विकासन्युज

पुस्तक समीक्षाः ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा

काठमाडौं । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो । कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो । त्यसमा पनि लोकसंस्कृतिले जनताका धड्कनलाई बोक्ने हुँदा लोकसमुदायका आँशुहाँसो, सुखदुःख, मिलनबिछोड, जीवनयापनका अनेक उकालीओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वासको प्रतिनिधित्व गर्छ । हाम्रा पहिचान बनेका संस्कृति, वेशभूषा, परम्परा र रीतिरिवाजलाई लोकभाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोकभाकामध्ये ठाडो भाकाको आफ्नै वैशिष्ट्य छ । लोकसंस्कृतिको मुहान नै मान्ने गरिएको गण्डकी क्षेत्र, त्यसमा पनि लमजुङ जिल्लामा बढी गाइने यस गीतको महिमा मुलुकमा मात्र सीमित नरहेर विश्वका कुनाकुनामा फैलिँदो छ । यसको लय नेपाली गीतसङ्गीतका स्रोता र पारखीका हृदयमा अमिट छाप छाड्न सफल भएको छ । ठाडो भाकामा सामान्य लोकगीतभन्दा केही फरक शैली र मौलिकपन छ । यसमा गीत गाउने पुरुष उभिएर अर्थात् ठाडै भएर गाउने भएकाले यसलाई ठाडो भाका भनिएको हुनसक्छ । सामान्यतः यसमा महिला नाच्दैनन्, तिनले बसेरै गाउँछन् । ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ । अघिल्लाका तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ । पश्चिमा संस्कृति र सूचना प्रविधिको बढ्दो प्रभावसँगै पछिल्लो समय ठाडो भाका पनि अन्य लोकसंस्कृतिसँगै ओझेलमा पर्दै गएको छ । यसरी ओझेलमा परेको अमूल्य सम्पदालाई संरक्षण गर्दै यसको ऐतिहासिक पक्षदेखि अहिलेको अवस्थासम्मको विषयवस्तुलाई गहन ढङ्गबाट खोजी लमजुङ दुराडाँडा निवासी लालबहादुर भुजेलले पुस्तकका रूपमा ल्याएर भावी पुस्तालाई ठूलो गुन लगाएका छन् । भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पुस्तकले ठाडो भाकाका बारेमा जान्न, बुझ्न मात्र होइन, थप अध्ययन अनुसन्धान गर्नेहरूका लागि पनि बाटो नै खोलिदिएको छ । पुस्तक पढेपछि ठाडो भाकामा जो कोहीले पनि आफूलाई घुलन गराएरै छाड्छ । ठाडो भाकामा केटा पक्ष र केटी पक्षबीच तत्कालै ठाडै सवालजवाफ नगरी अनुनयविनय पारामा घुमाएर शालीन ढङ्गले उत्तर दिइन्छ । आफ्नो गीतिधारबाट गाउँदा, भट्टयाउँदा अर्को पक्षको इज्जत, आमोद एवं मान–मर्यादा–प्रतिष्ठामा आघात नपरोस् भन्ने हेतुले शिष्टता र नैतिकताको खुबै ख्याल गरिन्छ । लेखकले भने जस्तै यसमा छेडछाड गर्ने, होच्याउने, हुर्मत लिने, रिस–रागले नाङ्गेझार पार्ने मनसुवा भए पनि आफू तलै परी नम्र र सहिष्णुता अवलम्बन गरेर सुसंस्कारयुक्त र अनुशासित ढङ्गले व्यङ्ग्य गरी छेड हानिन्छ । यसमा तितो, टर्रो, छाडा, अश्लील र उच्छृङ्खल शब्दहरूको प्रयोग स्वीकाययोग्य हुँदैन, तिखो व्यङ्ग्यवाण प्रहार गर्ने सन्दर्भमा स्थानीय रैथाने बोलीचालीका भाषामा कूटनीतिक पाराले व्यवहार