विकासन्युज

नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।  यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिदका लागि आवेदन नदिए सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।  बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका–१० चितवनमा रहेको छ ।    

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।  उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ ।  भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बीमामा सूचीकृत, सरकारी अस्पताल जाने बढ्दै

काठमाडौं । बागलुङ जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन् । ती परिवारका १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष १ लाख २६ हजार बीमामा आबद्ध भएकामा हाल १५ हजार बढेर १ लाख ४१ हजार ५०९ जना पुगेका छन् । ९ वर्षअघि सुरु भएको स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बीमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवाविन्दुमा थएिको स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार यसमा १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् ।  ‘स्वास्थ्य बीमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन् । क्रमशः स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढिरहेको छ,’ पौडेलले भने, ‘यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेका हुन् ।’ २ लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बीमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बीमा कार्यक्रमअनुसार ५ जनासम्मको परिवारका सदस्यले वार्षिक ३ हजार ५०० रुपैयाँ तिर्नुपर्ने र ५ जनाभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रति सदस्य ७ सय रुपैयाँका दरले शुल्क बुझाइ एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिक १ लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बीमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताए । 

विश्व बैंकको साढे २९ करोड अनुदानमा सडक स्तरोन्नति गरिँदै

काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा विश्व बैंकको २९ करोड ४६ लाख ४३ हजार ७२३ रुपैयाँको अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका-६ चानदेवदेखि वडा नं २ काठमाडौं डाँडासम्मको १३.६ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए । उनका अनुसार ५ मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित ८ मिटरदेखि १० मिटरसम्म हुनेछ ।  ‘सडक कालोपत्र कार्यका लागि डुकुचु/अनक/जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ,’ अध्यक्ष रानाले भने ।  सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ । सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी-कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताए ।

नेपालको अपराजित यात्रा, ओमानलाई ३८ रनले हरायो

काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।  ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए ।  सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले २ छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।  ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान २/२ विकेट लिए । यसअघि नै टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपाल ८ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

हलेसी डेकोरले सुरु गर्‍यो डिजिटल बिलिङ प्रणाली

काठमाडौं । हलेसी डेकोरले आफ्नो व्यापारिक यात्राको १५औं वर्ष पूरा गर्दै अब डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको छ । कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको हलेसी डेकोरले निरन्तर १५ वर्षको सफल सेवालाई पारदर्शी र विश्वसनीय कारोबारतर्फ रूपान्तरण गर्ने उद्देश्यसहित यो प्रणाली सुरु गरेको हो । ‘व्यापारमा इमान्दारिता, हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित सुरु गरिएको नयाँ अभियानअन्तर्गत अबदेखि कम्पनीका सबै कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछन् ।  साथै प्रत्येक सामानमा एमआरपी (अधिकतम खुद्रा मूल्य) स्पष्ट रूपमा उल्लेख गरिनेछ। यसले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने कम्पनीको दाबी छ । हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र ‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’  भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

कामना सेवा ‘डुअर स्टेप बैंकिङ’ : अब बैंक धाउनु पर्दैन, बैंक नै तपाईंको घर पुग्छ

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो ‘डुअर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ ।  यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ सुविधा लिन चाहने ग्राहकका लागि प्रत्यक्ष रूपमा फाइदाजनक हुने बैंकले जनाएको छ ।  अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यी सुविधाहरू निःशुल्क रूपमा प्रदान गरिएको छ ।  ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैंक प्रतिनिधिले अनुरोध गरिएको स्थानसम्म नै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ।  यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री वनार्ईको छ ।  नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो ‘डुअर स्टेप बैंकिङ सर्भिस’ हो ।  विश्वका केही विकशित देशहरूमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेता पनि नेपालको बैंकिङ इतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले जनाए ।  प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टीलार्य मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधास्वरूप डुअर स्टेप बैंकिङ सर्भिसको सुरुवात गरिएको हो । यो सुविधा दैनिक रूपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ ।  ग्राहकको लामो लाइन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै वसेर बैंकका सुविधाहरू उपभोग गर्न सकिने छ । यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोवाईल बैंकिङ सुविधासमेत नि:शुल्क रहेको छ ।  हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ ।   

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।  अदालतको आदेश बमोजिम उनलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको हो । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।