सुन धितो राखेर कुन बैंकले कति दिन्छ ऋण ? यस्तो छ प्रक्रिया
काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा ठूलो उतारचढाव आइरहेको छ । लामो समय बढेर केही दिनअघि मात्रै घट्न थालेको सुन पुनः बढ्न थालेको छ । सोमबारमात्रै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो । सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भयो । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यसरी सुनको मूल्यमा उतारचढा आइरहँदा सुनलाई धितोका रूपमा बैंकमा राखेर ऋण लिनेहरू पनि धेरै छन् । बैंक तथा वित्तीय संस्थाले पनि सुनलाई धितोका रूपमा राखेर ऋण दिइरहेका हुन्छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले सुन तथा चाँदीमा ५५ अर्ब ६० करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले सो लगानी गरेका हुन् । सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने सुनमा लगानी बढाएका छन् । यो अवधिसम्म नेपाल बैंकले २३ अर्ब ८३ करोड ४० लाख रुपैयाँ सुनमा लगानी गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ८१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । यी दुई सरकारी बैंकबीच लगानीमा ठूलो प्रतिस्पर्धा देखिन्छ । यस्तै, यो अवधिमा प्राइम कमर्सियल बैंकले ६ अर्ब ७३ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८७ करोड ४० लाख, लक्ष्मी सनराइजले ७२ करोड, सिटिजन्सले ६९ करोड ७० लाख, नबिलले ६२ करोड र माछापुच्छ्रेले १६ करोड ६० लाख रुपैयाँ सुनमा लगानी गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार प्रभुले ७ करोड ६० लाख, एनआईसी एशियाले २ करोड २० लाख, कृषि विकासले १ करोड ६० लाख, सिद्धार्थले १ करो २० लाख, कुमारीले २० लाख, सानिमाले साढे ८ लाख र एनएमबिले करिब ७ लाख रुपैयाँ लगानी गरेको छ । तथ्यांकअनुसार आधा दर्जन बैंक्ले भने सुन कर्जा दिएका छैनन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन, नेपाल एसबिआई, एभरेष्ट र ग्लोबल आइएमई बैंकले सुन कर्जा प्रवाह गरेका छैनन् । राष्ट्र बैंकका अनुसार सन् २०२४ को हालसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् भने २०२३ मा ५५ अर्ब ५३ करोड ३० लाख र सन् २०२२ मा ५२ अर्ब ७८ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल राष्ट्र बैंकले गत असोजमा एकीकृत निर्देशन जारी गर्दै सुनचाँदी धितोमा ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेको थियो । यो व्यवस्थाले पनि बैंकहरूले सुनधितो कर्जा उल्लेख्य रूपमा बढाएका छैनन् । कसरी लिने सुन कर्जा ? सुन कर्जा लिनका लागि अन्य कर्जा लिएसरह नै प्रक्रिया अपनाउनु पर्ने हुन्छ । सुनलाई धितोको रूपमा राखेर बैंकबाट कर्जा लिनेले सम्बन्धित बैंकमा कर्जाको फारम भर्नु पर्ने हुन्छ । कर्जा लिन चाहनेले आफ्नो तीन पुस्तेसहितको विवरण फारममा ऋण लिन चाहनुको उद्देश्य, धितो राख्ने सुनको परिमाण र कर्जा रकम लगायतका विवरण भर्नु पर्ने हुन्छ । बैंकले धितोको सुनको निश्चित परिमाण ऋण दिने गरेका छन् । बैंकले धितोको अधिकतम् ८० प्रतिशत ऋण दिने गरेका छन् ।
पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आर्यघाटमा उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए । पूर्वसभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको आईतवार ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।
पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर–१५ निवासी हिरण्य न्यौपानेले बताए । धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पुर्याउँदै आएका थिए । ‘पुलमै भ्वाङ परेपछि यात्री बोक्ने चार चक्के कुनै पनि गाडी चलेका छैनन्’, स्थानीय न्यौपानेले भने, ‘जनताले साह्रै दुःख पाए, सरकारले पुल मर्मत गर्ने या अर्को पुल बनाउने बारेमा कुनै चासो दिएन ।’ भूटान, भारतको सिक्किम, दार्जिलिङ, कोलकाता, आसाम लगायतका स्थानबाट नेपाल आउने पर्यटकले चन्द्रगढी विमानस्थल प्रयोग गर्न सोही सडक प्रयोग गर्दै आएका थिए । अब उनीहरुले विर्तामोड र चारआलीको अर्को लामो सडक प्रयोग गर्नुपरिरहेको छ । ज्यामिगरढी क्षेत्रबाट चन्द्रगढी र भद्रपुरका विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थी यातायात अवरुद्ध हुँदा सकसमा परेका छन् । भद्रपुर र चन्द्रगढीबाट आउने विद्यालयका गाडीले पुलको पश्चिमी किनारामा विद्यार्थीलाई ओरालेर फर्किने गरेका छन् । आफ्ना छोराछोरीलाई लिन ज्यामिरगढीका अभिभावक पुलसम्मै मोटरसाइकल र सिटी सफारी लिएर पुग्न बाध्य छन् । यसैबीच भद्रपुर र मेचीनगर नगरपालिकाका नगर प्रमुखद्वय गणेश पोखरेल र गोपाल बुढाथोकीले आइतबार भ्वाङ परेको पुलको निरीक्षण गरेका छन् । विगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ दुवै नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ । ‘एउटा नगरपालिकाले अर्कोलाई देखाएर समस्याबाट फुत्किने जुक्ति मात्र लगाएर हुँदैन’, भद्रपुर–९ निवासी राहुल राजवंशी भन्छन्, ‘करोडौँको बजेट बनाउने नगरपालिकाले भत्किएको पुलसमेत टाल्न नसक्दा यो अवस्था आयो ।’ नगरपालिकाहरुले पूर्वाधार शुल्क भनेर सवारी साधनबाट कर उठाउने गरेको जनाउँदै राजवंशीले पुल मर्मत गर्ने दायित्वबाट दुवै नगरपालिका पन्छिन नहुने बताए । रासस
निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्य गर्न सरकार तथा सरोकारवालालाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएकोतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् । महासंघले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नजिक आइरहेको बताए । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोगमार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि उनको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझावअनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे । अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गरे । लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापनासमेत गरेको छ । सो केन्द्रको आजै अध्यक्ष ढकालसहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गरे । सो केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
यी शेख जसका कारण यूएईको सेयर बजार १ ट्रिलियन डलर नाघ्यो
काठमाडौं । अबुधाबीको शाही परिवारसँग सम्बन्धित कम्पनीहरूमा आएको उछालका कारण संयुक्त अरब इमिरेट्स (युएई) को सेयर बजारको कुल मूल्य १ ट्रिलियन अमेरिकी डलर नाघेको छ । शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको यो बूममा ठूलो भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युएईको सेयर बजारको संयुक्त मूल्यांकन १ ट्रिलियन डलर नाघेको यो पहिलो पटक हो । यसमा दुबई र अबुधाबीको एक्सचेन्ज समावेश छन् । ब्लूमबर्गका अनुसार यो आँकडाले युएईको सेयर बजारलाई मिलान तथा म्याड्रिडको भन्दा ठूलो बनाउँछ । तर, यो साउदी अरबको करिब ३ ट्रिलियन डलरको स्टक मार्केटभन्दा सानो छ । शेख तहनून बिनको चमत्कार यस उपलब्धिमा शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको योगदान महत्त्वपूर्ण रहेकाे जनाइएकाे छ । अबुधाबीका दुई डिप्टी रुलर्समध्येका एक युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रपतिका भाइ शेख तहनून १.५ ट्रिलियन डलरको साम्राज्यका साथ विश्वको सबैभन्दा शक्तिशाली व्यवसायीहरूमध्ये एकको रूपमा उभिएका छन् । यस साम्राज्यमा इन्टरनेशनल होल्डिङ कम्पनी (आईएचसी) पनि समावेश छ, जसका अध्यक्ष शेख तहनूर हुन् । पछिल्ला केही वर्षहरूमा आईएचसी सेयर ४३ हजार प्रतिशतभन्दा धेरैले बढेको छ । यसको बजार पुँजीकरण लगभग २५० बिलियन डलर पुगेको छ, जुन संयुक्त एक्सचेन्जको कुल मूल्यको एक चौथाई हो । आइएचसीले के गर्छ ? अबुधाबी स्टक एक्सचेन्जको तथ्यांकअनुसार आईएचसीमा ८८ प्रतिशत सेयर स्थानीयको रहेको छ । आइएचसी, जसले पहिले माछापालन व्यवसाय गर्थ्यो अब यूएईको अर्थतन्त्रलाई तेलको निर्भरताबाट टाढा राख्ने प्रयासमा सबैभन्दा अगाडि छ । कम्पनी र यसका सहायक कम्पनीले धेरै व्यवसायमा लगानी गरेका छन् । यसमा रिहानाको लान्जरी लाइन, एलन मस्कको स्पेसएक्स र इमिरेट्सको सबैभन्दा ठूलो प्रोपटी डेभलपर पीजेएससी सामेल छ । शेख तहनून फर्स्ट अबुधाबी बैंक पीजेएससीका अध्यक्ष पनि हुन् । यसले सन् २०२३ मा बेलायतको स्ट्यान्डर्ड चार्टर्ड पीएलसीका लागि बिडिङ गर्ने विचार गरेको थियो । अबुधाबीको बेन्चमार्क एफटीएसई एडीएक्स जनरल इन्डेक्समा बैंक र आईएचसीको संयुक्त भार ५० प्रतिशतभन्दा बढी छ ।