गरिन्छ । अरूलाई पेच पर्ने गरी कटु शब्दको प्रयोग गर्नु अव्यावहारिक र कुसंस्कारयुक्त ठानिन्छ । मौलिक संस्कृतिका प्रतिपादक एवं प्रवद्र्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सुरुमा यस भाकाको श्रीगणेश गरेका थिए। यसमा बौद्धसिं गुरुङ र उहाँका उत्तराधिकारीका रूपमा मोतीलाल गुरुङले ठूलो योगदान गरे । मोतीलालका शिष्यका रूपमा पञ्चसुब्बाले लमजुङ र कास्कीमा यसलाई विस्तार गरे । सुरुमा ठाडो भाका केटाकेटाबीच गाउने गरिन्थ्यो, यसो गर्दा रौनक नभएपछि महिलाले पनि गाउन थाले र यसप्रति जनमानसको आकर्षण बढ्दै गयो । विसं २००७ अगाडि, शास्त्रीय सङ्गीतको पाश्चात्य र पूर्वीय जगत्मा ठूलो बाहुल्य थियो भने विसं १९७० का दशकदेखि २०३० का दशकसम्म गण्डकी प्रदेशको भूभागमा ठाडो भाकाले बजार पिटेको राष्ट्रकवि माधव घिमिरेले पुस्तकका भूमिकामा लेखेका छन् । कृतिमा शुभकामना मन्तव्य भनिए पनि ठाडो भाकाका सम्बन्धमा घिमिरेबाहेक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् डा जगमान गुरुङका अमूल्य विचार पनि पठनीय मात्र छैनन्, नेपाली लोकसाहित्य र लोकसंस्कृतिका बारेमा पाइने थुप्रै जानकारीले यसको गरिमालाई अझ उजिल्याएको छ । राष्ट्रकवि घिमिरेले आफ्नो भूमिका लेखनका क्रममा गण्डकी भेगमा कुनै बेला ठाडो भाका गायकगायिकालाई मात्र लोकदोहोरीका कलाकार ठानिने गरेकामा पछि यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपालीको हृदयको ढुकढुकी साबित भएको प्रसङ्ग उल्लेख गरेका छन् । ठाडो भाकालाई दोहोरी गीतको जननी मानिन्थ्यो र गायकगायिका र ठाडोभाकाका पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर कहिल्यै नथाक्ने प्रसङ्ग उल्लेख गर्दै डा गुरुङले ठाडो भाका लोकसांस्कृतिक अलौकिक धरोहर, आफ्नै व्याकरण भएको विनयशील, शिष्ट विधा भएर पनि विलयका सङ्घारमा पुगेको भनी चिन्ता व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीले आफू लमजुङमा औद्योगिक सर्वेक्षणका काममा खटिएर जाँदा ठाडो भाकासँग परिचित हुन पाएको र जनस्तरबाट औधि रुचाइएको लोकगीतका रूपमा पाएको उल्लेख गरेका छन् । २५४ पृष्ठको प्रस्तुत अनुसन्धानात्मक ग्रन्थमा भुजेलले नेपाली लोकगीतका क्षेत्रमा चर्चा बटुलेको ठाडो भाकाका बारेमा छ अध्यायमा विस्तृत र गहन अध्ययन गरेका छन् । पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पु¥याएका बौद्धसिं, मोतीलाल, बखतबहादुर गुरुङ, पञ्चसुब्बा, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडीखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पु¥याएको योगदानको चर्चा छ । दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ । तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेक पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुखदुःखको लय छ । सो अध्यायमा लेखकले भूकम्प