विकासन्युज

भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी

काठमाडौं । जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउदै शनिबार आपतकालीन चेतावनी जारी गरेको छ । जसमा बाढी पहिरोलगाएतका जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आवाह्नन गरिएको छ । विभाग अनुसार प्रतिकुल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो । योरोनमा, २४ घन्टामा ५९४ मिमी बर्षा भएको छ । जुन सन् १९७८ मा डाटा सङ्कलन सुरु भए देखिको सबैभन्दा बढी हो । ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिमीको वर्षा रेकर्ड भएको जनाउदै स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् भने साँझसम्म गम्भीर वर्षा हुने अनुमान गरिएको छ । यस क्षेत्रकाका बासिन्दाहरूलाई सम्भावित बाढी–पहिरो र नदीको बढ्दो स्तरका लागि सतर्क रहन सुचित गरिएको छ ।

भैरहवाबाट एकै दिन ३ अन्तर्राष्ट्रिय उडान, अब काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य

काठमाडौं । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । आज १७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित १६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दैछन् । यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ । जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ । मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यस्तै फ्लाई दुबईले दैनिक उडान गर्ने र अपराह्न पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने उनले बताए । नेपाल एयरलाइन्सले सातामा तीन पटक काठमाडौं-भैरहवा-दुबई उडान गर्नेछ । तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौंबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ । तिवारीका अनुसार कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ । उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्नसक्ने क्षमता रहेको बताए । ‘दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ, अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ,’ तिवारीले भने । भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् । देवदह नगरपालिकाका तिजन रानाले पहिलो पटक भैरहवामै अवतरण गर्न पाउदा खुसी भएको बताए । ‘हामी भैरहवा विमानस्थल सञ्चालनको एकदमै पर्खाइमा थियौँ, सञ्चालन हुने वित्तिकै पहिलो उडानबाट भैरहवा आएका छौँ, वर्षमा दुई पटक नेपाल आइन्छ, अब काठमाडौं नै धाउनुपर्ने बाध्यता हुँदैन,’ उनले भने । सोही विमानमार्फत भैरहवा आइपुगेका कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुशी भएको बताए । यसले नेपाल र कुवेतबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यहाँका नेपाली नागरिकलाई आवतजावतमा सहज पुर्याउने बताए । राजदूत लम्सालले विमानस्थल नियमित सञ्चालनमा सबैलाई सहयोग गर्न आग्रह गरे । विमानस्थल सञ्चालनमा आएसँगै यात्रुहरुले यसलाई भने अब निरन्तरता दिनुपर्ने उनको भनाइ छ । व्यवस्थापन चुस्त राख्नुपर्ने, सार्वजनिक यातायातका साधन लगायतको विषयमा ध्यान दिन उनले सुझाव दिए ।

खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध प्रगाढ बनाउनुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध थप प्रगाढ बनाउँदै विकासको गतिमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपाकिला, चिनियाँ दूतावास र हिमालयन टुरिज्म फोरमद्वारा आज पोखरामा आयोजित तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउने विश्वास व्यक्त गरे । नेपाल सरकारले सन् २०२५ लाई नेपाल-चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जाने बताए । नेपाली र चिनियाँ नागरिक एकापसमा घुलमिल हुनु आवश्यक भएको बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थित रुपमा सञ्चालन गर्न पहल भइरहेको बताए । नेपाल धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै उनले मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिर जस्ता प्रसिद्ध स्थल रहेको बताए । नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी रहेको बताउँदै मन्त्री पाण्डेले यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालले अगाडि बढ्न चाहेको उल्लेख गरे । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन दुई वर्षदेखि नेपलका विभिन्न सहरमा खेलकुदका गतिविधि सञ्चालन हुँदै आएको बताए । नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पूरा हुने अर्को वर्ष चीनमा भव्य रुपमा कार्यक्रम गरी मनाउने उनको भनाइ छ । नेपाल र चीनबीच खेलकुद तथा संस्कृतिका पक्षलाई व्यापक बनाउन नेपालमा यस्ता गतिविधि भएको बताउँदै उहाँले यस्ता कार्यले नेपाल र चीनबीचको मित्रतालाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने उल्लेख गर्दै नेपाल र चीनबीचको पर्यटकीय गतिविधिमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । राष्ट्रिय खेदकुद परिषद्का कार्यवाहक महासचिव अञ्जना श्रेष्ठले खेल पर्यटनको सम्भावनालाई यस किसिमका प्रतियोगिताले टेवा पु।्याउने धारणा राख्नुुभयो । प्रतियोगिताअन्तर्गत पोखरास्थित लेकसाइडको बाराहीघाटबाट विभिन्न चार विधामा प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड आयोजना गरिएको छ । पर्वतीय दौडमा खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ (बोटिङ) गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले कूल २ हजार २५८ मिटर उचाइ पार गर्नेछन् । त्यस्तै च्यालेन्ज इण्डिभिजुअल समूहमा ५० किलोमिटरको ट्रेलमा २ हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट पुगेर सम्पन्न हुनेछ । यसका लागि बाराहीचोकदेखि ड्यामसाइडसम्मको मार्ग तय गरिएको छ । ५० किलोमिटर टिम समूहमा प्रथम हुनेले ४ लाख ५८ हजार ४ सय रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले मेडल र प्रमाणपत्रसहित ३ लाख ४३ हजार ८ सय रुपैयाँ र तेस्रो हुनेले २ लाख २९ हजार २ सय रुपैयाँ पाउनेछन् । यस्तै चौथोलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौँलाई ९५ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा ६४ जना चिनियाँसहित १ हजार २ सय धावक सहभागी बनेका छन् । च्यालेन्ज इन्डिभिजुअल दौड समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । यस प्रतियोगितामा प्रथमका लागि १ लाख ५२ हजार ८ सय रुपैयाँ, दोस्रोका लागि १ लाख १४ हजार ६ सय रुपैयाँ र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि सातौँ हुने खेलाडीका लागि ३८ हजार २ सय रुपैयाँ र आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीका लागि १९ हजार १ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा एक सय जना नेपाली र ५२ चिनियाँ गरी १५२ जनाले सहभागिता जनाएका छन् । विद्यार्थी दौडमा शीर्ष छ (महिला/पुरुष दुवै) खेलाडीका लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेका लागि ३० हजार रुपैयाँ, दोस्रोका लागि २५ हजार रुपैयाँ र तेस्रोका लागि २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । चौथोदेखि छैठौँ हुने खेलाडीले १०/१० हजार रुपैयाँ पाउनेछन् । विद्यार्थी दौडमा पाँच सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । यस्तै ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन् । ह्याप्पी रनमा करिब छ सय जनाले सहभागिता जनाएका छन् ।

११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र आइटी सिकाइँदै

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा चिनियाँ भाषा र आइटीसम्बन्धी कक्षा सञ्चालन गरिएको छ । यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) सम्बन्धी ज्ञान दिने उद्देश्यले कक्षा सञ्चालनमा ल्याइएको हो । चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी बिहानी समयमा अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङले जानकारी दिए । समन्वय समितिले कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गरिरहेको उनले बताए । यहाँ पहिलो पटक नमुनाका रूपमा चिनियाँ दूतावासको सहयोगमा भाषा र कम्प्युटर शिक्षाका कक्षा सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम सफल भएमा क्रमशः अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको दूतावास कार्यालयले जनाएको छ । ‘नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा वा शुल्क तिरेर चीन जाने गरेका छन् । सोसम्बन्धी प्रारम्भिक शिक्षा दिन सुरु गरेका छौँ । यसले विद्यार्थीलाई भाषा र कम्युटर अध्ययनसम्बन्धी जानकारी दिने भएकाले यो कक्षा प्रभावकारी हुने विश्वास लिएका छौँ,’ जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले भने । चीन सरकारले सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजमार्फत विश्वका एक सय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरिरहेकाले साही क्रममा पहिलो पटक नुवाकोटमा कक्षा सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ । कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षा सञ्चालन गर्न आवश्यक जनशक्ति सोही कलेजबाट आएका छन् । विद्यार्थीलाई अतिरिक्त कक्षासहित दिवा खाजा, आवश्यक शैक्षिक सामग्री पनि निःशुल्क उपलब्ध गराइएको छ । यहाँ कक्षा व्यवस्थापन तथा सहजीकरण ‘ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल’ नामक संस्थामार्फत भइरहेको विदुर-८ का वडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । अहिले भाषा र प्रविधि कक्षा वडाभित्रका कक्षा ११ र १२ का विद्यार्थीलाई प्राथमिकता दिएर सञ्चालन गरिएको जनाउँदै रिक्त कोटामा मागअनुसार अन्य युवालाई पनि सहभागी गराइने उनले बताए । विद्यार्थी छनोट, भर्ना तथा कक्षा व्यवस्थापन वडा कार्यालयमार्फत कक्षा भइरहेको छ । यसैबीच, चीन सरकारको सहयोगमा नुवाकोटको साततले दरबार पुनःनिर्माण भइरहेको छ भने यहाँको शिक्षा, स्वास्थ्य, कृषि, सहरीकरणलगायत क्षेत्रमा चिनियाँ दूतावासमार्फत सहयोगका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

तिहारमा सेलरोटी बिक्री गरेर एक लाख आम्दानी

काठमाडौं । नेपालगञ्ज-१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेका छन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएकी छिन् । ‘म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन्,’ उनले भनिन् । दैनिक रुपमा मागअनुसार ५० देखि १ सय सेलरोटी पकाएर बिक्री वितरण गर्ने गरेको उनी बताउँछिन् । अन्य समयमाभन्दा दसैँ तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ । ‘अन्य बेलाभन्दा दसैँतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ, सेलरोटीका लागि अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ,’ उनले भनिन् । केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक कुवेत गएर फर्किएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकी छिन् । गुरुङले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेको बताइन् । ‘मैले प्रत्येक वर्ष तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ, एकपटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ,’ गुरुङले भनिन् । यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा ३० रुपैयाँ, फिनीरोटी प्रतिगोटा ४० रुपैयाँ, सेलरोटी प्रतिगोटा ३० रुपैयाँ र बतासा रोटी प्रतिगोटा १५ रुपैयाँमा बिक्री गर्ने गरेको गुरुङले बताइन् । सिजनको समयको रोटी व्यवसायले राम्रो आम्दानी हुनुका साथै घरखर्च गर्न निकै सहज भएको उनको भनाइ छ । ‘म केही वर्षअघि रोजगारीका लागि विदेशसमेत गएर फर्के, विदेशमा काम गर्न अत्यन्तै गाह्रो हुँदोरहेछ, आफूले सोंचेको र भनेको जस्तो नहुँदो रहेछ,’ गुरुङले भनिन्, ‘विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्के, यहाँ अहिले आफ्नै मेहनतले राम्रै आम्दानी भएको छ ।’ विदेशबाट फर्केर खोलेको खाजा नास्ता पसलसँगै सेलरोटी बनाउने उद्यमले अहिले रिताले आफ्नो घरपरिवार पाल्नेदेखि छोराछोरीको पढाई खर्च जुटाएकी छिन् । ‘खाजा नास्तासँगै चाडबाडमा त्यसमा पनि तिहारका बेलामा रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पु¥याउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ,’ उनले भनिन्, ‘यो तिहारमा राम्रै बिक्री भयो, ठ्याक्कै हिसाब त गरेको छैन तर एक लाखभन्दा धेरै नै आम्दानी भयो ।’ रोजगारीका लागि भौतारिएर ठूलो रकम खर्च गरेर विदेश जानभन्दा सानोतिनो लगानीमा स्वदेशमै केही उद्यम व्यवसाय गर्नसके विस्तारै राम्रो आम्दानी हुने उनको भनाइ छ । उनको सेलरोटी पसलमा ग्राहकको बिहानैदेखि खचाखच हुने गरेको छ ।

