विकासन्युज

नेप्से परिसूचक १.०३ अंकले घट्यो, २ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.०३ अंकले घटेर २७३० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११९ कम्पनीको सेयर मूल्य घट्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३३९ कम्पनीको ५८ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको ८ करोड रुपैयाँको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको ७ करोड ३४ लाख, एसवाई प्यानलको ७ करोड १३ लाख, एपीआई पावरको ६ करोड र शिवम् सिमेन्टको ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारका १३ उपसूचक मध्ये ५ वटाको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.१४ प्रतिशत, डेभलपमेन्ट बैंक ०.०३ प्रतिशत, हाइड्रोपावर ०.१६ प्रतिशत र इनभेष्टमेन्ट ०.०९ प्रतिशतले बढेका छन् ।   

हायात रिजेन्सीको पुन:निर्माण लागत ३ अर्ब, २ अर्ब ऋण लियो

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त तारागाउँ रिजेन्सी होटल्सले २ अर्ब रुपैयाँ ऋण लिएको छ । होटल पुन:निर्माणका लागि कम्पनीले विभिन्न बैंकबाट २ अर्ब रुपैयाँ ऋण लिएको कार्यकारी सञ्चालक सुरेश लाल श्रेष्ठले बताए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले होटलमा आगजनीसहित लुटपाट गरेका थिए । होटलको लबी र केही कोठामा आगजनी भएपछि अहिले सबै संरचना भत्काएर पुन:निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार सन् २०२६ को डिसेम्बरसम्म होटल पुनःसञ्चालन गर्ने गरी काम भइरहेको छ । ‘पुन:निर्माणको कार्य भइरहेकाे छ । सन् २०२६ डिसेम्बरसम्म सम्पन्न गर्ने योजनामा छौं । यदि रोकटोक भएन र स्मुथ रूपमा काम भयो भने डिसेम्बरमा ओपनिङ हुन्छ,’ उनले भने, ‘३-४ सय जना मानिसले धमाधम काम गरिरहेका छन् । युद्धस्तरमा काम हुँदैछ ।’  उनका अनुसार दैनिक घाटा बेहोरिरहेको होटललाई आम्दानीतर्फ डोर्याउन पनि निर्माण काय तीब्र बनाएर छिटो सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ । होटल पुन:निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने कम्पनीले जनाएको छ । जसमध्ये २ अर्ब रुपैयाँ ऋणमार्फत जुटाइएको श्रेष्ठले बताए । ‘होटल पुन:निर्माणका लागि रिटेन्ड अर्निङमा रहेको रकम परिचालन भइरहेको छ । त्यसपछि नपुगेको रकम बैंकबाट ऋण लिएको हो । ढिलाई भए लागत बढेर दबाब पर्न सक्ने भएकाले तीव्र गतिमा काम भइरहेको छ,’ उनले भने, ‘यति ठूलो प्रोजेक्ट निर्माणका लागि ऋण लिनै पर्ने बाध्यता भयो । बैंकबाट ऋण पास भएको छ, अब विस्तारै प्रयोग हुँदै जान्छ ।’ कम्पनीले करिब १२-१३ वर्षपछि बैंकबाट ऋण लिएको उनले दाबी गरे । ‘हामी लोन-फ्री कम्पनी थियौं । सन् २०१३-२०१४ देखि ऋणमुक्त थियौं । तर, भदौको दुर्घटना पछि पुनर्निर्माण गर्नुपर्यो । यो दुर्घटनाले ड्यामेज गरेको पार्टबाहेक पनि अरू धेरै कुरा गर्नुपर्ने थियो,’ उनले भने । हाल २८० कोठा रहेको होटलको संख्या पुन:निर्माणपछि २९१ पुग्ने कम्पनीले जनाएको छ । साथै १३ वटा भिल्ला थप गर्ने योजना छ, जसको सञ्चालन सन् २०२८ जनवरीदेखि सुरु हुने कम्पनीको भनाइ छ । उनले भने, ‘होटल पुरानै शैलीमा निर्माण हुन्छ । तर, भित्रको संरचना सबै ब्रान्डिङ हुन्छ-एयर कन्डिसन सिस्टमदेखि लिएर इलेक्ट्रिकल, पाइपिङ, प्लम्बिङ र बाहिर देखिने इन्टेरियर डिजाइन सबै नयाँ हुन्छ ।’ आम्दानी शून्य होटल पूर्ण रूपमा बन्द भए पनि चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा कम्पनीको आम्दानी १७ करोड १९ लाख रुपैयाँ छ । तर, उक्त आम्दानी आन्दोलन अगाडिको भएकाले वर्षभरि नै देखिने श्रेष्ठको भनाइ छ । ‘होटल पूर्ण रूपमा बन्द भएपछि आम्दानी शून्य छ । कम्पनीको वित्तीय विवरणमा देखिएको आम्दानी आन्दोलन अगाडिको हो । त्यो आम्दानी वर्षभरि नै रहन्छ । असारपछिको ब्यालेन्स सिटमा आम्दानी शून्य नै हुन्छ । त्यसपछि सञ्चालनमा आइसकेपछि मात्रै आम्दानी देखिन्छ,’ उनले भने । चालु आवको तेस्रो त्रैमासमा कम्पनी १४ करोड ४८ लाख रुपैयाँ खुद नोक्सानीमा छ । जबकि गत वर्ष चैतमा कम्पनीले ३३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो । सन् १९९० मार्च २९ मा स्थापना भएको पाँचतारे तारागाउँ रिजेन्सी होटल्स काठमाडौंको बौद्धमा ‘हायात रिजेन्सी’ ब्रान्डमार्फत सञ्चालन हुँदै आएको छ । कम्पनीलाई मुख्य रूपमा सराफ तथा श्रेष्ठ समूहले प्रवर्द्धन गरेका हुन् । होटलले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय आवास, सम्मेलन, भोजन तथा आतिथ्य सेवा प्रदान गर्दै आएको छ । जेनजी आन्दोलनअघि कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब ५२ करोड २० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्ष १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०२५ मा होटलको औसत कोठा भाडादर (एआरआर) १२ हजार ३२५ रुपैयाँ रहेको थियो भने अकुपेन्सी दर ५९.२० प्रतिशत थियो ।

