विकासन्युज

ट्रम्पको बयानले ऊर्जा बजारमा हलचल, भारतले अब रूसको तेल नकिन्ने !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई नयाँ दिल्लीले रूसबाट तेल किन्ने कार्य रोक्ने आश्वासन दिएको बताएका छन् । ‘मोदीले आज मलाई आश्वासन दिए कि उनीहरूले अब रूसबाट तेल किन्ने छैनन् । यो ठूलो कदम हो,’ ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब हामीले चीनलाई पनि यही गर्न लगाउनुपर्छ ।’ वाशिङ्टन नयाँ दिल्लीले रूसबाट कच्चा तेल किनिरहेकोमा असन्तुष्ट भएको ट्रम्प बताउँछन् । किनभने त्यसले मस्कोलाई युक्रेनमा आफ्नो ‘मुर्ख युद्ध’ जारी राख्न सहयोग पु‍र्याइरहेको छ । तर उनले स्पष्ट पारे कि भारतले तुरुन्तै तेल किन्ने बन्द गर्ने छैन । ‘यो तुरुन्तै हुने होइन, केही प्रक्रिया हुनेछ,’ ट्रम्पले भने, तर उनले स्पष्ट समयसीमा भने बताएनन्। सीएनबीसीले भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयसँग टिप्पणीका लागि सम्पर्क गरेको थियो, तर तत्काल प्रतिक्रिया प्राप्त भएन । भारतको रूसबाट तेल आयात अमेरिकासँगको सम्बन्धमा विवादको विषय बनेको छ । ट्रम्पले गत अगस्टमा भारतमाथि थप २५ प्रतिशत शुल्क लगाउँदै कुल कर ५० प्रतिशत पु‍र्याएका थिए जबकि भारतले अमेरिकाको रूससँगको व्यापारप्रति असन्तोष जनाएको छ । ‘यदि भारतले रूसी तेल किन्ने बन्द गर्छ भने युद्ध अन्त्य गर्न धेरै सजिलो हुनेछ,’ ट्रम्पले भने, ‘उनीहरूले मलाई छोटो अवधिभित्र रूसबाट तेल नकिन्ने र युद्ध सकिएपछि मात्र पुनः किन्ने आश्वासन दिएका छन् ।’ बिहीबार ब्रेन्ट क्रुड फ्युचर्स ०.८२ प्रतिशत बढेर प्रति ब्यारेल ६२.४३ डलरमा पुगेको थियो जबकि अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट फ्युचर्स ०.८९ प्रतिशत बढेर ५८.७९ डलरमा पुगेको थियो । भारत रूसी तेलका सबैभन्दा ठूला खरिदकर्तामध्ये एक हो । अनुसन्धान संस्था केपलरका तथ्यांकअनुसार रूसले दैनिक करिब ३.३५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गर्छ, जसमा भारतले करिब १.७ मिलियन ब्यारेल र चीनले १.१ मिलियन ब्यारेल लिन्छन् । नयाँ दिल्लीले आफ्नो खरिदको बचाउ गर्दै ऊर्जामन्त्री हरदीपसिंह पुरीले जुलाईमा सीएनबीसीसँग भनेका थिए कि भारतले विश्व ऊर्जा मूल्य स्थिर राख्न सहयोग गरेको र त्यसका लागि अमेरिकाले नै प्रोत्साहन दिएको थियो । ‘यदि त्यतिबेला सबै देशहरूले तेल किन्ने बन्द गरेका भए प्रति ब्यारेल मूल्य १३० डलरसम्म पुग्थ्यो । त्यो अवस्थामा हामीलाई — अमेरिकासहितका मित्र राष्ट्रहरूले — ‘मूल्य सीमा भित्र रहेर रूसी तेल किन्नुहोस्’ भनेर सल्लाह दिएका थिए,’ पुरीले भनेका थिए । रूसको कच्चा तेल बिक्री सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि जी–७ राष्ट्रहरू र युरोपेली सङ्घले मूल्य सीमाअन्तर्गत राखेका छन् । यो मूल्य सीमा प्रति ब्यारेल ४७.६ डलरमा निर्धारण गरिएको, मस्कोको तेल निर्यातबाट हुने आम्दानी घटाउने र युक्रेनमा युद्धका लागि लगानी गर्ने क्षमतालाई सीमित गर्ने उद्देश्यले लागू गरिएको हो । सेप्टेम्बरमा २१ लाख विद्युतीय सवारी बिक्री टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो  

साढे दुई लाख नाघ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दै गएको छ  । बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेसँगै नेपाली बजारमा हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।  त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको छ । पछिल्लो समय सुनचाँदीको मूल्य दैनिक बढिरहेको छ । बजारमा सुनको अभाव रहेको र माग बढी भएको भन्दै व्यवसायीले नेपाल राष्ट्र बैंकलाई कोटा बढाउन आग्रह गरेका थिए । सोही आग्रह अनुसार राष्ट्र बैंकले पनि २० केजीबाट सुनको आयात २५ केजी निर्धारण गरेको छ । कोटा बढाइए पनि अझै पनि बजारमा सुनको अभाव रहेको व्यवसायीहरु बताउँछन् । उनीहरुले ४० केजी आयात गर्न पाउनु पर्ने माग राखिरहेका छन् । 

