अन्नपूर्ण आधार शिविर पदमार्गमा सञ्चार सुविधाको अभाव, पर्यटकलाई सास्ती
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् । असोजको सुरुआतदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहुँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसँग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकको बसोबासमा समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता समेत रहेका पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार, यस पदमार्गको हुमखोलासम्म विद्युत् र मोबाइल फोनको पहुँच पुगेको छ । 'हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोबाइल फोनको सञ्चार र विद्युत् पहुँच पुग्न सकेको छैन, साँधीखर्कको गुराँसेडाँडामा नेपाल टेलिकमको मोबाइल फोनको सामान्य पहुँच छ, आधार शिविर पुगेर फर्कने करिब दुईदिनको यात्राअवधिमा सञ्चार सम्पर्कविच्छेद हुने भएकाले पर्यटकको सुविधा र सुरक्षाका लागि सञ्चारको पहुँच अनिवार्य बनेको छ', पर्यटन व्यवसायी गुरुङले भने । विसं २०६८ देखि स्थानीयवासीको अग्रसरतामा नारच्याङगाउँदेखि अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदमार्ग निर्माण सुरु भएको थियो । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको र हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरी ठाउँ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आधार शिविरको मनोरम पञ्चकुण्ड तालसँगै झरना, खोला र रमणीय भू–वनोटका कारण पर्यटकको आगमन बढेको छ । होटलको क्षमताभन्दा बढी पर्यटक आउँदा होटल व्यवसायीलाई पर्यटकको खाना र बसोबासको प्रबन्ध मिलाउन हम्मेहम्मे हुने गरेको छ । अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहे पनि विद्युत् र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार तथा सडकमार्गको स्तरोन्नति तत्काल गर्नेपर्ने देखिएको विराटनगरबाट समूहमा भ्रमणमा आउनुभएका मोहन अटलले गुनासो गरे । पदमार्ग क्षेत्रमा रहेका होटलमा बुकिङ गर्न मोबाइल फोन र इन्टरनेटको पहुँच पु¥याउनतर्फ सरकार तथा सरोकारवालाको ध्यान जानुपर्ने उनले बताए । यस पदमार्गअन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा टेन्टमा बस्ने सुविधासहितका होटल सञ्चालनमा रहेका छन् । सञ्चारसँगै विद्युत् सुविधा नहुँदा खाना पकाउने ग्याँस र बत्तीको लागि जेनेरेटरको व्यवस्था गर्दा खर्चिलो तथा झण्झट व्यहोर्नुपरेको होटल व्यवसायी बताउँछन् । कम्तीमा दुईदिनको पदयात्रा अवधिमा पर्यटक सञ्चार सम्पर्कबाट विच्छेद हुँदा बिरामी भएको र हिमपातको कारण अलपत्र परेको समयमा उद्धारमासमेत समस्या हुँदै आएको छ । हिमाल आरोहणमा आउने टोलीले स्याटेलाइट प्रविधिको फोनको प्रयोग गर्ने गरे पनि अन्य पर्यटकमाझ सञ्चार सम्पर्कको माध्यम र पहुँच छैन । हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय रहेका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले दुई दिनको पदयात्रा अवधिमा सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा सकस हुने गरेको बताए । 'पर्यटक घुम्न आएको समयमा बेमौसममा हिमपात हुनसक्छ, हिमपहिरो नै जान पनि सक्छ, आपत्कालीन रुपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन, पर्यटकको हराएको समयमा धेरै पटक खोजीकार्यमा सञ्चार नहुँदा कठिन हुने गरको छ, पदमार्गमा रहेका होटलमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोन राख्न आवश्यक छ', उनले भने । नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । पर्वतारोहणको क्षेत्रमा इतिहास बोकेको यस पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको छ । विगतका वर्षमा खाना र बस्नका लागि आफैँ बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै हटे पनि सञ्चार र विद्युत्को पहुँच विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको छ । रासस
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा बस्ने १९औँ वार्षिक साधारण सभा डाकेकाे छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । पुँजी वृद्धि पश्चात् नेपाल राष्ट्र बैकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
पूर्वाञ्चल ल्युव आयलको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । पूर्वाञ्चल ल्युव आयलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको करसहित १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २३ गते मोरङमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गर्ने, सञ्चालक समितिको भत्ता, प्रबन्ध निर्देशकहरूको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो कात्तिक २६ गते १९औँ वार्षिक साधारण सभा
काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली व्यवसायीक उद्देश्यहरू थप वा संशोधन गर्ने र नियामकबाट थप केही निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको आव २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
भारतबाट बढेर आएपनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलको मूल्य घटाइयो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत, दाङमा १५८ रुपैयाँ र अन्य क्षेत्रमा १५६.५० रुपैयाँ कायम गरिएको छ । ‘इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत् कायम गरिएको छ,’ निगमले भनेको छ ।
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छाप्दै राष्ट्र बैंक, डेढ अर्ब लागत लाग्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छाप्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ५० रुपैयाँ दरका नोट छाप्नका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको छ । बोलकबोल मार्फत उक्त कम्पनी छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । उक्त नोट छपाइको डिजाइन तथा छपाइका लागि १ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ ।
सिँचाइका रूग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रूग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको हो । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । आयोजनाले पटक-पटक सूचना प्रकाशन गर्दा समेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्तिले आयोजना कार्यालयमा उपस्थित हुन बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । पेस गरिएका प्रमाण नियम सङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ । सिँचाइ विभाग अन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीय सहित २५ आयोजनाका ठेक्का रूग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
आज देशभर मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।