२०औं वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सले गर्यो कर्मचारीलाई सम्मान
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव मनाएको छ । यसैबीच कम्पनीमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना गरी कुल ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको थियो । कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको छ । कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हासिल गर्न सफल रह्यो । १०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी २०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ३०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ४०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा २० वर्षको समयमा २० अर्ब रुपैयाँ भन्दा बढीको दाबी रकम भुक्तानी २० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान मर्जर विना २५० करोड रुपैयाँको चुक्ता पुँजी पु-याउने पहिलो बीमा कम्पनी १०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी ६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी
मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो मुक्तिनाथ फाइदा एप
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाईल बैंकिङ सेवाको स्तरवृद्धि गरि थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालन पछि ग्राहकहरुले ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ सेवा उपयोग गर्न सकिने बैंकले उल्लेख गरेको छ । ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होईन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ । ग्राहकहरुले मोबाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्नेछन् । यसका साथै, अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटीएम कार्ड नविकरण, इ–कर्मस कार्ड सक्रिय, भाषा छनौट, विदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने विभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न,आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरू रहेको छ । साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिकलगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यहि मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।
गुरुङ, श्रेष्ठ र राणा मिलेर बनाउने होटलको निर्माण सुरु, दरबारमार्गमा यस्तो बन्दैछ २५ तले होटल
काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला होटल अन्नपूर्ण रहेको थियाे । सोमबार एक विशेष समारोहकाबीच भूमिपूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । ‘भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,’ उनले भने, ‘दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौं । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।’ अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ, जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तीमा पनि ६ अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ । ‘सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौं,’ भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘२०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले पुरानो संरचना भत्काइरहेका छौं । नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौं ।’ साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए । ‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरुङले भने, ‘साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ । धेरै राम्रा कोठा हुनेछन् तर महंगा होइनन् । मूल्य रिजनेबल हुन्छ ।’ आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए ।