बेइजिङले सयौं अर्ब डलरको सहयोग स्वीकृत गर्ने अर्थशास्त्रीहरूको अनुमान
चिनियाँ राष्ट्रपति सी जिनपिङ । फाइल तस्बिर । काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अधिकारीहरूले महत्त्वपूर्ण बैठक टुङ्ग्याउँदा चीनले शुक्रबार आर्थिक रूपमा रूग्ण उद्योग, वित्तीय संस्था तथा फर्मका लागि ठूलो समर्थन प्याकेज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । अर्थशास्त्रीहरूले बेइजिङले सयौं अर्ब डलरको सहयोग स्वीकृत गर्ने अनुमान गरेका छन्, जसमा ऋणग्रस्त स्थानीय सरकारका साथै बैंकहरूका लागि नगदमा ध्यान केन्द्रित गरिएको छ । यसै साता बेइजिङमा चिनियाँ कानुन बनाउने सर्वोच्च निकायको बैठकका लागि भेला भएका नीति निर्माताहरूले अमेरिकी मतदानमाथि नजर राखेका थिए । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा चिनियाँ सामानमा कर वृद्धि गर्ने वाचा गरेका थिए र राष्ट्रपतीय निर्वाचनमा उनको विजय भएको सन्दर्भमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीन अमेरिकासँगको कारोबारमा थप सङ्कट आउनसक्ने आँकलनहरू गरिएका छन् । चीनमा लामो समयदेखि घरजग्गा तथा आवासीय कारोबारमा सङ्कट देखिनुका साथै र दैनिक उपभोगसम्बन्धी सामानको कारोबारमा सुस्तता आएको छ । पर्यवेक्षकहरूका अनुसार बेइजिङले अर्थव्यवस्थाका लागि लामो समयदेखि प्रतीक्षा गरिएको ‘बाजुका स्टिमुलस’ को साथ यो सङ्कटलाई कम गर्न प्रयास गर्न सक्छ । यद्यपि, सावधानीको विवरण आउन अझै समय लाग्न सक्छ । आईएनजीमा ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री लिन सोङले भने, ‘नीति निर्माताहरूलाई ट्रम्पको सम्भावित जीतलाई सम्बोधन गर्ने मौका दिनका लागि अक्टोबरको अन्त्यमा तय गरिएको बैठक पछि सारिएको थियो।’ ‘हाम्रो विचारमा ट्रम्पको जितसँगै नीतिगत समर्थन प्याकेजको सम्भावना केही हदसम्म बढ्नेछ,’ उनले थपे । युनाइटेड ओभरसिज बैंक (युओबी) का हियान वेल्थ म्यानेजमेन्टका प्रमुख सूचना अधिकारी क्वी वाङले भने, ‘ट्रम्पको जीत चीनका लागि नराम्रो होइन किनभने यसले बेइजिङलाई ठूलो प्रोत्साहनका लागि ‘दबाब’ दिन सक्छ ।’ सरकारी सञ्चारमाध्यमले यसै हप्ता अधिकारीहरूले स्थानीय सरकारको ऋणको सीमा बढाउने विधेयकको पुनरावलोकन गरेको जनाएका थिए । गत महिना घोषणा गरिएको यो कदमले अधिकारीहरूलाई विकासको लागि घरजग्गा बजारलाई लामो समयको मन्दीबाट बाहिर निकाल्ने उद्देश्यल अप्रयुक्त भूमिको अधिग्रहणको लागि थप उधारो लिन अनुमति दिनेछ । बेइजिङले सेप्टेम्बरमा आर्थिक गतिविधिलाई बढावा दिने उद्देश्यले ब्याजदर कटौती र केही घर खरीद प्रतिबन्धहरूलाई खुकुलो पार्न धेरै उपायहरूको थालनी गरेको जनाएको थियो तर विश्लेषकहरूले अहिलेसम्म विस्तृत विवरणको अभावमा भएको बताएका छन् । ‘ट्रम्पको पुनः निर्वाचनले अझ बढी तात्कालिकताको आवश्यकता प्रदान गर्दछ,’ विशेषज्ञहरू भन्छन्, ‘यद्यपि अधिकारीहरूले थप सरकारी ऋणको थुप्रोबाट बच्ने प्रयास गर्दा अझै सावधानी कायम हुन सक्छ ।’ नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले भने, ‘कुनै पनि सम्भावित प्रोत्साहन रकमको आकार ठूलो हुन सक्छ, तर दबाब पनि त्यस्तै छ ।’ उनले थपे, ‘बजारले चाहेको आर्थिक वृद्धि अझै पनि प्राप्त गर्न सक्दैन ।’ चीनका प्रधानमन्त्री ली कियाङले चीनले सन् २०२४ का लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेमा आफू ‘पूर्ण विश्वस्त’ रहेको बताएका छन् । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देशको निर्यात गत महिना दुई वर्ष भन्दा बढीको सबैभन्दा तीव्र गतिमा बढेको देखाएको छ । रासस
कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ
काठमाडौं । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका—८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका—८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोली समेत फायर गर्नुपरेको जनाएको छ । प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताए । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडेपनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानून बमोजिमको कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए । अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९/०७/२३ गते सुरूङ खनेर भागेका थिए । सो बखत उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए । झुम्का कारागारबाट भागेका विनायकलाई केहि समय पछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । यद्यपी कैद भुक्तानकालागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२/१/१२ गते भागेका थिए । प्रहरीकाअनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन् ।
बाढीको क्षतिले साढे १० अर्बको दाबी, ४ कम्पनीलाई ६० प्रतिशत भार
काठमाडाैं । असोजको दोस्रो साता आएको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति गर्यो । अविरल वर्षसँगै आएको बाढी-पहिरोले अरबौंको क्षति गरेको थियो । जसमध्ये बीमा कम्पनीहरूमा हालसम्म साढे १० अर्ब बढी रुपैयाँको दाबी पेस भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २० गतेसम्म बीमा कम्पनीहरूमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँको दाबी पेश भएको हाे । जसमध्ये बीमा कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी दिइसकेका छन् । साढे १० अर्बको दाबी पेस हुँदा ४ कम्पनीमा अत्यधिक भार पर्ने देखिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, दि ओरिएन्टल नेपाल, शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स १ अर्ब रुपैयाँ भन्दा बढीको दरले दाबी पेश भएको छ । सिद्धार्थ प्रिमियरमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँको दाबी पेश हुँदा ओरिएन्टलमा १ अर्ब ५० करोड ७ लाख, शिखरमा १ अर्ब ३ कराेड ९४ लाख र नेकोमा १ अर्ब २ करोड ४६ लाख रुपैयाँको लागि दाबी पेश भएको छ । उक्त ४ कम्पनीमा ६ अर्ब १३ करोड रुपैयाँभन्दा धेरैको दाबी परेको छ । जुन कुल दाबी रकमको ५८.२३ प्रतिशत हो । हालसम्म ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ, जसमध्ये सबैभन्दा धेरै शिखरले भुक्तानी गरेको छ । शिखरले २५ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ भने सिद्धार्थ प्रिमियरले ७ करोड ६७ लाख, नेकोले २ करोड २३ लाख, हिमालय एभरेष्टले ३ करोड ५५ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख, आईजीआई प्रुडेन्सियलले १ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।
यी १७ कम्पनी र १४ म्युचुअल फण्डमा छ एनएलजी इन्स्योरेन्सको लगानी
काठमाडाैं । एनएलजी इन्स्योरेन्सले विभिन्न १७ वटा पब्लिक कम्पनीमा सेयर लगानी गरेको छ । एनएलजीले १७ पब्लिक कम्पनी र १४ वटा म्युचुअल फण्डमा २३ करोड १२ लाख रपैयाँ बढी लगानी गरेको छ । जसमध्ये ३ बैंकसहित ५ कम्पनीको संस्थापक सेयरमा लगानी रहेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा ११ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले समग्र सेयर बजारमा लगानी गरेकोमध्ये करिब ५० प्रतिशत लगानी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा लगानी गरेको हो । यसैगरी, ७ लाख २७ हजार रुपैयाँ ग्लोबल आईएमई बैंकको संस्थापक सेयरमा, ३ करोड ९५ लाख ३६ हजार रुपैयाँ सिटिजन्स बैंकमा, माछापुच्छ्रे क्यापिटलमा ५७ लाख ५० हजार र एनआईसी एशिया बैंकको संस्थापक सेयरमा १८ लाख ८० हजार रुपैयाँ रहेको छ । १४ म्युचुअल फण्डमा लगानी कम्पनीले विभिन्न १४ वटा म्युचुअल फण्डमा लगानी गरेको छ । लक्ष्मी ईकुटी फण्डमा १ करोड ३८ लाख ९४ हजार, मेगा म्युचुअल फण्ड एकमा २५ लाख, नबिल ब्यालेन्स फण्ड तीनमा १ लाख ६६ हजार, सनराइज ब्लू चिप फण्ड एकमा २५ लाख, लक्ष्मी उन्नति कोषमा १५ लाख १३ हजार, एनआईसी एशिया डायनामिक फण्ड एकमा २५ लाख, कुमारी ईकुटी फण्ड एकमा २५ लाख र सानिमा लार्ज क्याप फण्डमा २५ लाख रुपैयाँ कम्पनीले लगानी गरेको छ । त्यसैगरी, एनआईबीएल समृद्धि फण्डमा २५ लाख, एनआईसी सेलेक्ट ३० फण्डमा ५० लाख, प्रभु सेलेक्ट फण्ड एकमा ७५ लाख, एनएमबी सरल बचत फण्डमा ९५ हजार, आरबीबी म्युचुअल फण्ड एकमा २५ लाख र आरबीबी म्यूचुअल फण्ड दुई मा ३० लाख रुपैयाँ लगानी रहेको छ । ८ लघुवित्त सेयरमा पनि लगानी कम्पनीले ८ वटा लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गरेको छ । फष्ट माइक्रो फाइनान्सको सेयरमा ६४ लाख ९ हजार, फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको सेयरमा १८ लाख ७६ हजार, साना किसान लघुवित्तमा १३ लाख ६८ हजार, समिट लघुवित्तको सेयरमा १४ लाख ८१ हजार, विजय लघुवित्तमा १५ लाख १६ हजार, मिर्मिरे लघुवित्तमा १५ लाख ५६ हजार र इन्फिनिटि लघुवित्तको सेयरमा १७ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी, आरएसडीसी माइक्रो फाइनान्सको सेयरमा २४ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ । यसका साथै कम्पनीले हिमालयन डिस्टिलरीको सेयरमा ४१ हजार, अपि पावरको सेयरमा १० लाख २७ हजार र यूनाईटेड मोदी हाइड्रो पावरको सेयरमा २ हजार रुपैयाँ लगानी गरेको छ ।
उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौँ ।’ सह–महामन्त्री बुर्लाकोटीले भने,’बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।’
हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक
गलकोट । पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्रकृतिकरुपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् । केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा अहिले युकेका पाँच जना र अमेरिकाका एक गरी छ जना विदेशी पर्यटक पुगेका छन् । उनीहरुले यहाँबाट देखिने हिमालले मोहनी प्रतिक्रिया दिएका छन् । बुधबार मात्रै पर्यटन व्यवसायी महादेव शर्माको नेतृत्वमा भकुण्डे पुगेका छ विदेशी पर्यटक तीन दिन घरबासमै बस्नेछन् । उनीहरुको पहिलो रोजाइ हिमालको दृश्य परेको छ । बिहान उठ्नासाथ आँखै अघिका हिमाल देख्दै अर्गानिक साग, सिस्नु, कोदो र भट्टको परिकार खाँदा छुट्टै आनन्द आएको युकेदेखि भकुण्डे घुम्न आएका म्यागीले प्रतिक्रिया दिए । ‘आफूले भकुण्डेको तस्बिर र भिडियो देखेकै कारण यहाँ आएको थिएँ, पुराना घर स्वच्छ हरियाली वातावरणमा बसेर हिमाल हेर्दा निकै आनन्द लाग्यो’. म्यागीले भने, ‘यस ठाउँमा आउने जो कोहीले यो रमाइलो पल बिर्सन सकिदैन होला ।’ विदेशी पाहुनाले घरबास सञ्चालकसँगै कोदो टिप्ने, साग केलाउने र अन्य घरायसी काममासमेत सघाउने गरेका छन् । घरबासमा विदेशी पर्यटकको आठौँ समूह लिएर आएको पर्यटन व्यवसायी महादेव शर्माले बताए । शर्माले भेगन समूहमा आबद्ध विश्वका पर्यटक एक पटक भकुण्डे आउने चाहना व्यक्त गरेको बताए । उनले यहाँबाट देखिने हिमाल, सनराईज र सनसेट, हरियाली वातावरण र सिस्नो, ढिँडो र गुन्द्रुक लगायतको परिकारले पाहुनालाई मोहनी लगाउने गरेको जानकारी दिए । शर्माकै पहलमा भकुण्डेमा पाँच वर्ष अघिमात्रै विदेशी पर्यटक भित्रिएका थिए । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) रोजाइमा पर्नुको काराण यहाँको आतिथ्यता, कला संस्कृति र प्राकृतिक मनोरमको दृश्य रहेको अनुभव शर्माले सुनाए । उनले भकुण्डे आएको पाहुँनालाई आगमी वर्षदेखि मुस्ताङसमेत लैजानेगरी समय थप गर्ने बताए । भकुण्डे जिल्ला सदरमुकामदेखि तीन घण्टाको पैदलमार्फत पुग्न सकिन्छ । अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले पछिल्लो समय स्वदेशी पर्यटक मात्रै नभएर अमेरिका, युके, क्यानडा, जापान, चीन र कोरियाबाट विदेशी पर्यटक आउने गरेको बताए । उनीहरुले आफ्नो घरको आगनबाट देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशङ्खलाले मोहनी लगाउने गरेको बताउने गरेको थापाको भनाइ छ । ‘संस्थागत रुपमा महादेशव शर्माको पहलमा यहाँ विदेशी आउन थाल्नुभयो,अन्य सङ्घ संस्थाबाट आउनुभएका विदेशी पर्यटकलाईसमेत भकुण्डे घुमाउन ल्याउनुहुन्छ, अहिले घरबासमा स्वदेशी र विदेशी पर्यटक दुबैको आकर्षण छ, यहाँ अर्गानिक खानाको परिकार र प्राकृतिक दृश्य नै पहिलो रोजाइ हो’, घरबास सञ्चालक थापाले भने, ‘भेगनमा आबद्ध पर्यटकले हामीलाई खान बनाउनेदेखि खेतबारीको काममा समेत सघाउन खोज्नुहुन्छ, उनीहरुले यहाँको कामको विषयमा जान्न खोज्नुहुन्छ, गाउँमा बसेर विदेशी पर्यटकलाई घरबासको माध्यमबाट स्वागत सत्कार गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’ नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुग्ने गरेको पाइन्छ । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको समुदाय र विद्यालयलाई समेत विभिन्न सहयोग गदै समेत आएका छन् । बाह्य पर्यटकको मुख्य रोजाइमा हिमशङ्खला, खानपान र कला–संस्कृति नै रहेको थापाले बताए । घरबासमा एक रातमा ८० जना पर्यटक बस्ने व्यवस्था छ । घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो र गुन्द्रुकको स्वाद लिन पाइन्छ । २०७३ सालमा स्थापना भएको जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरु खेतीपातीको कामसँगै आयआर्जनमा जोडिएका हुन् । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने अतिरिक्त माध्यमसमेत रहेका छन् । रासस
टप एयरलाइन्सको दुःखद अवसान, बैंकले सम्पत्ति जफत गर्दा मालिकको विदेश पलायन
काठमाडौं । भारतको सर्वोच्च अदालतले संकटमा परेको जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानुनी प्रक्रिया समाप्त भएको छ । कुनै बेला देशको दोस्रो ठूलो एयरलाइन्स रहेको जेट एयरवेजले पाँच वर्षअघि आर्थिक समस्या सामना गर्नु परेपछि यसका विमानहरू ग्राउन्डेड हुनुका साथै सञ्चालन रोकिएकाे थियो । ऋणदाताहरूले सोही वर्ष कम्पनी टाट पल्टेकाे उद्घाेष गरेका थिए । गत वर्ष राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले दिवालीयापन समाधान प्रक्रियाको हिस्साका रूपमा संयुक्त अरब इमिरेट्सका व्यापारी मुरारीलाल जालनसहितको खरिदकर्ता समूहलाई एयरलाइन्सको स्वामित्व हस्तान्तरण गर्न अनुमति दिएको थियो । तथापि समाधान प्रक्रिया कसरी कार्यान्वयन गरियो भन्ने बारेमा ऋणदाताहरूले उठाएका चिन्ताहरूले अदालती अपिलहरू निम्त्याएको थियो । भारतको सर्वोच्च अदालतले बिहीबार स्वामित्व हस्तान्तरणलाई खारेज गर्दै स्वामित्व हस्तान्तरणले अधिग्रहणका लागि कानुनी सर्तहरू पूरा नगरेको र खरिदलाई अगाडि बढ्न अनुमति दिनु ‘कानुनमा विकृत र अस्थिर’ हुने बताएको छ । अदालतले मुम्बईको दिवालिया अदालतलाई एयरलाइन्सको सम्पत्तिको बिक्री गर्ने प्रक्रिया हेर्ने ‘लिक्विडेसन सुरु गर्नका लागि आवश्यक औपचारिकताहरू’ सुरु गर्न आदेश दिएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशको उड्डयन क्षेत्र कडा प्रतिस्पर्धी छ र खराब व्यवस्थापन, अत्यधिक लाभप्रद र प्रतिकूल बजार अवस्थाको संयोजनका कारण धेरै एयरलाइन्सहरू समस्यामा परेका छन् । भारतमा एकपछि अर्को एयरलाइन्स कम्पनीमा समस्या सिर्जना भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका कम्पनीको धितो जफत गरिरहेका छन् । यसले लगानीकर्ता तथा ठूला उद्योगीहरु विदेश पलायन हुन बाध्य भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ऋणग्रस्त भारतीय बजेट एयरलाइन गो फर्स्टले गत वर्ष अमेरिकी एयरोस्पेस कम्पनी प्र्याट एन्ड ह्विटनीको ‘दोषपूर्ण’ इन्जिनहरूलाई यसको आधा फ्लिटको ग्राउन्डिङका लागि दोष दिँदै दिवालियापन संरक्षणका लागि दायर गरेको थियो । राज्यको स्वामित्वमा रहेका बैंकहरूलाई करोडौं डलरको ऋण तिर्न असफल भएपछि सन् २०१२ मा किङफिसर एयरलाइन्स बन्द भएको थियो । यसका मालिक बियर उद्योगपति विजय माल्याले चार वर्षपछि भारत छोडेर भागेका थिए । उनी घरमा वित्तीय धोखाधडीका आरोपहरूको सामना गर्न लन्डनबाट सुपुर्दगीविरुद्ध लडिरहेका थिए । रासस
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण एक करोड ५० लाख रुपैयाँमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो । उनका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौं जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए । बाहिर पठाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार रुपैयाँ मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ । उनले भने ‘छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।’ कार्यकारी निर्देशक डा पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।