अनुगमन सकारात्मक भए पनि सबै कन्सल्टेन्सीलाई एउटै दृष्टिले नहेरियोस् : फेकन
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको प्रहरी अनुगमन तथा अनुसन्धान प्रक्रियालाई सकारात्मक रूपमा लिँदै सबै कन्सल्टेन्सीलाई एउटै दृष्टिकोणबाट नहेर्न आग्रह गरेको छ । फेकनले विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र विद्यार्थीमैत्री बनाउन प्रभावकारी अनुगमन आवश्यक रहेको जनाएको हो । संघका अनुसार केही विकृति र अस्वस्थ अभ्यास देखिए पनि सम्पूर्ण क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्तिले इमानदार व्यवसायी र विद्यार्थी दुवैमा नकारात्मक असर पार्न सक्छ । विज्ञप्तिमा विदेश अध्ययनका क्रममा विद्यार्थीले बुझाउने शुल्कहरू नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत सम्बन्धित शैक्षिक संस्थामा पठाइने भएकाले धरौटी वा अतिरिक्त शुल्कका विषयमा भ्रम सिर्जना गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ । यद्यपि, कतिपय संस्थाले अनुचित गतिविधि गरेको गुनासो आएकाले आफ्ना सदस्य संस्थालाई निरन्तर सचेत गराउँदै सुधारका पहल गरिरहेको फेकनले जनाएको छ । संघले हाल भइरहेको अनुगमनका क्रममा कतिपय शैक्षिक परामर्श संस्थाले सबै कानुनी प्रक्रिया पूरा गरिसकेको भए पनि सम्बन्धित निकायबाट समयमै नवीकरण वा स्वीकृति नपाउँदा समस्या भोग्नुपरेको दाबी गरेको छ । यस्तो अवस्थामा आवश्यक अध्ययन र समन्वयबिनै कडाइका साथ कारबाही गर्दा व्यवसायीहरू अन्यायमा पर्ने खतरा रहेको फेकनको भनाइ छ । फेकनले अनुसन्धान तथा सोधपुछको प्रक्रियामा रहेका व्यवसायीहरूको व्यक्तिगत विवरण, तस्बिर र संस्थागत पहिचान सार्वजनिक गर्दा गोपनीयता, प्रतिष्ठा र मनोबलमा गम्भीर असर पर्ने भएकाले यस्ता विषयमा संवेदनशील बन्न प्रशासन र सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ । संघले शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन सरकार, सरोकारवाला निकाय र व्यवसायीसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको समेत जनाएको छ ।
नेक्साले भन्यो– दर्ता नभएका कन्सल्टेन्सीलाई कारवाही हुनैपर्छ
काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको धरपकड तथा अनुसन्धान प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ । संघले दर्ताविहीन रूपमा सञ्चालन भएका संस्थामाथि कारबाही हुनु स्वाभाविक भए पनि सामान्य प्रशासनिक त्रुटिलाई समेत अपराधको रूपमा व्याख्या गर्दै सञ्चालक तथा प्रतिनिधिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु न्यायोचित नभएको जनाएको हो । संघले सोमबार विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक निर्देशन दिई सुधारको अवसर प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । हरेक सानो त्रुटिमा समेत नियन्त्रणात्मक कारबाही अघि बढाउँदा व्यवसायीमा निराशा बढेको र यसले शैक्षिक परामर्श व्यवसाय नै धराशायी हुने अवस्था सिर्जना हुन सक्ने नेक्साको भनाइ छ । विज्ञप्तिमा शिक्षा मन्त्रालयलाई कन्सलटेन्सी दर्ता प्रक्रिया सरल, सहज र व्यवहारिक बनाउन आग्रह गरिएको छ । दर्ताबिना सञ्चालन हुने कार्यलाई निरुत्साहित गर्न स्पष्ट र प्रभावकारी मापदण्ड आवश्यक रहेको संघले जनाएको छ । नेक्साले अनुसन्धान प्रक्रिया अघि बढाउँदा निष्पक्षता अपनाउन पनि सरकारसँग माग गरेको छ । अनुसन्धानपछि सबुत प्रमाणका आधारमा दोषी देखिएकामाथि मात्रै पारदर्शी ढंगले कारबाही गर्नुपर्ने संघको भनाइ छ । संघले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा उत्तरदायी बनाउन शैक्षिक परामर्श सेवा संस्था सञ्चालन सम्बन्धी नियमावली निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने
काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने भएको छ । एमाले स्रोतका अनुसार पार्टीको संगठित सदस्यता नवीकरण अभियानअन्तर्गत भण्डारीको सदस्यता पनि नवीकरण गर्न लागिएको हो । राष्ट्रपति बनेपछि सक्रिय पार्टी राजनीतिबाट अलग रहेकी भण्डारीको सदस्यता नवीकरणलाई एमालेभित्र चासोका साथ हेरिएको छ । पार्टी नेताहरूले भण्डारी एमालेको पुरानो तथा वैचारिक रूपमा आबद्ध नेता भएकाले संगठनात्मक प्रक्रियाअनुसार सदस्यता नवीकरण गर्न लागिएको बताउँछन् । यस विषयमा औपचारिक निर्णय भने सम्बन्धित पार्टी कमिटीबाट हुने जनाइएको छ ।
नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार (भोलि) देखि चीनको दुई दिने आधिकारिक भ्रमणमा जाँदैछन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत शनिबार यसबारे जानकारी दिँदै यो राजकीय भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको बताएका थिए । क्रेमलिनले पनि यसअघि नै एक विज्ञप्ति जारी गर्दै पुटिनको चीन भ्रमणको पुष्टि गरिसकेको थियो । यसअघि ट्रम्पले मे १३ देखि १५ सम्म चीनको आधिकारिक भ्रमण गरेका थिए, जुन भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । किनभने करिब एक दशकमा कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण थियो । बेइजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङ यद्यपि यस भ्रमणमा ट्रम्प अमेरिकका शीर्ष प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगै पुगेका थिए । तर, भ्रमण सकिएपछि पनि कुनै सम्झौताको बारेमा घोषणा भने भएन । यसको ठीक तीन दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्ने, चीन र रुसबीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे कुरा गर्ने तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने उल्लेख गरिएको छ । दुवै देशले एउटा संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाएका छन् । यसबाहेक चीन र रुसका राष्ट्रप्रमुखहरू ‘चीन–रुस शिक्षा वर्ष’ को उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास रुसले पुटिनको चीन भ्रमण असल छिमेकी र मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षर भएको २५औं वर्षगाँठको अवसरमा हुन लागेको जनाएको छ । यो सन्धि सन् २००१ मा मस्कोमा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन और पुटिनबीच भएको थियो । पुटिन र सी जिनपिङबीच यसअघिको भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो, त्यति बेला दुवैले सांघाई सहयोग संगठन (एससीओ) को वार्षिक शिखर सम्मेलनमा सहभागी भएका थिए । त्यसपछि उनीहरू जापानविरुद्धको प्रतिरोधात्मक युद्धमा विजयको ८०औं वर्षगाँठको अवसरमा सेप्टेम्बर ३ मा आयोजित सैन्य परेडमा सामेल हुन बेइजिङ गएका थिए । उक्त परेडमा उत्तर कोरियाका नेता किम जोङ उन र इरानी राष्ट्रपति मसूद पेजेसकियान पनि उपस्थित थिए । गत मे महिनामा सी जिनपिङले पनि पुटिनको निमन्त्रणामा मस्कोको चार दिने राजकीय भ्रमण गरेका थिए र सोभियत संघको ‘महान देशभक्तिपूर्ण युद्ध’ मा विजयको ८०औं वर्षगाँठको समारोहमा भाग लिएका थिए । राष्ट्रपति बनेपछि सी जिनपिङको यो रुसको ११औं भ्रमण थियो र रुस नै उनले सबैभन्दा बढी भ्रमण गर्ने देश हो । त्यस समयमा सी जिनपिङले भाषण दिँदै भनेका थिए कि चीन र रुस ‘यस्ता असल छिमेकी हुन् जसलाई अलग गर्न सकिँदैन, यस्ता साँचो मित्र हुन् जसले सुख–दुःख बाँड्छन् र यस्ता असल साझेदार हुन् जो एक(अर्काको सफलतामा भागीदार बन्छन् ।’ रोयटर्सका अनुसार पुटिन र सी जिनपिङले पछिल्ला केही वर्षहरूमा ४० पटकभन्दा बढी भेट गरिसकेका छन् । दुवै नेताले फेब्रुअरी २०२२ मा ‘असीमित’ रणनीतिक साझेदारीमा पनि हस्ताक्षर गरेका थिए, जुन रुसले युक्रेनमाथि आक्रमण गर्नु ठीक अघि भएको थियो । रुस-युक्रेन युद्ध सुरु भएपछि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र एक्लोपन बढ्यो, तर चीनले न त रुसको सार्वजनिक आलोचना गर्यो न त प्रतिबन्धहरूको समर्थन नै गर्यो। दुवै देशले राजनीतिक र आर्थिक सहयोग जारी राखे र चीनमाथि रुसको आर्थिक निर्भरता लगातार बढ्दै गयो । चीन र रुसले गत सेप्टेम्बरमा मंगोलिया हुँदै ‘पावर अफ साइबेरिया २’ प्राकृतिक ग्यास पाइपलाइन निर्माण सुरु गर्नका लागि कानुनी रूपमा बाध्यकारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए र अन्य दुई मार्गबाट प्राकृतिक ग्यास आपूर्ति बढाउन सहमतिसमेत जनाएका थिए । रुसी सरकारी सञ्चारमाध्यम आरटीका अनुसार रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पुटिन सन् २०२६ मा दुई पटक चीन जाने अपेक्षा गरिएको बताएका छन् । नोभेम्बरमा शेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनका लागि पनि उनको अर्को भ्रमण तय भइसकेको छ । चीन–अमेरिका बैठकमा रुसको नजर रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले चीन र अमेरिकाबीच ‘खुट्टा राख र राज गर’ को रणनीति नअपनाउने बताएका छन् । उनले भने, ‘यदि चीन र अमेरिकाबीच कुनै सम्झौता भएको छ वा हुन गइरहेको छ भने यो हाम्रा चिनियाँ मित्रहरूको हितमा छ र हामी यसमा खुसी हुनेछौं ।’ ‘चीन र रुसको सम्बन्ध परम्परागत सैन्य र राजनीतिक गठबन्धनभन्दा पनि बढी गहिरो र बलियो छ । यो एउटा नयाँ सम्बन्ध हो जसले अन्य कुनै पनि कारकभन्दा बढी वैश्विक राजनीतिक र आर्थिक स्थिरता सुनिश्चित गर्न सक्छ,’ उनले थपे । पुटिनको चीन भ्रमणको समयले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ । ‘साउथ चाइना मर्निङ पोस्ट’ ले स्रोतहरूलाई उद्धृत गर्दै यो पुटिनको नियमित भ्रमण भएको र कुनै ठुलो सैन्य परेड वा भव्य स्वागत समारोहको अपेक्षा नगरिएको जनाएको छ । साउथ चाइना मर्निङ पोस्टले चीनले एकै महिनामा दुई देशका नेताहरूको आतिथ्य गरिरहेको पहिलो पटक भएको पनि जनाएको छ । यसले चीनले दुवै देशसँगको सम्बन्धलाई सन्तुलित राख्न प्रयास गरिरहेको बुझिन्छ । साथै ऊ कठिन मोडबाट गुज्रिरहेको विश्वमा आफूलाई एउटा महत्त्वपूर्ण शक्तिका रूपमा स्थापित गर्ने कोसिस गर्दैछ । राजनीतिक संस्कृतिका विद्वान एवं समसामयिक मामिलाका टिप्पणीकार हुआङ वेइगुओ चीन, अमेरिका र रुसको सम्बन्धमा फरक प्रकारको शक्ति प्रतिस्पर्धा चलिरहेको र ट्रम्पको चीन भ्रमणबाट चीन–रुस सम्बन्ध प्रभावित नहुने उल्लेख गर्छन्। उनले भने, ‘सतही रूपमा अमेरिका र रुस विरोधी देखिन्छन्, तर अमेरिका रुस–युक्रेन युद्धमा भूमिका खेल्न चाहन्छ र आफूलाई शान्ति स्थापना गर्ने देशका रूपमा प्रस्तुत गर्न सक्छ ।’ उनको विचारमा यी तीन देशहरूमा यतिबेला चीनसँग सबैभन्दा बढी विकल्पहरू छन् । हुआङ वेइगुओले भने, ‘ट्रम्प पुनः सत्तामा आएदेखि अमेरिका र युरोपेली देशहरूको सम्बन्ध तनावपूर्ण भएको छ । हामी देखिरहेका छौं कि युरोपेली देशहरू पनि लगातार चीन भ्रमण गरिरहेका छन् र केही हदसम्म कम टकरावको सम्बन्ध कायम राखिरहेका छन् ।’ अपेक्षाकृत अराजक वातावरणमा चीनले कूटनीतिमार्फत केही पश्चिमी देशहरूसँग सम्बन्ध स्थापित गर्न सक्ने र ‘विरोधी पक्षका सहयोगीहरूलाई आफ्नो पक्षमा ल्याउन सक्ने’ उनको ठहर छ । ट्रम्पको भ्रमणमा चासो अर्कोतर्फ ट्रम्पले चीन भ्रमण पूरा गरेपछि सी जिनपिङलाई सेप्टेम्बरमा ह्वाइट हाउस आउन निमन्त्रणा दिए । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सी जिनपिङ यसै वर्ष अमेरिका जाने पुष्टि गरेका छन् । पुटिनको चीन भ्रमणको खबर ट्रम्पको चीन भ्रमण सकिएको २४ घण्टाभन्दा कम समयमै बाहिर आएको हो र पुटिनको भ्रमण ट्रम्पको भ्रमणको एक हप्तापछि हुँदैछ । रुसी सरकारी समाचार एजेन्सी तासले राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै क्रेमलिनले अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणसँग सम्बन्धित मिडिया रिपोर्टहरूलाई नजिकबाट नियालिरहेको र रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणका क्रममा यसबारे प्रत्यक्ष जानकारी हासिल गर्ने अपेक्षा गरेको जनाएको छ । उनले आगामी चीन(रुस बैठकमा दुवै पक्षले चीन र अमेरिकाका नेताहरूबीच हालै भएको कुराकानीबारे पनि विचार आदानप्रदान गर्ने जानकारी दिए । पेस्कोभले भने, ‘विश्वका दुई ठुला अर्थतन्त्रका शीर्ष नेताहरूबीचको सीधा संवादले स्वाभाविक रूपमा रुससहित सबै देशहरूको ध्यान आकर्षित गर्नेछ ।’ (बीबीसीबाट अनुदित तथा सम्पादित) इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति सुनमा ब्रेक, रुपैयाँमा दबाब
नेपाली भाषामा इन्टरनेट पहुँच विस्तार गर्न क्यान महासंघको ह्याकाथन सम्पन्न
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान र युनेस्कोको सहकार्यमा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६ : पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता (यूए) दिवसको अवसरमा आयोजित कार्यक्रममा इन्टरनेटलाई समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विशेषगरी नेपाली भाषा र देवनागरी लिपिमा आधारित डोमेन नेम तथा इमेल ठेगानालाई इन्टरनेट प्रणालीले सहज रूपमा स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो । उद्घाटन कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले ह्याकाथन केवल प्रतिस्पर्धा नभई नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक प्रयास भएको बताइन् । महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्माले प्रविधिलाई भुइँतहसम्म पुर्याउन ‘युनिभर्सल एक्सेप्टेन्स’ अपरिहार्य रहेको धारणा राखे । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्क सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताइन् । युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले मातृभाषामा प्रविधिको प्रयोगले नागरिकलाई सशक्त बनाउने र पहिचान जोगाउने उल्लेख गरे । त्यस्तै, आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले आफ्नै भाषा र लिपिमा इन्टरनेटको पूर्ण उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको बताए । ह्याकाथनको प्राविधिक विधातर्फ ‘टिम एभरेष्ट’ प्रथम भएको छ । निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित टोलीले देवनागरी लिपिमा आधारित इमेल ठेगाना सिर्जना र प्रयोग गर्न सकिने प्रणाली विकास गरेको जनाएको छ । गैर–प्राविधिक विधातर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम भएको छ । उक्त टोलीले नेपालमा ‘युनिभर्सल एक्सेप्टेन्स’ अवधारणालाई तल्लो तहसम्म विस्तार गर्न नीतिगत तथा चेतनामूलक योजनाको खाका प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपाली लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र सम्भावनाबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा स्थानीय भाषामा इमेल र वेबसाइट सञ्चालन गर्न सकिने ‘यूए रेडी’ डिजिटल प्लेटफर्म विकासलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । क्यान महासंघले यसअघि नै नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल सञ्चालनमा ल्याइसकेको जनाएको छ । कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, प्राविधिक विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिप्रेमीको सक्रिय सहभागिता रहेको थियो ।
एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनएमबि बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै बैंकका ग्राहकहरूले मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउनेछन् । बैंकका अनुसार ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी, आइपिडी सेवाअन्तर्गत रुम भाडा तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि प्रदान गरिनेछ । ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप लाभ उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको बैंकले जनाएको छ । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न वा इमेलमार्फत जानकारी लिन सक्नेछन् । हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न, दाङ सब क्लस्टर विजेता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल चरण ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता घोषित भए भने इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता बने । विजेता टोलीले जनही ६० हजार रुपैयाँ तथा उपविजेताले जनही ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० क्लस्टर तथा सब क्लस्टरका दुई–दुई जना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमका अवसरमा बैंकमा लामो समय सेवा गरेका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के तथा रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्र बहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए । हाल आम नागरिकको विश्वास र भरोसाका साथ बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा सेवा विस्तारलाई अझ तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
३ वटा सहकारीका ३७८ जना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार आज ३ वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले बचत फिर्ता पाएको जानकारी दिए । समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश: बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ । समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने समितिले जनाएको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको जानकारी दिइन् । उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोडभन्दा बढी ऋण फिर्ता गरेको जनाएको छ । समितिका अनुसार ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने भएको हो ।