बीमा प्राधिकरणमा ४२६ उजुरी, २७ वटा फर्छ्यौट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा बीमा प्राधिकरणमा ४२६ वटा उजुरी दर्ता भएको छ ।  प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा र गत आवको ३९४ गरी कुल ४२६ वटा उजुरी दर्ता भएको हो । जसमध्ये २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फर्छ्यौट भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार फर्छ्यौट हुन बाँकी उजुरीको संख्या ३९९ वटा रहेको छ ।  गत आवको यही अवधिमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए । जसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फर्छ्यौट गरेको थियो । बाँकी रहेको ३९४ वटा उजुरी चालु आर्थिक वर्षमा सरेर आएका हो । 

किसान भन्छन् - देशमै पर्याप्त छ, तिहारमा फूल आयात गर्नुपर्ने अवस्था छैन

काठमाडौं । नेपालीहरूको महान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तीव्र रुपमा बढेको छ । झिलिमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ ।  अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यवसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । हेटौँडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मनहरी, थाहा नगरपालिका लगायतका क्षेत्रहरूमा सयपत्री र मखमली फूल खेती विस्तार भइरहेको छ ।  अघिल्ला वर्षहरूमा प्रायः घरहरुमै आफूलाई आवश्यक फूल उत्पादन हुन्यो । तर यस वर्ष तिहार चाँडो परेकाले गाउँघरमा फूल उत्पादन पर्याप्त नभएको र यस्तो अवस्थामा व्यावसायिक फूल खेती गर्ने किसानहरु राम्रो आम्दानी हुने आसामा रहेका छन् । फूल उत्पादनले आत्मनिर्भरता त बढाएको छ नै साथै आयात प्रतिस्थापनमा समेत योगदान पुर्याइरहेको छ । नेपालमा माग धान्न अघिल्ला वर्षहरूमा भारतबाट फूल आयात गरिन्थ्यो । तर अहिले स्थानीयस्तरमै उत्पादन बढ्न थालेपछि आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै हाल प्रशस्त फुल उत्पादन गरीएको हुँदा माग धान्न सकिने नेपाल सयपत्री फूल उत्पादक संघका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।  देशभरमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौंमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । विगतका वर्षहरुमा ७५ प्रतिशत फूल नेपालमै उत्पादन हुने र २५ प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको थियो ।  तिहार पर्वसँगै देशभर फूलको माग उच्च हुँदै गएको बेला कृषकले व्यावसायिक फूल खेतीबाट कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।  

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।  असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयन गरिने बैंकले जनाएको छ ।   

बाढीले झापामा पाँच करोडको धान नष्ट

झापा । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ ।  कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार रुपैयाँ बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए ।  'बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन', उनले भने, 'पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।' वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ । बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताए । उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिए । यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको रु पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको छ । 

काम सन्तोषजनक नभएका २१ कम्पनी कालोसूचीमा सूचीकृत

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार ३ कम्पनीलाई दुई वर्षका लागि र १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । कार्यालयका अनुसार काम सन्तोषजनक नभएका कम्पनीहरूलाई नियमअनुसार कालोसूचीमा राख्ने गरिएको छ। कालोसूचीमा परेका कम्पनीहरूले सो अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ ।

कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकका चेकबाट भुक्तानी नहुने

काठमाडौं । कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकले जारी गरेका चेकबाट भुक्तानी नहुने भएको छ । हिमालयन बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएकाले साविक सिभिल बैंक र सो बैंकसँग मर्ज तथा प्राप्ति गरेका बैंकले जारी गरेको चेकबाट भुक्तानी नहुने जनाएको हो ।  बैंकका अनुसार कोर बैंकिङ सफ्टवेयर कात्तिक ११ गतेदेखि टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएको हुँदा उक्त मिति पश्चात् हिलमायन बैंकले प्राप्ति गरेको साविक सिभिल बैंक लगायत साविक सिभिल बैंकमा मर्ज भएका र प्राप्ति गरेका साविक वित्तीय संस्थाहरूले जारी गरेको कुनै पनि चेकहरूबाट भुक्तानी हुनेछैन,’ हिमालयन बैंकले भनेको छ ।  साविक सिभिल बैंक तथा बैंकले प्राप्ति गरेको र मर्ज भएको वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेक बुक लिन बैंकले आग्रह गरेको छ ।  साथै, कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति गर्ने प्रकृयामा बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाहरु कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म उपलब्ध नहुने बैंकले जनाएको छ । यद्यपि सो अवधिमा एटीएम तथा डेबिट तथा क्रेडिट कार्ड सेवा भने सुचारु रहनेछ ।