कार्की आयोगले बैंकिङ क्षेत्रमा पनि देखायो खोट, ‘निजी बैंकमा सरकारको विशेष सक्रियता आवश्यक छ’
काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले बैंक क्षेत्रका समस्या र समस्या समाधानको उपाय पनि उल्लेख गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले निजी बैंकहरुको विकासमा सरकारको विशेष सक्रियता जरुरी रहेको उल्लेख गर्दै बैंकभित्र हुने आर्थिक अपचलनमा सरकार र नियामक निकाय तथा राष्ट्र बैंकको विशेष अनुगमन र निगरानी आवश्यक रहेको सुझाव दिएको हो । आयोगको प्रतिवेदनमा कर्जाको ब्याजदर इतिहासकै न्यून बिन्दुमा रहँदा समेत कर्जाको माग अत्यन्तै कम रहेकोले तरलता व्यवस्थापनमा समेत ठूलो सकस परेको उल्लेख गरेको छ । बढ्दै गइरहेको खराब कर्जा, कर्जा असुलीमा चुनौती, बढ्दो गैर बैकिङ्ग सम्पत्ति र घटदो नाफा वर्तमान बैंकिङ क्षेत्रको समस्याको रुपमा रहेको उल्लेख गरेको छ । यी समस्या समाधान गर्नका लागि स्थानीय प्रशासनको सहयोग,प्रहरी प्रशासनको सहयोग,बैकिङ्ग कसुर ऐन सशोधन, बैक तथा वित्तीय संस्था ऐन संशोधन, मुलकको ग्रे–लिस्टको समस्या समाधान र भ्रामक समाचार सम्प्रेषणमा रोक तथा अनुगमन गर्नुपर्ने सुझाव दिएको छ । बैंकिङ्ग क्षेत्रलाई अझ मजबुत बनाई मुलकको आर्थिक विकासमा समेत टेवा पूरा उनको निम्ति अन्य विविध पक्षलाइ समेत सुधार गरी नु पर्ने वैधानिक तरिका मार्फत विप्रेषण भित्रिने वातावरण बनाइ हुण्डी कारोवारलाइ न्यूनिकरण गर्दै जाने, हाल निक्षेपको ब्याजदर अत्यन्त कम भएको अवस्थामा पुँजी पलायन हुने सम्भावना बढ्ने हुनाले आवश्यक सतर्कता अपनाउनु पर्ने; डिजिटल बैकिङ्गले लिएको तीव्र गति र उल्लेख्य कारोवार डिजिटल माध्ययमबाट हुँदै गइरहेको परिप्रेक्षमा ठूला कारोवार गर्ने पीएसपी र पीएसओको निगरानी बढाई ती संस्थाहरुलाई थप सुरक्षित बनाउनु पर्ने सुझाव दिएको छ । आयोगले जेनजी आन्दोलनपछि ८७३ ऋणीहरु प्रत्यक्ष प्रभावित भएको र ती ऋणीहरुको करिब ३७ अर्बको नोक्सान भएको उल्लेख गरेको छ । उक्त घटना पछि बैकिङ्ग क्षेत्रमा कर्जा असूलीमा उल्लेखनीय गिरावट आएको छ । आन्दोलनका कारण कतिपय व्यवसाय बन्द हुने, ढुवानी अवरुद्ध हुने उत्पादन र बिक्री घट्ने जस्ता अवस्थाले ऋणीहरुको नगद प्रवाह कमजोर बन्न पुगेको र फलस्वरुप, समयमै कर्जाको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरेको छ । विशेषगरी साना मझौला उद्योग, होटल-पर्यटन, निर्माण र ढुवानी क्षेत्रका कर्जाहरु बढी प्रभावित भएको र जसका कारण असूली हुन नसकेको ब्याज उल्लेखनीय रुपमा बढेर बैङ्कहरुको तरलतामा दवाव सिर्जना हुन पुगेको प्रतविदेनमा उल्लेख छ । बजारमा पैसा चलायमान नहुँदा अवश्यपनि देशमा अर्थतन्त्र नै धरासायी बन्ने अवस्थामा पुग्न सक्ने सम्भावना बढदै गएको उल्लेख छ ।
साओमी १७ अल्ट्रा बजारमा, क्यासब्याकदेखि स्मार्टवाचसम्म अफर
काठमाडौं । प्रविधि ब्रान्ड साओमीले फ्ल्यागशिप स्मार्टफोन ‘साओमी १७ अल्ट्रा’ को प्रि–अर्डर नेपालमा औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीका अनुसार उच्च कार्यक्षमता, पातलो डिजाइन तथा उत्कृष्ट प्रदर्शनका लागि परिचित उक्त स्मार्टफोन १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । प्रि–अर्डर अवधिमा ग्राहकहरूले तीन विशेष अफरमध्ये कुनै एक रोज्न सक्ने व्यवस्था गरिएको छ । अफरअन्तर्गत ग्राहकले १० हजार रुपैयाँ क्यासब्याक, साओमी वाच एस–४ (४१ एमएम) सहुलियत मूल्यमा वा साओमी बड्स ५ निःशुल्क प्राप्त गर्न सक्नेछन् । फोन खरिद गर्ने ग्राहकलाई बिक्रीपछिका विशेष सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । खरिदपछि पहिलो ६ महिनाभित्र एक पटक निःशुल्क स्क्रिन प्रतिस्थापन, नियमित १२ महिनाको वारेन्टीमा थप ६ महिना गरी कुल १८ महिनाको वारेन्टी तथा वारेन्टी सकिएपछि २४ महिनासम्म सेवा शुल्क नलाग्ने सुविधा प्रदान गरिनेछ । कालो, सेतो र स्टारलाइट रङमा उपलब्ध साओमी १७ अल्ट्रा लाइकासँगको सहकार्यमा विकसित क्यामेरा प्रणालीसहित आएको छ । यसमा २०० मेगापिक्सेल टेलिफोटो क्यामेरा, उन्नत इमेज सेन्सर तथा अप्टिकल जुम प्रविधि समावेश गरिएको छ । ६००० एमएएच क्षमताको ब्याट्री रहेको उक्त फोनले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्ने कम्पनीले जनाएको छ । साथै आइपी–६८ स्तरको पानी तथा धुलो प्रतिरोधी सुरक्षा र साओमी शिल्ड ग्लास ३.० प्रयोग गरिएको छ । कम्पनीका अनुसार साओमी १७ अल्ट्रा (१६ जीबी + ५१२ जीबी) को मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रि–अर्डर अफर मार्च २५ देखि ३१ सम्म मात्र लागू हुने जनाइएको छ ।
भदौ २३ को हत्याको आक्रोशले २४ गतेको घटना निम्त्यायो : रक्षा बम
काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले भदौ २३ गते ठूलो संख्यामा युवाहरूको हत्या भएको कारण नै भदौ २४ गतेको अप्रिय घटना घटेको बताएकी छन् । ‘जेनजी जाँचबुझ आयोग’ को प्रतिवेदनमा आफ्नो धारणा राख्दै बमले अघिल्लो दिनको दमन र आक्रोशको परिणामस्वरूप २४ गते तोडफोड तथा आगजनीजस्ता घटनाहरू भएको उल्लेख गरेकी छन् । प्रदर्शनको क्रममा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू प्रशस्त भेटिएको र उनीहरूलाई पटक–पटक सम्झाईबुझाई गर्दा उल्टै आफूहरूमाथि नै जाइलाग्ने गरेको अनुभव उनले सुनाइन् । प्रदर्शनमा राजवादी भनी परिचय दिनेदेखि लिएर सबै राजनीतिक दलका कार्यकर्ताहरूको सहभागिता रहेको आफूले महसुस गरेको प्रतिवेदनमा उल्लेख छ । घटनाको दिन नयाँ बानेश्वरमा एकजना मादक पदार्थ सेवन गरेका व्यक्ति हातमा बन्दुक लिएर उच्छृङ्खल रूपमा प्रस्तुत भइरहेको र प्रदर्शनमा कुनै समूह वा व्यक्तिले घुसपैठ गरी माहोल भड्काएको हुन सक्ने भन्दै बमले यस विषयमा छानबिन आयोगले सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनी कारबाही गर्नेमा आशासमेत व्यक्त गरिन् । प्रदर्शनकारी र ब्यारिकेटमा रहेका सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदै गर्दा सुरक्षाकर्मीले हतियार ताक्ने जस्ता कार्य गरेपछि स्थिति थप तनावपूर्ण बनेको उनले खुलाइन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर बानेश्वर चोक हुँदै संसद भवनभित्र छिर्न खोजेको खबर आएपछि सुरक्षाकर्मीले फायर गरेको र अवस्था जटिल बन्दै गएपछि आफूले स्कुल पोशाकमा रहेका विद्यार्थीहरूलाई वैकल्पिक बाटोबाट घर पठाउन पहल गरेको ‍बमले प्रतिवेदनमा उल्लेख गरेकी छन् । बमले भदौ २३ र २४ गते सहिद भएका व्यक्तिका परिवारलाई राज्यले उच्च सम्मान दिनुपर्ने र घाइतेहरूको जीविकोपार्जनको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत गरेकी छन् । राज्यले दमन गरी गोली हानी हत्या गरेका शहीदहरूको न्यायका लागि दमन पक्षका जिम्मेवार व्यक्तिहरू र तोडफोड तथा आगजनी जस्ता विध्वंसात्मक कार्यमा संलग्न दुवै पक्षलाई कानुन बमोजिम कडा सजाय हुनुपर्ने उनको जोड छ ।
२ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार (आज) सुन तोलामा २९ सय रुपैयाँले घटी प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलमा १०० रुपैयाँले घटेर ४ हजार ८२० कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो
काठमाडौं । बिहीबार चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ । चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ । वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा मनाइने यो दशैँलाई ‘सानो दशैँ’ का रूपमा पनि लिइन्छ । असोजको बडादशैँ जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैँको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका उद्देश्यले गठन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कार्की आयोगको प्रतिवेदनले नै आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि गरेको दाबी गरेका छन् । पोखरेलले आयोगको प्रतिवेदन र निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भनिएको ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट भएको उल्लेख गरेका छन् । सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ । उनका अनुसार निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ । अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको उनले टिप्पणी गरेका छन् । पोखरेलले आगामी राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्रले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था आउने बताएका छन् । यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु तथा जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनले बताएका छन् । यद्यपि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समस्याको समाधान वा विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने उनको धारणा छ ।
बागलुङ–सिगाना सडक कालोपत्र, उत्पादन बजार लैजान सहज
गलकोट । विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दङ्ग परेका छन् । आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ । ‘ट्रयाक’ खुलेको २८ वर्षपछि बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत यो सडक स्तरोन्नतिसँगै कालोपत्र गरिएको हो ।
१७ महिनादेखि चिकित्सकविहीन भेटेरिनरी केन्द्र, बैतडीका पशुपालक मारमा
बैतडी । पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि चिकित्सकविहीन हुँदा स्थानीय पशुपालक किसानलाई मर्का परेको छ । केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावका कारण उपचारमा समस्या भएको छ । करारमा कार्यरत डाक्टरले त्यागपत्र दिएपछि केन्द्र चिकित्सकविहीन भएको हो । केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ भएको हो । गम्भीर प्रकृतिका बिरामी पशुको उपचारका लागि धनगढीबाट चिकित्सक बोलाउनुपर्ने परेको केन्द्रप्रमुख पन्तले बताए ।