प्रविधियुक्त सहरीकरणका लागि बलियो सहकार्य आवश्यक

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । इजिप्टको कायरोमा सम्पन्न ‘वल्र्ड अर्बान फोरम’मा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरे । ‘सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका अन्तराष्ट्रिय समुदायसँग सम्बन्ध प्रगाढ रहेको छ । आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रुपमा अघि बढ्ने छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले सहरीकरणका क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको बताए । ‘जलवायु परिवर्तनले गर्दा सहरमा अतिवृष्टि हुने, बाढी आउने, हिमालमा हिमपहिरो आउँदा विपद्का घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदूषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नु परिरहेको छ । यसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा संयुक्त राष्ट्रसङ्घसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु,’ उपप्रधानमन्त्री सिंहले भने । तथ्य र तथ्याङ्कमा आधारित योजनामा युएनको निरन्तर सहयोगको प्रतिबद्धता रहेको जनाउँदै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको उपप्रधानमन्त्री सिंहको भनाइ छ । वल्र्ड अर्बान फोरममा नेपालले आफ्ना विषय विश्व मञ्चमा जोडदार रुपमा उठाएको र भ्रमण फलदायी भएको उनले बताए । मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका सहरी विकाससँग सम्बन्धित मन्त्रीहरु सहभागी थिए ।

बजेटको १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा छुट्याउने स्वास्थ्यमन्त्री पौडेलको योजना

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । पोखरा महानगरपालिका-१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य बीमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा बीमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुपर्ने बताए । स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बीमाको रकम ५ लाख रुपैयाँ पुर्याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताए । देशको बजेटको ४ प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्याउनु आवश्यक भएको बताए । आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उनले स्पष्ट पारे । सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार, जलन रोगको निःशुल्क उपचार जस्ता विषयलाई अघि सारेको जनाउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरेहको बताए । पोखरामा वृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवम् औषधीका लागि सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रम सञ्चालन भएयता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताए । ज्येष्ठ नागरिकहरूमा समस्याका रुपमा देखिने विस्मृतिजन्य रोगको उपचारका लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए । वृद्धाश्रमका उपाध्यक्ष एवम् जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य केशव लम्सालले २०५३ सालमा स्याउलाले छाएको छाप्रोमा तीन जना ज्येष्ठ नागरिकलाई राखेर सुरु गरिएको वृद्धाश्रम हाल सुविधा सम्पन्न भवनमा सञ्चालन भएको जानकारी गराए । उनका अनुसार वृद्धाश्रममा हाल ५३ जना असहाय ज्येष्ठ नागरिक आश्रय लिदै आएका छन् । वृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौ विस्तारा, थेरापी मेसिन एवं औषधि उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए । वृद्धाश्रममा १०६ वर्षीय नन्दु दाहाललगायत ज्येष्ठ नागरिक बस्दै आएका छन् । कार्यक्रममा वृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोगका साथै ज्येष्ठ नागरिकका क्षेत्रमा योगदान पुर्याएको भन्दै सीता बास्तोला, नरबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

मेची भन्सार कार्यालयमा ६६ करोडको सामग्री बरामद

काठमाडौं । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख ८ हजार ८२५ रुपैयाँ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१÷७२ देखि आव २०८०÷८१ सम्मको बरामद भएको हो । भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती÷खैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् । यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए । ‘यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा ५ हजार १८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्,’ उनले भने । प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा पूmल ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए । ‘भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रुपमा पैठारी भएको हो,’ उनले भने । भारतसँगको खुला सीमाका कारण दैनिक रुपमा मालवस्तु अवैध रुपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ ।