नेपाल टेलिकममा रोबोट सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए । उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । ‘अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ’, उनले भने, ‘सामान्य सोधपुछदेखि एनटिसी सेवाका छसय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।’ रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । रोबोटले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।
हुस्सु र कुहिरोले हवाई उडानमा हैरानी : कम्पनीको बिजनेस घट्यो, मारमा यात्रु
काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुदाँ अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् । बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता बिहान ११ र १२ बजेपछि मात्रै आकाश राम्ररी खुलेर उडान तथा अवतरण भइरहेको उनले बताए । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केही दिनअघिदेखि बिहान समस्या रहे पनि मध्यान्ह आकाश खुल्दै जानेक्रम चलिरहेको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बिहान हुस्सु र कतिपय स्थानमा कुहिरो लागेकाले भिजिबिलिटी कमजोर भइरहेको बताए । उनका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कतिपय स्थानमा कुहिरो लाग्ने गरेकाले हवाई उडानमा समस्या भइरहेको छ । तुलनात्मक रुपमा पश्चिम तराईका विमानस्थलमा यो समस्या कम छ । बिहान चाँडै आकाश खुल्ने गरेको छ । मौसमविद् अधिकारीका अनुसार विश्वव्यापी मापदण्डअनुसार एक किलोमिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शितालाई हुस्सु भन्ने गरिएको छ । अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या भइरहेको छ । तराईका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । ‘अहिले पहाडी र हिमाली क्षेत्रमा पारदर्शिता राम्रो देखिन्छ, नौदेखि १० किलोमिटर पारदर्शिता छ, तर तराईमा हुस्सु, कुहिरोले लाग्दा बढी समस्या देखिएको छ, तराईका धेरै स्थानहरुमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ’, मौसमविद् अधिकारीले भने । तत्कालै वर्षाको सम्भावना नरहेको र लामो समयदेखि वायुमण्डल प्रदूषण भएका कारण पनि हुस्सु र तुँवालो लाग्ने गरेको उनले उल्लेख गरे । पछिल्ला दिनमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान प्रभावित बनिरहेको यात्रुलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन सकिरहेको छैन । काठमाडौं बाहिरका विमानस्थल समयमै खुल्न नसक्दा काठमाडौं विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौंको भिजुअल फ्लाइट रुल्स (एफआर) उडानमा समस्या नरहे पनि अन्य विमानस्थलको उडान प्रभावित भइरहेको छ । भैरहवा र सिमरा विमानस्थलमा उडान भर्खरै खुलेको छ । आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाहेक तराई क्षेत्रका सबैजसो विमानस्थल बन्द रहेको र अहिले भिजिबिलिटीमा सुधार आएपछि क्रमशः विराटनर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेको प्रवक्ता शेर्पाले जानकारी दिए । उनका अनुसार सबैभन्दा ढिला खुलेका भैरहवा र सिमरा विमानस्थल हो । गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२ः५० मा खुलेको छ । काठमाडौं बाहिरका गन्तव्यमा उडान डिले भइरहेका छन् । विमानस्थल बिहान ढिला खुलेकाले उडानहरु डिले भइरहेका हुन् । ‘उडान नियमित भइरहकेका छन् तर निर्धारित समयमा हुनसकेका छैनन्”, प्रवक्ता शेर्पाले भने । काठमाडौंमा पनि बिहानीपख हुस्सु लाग्ने गरेकाले हवाई उडान सामान्य प्रभावित बनिरहेको छ । अहिले काठमाडौंको आकाशमा भिजिबिलिटी छ किलोमिटर छ । आज बिहान ६ देखि १० बजेसम्म न्यूनतम पारदर्शिता तीन हजार ५०५ सय मिटर रहेको थियो । बिहान ६ देखि १० बजेको समयमा हुस्सु थियो । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पूर्वसभामुख ढुङ्गानाको निधन
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा. रुद्र शर्माले जानकारी दिए । ढुङ्गानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएकाे हाे । उनी क्यान्सर रोगबाट पीडित थिए । २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका ढुङ्गानाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ढुङ्गानाको एक छोरा र एक छोरी छन् । पारिवारिक स्रोतका अनुसार उनकाे अन्त्येष्टि सोमबार गरिनेछ।
