राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठक समेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कनुहुने कार्यतालिका छ ।
आज हिमपातको सम्भावना, यस्तो छ देशभरको मौसम
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले त्यस भेगका सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि
भैरहवा । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । बिजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २९ टिमबिच भएको तिनदिने प्रतियोगिताको अन्तिमदिन आज १६ टिमबिच क्वाटर, सेमी र फाईनल खेल भएको थियो । यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ । उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरे । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले खेलको उद्धाटन गरेका थिए ।
लक्ष्मी सनराइजको लाभांश घोषणा, ७ करोड ७१ लाख नगद दिने
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीलेले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट सेयरधनीहरूलाई करसहित ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर १६ गते दिउसो ३ बजे लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
यूनिलिभरका एमडीको तलब ५.८६ करोड रुपैयाँ, कर्मचारीलाई २६.६२ करोड भुक्तानी
काठमाडौं । पुँजी बजारको हटकेक सेयर हो यूनिलिभर नेपाल । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५६ हजार ८०५ रुपैयाँसम्म पुगेको थियो । कम्पनीको सेयर मूल्य उच्च हुनुको कारण प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्नु हो । कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्दै आएको छ । सेयरधनीलाई मख्ख बनाउँदै आएको यस कम्पनीले आफ्ना सञ्चालक तथा कर्मचारीलाई पनि मख्ख बनाएको देखिन्छ । किनभने कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्ना कर्मचारी र सञ्चालकहरूलाई लाखौं रुपैयाँ तलबभत्तामा भुक्तानी गरेको देखिन्छ । गत वर्ष कम्पनीले सञ्चालकहरूलाई २ लाख ९७ हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, प्रबन्ध सञ्चालक (एमडी)लाई ५ करोड ८६ लाख ९३ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कम्पनीले सञ्चालकलाई ३ लाख २४ हजार रुपैयाँ र प्रबन्ध सञ्चालकलाई ४ करोड ८१ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो । साथै, कम्पनीले अन्य पदाधिकारी तथा कर्मचारीलाई गत वर्ष २६ करोड ६२ लाख ९६ हजार रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । कम्पनीका अनुसार २२२ जना अन्य पदाधिकारी तथा कर्मचारी रहेका छन् । चालक सहितको साधन, इन्धन तथा ईन्जिन मर्मत खर्चहरु प्रबन्ध सञ्चालक, आपूर्ति प्रमुख, वित्तीय प्रमुख र बिक्री प्रमुखलाई दिएको कम्पनीको भनाइ छ ।
म अझै थाकेको छैन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति ल्याएर छाड्नेछु : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची-महाकाली अभियान चलाउने बताएका छन् । मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने बताउँदै व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताए । आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दास्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युतभार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे । उनले भने, ‘मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाह गरेँ, नेपालको पूर्व-पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ, म अझै थाकेको छैन, तेसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।’ पूर्वप्रधानमन्त्री एवं अध्यक्ष दाहालले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताए । उनले थानकोन-चित्लाङ-चन्द्रागिरी सडक गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्रे गर्ने, फोदगाउँ वस्ती बचाउ कार्यक्रममा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । माओवादी केन्द्रको पहलकदमीमा बागमती सरकारको लगानीमा कबर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दामगाडे महादेववेशी सडक ९८ करोडको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञापन तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए ।
चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण
काठमाडौं । चीनले शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ । पाइसेट-२ का चारवटा उपग्रहहरू लङ मार्च-२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए । तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट-सेन्सिङ डेटा सेवाहरू प्रदान गर्नेछन् । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५४४ औं उडान अभियान थियो । मार्च सन् २०२३ मा, चीनले पाइसेट-१ सहित चारवटा भूउपग्रहहरूको पहिलो प्रक्षेपण गरेको थियो ।
नेपालमै ईभी स्कुटर उत्पादन गर्ने ग्रन्थ ईभीमा लगानीका लागि आह्वान
काठमाडौं । नेपालमै दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनमा जुटेको ग्रन्थ इलेक्ट्रीक भेइकल (ईभी)ले लगानी गर्न आह्वान गरेको छ । दुई पांग्रे ईभीको महत्वपूर्ण मोडमा रहेको यस कम्पनीले इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारको खोजिमा रहेको जनाएको छ । स्थानीय रूपमा निर्माण गरिएको परियोजनाले नेपालभित्र रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने योजनामा रहेको यस कम्पनीले लगानीका लागि आह्वान गरेको हो । तत्काल कम्पनी आईपीओ निष्काशनको चरणमा नरहेकाले निर्माण क्षमता बढाउन थप लगानी आवश्यक रहेको कम्पनीको भनाइ छ । कम्पनीले आफ्नो उत्पादन र वितरणको सञ्जाललाई मजबुत बनाएको र नेपालको विभिन्न भूभागका लागि विशेष रूपमा डिजाइन गरिएका स्कुटरको रेन्ज २४० किमि रहेको जनाएको छ । उक्त स्कुटर नेपालमा २ लाख ८९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसले आधुनिक विद्युतीय स्कुटरको मागलाई पुरा गर्न अपेक्षा रहेको कम्पनीको भनाइ छ । ‘हाल आयातीत स्कुटरको माग उच्च छ । तर, यो पुरा गर्न नेपालमा निर्माण प्रक्रिया विस्तार गर्न आवश्यक छ । हालको क्षमता पनि उत्पादनसँगै वृद्धि गर्न आवश्यक हुन्छ, क्षमता बढेसँगै हामी देशभर र बाहिर समेत आपूर्तिलाई सुनिश्चित गर्छाैं,’ कम्पनीले भन्यो । स्कुटरमा ब्याट्री र मोटरमा ७ देखि १० वर्षको वारेन्टी रहेको छ । जसले नेपालका कुनै पनि उकालोमा दुई जना बोकेर सजिलै चढ्न सक्नेछ । साथै, थप लगानीले कम्पनीलाई यो गुणस्तर कायम राख्न सहज हुने कम्पनीको भनाइ छ । साथै, कम्पनीले नेपालको दुई पांग्रे विद्युतीय सवारी साधन बजारमा नेतृत्व गर्ने लक्ष्य लिएको छ । भविष्यमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।