र बाढीपहिरो, जुजु धौ, वैदेशिक रोजगारी, मानव बेचबिखन, खेलकुद, छुवाछुत प्रथा, अपाङ्गता, भ्रष्टाचार, नारी, आभूषण, ज्येष्ठ नागरिक, भौगोलिक अवस्था, कृषि तथा पशुपालन, पर्यटन व्यवसाय, प्रौढ शिक्षालगायत विषयवस्तुमा विभिन्न समूहले गाएका ठाडो भाकाका गीतलाई जस्ताको तस्तै उतारिएको छ । चौथो अध्यायमा पहिलो अध्यायमा सामान्य चर्चा गरिएका ठाडो भाकाका स्रष्टाहरूको पूर्ण परिचय र नालीबेलीको विवरण छ भने पाँचौंँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यसमा ठाडो भाकाका हस्ती मानिएका देउबहादुर र पञ्चसुब्बा तथा अन्य स्रष्टाका ठाडो भाका गीतको समीक्षात्मक विश्लेषण दिन खोजिएको छ । छैटौँ अध्यायमा ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ । चार परिशिष्ट समेटिएको पुस्तकमा पहिलामा ठाडो भाकाको रानो भेडीखर्के साइँलासित शीर्षक दिएर लिइएको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरिएको छ भने परिशिष्ट–२ मा दुराडाँडाको अन्तर्य शीर्षक दिइएको छ । यसमा दुराडाँडाको परिचय, राजनीतिक सीमाङ्कन र जातीय स्थितिदेखि लिएर लमजुङको चर्चित हलो क्रान्तिसम्मको चर्चा गरिएको छ । परिशिष्ट–३ मा नेपालको पुरानो र ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ को २००४ माघमा प्रकाशित सत्यमोहन जोशीको पञ्चसुब्बा शीर्षकको लेख समाविष्ट गरिएको छ । परिशिष्ट–४ मा केही सुन्दर तस्बिरसमेत समावेश गरिएको छ । लेखक भुजेलले यस ग्रन्थमा ठाडो भाकाका गायनका सन्दर्भमा गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरूको टिपोट गर्नुभएको छ भने विशेष गरी ठाडो भाकामा गाइने मौलिक शब्दहरूको अर्थसमेत उल्लेख गरेका छन् । ठाडो भाकाको लोक सांस्कृतिक इतिहासजस्तो गहन अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरी लेखक भुजेलले नेपाली लोकसाहित्य, लोकसंस्कृति र ठाडो भाकाको प्रवद्र्धनमा इँटा थपेर गुन लगाउने काम गरेका छन् । ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेक विषयवस्तु पनि केलाइएको छ । जे होस् खोजमूलक अनुसन्धान र साधना हेर्दा बिदावारिधि उपाधिका लागि तयार पारेजस्तो देखिने कृतिले नेपाली लोकगीत र ठाडो भाकाको जगेर्नामा ठूलै योगदान दिनेमा कसैको भिन्न मत रहने छैन । लेखकले ठाडो भाकाको ऐतिहासिक सन्दर्भ खोतल्दै यसको महत्त्वका बारेमा पाठकलाई चित्त बुझ्ने गरी मिहिन ढङ्गमा चर्चा गरेका छन् । लेखक भुजेलको यो प्रयास प्रशंसनीय र स्तुत्य छ । यस कृति चाहिँ लोकसाहित्य र संस्कृतिप्रेमीका लागि पठनीय र सङ्ग्रहणीयसमेत छ । नेपाली लोकगीत र लोकसंस्कृतिका अध्येता लेखकका साँघुटारमा केही रात (नियात्रासङ्ग्रह), पराकाष्ठा (हाइकुसङ्ग्रह), अकर्मण्यता (ताङ्कासङ्ग्रह), परिवेश (कवितासङ्ग्रह), भुन्टे खरायो (बाल–कवितासङ्ग्रह), चट्पटे र पानीपुरी (बाल–कवितासङ्ग्रह) कृति प्रकाशित छन् ।

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा ९माओवादी० राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । त्यही बेला कोइराला निवासको एउटा बत्ती निभ्यो । अर्थात् २०६३ साल माघ १४ गते नोना कोइराला यो धरतीबाट बिदा भएर जानुभयो । त्यो बेला गिरिजाप्रसादले कार्यकर्तासँग भन्नुभएको थियो ‘कोइराला निवासको बत्ती निभ्यो ।’ नेपाली कांग्रेस आफैँमा एउटा यस्तो राजनीतिक पार्टी हो, जसले राजनीतिक समावेशीतालाई गर्भदेखि नै बोकिल्यायो । अर्थात् महिला अधिकार वा भनौँ प्रतिनिधित्वलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रमुखता दिँदै आएको छ । नेपाली कांग्रेसभित्र त्यस्ता धेरै महिलाहरूले योगदान गरेका छन् तर बिरलैको नाम पार्टी पङ्क्तिमा आउँछ । नयाँ पुस्ताले त कतिपय नामहरू ‘गुगल’ गर्दा पनि नभेट्ने अवस्था छ । कांग्रेसभित्र आफू जलेर राष्ट्र, राजनीति, जनता, प्रजातन्त्र अनि पार्टी र कार्यकर्ता माझ उज्यालो छरेका त्यस्ता धेरै नारी पात्रमध्ये नोना कोइराला अग्रपङ्तिमा हुनुहुन्छ । उहाँलाई समकालीन कांग्रेस नेता, कार्यकर्ताहरूले ‘नोना आमा’ भनेर पनि चिन्दछन् । यद्यपि, नेपाली कांग्रेसभित्र ‘दाइ-दिदी’ अनि ‘भाउजु’ कल्चर एउटा परम्परा जस्तै मानिन्छ । तर नोना कोइराला त्यस्तो सम्मानीत नारी पात्र हुनुहुन्छ, जसलाई नेपाली कांग्रेसका आम कार्यकर्ताले ‘आमा’ भनेर सम्बोधन गर्थे । यसबाट पनि प्रस्ट हुन्छ, उहाँ कोइराला परिवारले मात्रै होइन, सिङ्गो पार्टी जीवनकै एउटा उज्यालो बत्ती हुनुहुन्थ्यो । नोना आमाको जन्म १८८५ कात्तिक २४ गते भारतको रामनगरमा भएको थियो । नेपालमा राणाविरुद्ध लडिरहेको कोइराला परिवारका एक स्तम्भ कृष्णप्रसाद कोइराला सारा परिवारसहित भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियो । भारतमै बसेर कोइराला परिवारले नेपालमा क्रान्ति हाँकिरहेको थियो । त्यो बेला राणाको अत्याचारका बीच पनि केशव कोइराला भने नेपालमै रहनुभएको थियो । त्यो बेला भारतमा पनि अङ्ग्रेज विरोधी आन्दोलन चलिरहेको थियो । पञ्चायतको समयमा समेत उहाँले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गर्नुभयो । उहाँमा सबैलाई मिलाएर अघि बढ्न सक्ने विशिष्ट क्षमता थियो । नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदूर आन्दोलनदेखि भएको हो । त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा उहाँले नै लिनु भएको थियो । निरकुङ्श राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्रमुक्ति आन्दोलनमा पनि उहाँले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिनुभएको थियो । यहाँसम्मकी कतिपय हतियार त उहाँले आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पुर्याउने गर्नुभएको आन्दोलनका होमिएका धेरैलाई थाहा छ । त्यही क्रममा भारतमा रहनुभएका कृष्णप्रसाद कोइराला उतै जेल पर्नुभयो । त्यही बेला २००० असार २५ गते नोना र केशव कोइरालाबीच विवाह भयो । त्यसपछि उहाँ कोइराला परिवारभित्र एक अभिभावकजस्तै बनेर आफ्नो पारिवारिक, सामाजिक र राजनीतिक अभिभारा निभाइरहनुभयो । सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतिपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना-केशवकै काँधमा थियो । त्यही बेला २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा पनि नोना कोइरालको अद्वीतीय भूमिका रह्यो । कोइराला परिवार आफैँमा एउटा अलग्गै राजनीतिक र सामाजिक संस्कारले भरिएको परिवार हो । त्यसमा पनि नोना आमा पनि एउटा शिक्षित र राजनीतिक चेतनाले भरिएको परिवारबाटै आउनुभएको थियो । त्यसबाट पनि उहाँमा राजनीतिक र सामाजिक चेतना थियो । यसले गर्दा उहाँलाई राजनीतिक र पारिवारिक व्यवस्थापनमा अझ निपुण हुनुभयो । क्रान्तिकै बेला बिपी कोइरालाले एकपटक केशव र नोना आमालाई सम्बोधन गरेर लेख्नुभएको चिठी अहिले पनि उत्तिकै महत्वपूर्ण छ । बिपीले त्यो चिठीमा केशव र नोनाले घरबार अनि खेतीपाती धानिदिएकै कारण आफूहरूलाई प्रवासमा सजिलो भएको र नेपालमा पनि कार्यकर्ता परिचालनमा बाधा नआएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभएको थियो । कोइराला परिवारमा मात्रै नभएर ‘नोना आमा’ समकालीन राजनीतिक नेता तथा कार्यकर्ताका लागि अभिभावक नै बनेर उभिनुभयो । कोइराला परिवारको राजनीतिक विरासतमा नोना कोइरालाको अभिभावकीय र नेतृत्वदायी भूमिका अनि क्षमता सिङ्गो नेपाली राजनीतिकै लागि प्रेरणाको अजर स्रोत पनि हो । कांग्रेसमात्रै कोइराला निवास अनि कोइराला परिवार हरेक राजनीतिक दलका कार्यकर्ताका लागि सधैँ खुल्ला हुन्थ्यो । र स्वागतका लागि रातदिन तम्तयार हुन्थ्यो । त्यो सबै नोनाकै योगदान र तत्परताले मात्रै सम्भव थियो । उहाँले कांग्रेस मात्रै होइन, जुनसुकै राजनीतिक दलका कार्यकर्ताका लागि कोइराला निवास सधैंँ खुल्ला गरिदिनुभयो । यसले गर्दा नेपालमा हरेक राजनीतिक कार्यकर्ताका लागि कोइराला निवास र कोइराला परिवार आफैँमा एक उदार अनि खुल्ला संसार जस्तै भएको थियो । परिवारमा मात्रै नभएर सिङ्गो नेपाली कांग्रेस पार्टी पङ्तिमा उहाँको निर्णायक र अभिभावकीय भूमिका रहन्थ्यो । कोइराला परिवारमा हरेक दिन बिहानअर्थात् दिनको पहिलो प्रहरमै हुने बसाई राजनीतिक नै हुन्थ्यो । त्यो भनेको दिनभरिको कार्ययोजना र कार्यदिशा तय गरिन्थ्यो । त्यो सबको चाँजोपाँजो मिलाउने जिम्मेवारी नोनाकै काँधमै थियो । एक प्रकारले परिवारका सदस्यबीच भएको राजनीतिक जिम्मेवारीको बाँडफाँटमा उहाँले यसरी महत्वपूर्ण भूमिका पाउनुभएको थियो । त्यसलाई अन्तिम समयसम्म उत्तिकै सफलताका साथ निर्वाह गर्नुभयो । नोना आमाको त्यो ‘मर्निङ मिटिङ’लाई गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मले अन्तिम समयसम्मै निरन्तरता दिनुभयो । ‘मर्निङ मिटिङ’ एक प्रकारले कोइराला परिवारभित्रको आफ्नै मौलिक राजनीतिक संस्कार बनिसकेको थियो । त्यसले सिङ्गो पार्टीलाई नै ऊर्जाशील बनाउँथ्यो । अब कोइराला परिवारको राजनीतिक विरासत थाम्ने जिम्मेवारी डा शेखर कोइरालाको काँधमा छ । डा शेखर केशव–नोनाका कान्छा छोरा हुनुहुन्छ । यो बेला नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि फेरि एकपटक आम कार्यकर्ताको आशा र भरोसको केन्द्र कोइराला परिवार हुन पुगेको छ । हरेक व्यक्तिको निजी जीवनमा ‘आमा’ नै पहिलो पाठशाला हुन्छिन् । नोना कोइराला मात्रै एक गृहणीका रुपमा समित रहनुभएन । उहाँले त तत्कालीन सिङ्गो राजनीति र प्रजातन्त्रको लडाईंमा होमिएका आम नेपालीलाई आफ्नै सन्तान जसरी ममता र अभिभावकत्वको छहारीमा राख्नुभयो । उहाँले सिकाएर जानु भएको बाटोमा अब डा शेखरका पाइलाहरू अगाडि बढ्न सके र त्यसलाई निरन्तरता दिन सके नेपाली कांग्रेसको त्यो राजनीतिक संस्कारको निरन्तरता आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुनसक्छ । उहाँले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको थियो । राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग उहाँले नै उठान गर्नुभएको थियो । जसको परिणाम आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन् त्यसको मुख्य श्रेय उहाँलाई नै जान्छ । प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्यमा उहाँको भूमिका अविस्मरणीय छ । प्रजातन्त्र प्राप्तिपछि उहाँसमेतको अगुवाइमा विराटनगरमा नारी जागृति नामक संस्थाको स्थापना भयो । यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउने अभियानमा उहाँले धेरै काम गर्नुभएको थियो । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

आज केही स्थानमा वर्षाको सम्भावना, यस्तो छ देशभरको मौसम

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

बागलुङ-पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या, पाँचपटक म्याद थप

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका-६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका-१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो । विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए । विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो । इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउँछन् । सडक कालोपत्र गर्न ४२ करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो । बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हसने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ । सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका-१ का पृथमान गुरुङले बताए । ‘यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्,’ उनले भने ।

कारागारबाट सुरुङ खनी फरार भएका यादव पक्राउ

इनरुवा (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इनरुवा-५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादवसहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए । विसं २०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर-६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । विनायकलाई कर्तव्यज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद फैसला गरेको थियो । यादवसहित १२ जनाको समूहले २०६९ कात्तिक २३ गते क्षेत्रीय कारागार झुम्कामा पर्खालको भित्री भगबाट सुरुङ खनी भागेका थिए । विनायकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगाङाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीका लागि पठाइएकामा २०७२ वैशाख १२ गते उनी कारागारबाट भागेका थिए । विनायक लामो समयदेखि भारतको सुपौलस्थित शिवनगरग्राम पञ्चायत रानीगञ्जमा बस्दै आएका थिए । छठ मनाउन नेपाल आएका बेला विनायकलाई पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ११ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका ११ जना अझै फरार छन् । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय-जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए । ‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, मेयरसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भने । पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए । यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए । उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लर्काे, नेपाल एयरले दुबई र क्वालालम्पुर उडान भर्दै

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । ‘गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ,’ उनले भने । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौं भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सको भैरहवाबाट दुबई र क्वालालम्पुर उडान नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ । शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडान समेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताए । नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ । नेपाल एयरलाइन्सको विमान काठमाडौंबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ । यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले अघिल्लो वर्ष उडान सुरु गरेको थियो । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । पछि प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो । फ्लाई दुबईले कात्तिकदेखि दुबई-भैरहवा र भैरहवा-काठमाडौं हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुआती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबैखाले तयारी गरिएको छ । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन् । उपकरण जडान भई अटोमेसनको काम भएको छ । टिआइएको स्तरोन्नति सुरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नतिको काम शुक्रबार रातिदेखि सुरु भएको छ । काठमाडौं विमानस्थल मर्मत र विस्तारको काम सुरु भएकाले गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।

आज विश्व स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।