विकासन्युज

स्टक ब्रोकर र धितोपत्र ब्रोकर एशोसिएसन मर्ज हुने, नाम के रहन्छ ?

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का दुई वटा संठगन एक आपसमा मर्ज हुने भएका छन् । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आएपछि ब्रोकर व्यवसायीहरूका दुई छुट्टाछुट्टै संगठन बनेका थिए । तर, ती दुइटै संगठन आजदेखि मर्ज भएर एक बन्ने भएका हुन् । नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएपछि सागर ढकालको अध्यक्षतामा धितोपत्र ब्रोकर एशोसिएसन नेपाल जन्मिएको थियो । पुराना ब्रोकरहरूको भने स्टक ब्रोकर एशोसिएसन अफ नेपाल थियो । जसको अध्यक्ष धर्मराज सापकोटा रहेका छन् । अब स्टक ब्रोकर एसोसिएसन र धितोपत्र ब्रोकर एसोसिएसनबीच बुधबार साँझ मर्जरसम्बन्धी सम्झौता हुनेछ । मर्जपछि बन्ने संगठनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने एक ब्रोकर कम्पनीका अध्यक्षले विकासन्युजलाई जानकारी दिए । तर, मर्जपछि साधारण सभाले नयाँ अध्यक्षसहितका पदाधिकारी चयन गर्नेछ । एउटै उद्देश्यका साथ सञ्चालनमा आएका ब्रोकर कम्पनीका दुई संगठन हुँदा बजारमा गलत सन्देश प्रवाह भएको थियो । अन्ततः एउटै संगठन बन्ने भएपछि सकारात्मक रहेको ब्रोकर व्यवसायीहरू बताउँछन् । स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाका अनुसार विगतदेखि नै दुई एशोसिएसन एक भएर जाने भनेर छलफल हुँदै आएको थियो । तर, केही प्राविधिक कारणले ढिला हुन गएको उनको भनाइ छ ।

सरकारको निर्णय पालना गर्नुपर्ने बाध्यता आयो, १५ दिनभित्र बिल नतिरे फेरि लाइन काट्छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल सरकारको निर्णयलाई पालना गर्नु प्राधिकरणको कानूनी कर्तव्य भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सरकारको निर्णय पालना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका हुन् । उनले सरकारको निर्णय पालना गर्नुपर्ने विषयलाई पटक–पटक दोहोर्याउँदै विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न दिएको निर्देशनले सो निर्देशन पालना गर्नुपर्ने धारणा राखे । सरकारले १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेका छ, अब हामी सो अवधिभित्र बक्यौता उठाउँछौं, १५ दिन भित्र बक्यौता नतिरेमा फेरि कानूनी प्रक्रियामा अगाडि बढ्छौं,’ उनले भने । यस्तै, उनले उद्योगीले १५ दिनभित्र बक्यौता नतिरेमा उर्जा मन्त्रालय र सरकारले नै उठाउन पनि पहल गर्नुपर्ने धारणा राखे ।

चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् टिप्स

काठमाडौं । हिउँदयाम सुरु भएसँगै चिसो बढ्न थालेको छ । चिसो मौसममा छाला सुख्खा हुने, छाला फुट्ने, ओठ फुट्ने, छालामा दाग र कहिले काहीँ सुन्निने जस्ता समस्या देखिने गर्छन् । यस्तो अवस्थामा कसरी छाला सुरक्षित राख्ने भन्ने चिन्ता धेरैलाई हुन्छ । के थाहा छ हामीले घरमैआफ्नो छालाको हेरचाह गर्न सक्छौँ । तपाईं हाम्रो भान्सामा यस्ता धेरै चीजहरू छन्, जुन जाडोमा छालाको लागि वरदान भन्दा कम छैन । आउनुहोस् आज हामी यो विषय जानकारी राखौँ । हल्का चिसो मौसम धेरै रमाइलो लाग्छ । तर, मौसममा हुने कुनै पनि परिवर्तनले तपाईंको स्वास्थ्य र अनुहारको सौन्दर्यमा गहिरो प्रभाव पार्छ। जाडोको सुरुवात चिसो हावाबाट हुन्छ, जसले छालालाई हानी पुर्याउँछ । यो मौसममा सुख्खापन, छाला फुट्ने, ओठ फुट्ने, छालामा दाग र कहिलेकाहीँ सुन्निने जस्ता समस्या देखिन थाल्छ । यस्तो अवस्थामा यो सिजनको सुरुमै आफ्नो छालाको हेरचाह गर्न सुरु गर्नु जरुरी छ । चिसो मौसममा छालालाई स्वस्थ्य र सुन्दर राख्न शुद्ध घ्यू राम्रो मानिन्छ । शुद्ध घ्यू शुद्ध घ्यूले खानेकुराको स्वाद मात्र बढाउँदैन, यो छालाको लागि वरदान भन्दा कम छैन । घ्यू स्वस्थ फ्याट र धेरै भिटामिनहरूको समृद्ध स्रोत हो, जसले छालालाई टाइट राख्छ र यसलाई पोषण दिन्छ । घिउमा छालालाई सुख्खापनबाट बचाउनुका साथै यसलाई चम्किलो र नरम बनाउने गुण पनि हुन्छ । भान्साकोठामा राखिएको घिउ खानामा मात्र नभई छालामा लगाउन पनि प्रयोग गर्न सक्नुहुन्छ । देसी घिउले अनुहारमा मालिस गर्दा छालाको रक्तसञ्चार पनि राम्रो हुन्छ । काचो दूध काचो दूध फ्याट र प्रोटिनले भरिपूर्ण हुने भएकाले सुख्खा छाला भएका मानिसहरुका लागि धेरै राम्रो हुन्छ । यसका लागि काँचो दूधमा कपास भिजाएर त्यसले अनुहारको मसाज गर्नुपर्छ । यसमा ल्याक्टिक एसिड पनि हुन्छ जसले छालाको दाग र दागलाई हल्का बनाउँछ । मह मह खाएर मात्र नभई छालामा पनि लगाउन सकिन्छ । मह लगाउनाले अनुहारमा चमक मात्र नभई छालालाई नरम र चम्किलो बनाउँछ । मह लगाउनाले छालाको घाउ, दाग र पिम्पल स्वतः निको हुन थाल्छ । तर यसको मतलब अनुहारमा मह धेरै प्रयोग गर्नुपर्छ भन्ने होइन । फेसप्याक वा यस्तै प्रकारको प्रयोग गरी अनुहारमा मह लगाउन सकिन्छ । यो लगाएको आधा घण्टापछि पानीले अनुहार सफा गरेर नरिवलको तेल लगाउन सकिन्छ । यसो गर्नाले छाला निकै चम्किलो बन्छ । नरिवलको तेल नरिवलको तेल शताब्दीयौंदेखि कपाल र अनुहारको सौन्दर्य बढाउन प्रयोग हुँदै आएको छ । यसले तपाईंको छालामा प्राकृतिक मोइस्चराइजरको रूपमा काम गर्छ । यसले छालालाई सुख्खापनबाट बचाउँछ र कोलाजेनलाई पनि बढाउँछ, जसले छालालाई कडा बनाउँछ। नरिवलको तेललाई सीधै छालामा पनि लगाउन सकिन्छ भने,त्यसमा गुलाबजल र एलोभेरा जेल मिसाएर अनुहारमा लगाउन सकिन्छ ।

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिएका छन् । बुधबार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन सुरु गर्न आफूले चाहेको बताए । जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरु बदलिन चाहेको बताए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताए । विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी भएको बताउँदै अब जनताको घरघरमा पुगेर आफ्ना एजेण्डाहरु प्रस्तुत गर्न निर्देशन दिए । ‘हामीले यहाँको जनता र देशभरको जनताले हामीबाट जे जस्तो अपेक्षा गरेको हो, हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ । हामी बदलिन चाहन्छौँ’, उनले भने । अध्यक्ष दाहालले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्तमा भए सहभागी

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन आइपुगेका छन् । सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने छन् । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी भएका प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताए । उनले भने, ‘स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।’ प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।