लक्ष्मी सनराइज बैंकले गर्यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यद्वपि, बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो । एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो । प्रतियोगिताको हाइलाईट विजेता : आत्माराम सिम्खडा (४३ अंक) उपविजेता : आशिष लाल श्रेष्ठ (४२ अंक) उत्कृष्ट ग्रस : टाशी छिरिङ (३८ अंक) वरिष्ठ श्रेणी विजेता : तुलसी भट्ट (४० अंक) महिला विजेता : तारा कार्की चित्रकार (३५ अंक) महिला उपविजेता : सुमित्रा खड्का (३० अंक) सबैभन्दा लामो ड्राइभ : नोर्बु छिरिङ शेर्पा पिनको नजिक : अनिल कुमार सिन्हा विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।
सोनम ग्यात्सोले किने सानिमाको सेयर, बाहिरियो जय गणेश इन्भेष्टमेन्ट
काठमाडौं । सानिमा बैंकबाट एक संस्थापक सेयरधनी बाहिरिएको छ भने नयाँ सेयरधनी थपिएका छन् । बैंकबाट जय गणेश इन्भेष्टमेन्ट प्रालि बाहिरिएको हो भने सोनम ग्यात्सो नयाँ सेयरधनीका रूपमा थपिएका हुन् । आर्थिक वर्ष २०७९/८० मा जय गणेश इन्भेष्टमेन्ट ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता सेयर स्वामित्वसहित बैंकको ठूला सेयरधनीभित्र पर्दथ्यो । तर, गत आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीको स्वामित्व ठूला सेयरधनीको सूचीमा समावेश छैन । सोनम ग्यात्सोको ०.९२ प्रतिशत अर्थात् १२ लाख ४६ हजार ५०७ कित्ता सेयर खरिद गरेसँगै ठूला सेयरधनीमा समावेश भएको छ । गत असारसम्म बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको रहेको छ । ओझाको बैंकमा ७.९४ प्रतिशत अर्थात् १ करोड ७ लाख ८१ हजार ५४२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, टेक राज निरौलाको ६.३९ प्रतिशत अर्थात् ८६ लाख ७४ हजार ५७० कित्ता, जिवनाथ लामिछानेको ५.४४ प्रतिशत अर्थात् ७३ लाख ८४ हजार ३४२ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ६१ लाख १४ हजार ९ सय कित्ता, विनय कुमार श्रेष्ठको ४.२७ प्रतिशत अर्थात् ५८ लाख ५ हजार ७०५ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५८ लाख १४ हजार १६ कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ५३ लाख ९२ हजार ५८२ कित्ता, खेम राज लामिछानेको ३.४७ प्रतिशत अर्थात् ४७ लाख १९ हजार ४५६ कित्ता, घनश्याम थापाको ३.४६ प्रतिशत अर्थात् ४६ लाख ९५ हजार ४२४ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३३ लाख ७९ हजार ९०१ कित्ता, दिलीप श्रेष्ठको ०.७५ प्रतिशत अर्थात् १० लाख २२ हजार २१३ कित्ता, शाम्बा लामाको ०.७३ प्रतिशत अर्थात् ९ लाख ९२ हजार १०२ कित्ता, गीता श्रेत्रीको ०.६१ प्रतिशत अर्थात् ८ लाख २३ हजार ५७९ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार कूल सेयरको १७.९६ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ भने सर्वसाधारणको ८२.०२ प्रतिशत सेयर स्वामित्व छ ।
रास्वपाले कीर्तिपुरमा मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ । रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ । काठमाडौँ महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिने भएको छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुग्यो
काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुगेको छ । कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार बढेर १ अर्ब पुगेको हो । खुल्लामुखी सामूहिक लगानी कोष योजना रहेको उक्त फण्ड २० करोड रुपैयाँबाट सुरु भएको थियाे । कम्पनीले विसं २०७८ असार १६ गते उक्त फण्ड जारी गरेको थियो । यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९ हजार इकाईधनीहरू आवद्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत असोजसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) ११.३० रुपैयाँ रहेको छ । व्यवस्थित लगानी योजनामा लाभांश पुनःलगानी हुने, सजिलै खरिद/बिक्री हुने, इकाईको खरिद तथा बिक्री खुद सम्पत्ति मूल्यमा हुने जस्ता विशेषताहरू रहेका छन् । लगानीकर्ताहरूले क्यापिटलका सम्पर्क कार्यालय विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा र नेपालगञ्ज, सिद्धार्थ बैंकका शाखा कार्यालय र अनलाइनबाट पनि खरिद बिक्री गर्न सक्नेछन् ।
टेलिकमको अवरुद्ध सेवा सञ्चालन
काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आइतबार बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । ‘बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो । अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन् । खास गरी पोष्टपेड र प्रिपेड मोबाइलको फोन गर्दा समस्या देखिएको थियो’, उनले भने । प्रवक्ता ढकालले के कारणले कति समय मोबाइल सेवा अवरुद्ध भएको थियो भन्नेबारे प्राविधिक प्रतिवेदन आइसकेपछि थप स्पष्ट हुने बताए। बिहान १०ः४५ को समयमा टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन ।