सचिवमा बढुवाका लागि तीन सहसचिव सिफारिस, पौडेलको सम्भावना प्रबल
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा शाखाले सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ । सिफारिस सूचीमा परेका मध्ये सहसचिव राजेन्द्रकुमार पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन् । सहसचिव कमलप्रसाद भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् । यस्तै, इन्दु घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठता आधारमा बढुवा हुने प्रचलन रहेकाले पौडेल सचिवमा पदोन्नति हुने सम्भावना बढी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
टानका पूर्वअध्यक्ष सिंहको निधन
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ । सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको सोमबार (आज) बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले जानकारी दिए । स्व. सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
कांग्रेसले एकैपटक सुरु गर्यो आमनिर्वाचन र महाधिवेशनको तयारी
काठमाडौं । नेपाली कांग्रेसले आगामी आमनिर्वाचन र पार्टी महाधिवेशन दुवैको तयारीलाई एकैसाथ गति दिएको छ । पार्टीभित्र लामो समयदेखि रोकिएको सक्रिय सदस्यता नवीकरण र नयाँ वितरण कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । जिल्लाबाट प्राप्त विवरण समेटेर केन्द्रीय कार्यालयले सदस्यता सूचीको फाइनल तयारी गरिरहेको एक नेताले जानकारी दिए । यससँगै कांग्रेसले राष्ट्रियसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस प्रक्रिया पनि सुरु गरिसकेको जनाएको छ । संगठन विभागमार्फत जारी गरिएको परिपत्रमा स्थानीय तह, प्रदेश र जिल्ला समितिहरूलाई आ–आफ्नो क्षेत्रअनुसार योग्य, सक्षम तथा जित्ने सम्भावना भएका व्यक्तिहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालय पठाउन निर्देशन दिएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाका लागी उमेदवार छनौट गरेर पठाउन निर्देशन आएकोले जिल्लाले उम्मेदवार सिफारिस तयारी गरेको धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीनजना सिफारिस गर्ने केन्द्रको निर्देशन रहेको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीले विधानअनुसारका सबै संरचनालाई सक्रिय बनाउने उद्देश्य राखेको बताएको छ । संगठन सुदृढीकरण, आन्तरिक एकता र निर्वाचन केन्द्रित तयारीलाई प्राथमिकतामा राख्दै कांग्रेसले द्वन्द्वपूर्ण राजनीतिक वातावरणबीच समयमै महाधिवेशन सम्पन्न गर्ने र आमचुनावमा प्रभावकारी रूपमा प्रस्तुत हुने रणनीति अगाडि सारेको केन्द्रीय सदस्य प्रकाश रसाइलीले जानकारी दिए । कांग्रेसभित्र सदस्यता नवीकरण र सिफारिस प्रक्रियाले चहलपहल बढाएको छ । विभिन्न समूह र नेताहरू पनि महाधिवेशनमा प्रभाव जमाउन सक्रिय देखिन थालेका छन् । आगामी केही साताभित्र अधिकांश प्रक्रियाहरू औपचारिक रूपमा सकिने पार्टी नेताहरूले बताएका छन्।
‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि सुरु हुने, आर्थिक पुनरुत्थानमा केन्द्रित
काठमाडौं । मोरङ उद्योग व्यापार संघले ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा सञ्चालन हुने यो एक्स्पोले आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्य राखेको छ । विराटनगर–२, शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयको छेउमा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिनेछ । संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जेन्जी आन्दोलनपछि उत्पन्न आर्थिक अनिश्चिततालाई तोड्ने यो मेलाले ठूलो भूमिका खेल्ने दाबी गरिएको छ । मेलाले मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्द्धन र अर्थतन्त्रको पुनरुत्थानलाई मुख्य लक्ष्य बनाएको छ । कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धनमा एक्स्पोले जोड दिनेछ । साथै नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका वस्तुहरूको बजार विस्तार गर्ने उद्देश्य पनि रहेको छ । मेलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारीअनुसार जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० स्टल राखिनेछन् । प्रदर्शनीमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन पनि समावेश हुनेछन् । एक्स्पोले ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै स्टार्टअप, सूचना प्रविधि, कर–लेखा र महिला उद्यमशीलता प्रवर्द्धन सम्बन्धि विशेष स्टल राख्नेछ । नयाँ उद्यमीलाई स्टार्टअप सञ्चालन, व्यवसाय विस्तार र डिजिटल ज्ञानबारे जानकारी दिने विभिन्न गोष्ठी र अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ । दर्शकको मनोरञ्जनका लागि हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति हुने छ। मेलामा सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल र नेपाली कला–संस्कृति झल्काउने आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ । मेलाको मुख्य प्रायोजक ‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ रहेका छन् । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट करिब २ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मोरङ उद्योग व्यापार संघ विगतमा पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सव जस्ता कार्यक्रम गर्दै आएको छ ।
बीमा प्राधिकरणमा ४०२ वटा उजुरी विचाराधीन, ३९ वटा मात्रै फैसला
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना (कार्त्तिक मसान्त) सम्ममा ४४१ उजुरीमध्ये ३९ वटा मात्रैको फैसला गरेको छ । बीमा प्राधिकरणका अनुसार फैसला भएका मुद्दामध्ये १३ वटा मुद्दा सहमतिबाटै टुंगो लगाएको छ । गत आर्थिक वर्षको यही अवधिमा प्राधिकरणले १३१ वटा मुद्दाको फैसला गरेको थियो । जसमध्ये ४६ वटा मुद्दा सहमतिबाटै टुंग्याएको थियो । चार महिनाको अवधिमा प्राधिकरणको केन्द्रीय कार्यालयमा ३३, प्रदेश कार्यालयमा १४ समेत जम्मा ४७ वटा उजुरी दर्ता भएका छन् । गत आवको यही अवधिमा केन्द्रीय कार्यालयमा १४४, प्रदेश कार्यालयमा ९१ गरी कुल २३५ वटा उजुरी दर्ता भएका थिए । तथ्यांकअनुसार प्राधिकरणमा अझै ४०२ वटा उजुरी विचाराधीन अवस्थामा रहेका छन् ।
अण्डाको मूल्य फेरि बढ्यो
काठमाडौं । अन्डाको मूल्य फेरि बढेको छ । १० दिनअघि बढेको मूल्य मंगलबार (भोलि)बाट लागू हुनेगरी पुन: बढ्ने भएको हो । नेपाल लेयर्स कुखुरापालक संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको हो । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ। मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।
एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा : क्रेडिट कार्ड खरिद अब किस्तामा सजिलै
काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवामा नयाँ डिजिटल सुविधा ‘एनएमबि इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । यस सुविधाले क्रेडिट कार्डधारकलाई ५ हजार रुपैयाँ भन्दा माथिको खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई) मा रूपान्तरण गर्न सक्ने अवसर प्रदान गरेको छ । ग्राहकले खरिद बिल र पोस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइट मार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्नेछन् । बैंकका अनुसार न्युनतम शुल्क तथा ब्याजदरको व्यवस्था गरिएको छ भने अग्रिम भुक्तानी गर्दा कुनै जरिवाना लाग्ने छैन । यस सेवामार्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली तथा चाडपर्वमा हुने खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ । एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ ।
चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम
काठमाडौं । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशासनका अनुसार यो वृद्धि दर वर्षको पहिलो १० महिनामा देखिएको ३.६ प्रतिशतको दरसँग स्थिर रहेको छ । यसले चीनको व्यापार वृद्धिमा स्थिरता आएको सङ्केत गर्दछ । विशेषगरी नोभेम्बर महिनामा मात्र चीनको आयात र निर्यात ३.९ खर्ब युआनमा पुगेको छ, जुन वर्षभरको तुलनामा ४.१ प्रतिशतले बढेको हो । यसमा निर्यातको योगदान ठूलो रहेको जनाइएको छ । विश्लेषकहरूले चीनको विदेशी व्यापारमा यो स्थिर वृद्धि विश्व अर्थतन्त्रमा चीनको योगदान र निर्यात–आयात दुवै क्षेत्रको सन्तुलनको सङ्केत भएको बताएका छन् । चीनले मुख्य रूपमा इलेक्ट्रोनिक सामान, मेशिनरी र औद्योगिक वस्तुको निर्यातमा वृद्धि गरेको छ भने कच्चा पदार्थ र ऊर्जा स्रोतको आयातमा पनि हल्का वृद्धि देखिएको छ । चिनियाँ अधिकारीहरूले भनेका छन् कि आगामी वर्षमा विदेशी व्यापार वृद्धिलाई थप प्रोत्साहित गर्न नयाँ आर्थिक नीतिहरू लागू गरिनेछन्, जसमा उत्पादन, निर्यात, लगानी र व्यापार सहकार्यलाई प्राथमिकता दिइनेछ । यो तथ्याङ्क चीनको वैश्विक व्यापारिक स्थिति र अन्तर्राष्ट्रिय बजारमा यसको स्थायित्व बुझ्न महत्वपूर्ण मानिन्छ ।