विद्यार्थी नपाउँदा प्राविधिक शिक्षालय धरापमा, आधाले घट्यो व्यवसाय

काठमाडौं । एक समय थियो, प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइमा पर्थ्यो। अन्य पढाइभन्दा कम समय, र पढिसकेपछि जागिर पनि पाइने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक विषयतर्फ बढी हुन्थ्यो । पढ्न केही महँगो हुने भएपनि छिटो जागिर पाउने आशामा अभिभावकले ऋण निकालेर भएपनि छोराछोरीलाई प्राविधिक विषय पढाउँथे । आजभोलि जस्तो पहिले छ्याप्छप्ती प्राविधिक विषय पढाइ हुने विद्यालय पनि थिएनन्, । प्राविधिक विषय पढ्नकै लागि विद्यार्थी गाउँ छोडेर सहरमा झर्थे । तर, अहिले अवस्था फेरिएको छ । प्राविधिक शिक्षामा विद्यार्थीको संख्या नै कमी हुन थालेको छ । गाउँदेखि सहरमा खुलेका प्राविधिक शिक्षालयलाई अहिले विद्यार्थी पाउनै सकस बनेको छ । हरेक स्थानीय तह अन्तर्गतका विद्यालयमा पनि विद्यार्थी पाउन मुस्किल परेको छ । धेरै जसो ठाउँमा खुलेका प्राविधिक विद्यालय बन्द हुने अवस्थामा पुगिसकेका छन् । स्थानीय तहमा मात्र होइन, वर्षौंदेखि प्राविधिक शिक्षाका नाममा कहलिएका शिक्षालय पनि अहिले विद्यार्थी पाउन सकिरहेका छैनन् । काठमाडौंको साँखुमा रहेको शंखरापुर बहुप्राविधिक शिक्षालयमा पहिलेको तुलनामा विद्यार्थीको संख्या ५० प्रतिशतले घटेको छ । पहिले वार्षिक ४/५ सय विद्यार्थी भर्ना हुने शिक्षालयमा अहिले साढे दुई सय विद्यार्थीमात्र भर्ना हुने गरेका छन् । सो शिक्षालयका प्राचार्य अनिलमुनी बज्राचार्यले अहिले प्राविधिक शिक्षालयमा विद्यार्थीको संख्या ह्वातै घटेको बताउँछन् । कोशी प्रदेशको मोरङमा रहेको मनमोहन प्राविधिक विश्व विद्यालयमा पनि प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्यामा कमी आएको छ । सुरुमा शिभिल इन्जिनियरिङ र इल्केट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ सुरु गरेको यो विश्वविद्यालयले चार वर्षको अवधिमै विद्यार्थीको संख्या घटेको जानकारी दिएको छ । पहिलो वर्ष शिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ४८ जनाको सिट भएपनि २४ जना विद्यार्थीलाई मात्र अध्ययान गराउने योजना कलेजले गर्यो । सिभिल इन्जिनियरिङमा विद्यार्थी सिट संख्या पूरा भएपनि इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ २४ जनाको सिटमा पनि संख्या पूरा भएन । पछिल्लो वर्ष सिभिल इन्जिनियरिङमा ४८ विद्यार्थी सिट संख्यमा ४५ जना विद्यार्थी भर्ना भएका थिए । इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा दोस्रो वर्ष पनि उस्तै अवस्था भयो । तेस्रो वर्षमा पनि उस्तै अवस्था भयो । इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विद्यार्थी कमी भएपछि कलेजले त्यसलाई हटाएर अहिले इलेक्ट्रिकल इन्जिनियरिङ मात्र राखेको छ । अहिले पनि दुवैमा सिट संख्या पूरा नभएको विश्वविद्यालयका शाखा अधिकृत गीता लम्सालले बताइन् । उनका अनुसार पहिले ७ सय बढी विद्यार्थी भर्ना हुने त्यहाँ अहिले मुस्किलले दुई सय विद्यार्थी अध्ययन गरिरहेका छन् । विकासन्युजसँगको कुराकानीमा उनले भनिन्, ‘अहिलेको प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको शिक्षा निकै घट्यो, एक समय सिट संख्या पूरा गरेर थप विद्यार्थी भर्ना हुने गरेकोमा आजभोली ४८ जनाको सिटमा १४ जना विद्यार्थी छैनन् ।’ विगतका वर्षमा हरेक क्षेत्रमा सिट संख्या पूरा हुने कर्णाली प्राविधिक शिक्षालयमा पनि यो वर्ष विद्यार्थीको संख्यामा कमी आएको छ । फार्मेसी, सिभिलमा विद्यार्थीको संख्या पूरा भए पनि एग्रिकल्चर र फरेस्टीमा भने विद्यार्थीको संख्या अपुग रहेको प्रिन्सिपल टेकेन्द्र थापाले बताए । उनी विगतका वर्षमा सबै सिट संख्या पूरा हुने गरेकोमा यो वर्ष समयमै एसईईको रिजल्ट नआउँदा विद्यार्थी अपुग भएको बताउँछन् । ‘अहिले एसईईपछि गाउँमा बस्ने विद्यार्थी निकै कम छन्,’ उनी भन्छन्, ‘एक विद्यार्थी गाउँ बस्न मान्दैनन्, अर्को समयमा परिक्षाको नतिजा आउँदैन्, यस्तै कारण विद्यार्थीको संख्या घट्दै गयो ।’ बालाजुमा रहेको बालाजु स्कुल अफ टेक्नोलोजीमा पनि प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्या ५० प्रतिशत बढी कम भएको छ । विद्यालयका प्रधानाध्यापक खुसीराम अधिकारीले विगतका वर्षजस्तो प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको बताए । रोजगारी भएन मनमोहन प्राविधिक विश्विद्यालयका डिन प्रचण्डमान प्रधान प्राविधिक क्षेत्रमा मात्र नभई समग्र विद्यालयमा विद्यार्थीको संख्या घटेको बताउँछन् । उनी यसका विभिन्न कारण भएपनि प्राविधिक क्षेत्रमा विद्यार्थी घट्नुको मुख्य कारण भने उचित रोजगारी नपाउनु रहेको बताउँछन् । ‘इन्जियिरिङ पढाइ गर्ने विद्यार्थीले राम्रो काम पाउन छोडे, काम पाउँदा तलब राम्रो भएन,’उनी भन्छन्, ‘अहिले हेर्ने भनेको सबैले पैसा हो, नेपालका इन्डष्ट्रीले राम्रो तलब दिन सकेनन्, नेपालमै राम्रो काम पाउन सक्यो भने यो क्षेत्रमा विद्यार्थीको भीड लाग्थ्यो । तर, अहिले अवस्था त्यस्तो छैन, जसको परिणाम यो अवस्था आयो ।’ शंखरापुर बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक अनिलमुनीको भनाइ पनि यस्तै छ । उनले विभिन्न कोर्सहरूले दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान दिइरहे पनि रोजगारीको कमी र सीपअनुसारको रोजगारी नपाइने समस्याले विद्यार्थीहरूमा प्राविधिक शिक्षा प्रति केही हदसम्म निराशा पैदा गरेको बताए । कोभिड-१९ महामारीपछि यो क्षेत्रमा थप चुनौतीहरू आएका छन्, तालिमको प्रभावकारिता घट्नु, कक्षा र उपकरणहरूमा पहुँच सीमित हुनु, र व्यावहारिक शिक्षा दिन कठिनाइ हुनुले पनि विद्यार्थीको रोजाइमा यी विषयहरू पर्न छाडेका छन् । प्राविधिक सीप भएका जनशक्तिको माग विभिन्न क्षेत्रमा अझैं पनि उच्च छ । गाउँ-गाउँमा प्राविधिक शिक्षा अहिले एउटै पालिकाका विभिन्न विद्यालयमा प्राविधिक विषयहरूको पढाइ हुन थालेका छ । सरकारले सञ्चालन गरिरहेका सामुदायिक विद्यालयमा पनि कक्षा ९ देखि प्राविधिक विषय पढाइ हुन्छ । सीटीईभीटीबाट मान्यता लिएर निजी क्षेत्रबाट सञ्चालीत प्राविधिक विद्यालयको संख्या पनि उत्तिकै छ । विज्ञहरू अहिले विद्यार्थी गाउँमै भएका प्राविधिक विद्यालयमा पढ्न थाल्दा पहिलेका नाम चलेका प्राविधिक शिक्षालयमा विद्यार्थीहरू घटेको हुनसक्ने बताउँछन् । शखरापुरका प्रधानाध्यापक अनिलमुनी भन्छन्, ‘गाउँगाउँमा प्राविधिक शिक्षालय खुले, सामुदायिक विद्यालयमा पनि प्राविधिक विषय पढाइ हुन थालेपछि विद्यार्थीको संख्या विभाजन भयो, एक त विद्यार्थी बाँडिए, अर्को विद्यार्थीको विदेश मोहले पनि विद्यार्थी घटे ।’ एसईईमा धेरै फेल हुनु अर्को कारण नेपालमा प्रायः प्राविधिक शिक्षा पढ्न एसईई पास अनिवार्य गरेको हुनुपर्छ । कुनै विषय कक्षा ९ देखि नै पढ्न पाइने भएपनि अधिकांश विषयहरू पढ्न भने एसईई पास भएको हुनुपर्छ । २०८० सालमा एसईई दिएका ५२ प्रतिशत विद्यार्थी फेल भए । फेल भएका सबै विद्यार्थीलाई फेरि मौका परीक्षामा सामेल गराएपनि नतिजा आउन ढिलो भइसकेको थियो । पुरक परिक्षाको नतिजा आउँदासम्म अधिकांश शिक्षालयले भर्ना सकेर पढाइ सुरु गरिसकेका थिए । एसईईमा धेरै विद्यार्थी फेल हुनु, मौका परीक्षाको नतिजा ढिलो गरी आउनुले पनि विद्यार्थीको संख्या घटेको कतिपयको तर्क छ । प्रधानाध्यापक अनिलमुनी भन्छ, ‘हामीले पुरक परीक्षाको नतिजा आउँदा भर्ना लिएर पढाइ सुरु गरिकेका थियौं, पछिका विद्यार्थीलाई हामीले भर्ना पनि लिएनौं, पहिलेको भन्दा अहिले प्राविधिक क्षेत्रमा विद्यार्थीको सख्या घटेको छ ।’ उनी केही वर्ष पहिले एउटै सेप्टेम्बर २ सय बढी विद्यार्थी हुनेमा अहिले ९०÷९५ विद्यार्थी मात्र छन् । विदेश मोह नेपाली विद्यार्थीको विदेश मोह अहिले निकै बढेको छ । कक्षा १२ पास गरिसकेपछि अधिकांश विद्यार्थी जापान, अस्टे«लिया, क्यानडा, अमेरिका लगायतका देशको तयारी गर्छन् । उनीहरूको सबैभन्दा पहिलो लक्ष्य नै विदेश जाने भएकाले प्राविधिक विषय भन्दा पनि जनरल विषयहरूमा जोड दिन्छन् । नेपालमा हरेक परिवारबाट एक जना विद्यार्थी कुनै न कुनै देश अध्ययनकै लागि गएको देखिन्छ । विद्यार्थीको यही विदेश मोहले पनि प्राविधिक क्षेत्रमा विद्यार्थीको संख्या घटेको कतिपयको भनाइ छ । प्लस टुपछि अधिकांश विद्यार्थी विदेश जाँदा उच्च शिक्षामा विद्यार्थी पाउन मुस्किल परेको छ । शिक्षाविदहरू भने नेपालमा प्राविधिक शिक्षाको आकर्षण घटिरहेको यो क्षेत्रले केही चुनौतीहरू सामना गरिरहेको बताउँछन् । रोजगारीको अवसर, गुणस्तरमा कमी र बजार मागसँग मेल नखाने पाठ्यक्रमजस्ता कारणले पनि विद्यार्थीहरू अन्य विकल्पहरूको खोजीमा उनीहरूको तर्क छ ।

सरकार र पार्टीले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाईं लड्ने बताएका छन् । नेपाली काँग्रेसका सह महामन्त्री समेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजैन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए । सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताए । उनले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरुले आरोप लगाएको बताए । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको जानकारी दिए । पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिको आरोप लगाइएको बताए । यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने बताए । इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उनको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानबिन गर्न पनि आग्रह गरे । आफूबाट जानेर/नजानेर कुनैपनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गरे । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘हाम्रो आकाशलाई पनि सुरक्षित गरौँ, आकाशलाई सुचारु र गतिशिल गरौँ, नेपालको जिडिपीलाई बढोत्तरी गर्न पर्यटन क्षेत्रलाई अघि बढाऔँ भनेर मैले उहाँहरुको पनि साथ लिइरहेको छु ।’ मन्त्री पाण्डेले आफू स्वच्छ राजनीतिक चरित्रबाट अहिलेसम्म अघि बढिरहेको बताए । उनले गलत कामहरु हुन नदिने र राम्रा कामहरु रोक्न नहुने पक्षमा आफू रहेको बताए । देशले अहिले भोग्नुपरेको सुशासनको समस्या समाधानका लागि वर्तमान सरकार र आफूले काम गरिरहेको जानकारी दिए । उनले आफूसँग निष्ठा र इमान बाहेक अन्य राजनीतिक सम्पती नरहेको बताए । निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ आफूले काम गरिरहेको जानकारी दिए । मन्त्री पाण्डेले देशलाई विकास र समृद्धितिर अघि बढाउन खोज्दा मान मर्दन गर्नेहरु सल्बलाएको बताए । देशलाई, मन्त्रालयलाई र पर्यटन क्षेत्रलाई घाटा पुर्याउने कुनैपनि आवरणका विचौलियाहरुबाट सुरक्षित राख्ने जिम्मेवारी आफूलाई रहेको जानकारी दिए ।

९ महिनामा इजिप्टको खाद्य उद्योगको निर्यात ४.६ बिलियन डलर

काठमाडौं । इजिप्टको खाद्य उद्योगको निर्यात ९ महिनामा ४.६ बिलियन डलर पुगेको छ । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म इजिप्टको खाद्यान्न निर्यात ४.६ बिलियन अमेरिकी डलर पुगेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ । इजिप्टको खाद्य निर्यात काउन्सिलले मङ्गलवार गरेको एक प्रतिवेदनले यी तथ्याङ्कहरूले निर्यात मूल्य र वृद्धि दरका लागि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको बताएको छ ।