विकासन्युज

चिकित्सक सङ्घको अध्यक्षमा डा नेपाल, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा डा दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा डा नवराज लामिछाने, सहसचिवमा डा वसन्त शर्मा, कोषाध्यक्षमा डा विवेक कँडेल र सह–कोषाध्यक्षमा डा सञ्जय पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकारी डा प्रकाश खतिवडाले जानकारी दिए । सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ । समितिको सदस्यहरुमा डा सुरेशकुमार दीप, डा कृष्णप्रसाद रेग्मी, डा पुष्पराज खनिया, डा सुन्दर गौतम र डा आविष्कार चापागाईं चयन भएका हुन् ।

एमाले सचिवालय बैठक सुरु, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ । आज बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो । एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।

इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते

काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्याएको बाइएको छ । राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले एम्बुलेन्सहरूले घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पु।्याएको जनाएको छ । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरे । सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट बाँचेका तीन जनाको उद्धार गरेको र अरूलाई खोज्ने प्रयास जारी रहेको बताएको छ । सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हवाई आक्रमणहरू सुरु गरेको छ । लेबनानमा इजरायली हवाई आक्रमणले सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् ।

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा १७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् । क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताएका छन् । अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानिय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ । पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ । गत अगस्टमा भएका दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।

वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन् । सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ । मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा दीपककुमार खराललगायत छन् । सम्मेलनमा नेपालले जलवायु अनुकूलन, हानि, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरुको विषय प्रमुख रुपमा उठान गर्ने तयारी गरेको छ । यसका लागि मन्त्रालयले राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थति पत्रमा विशेषगरी हानि पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखिएको छ । कोप-२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उनले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्ने जनाइएको छ । यसका साथै नेपालले आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ ।

झापा इनर्जीले बेच्यो ७.११ करोडको बिजुली, ८ सय सर्वसाधारणको ५० लाखसम्म लगानी

काठमाडौं । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले ९ महिनामा ७ करोड ११ लाख ३८ हजार ७१० रुपैयाँ मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । शिवसताक्षी नगरपालिका-४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए । कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए । गत माघ १० गतेदेखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा परियोजनाले १ करोड १९ लाख ७ हजार ७८१ युनिट विद्युत् उत्पादन गरेको उनले जानकारी दिए । परियोजनाबाट उत्पादित विद्युत् नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने गरेको छ । परियोजनाको १० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । हिउँदभन्दा वर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत् बढी मात्रामा उत्पादन हुने गरेको छ । ‘हिउँदमा अधिकतम् दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको छ । तर, वर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने गर्दछ,’ कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले भने । प्राधिकरणले विद्युत् खरिद सम्झौता बमोजिम कम्पनीबाट उत्पादित विद्युत्प्रति युनिट ७.३० रुपैयाँका दरले खरिद गर्दै आएको छ । शिवसताक्षी-४ बुलुचोकमा कम्पनीले खरिद गरेको २२ बिघा जग्गामा परियोजना रहेको छ । त्यहाँ सूर्यको प्रकाशबाट आउने किरणलाई संश्लेषण गर्नका लागि ठूलो क्षेत्रफलमा सौर्य प्यानल राखिएका छन् । प्रबन्ध सञ्चालक भट्टराईका अनुसार परियोजनामा ८७ करोड रुपैयाँ लगानी भएको छ । त्यसमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकले ६२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । जनस्तरबाट पूँजी सङ्कलन गरी स्थापना गरिएको झापा इनर्जी लिमिटेडमा विद्युत् उत्पादन गर्ने एकमात्र परियोजना हो । यसमा ८ सय सर्वसाधारणको ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म सेयर लगानी रहेको छ । परियोजनामा दुई इञ्जिनियरसहित १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् । विद्युत् उत्पादन प्रणाली स्वचालित भए पनि परियोजनास्थलको रेखदेख र आवश्यक मर्मत सम्भारका लागि कर्मचारी दिनरात खटिने गरेको भट्टराईले बताए ।

सिटिजन्स बैंकका दुई संस्थापक बाहिरिँदै, १ सय रुपैयाँमै सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् । बैंकका अनुसार चन्द्र इन्भेष्टमेण्ट प्रालिको नाममा रहेको २५ हजार कित्ता र मुकेश कुमार भट्टराईको नाममा रहेको ४० हजार ४५१ कित्ता सेयर गरी कुल ६५ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखिएको हो । चन्द्र इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ भने मुकेश कुमार भट्टराईको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ । साथै, चन्द्र इन्भेष्टमेण्टको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । तर, संस्थापक सेयरधनीले ३५ दिनभि उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । भट्टराईको नाममा रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन नि पाउनेछन् ।

नबिल बैंकको नाम प्रयोग गरेर ठगीको प्रयास

काठमाडौं । नबिल बैंकले आफ्नो नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै नबिल बैंकको नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेबसाइटहरुबाट ठगी गर्ने प्रयास भइरहेको जनाएको हो । सुरक्षित रहनका लागि बैंकको सधैँ आधिकारिक वेबसाइट नबिल बैंक डटकम र एनबैंक डट नबिल बैंक डटकम मात्र प्रयोग गरेर वित्तीय लेनदेन गर्न बैंकले अनुरोध गरेको हो । सामाजिक मिडियामा देखिएका शंकास्पद विज्ञापनहरुमा आउने कुनै पनि लिंकमा क्लिक नगर्न बैंकले आग्रह गरेको छ । साथै कुनै शंका लागेमा तुरुन्त बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले जनाएको छ ।