नेपाल बारको आकस्मिक बैठक ४ बजे

काठमाडौं । सर्वोच्च अदालतमा विकसित भएको पछिल्ला घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले समसामयिक विषयमा छलफल गरी संस्थागत धारणा तय गर्न आकस्मिक बैठक आह्वान गरिएको जानकारी दिए ।  उनका अनुसार अपरान्ह ४ बजे बारको आकस्मिक बैठक आह्वान गरिएको हो ।  बैठकमा पछिल्ला न्यायिक तथा राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको मिश्रले जानकारी दिए ।

नेपाल बारले आह्वान गर्यो आकस्मिक बैठक

काठमाडौं । सर्वोच्च अदालतमा विकसित भएको पछिल्ला घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले समसामयिक विषयमा छलफल गरी संस्थागत धारणा तय गर्न आकस्मिक बैठक आह्वान गरिएको जानकारी दिए ।  उनका अनुसार अपरान्ह ४ बजे बारको आकस्मिक बैठक आह्वान गरिएको हो ।  बैठकमा पछिल्ला न्यायिक तथा राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको मिश्रले जानकारी दिए ।

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नीति निर्माण गर्ने सर्वोच्च निकाय, विश्व स्वास्थ्य महासभाको ७९औं सत्रको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।  स्विट्जरल्याण्डको जेनेभास्थित ऐतिहासिक ‘पाले डे नेसन्स’मा आज आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई यो जिम्मेवारी सुम्पिने निर्णय भएको हो । महासभाको सोही उद्घाटन सत्र अन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  आफ्नो वक्तव्यका क्रममा मन्त्री मेहताले नेपालको जनस्वास्थ्यका प्राथमिकता, स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धि र विश्वव्यापी स्वास्थ्य चुनौतीहरूमा नेपालको प्रतिबद्धताबारे धारणा राख्नेछिन् ।

‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् ।  काठमाडौंमा सोमबार आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब त्यसबाट मुक्त गराइने बताएका छन् ।  ‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै वाग्लेले आगामी बजेट सुधारवादी बजेट आउने बताए । उनकाअनुसार सुशासन प्रर्वद्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौँ ऐन संशोधन, सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोग गरिनेछ । ई–गभर्नेन्स, सार्वजनिक सेवा प्रवाह र डिजिटल अर्थतन्त्रको आधार निर्माणमा सरकारले प्राथमिकता दिइरहेको छ ।  नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित बनेको छ । अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ । आगामी दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको उनले स्पष्ट पारे । युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिए ।   पूर्वाधार विकासमा सरकारले एकीकृत दृष्टिकोण अपनाउने बताउँदै उनले सडक सञ्जाल विस्तार, ऊर्जा कनेक्टिभिटी, स्वच्छ ऊर्जा ग्रिड, भरपर्दो इन्टरनेट सेवा र उड्डयन सुरक्षामा विशेष जोड दिइने बताए । नेपाललाई आन्तरिक रूपमा, क्षेत्रीय रूपमा र विश्वसँग थप मजबुत रूपमा जोड्ने लक्ष्य सरकारको रहेको उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेकाअनुसार सरकारले सामाजिक क्षेत्रतर्फ गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषण, आधारभूत वित्तीय पहुँच र दिगो सामाजिक सुरक्षा संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । उनले वैदेशिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाइने बताए ।  विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सञ्जाललाई केवल भावनात्मक सम्बन्धका रूपमा नभई लगानी, शैक्षिक आदानप्रदान र सांस्कृतिक प्रभाव विस्तारको माध्यमका रूपमा उपयोग गरिने समेत उनको भनाइ थियो । भौतिक पूर्वाधार विस्तारमा निजी क्षेत्रको ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारको पूँजीगत खर्च मात्र पर्याप्त नहुने बताए ।  

घरजग्गा कारोबारबाट वैशाखमा सवा ६ अर्ब राजस्व संकलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व संकलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व संकलनमा वृद्धि भएको छ ।      गत चैतमा घर जग्गा कारोबारबाट कूल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व संकलन भएकामा वैशाखमा देशभरका मालपोत कार्यालयले कूल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व संकलन गरेका छन् ।      भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पूँजीगत लाभकरबाट २ अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ संकलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ४८ लाख ७८ हजार तीन सय १८ संकलन भएको छ। यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ संकलन भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत रु दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ संकलन भएको थियो ।      मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ६२ लाख ९९ हजार सात सय ८० बराबरको रकम संकलन भएको विभागले जनाएको छ ।      त्यस्तै, गत फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार गत माघमा भने ५ अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको राजस्व संकलन भएको थियो।

६ वटा स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं । रिक्त रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो । मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला गरेको हो । योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रथम पटक प्रकाशित भएको मितिले दश दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइट आवेदन दर्ता गराउन सक्नेछन् ।