर खेती सुरु गरेको भन्दै पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिकाभित्रका जग्गाधनीसँग सम्झौता गरेर ३५ बिघा जग्गामा धानखेती गरिरहेको उनले जानकारी दिए । यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै जयसवालले ३५ बिघामध्ये २९ बिघा भाडामा लिएको र बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताए । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएको उनको भनाइ छ । कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको जयसवालले जानकारी दिए । पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उनले उल्लेख गरे । बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा ‘आरोही सिड्स’ कम्पनी सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट आधुनिक जातका धान, मकैलगायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए । पछिल्लो समय यहाँका किसानको व्यावसायिक कृषिमा आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए । केहीवर्ष अघिसम्म जीविकोपार्जनका लागि मात्र परम्परागत खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनको भनाइ छ ।

ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयन

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन् । उनले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय रहेको संकेत गरेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका हुन् । डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र ह्वाइट हाउस फर्कनुभन्दा साढे दुई महिनाअघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ । रुसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको एक र्‍यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ‘साहसी’ भएको भन्दै प्रशंसा गरेका थिए । अरबपति ट्रम्पले पछि एनबीसी न्यूजसँग भनेका थिए, ‘मैले मलाई वर्षौंदेखि बारम्बार प्रशंसा गर्दै आएका पुटिनसँग ऐलेसम्म कुरा गरेका छैन । मलाई लाग्छ हामी कुरा गर्नेछौं ।’ सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता बाइडेन र पुटिनबीच कायम रहेको चीसो सम्बन्धबाट यो भूकम्पीय परिवर्तन हो र ट्रम्पले किएभलाई अमेरिकी समर्थनको आलोचना गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यसअघि उक्त द्वन्द्वमा शान्ति सम्झौता गर्ने बताएका थिए तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्दै युद्धविरामको आह्वान ‘खतरनाक’ भएको बताएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङ यसअघि ट्रम्पलाई बधाई दिने विदेशी नेताहरूको सूचीमा सामेल भइसकेका छन् । ह्यारिसले चुनाव अभियानका क्रममा तानाशाहसँग धेरै मित्रवत व्यवहार गरेको भन्दै आलोचना गरेका थिए । ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको ‘कुनै विकल्प नभएको’ एनबीसीसँग बताएका छन् । ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा आफ्नो ट्रान्जिसन टिममा काम गर्न थालेपछि बाइडेनले शान्तिपूर्ण र ‘व्यवस्थित’ तरिकाले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । सन् २०२० को चुनावमा ट्रम्पले आफ्नो पराजय स्वीकार्न इन्कार गरेको भएपनि यसको विपरीत ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई ‘तापक्रम घटाउन’ आग्रह गरेका थिए । डेमोक्र्याट नेताले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि निमन्त्रणा गरेका छन् । तर बाइडेनका प्रवक्ताले भने ट्रम्पको टोलीले कानुनी सङ्क्रमण प्रक्रिया सुरु गर्न अनुमति दिने महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर नगरेको बताएका छन् । यद्यपि बाइडेनले आफ्नो उमेरको बावजुद दोस्रो कार्यकालका लागि चुनाव लड्ने प्रारम्भिक निर्णय जुलाईमा अन्तिम समयमा पद छोड्नुअघि र उपराष्ट्रपति ह्यारिसलाई बागडोर सुम्पिनुभन्दा पहिले नै पार्टीमा औंला उठिसकेको छ । ह्वाइट हाउसले बाइडेनलाई कुनै पछुतो नभएको बताएको छ । अर्थतन्त्र र आप्रबासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ । ट्रम्पको पहिलो क्याबिनेट चयन वाइल्सलाई उनको टोलीमा व्यापक समर्थन प्राप्त छ र बुधबार बिहान उनको विजय भाषणको क्रममा विशेष गरी स्टेजमा बोलाइएको थियो । ट्रम्पले भने, ‘सुसी कडा, स्मार्ट, नयाँ हुनुहुन्छ, विश्वव्यापी रूपमा उहाँलाई प्रशंसा र सम्मान छ। सुसीले अमेरिकालाई फेरि महान बनाउन अथक प्रयास जारी राख्नुहुनेछ ।’ ट्रम्पले बाइडेनद्वारा हस्ताक्षरित धेरै नीतिहरूलाई उल्ट्याउने अपेक्षा गरिएको छ । रासस

प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए । प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका थिए । समितिमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मेडिकल कलेजको व्यवसाय बढ्दै, यस्तो छ ८ कलेजको तीन वर्षको आम्दानी

काठमाडौं । पछिल्लो समय मेडिकल कलेजको व्यवसाय बढ्दै गएको छ । विगतका वर्षहरूको तुलनामा सन् २०२३ मा ८ वटा मेडिकल कलेजको व्यापार बढेको देखिएको हो । विकासन्यूजलाई प्राप्त तथ्यांकअनुसार ८ वटा मेडिकल कलेजले २०२३ मा कुल १२ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । २०२२ मा यी ८ वटा कलेजले ११ अर्ब ६८ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेका थिए । यो एक वर्षको अवधिमा ८ वटा मेडिकल कलेजको व्यवसाय करिब ४ प्रतिशतले बढेको देखिन्छ । यस समाचारमा हामीले देशका ठूला ८ वटा मेडिकल कलेजले विगत तीन वर्षमा गरेको व्यवसायको विश्लेषण गर्ने प्रयास गरेका छौं । आश्विन्स मेडिकल कलेज ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यो अस्पतालले २०२४ को मध्यसम्म २ अर्ब २ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२३ मा २ अर्ब ८३ करोड ४० लाख बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजले २०२२ मा २ अर्ब ७९ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस्तै, २०२१ यो मेडिकल कलेजले २ अर्ब २२ करोड ६५ लाख रुपैयाँको व्यवसाय गरेको थियो । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ३ सय शय्याको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । चितवन मेडिकल कलेज सन् २००६ मा चितवन जिल्लाका डाक्टरहरूको समूहले स्थापना गरेको यो निजी कलेज हो । जसलाई पछि २०२४ जनवरी २५ मा सार्वजनिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । यस अस्पतालले विभिन्न विशेषज्ञता क्षेत्रमा उन्नत डायग्नोस्टिक सुविधासहितको सेवा प्रदान गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चितवन मेडिकल कलेजले २०२३ मा १ अर्ब ८७ करोड ८० लाखको व्यवसाय गरेको छ भने २०२२ मा २ अर्ब ७ करोड ९० लाखको व्यवसाय गरेको छ । यो कलेजले २०२१ मा भने १ अर्ब ८७ करोड ८० लाखको व्यापार गरेको थियाे । तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पछिल्लो समय यस मेडिकल कलेजको आम्दानी बढ्दै गएको छ । यूनिभर्सल मेडिकल कलेज रुपन्देहीको भैरहवामा रहेको यूनिभर्सल मेडिकल कलेजले पनि व्यवसाय बढाउँदै गएको छ । १९९८ मा निजी मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको यो कलेजले २०२३ मा १ अर्ब ४७ करोड ९० लाखको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२२ मा १ अर्ब ३९ करोड २० लाखको व्यापार गरेको छ भने २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यवसाय गरेको छ । ५०० शय्याको अस्पताल रहेको यो कलेजमा विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षणका लागि अस्पतालमा काम गर्दै आइरहेका छन् । यस कलेजमा एमबीबीएस, बीडीएस (दन्त चिकित्सा), बीएससी नर्सिङ, बी फार्मा लगायत विभिन्न स्नातक कोर्सहरूका साथै स्नातकोत्तर कोर्सहरू पढाइ हुँदै आइरहेका छन् । मणिपाल कलेज पोखरामा रहेको मणिपाल मेडिकल कलेज नेपालको सबैभन्दा पुरानो मेडिकल कलेज हो । यसको पूरा नाम मणिपाल कलेज अफ मेडिकल साइन्सेस हो । १९९४ मा भारतको मणिपाल ग्रुपले स्थापना गरेको यो मेडिकल कलेजले एमबीबीएस, बीडीएस र अन्य स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । दक्ष चिकित्सक उत्पादन गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको यो कलेजमा अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी र अनुभवी प्राध्यापकहरू छन् । यस कलेजको आफ्नो मणिपाल शिक्षण अस्पताल पनि छ, जसमा विद्यार्थीहरूले क्लिनिकल प्रशिक्षण प्राप्त गर्छन् । कलेजले २०२४ को मध्यसम्म ७४ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको छ भने २०२३ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । कलेजले २०२२ मा १ अर्ब ९ करोड ९० लाखको सञ्चालन आम्दानी गरेको थियो भने २०२१ मा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । नेशनल मेडिकल पर्साको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज नेपालको एक प्रसिद्ध मेडिकल कलेज हो । यो कलेज २००१ मा देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको संस्थापक समूहले स्थापना गरेको थियाे । नेशनल मेडिकल कलेज नेपालकै उत्कृष्ट चिकित्सा शिक्षण संस्थाहरूमा गनिन्छ र यो नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । यहाँ एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र अन्य स्नातक र स्नातकोत्तर तहका स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशालाहरू, लाइब्रेरी र अनुसन्धान केन्द्रहरू उपलब्ध छन् । नेशनल मेडिकल कलेजसँगै अस्पताल पनि छ, जसले विद्यार्थीहरूको क्लिनिकल प्रशिक्षणलाई सशक्त बनाउँदै आएको छ । ७५० भन्दा बढी शय्या भएकाे यो कलेजले पनि आफ्नो आम्दानी बढाउँदै गएको छ । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ भने २०२२ मा १ अर्ब १९ करोड ४० लाख र २०२१ मा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजको पनि आम्दानी बढ्दै गएको देखिन्छ । काठमाडौं मेडिकल कलेज काठमाडौं मेडिकल कलेज काठमाडौंको सिनामंगलमा अवस्थित छ । यो कलेजको स्थापना १९९७ मा भएको हो । कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ । यो कलेजले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र एमडी/एमएसजस्ता विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । यो कलेजको आफ्नै अस्पताल छ, जहाँ विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिक्न सक्छन् । अस्पतालले विभिन्न आन्तरिक चिकित्सा, शल्यचिकित्सा, प्रसूति-स्त्री रोग, बाल रोग, मनोविज्ञानलगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यो मेडिकल कलेजले २०२३ मा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब २८ करोड ८० लाख र २०२१ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । मेडिकल कलेजको आम्दानी पनि बर्सेनि बढ्दै गएको देखिन्छ । नेपाल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको कलेजले विद्यार्थीहरूलाई नवीनतम् चिकित्सा प्रविधि सिकाउँदै आएको छ । किष्ट मेडिकल कलेज किष्ट मेडिकल कलेज नेपालको एक प्रमुख मेडिकल कलेज हो । जुन ललितपुरको इमाडोलमा छ । यसको स्थापना २००६ मा भएको थियाे । यो कलेज नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । कलेजले एमबीबीएस, बीडीएस र बिएससी नर्सिङजस्ता विभिन्न स्नातक स्तरका स्वास्थ्य विज्ञानका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकाे छ । किष्ट मेडिकल कलेजसँगै किष्ट मेडिकल कलेज शिक्षण अस्पताल पनि छ । जसले ५०० भन्दा बढी शैय्यासहितका विविध स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ । कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र मेडिकल प्रविधि छन् । कलेजले विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक अध्ययनलाई सहज बनाउँदै आएको छ । कलेजमा अत्याधुनिक उपकरण र अनुसन्धानको सुविधा पनि उपलब्ध छन् । यो कलेजले पनि आम्दानी बढाउँदै लगेको छ । नेपाल र विदेशका अनुभवी प्राध्यापक र चिकित्सकहरू रहेको यस मेडिकल कलेजले पनि विद्यार्थीहरूको शैक्षिक स्तरलाई बढाउने प्रयास गर्दै आएको छ । कलेजले २०२३ मा ७८ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ भने २०२२  मा ६८ करोड ८० लाख रुपैयाँ र २०२१ मा ५१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । किष्ट मेडिकल कलेजले नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ । गण्डकी मेडिकल कलेज गण्डकी मेडिकल कलेज नेपालको एक प्रतिष्ठित चिकित्सा शिक्षा संस्था हो, जुन पोखरामा अवस्थित छ । २००७ मा स्थापना भएको यो कलेजले नेपाल मेडिकल काउन्सिल र मेडिकल काउन्सिल अफ इन्डिया र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त गरेको छ । यस मेडिकल कलेजमा एमबीबीएस, बीडीएस, बिएससी नर्सिङ र अन्य स्वास्थ्य विज्ञानसम्बन्धी स्नातक कार्यक्रमहरू सञ्चालित छन् । यो कलेजको पनि आफ्नै शिक्षण अस्पताल छ, जसमा ७५० भन्दा बढी शैय्या छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र अनुसन्धान केन्द्रहरू पनि छन् । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब १५ करोड ७० लाख र २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । यस मेडिकल कलेजको व्यवसाय पनि हरेक वर्ष बढ्दै गएको देखिन्छ । साढे १५ अर्ब ऋण खोज्दै ८ वटा मेडिकल कलेजले ऋणका लागि रेटिङ गराएका छन् । मेडिकल कलेजहरूले ऋणका लागि विभिन्न रेटिङ एजेन्सीमा रेटिङ गराएका छन् । ८ वटा मेडिकल कलेजले कुल १५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबर ऋणका लागि रेटिङ गराएका हुन् । ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले ४ अर्ब ८४ करोड २० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ भने पोखराको मणिपाल मेडिकल कलेजले २ अर्ब ऋणको लागि रेटिङ गराएको छ । यस्तै, पोखराकै गण्डकी मेडिकल कलेजले ८२ करोड ५० लाख, चितवन मेडिकल कलेजले २ अर्ब ४१ करोड, नेशनल मेडिकल कलेजले ९५ करोड, काठमाडौं मेडिकल कलेजले १ अर्ब ६१ करोड ४० लाख र किष्ट मेडिकल कलेजले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको रेटिङ एजेन्सीहरूले जानकारी दिएका छन् ।

सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशतमात्रै काम, पर्यटकलाई सास्ती

बलेवा । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गति लिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन् । अझै पनि बागलुङभित्रको ६१ किमीमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रूपमा खुलेको खण्डमा त परिवर्तन नै भएको छैन । जिल्लाभित्रको ६१ किमी सडकमध्ये बुर्तिबाङदेखि ढोरपाटन पुग्ने सडकभित्रको पनि २२ किमी खण्डको ठेक्का अलपत्र छ । बुर्तिबाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३० प्रतिशतमात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगति नभएको सालझण्डी-ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए । त्यस बाहेकको खण्डमा त झनै काम भएको छैन । खुलेको ट्र्याकसमेत समयमा मर्मत नहुँदा वर्षातमा खसेका पहिरो त्यतिकै छ । निसीखोला तर्फको खण्डमा सडकको कामै नहुँदा गाउँपालिकाका जनप्रतिनिधिसमेत आक्रोशित छन् । ‘न आयोजनाले काम गर्छ, न हामीले लगानी गर्न पाउँछौं, जनताले हामीलाई सोधेको प्रश्नको उत्तर पनि दिन सकेका छैनौं, ‘ गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भने, ‘सोह्रवर्षदेखि काम नभएपछि जनताले पनि आयोजनाको काम छैन भन्न थालेका छन् ।’ दोहोरो पर्ने डरले पालिकाले लगानी नगरेको उनले बताए । विसं २०६५ मा ट्र्याक खुलाउने काम भए पनि त्यस यता अधिकांश खण्ड अलपत्र छ । फलेघर तर्फको भने २०७८ को कात्तिकमा ठेक्का लागेको थियो । २०८१ को वैशाख ४ गते पूरा गर्ने लक्ष्यमा पटक–पटक म्याद थपेर पनि ३० प्रतिशत मात्रै काम भएको हो । त्यो पनि संरक्षण नभएर सबै भत्केको छ । चिप्लो र खाल्डैखाल्डा भएकाले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । २५ करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म वित्तीय प्रगति पनि ३० प्रतिशतमाथि जान नसकेको हो । ठेकेदारले आगामी पुस मसान्तका लागि थप गरेको समयमा पनि प्रगति शून्य भएपछि उक्त ठेक्का तोड्नुपर्ने अवस्था आएको भण्डारीले बताए । आगामी असार मसान्तभित्र सक्ने भरपर्दो आधार नपाएमा ठेक्का रद्ध गरेर नयाँ प्रक्रियामा जानैपर्ने अवस्था रहेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सडक अलपत्र पर्दा पर्यटक फर्केको र जिल्लाको राजस्व संकलनमासमेत असर परेको बताए । सडक अप्ठ्यारो भएकै कारण ढोरपाटनका गर्भवती, सुत्केरीहरुले समयमा उपचार पाउन नसकेको, नेपाली सेना र आरक्ष कार्यालयको रासन ढुवानीमासमेत असर परेको छ । यो सडक अलपत्र परेपछि आयोजनाले समयमा काम गर्न ताकेता गर्दै अहिलेसम्म ठेकेदार कम्पनीलाई १० पटक पत्राचार गरेको छ । दुई पटक बैठक बसेर बोलाइएको थियो । आयोजनाको पत्राचारको समेत बेवास्ता गरेपछि ठेकेदार कम्पनीको तीन करोड ५६ लाख रुपैयाँ बैंक जमानत पनि रोक्का गरिएको छ । लुम्बिनीमा आएका पर्यटकलाई ढोरपापटनसम्म लैजान सहज हुने उद्देश्यले यो सडक निर्माण थालिएको थियो । कूल एक सय ९७ किमी लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्र भएको छ । सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन् । रासस