विकासन्युज

प्रभु केबलकारले ३० करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको तीस करोड रुपैयाँको आईपीओ जारी गर्ने भएकाे हाे । कम्पनीको आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य अघि बढाउनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि सम्झौतापत्रमा प्रभु केवलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्माले हस्ताक्षर गरे । प्रभु केवलकारको लगानीमा तीनवटा केवलकार परियोजना अगाडि बढेका छन् । जसमध्ये बुटवलमा गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र पाल्पाको नुवाकोटगढी जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आइसकेका छन् । उक्त केवलकारबाट छोटो समयमा नै ७५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यात्रा गरिसकेका छन् । केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ, जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिकलगायत विभिन्न पुरातात्विक सम्पदासमेत रहेका छन् । त्यस्तै, प्रभु केवलकारको लगानीमा सुदूरपश्चिमस्थित बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्कासनका लागि यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५ करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड स्थापित भएकाे थियाे ।

सेयर लगानीकर्ता घरजग्गामा पसेपछि कारोबारमा सुधार, अब चलायमान हुने अपेक्षा

काठमाडौं । कार्तिक महिनामा घरजग्गाको कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको छ । २०८१ कार्तिक महिनामा घरजग्गासम्बन्धी ९७ हजार १ सय ९६ वटा कारोबार भएका छन् । जसमध्ये ३३ हजार ५ सय ११ वटा लिखत पारित भएको छ । गत वर्षको कार्तिक महिनामा घरजग्गासम्बन्धी ७७ हजार १८५ वटा कारोबार हुँदा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत वर्षको सोही अवधिको भन्दा यस वर्षको कार्तिक महिनामा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ । कार्तिक महिनामा देशभर ३३ हजार ४२२ वटा कित्ता कित्ताकाट भएर ७३ हजार ६८ वटा कित्ता कायम गरिएको छ । गत वर्ष ३० हजार ३८७ वटा कित्ता कित्ताकाट गरेर ७० हजार ११६ वटा कित्तामा विभाजित गरिएको थियो । यसरी घरजग्गाको कित्ताकाट र कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार घरजग्गाको कारोबारबाट २०८० कार्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत वर्षको कार्तिक महिनाको तुलनामा २४.९६ प्रतिशत बढी हो । गत वर्षको कार्तिक महिनामा घरजग्गाको कारोबारबाट २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सेयर बजारका लगानीकर्ता घरजग्गा कारोबारतर्फ सोझिएपछि घरजग्गाको कारोबार वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । सेयर बजारमा करेक्सन आएपछि त्यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले घरजग्गामा लगानी गर्न थालेपछि कारोबार वृद्धि भएको नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए । उनले भने, ‘पछिल्लो समय सेयर बजार घट्न थालेको थियो । लागनीकर्ताले सेयरको रकमले घरजग्गामा लगानी गर्न थालेपछि घरजग्गाको कारोबार वृद्धि भएको हो ।’ महासचिव घिमिरेका अनुसार पछिल्लो १५ दिन अर्थात तिहारपछि घरजग्गाको कारोबार वृद्धि भएको हो । तिहारपछि देशभर नै कारोबार वृद्धि भएको उनको भनाइ छ । आगामी दिनमा घरजग्गाको कारोबार निरन्तर बढ्दै जाने उनको दाबी छ । घरजग्गाको कारोबारलाई अझै प्रभावकारी बनाउन सरकारले पनि यस क्षेत्रलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा केही खुकुलो नीति लिएको खण्डमा कारोबार पनि बढ्ने र त्यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि बढ्ने उनको बुझाइ छ । सरकारलाई राजस्व चाहिने तर राजस्व वृद्धि गर्न यस क्षेत्रमा गर्नुपर्ने सुधारात्मक कामहरूमा ध्यान नदिएको गुनासो महासचिव घिमिरेको छ । नेपाल राष्ट्र बैंकले मासिक किस्तामा वैध आम्दानीको ७० प्रतिशतवाला व्यवस्थालाई सच्याउनु पर्ने उनले बताए  । यसैगरी, घरजग्गा खरिद गर्ने जनताले बैंकलाई तिर्ने मासिक किस्ता वैध आम्दानीको ७० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको बताउँदै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । यस्तै, अढाई करोड रुपैयाँसम्मको घर किन्न सरकारले सहुलियत गरिदिएको भएपनि त्यो प्रभावकारी नभएको उनको भनाइ छ । सरकारले एकातिर भन्ने अनि अर्कोतिर व्यवस्थाले कस्ने नीति ल्याएकाले प्रभावकारी हुन नसकेको महासचिव घिमिरेले बताए  । उनले हिसाब गर्दै भने, ‘मानौं अढाई करोडको घर किन्दा एक करोड आफै लगानी गरेर बाँकी डेढ करोड बैंकबाट लगानी कर्जा लिइयो ।डेढ करोडको किस्ता मासिक रूपमा कम्तिमा पनि ३ लाख बढी तिर्नु पर्छ । ३ लाख किस्ता तिर्न मासिक ४ लाख ५० हजारभन्दा बढी वैध आम्दानी हुनु पर्छ ।’ सरकारको यस नीतिअनुसार एउटा सचिवले घरजग्गा किन्न नसक्ने अवस्था छ । सचिवको वैध तलब ७० हजार रुपैयाँको हाराहारी छ । उसले एक करोडको कर्जा लिएको खण्डमा २ लाख रुपैयाँको हाराहारीमा मासिक किस्ता भुक्तानी गर्नुपर्छ । त्यसको लागि उसको वैध तलब ३ लाख हुनु पर्दछ । राष्ट्र बैंकले यस व्यवस्थालाई मात्र सच्याए पनि घरजग्गाको कारोबार ह्वात्तै बढ्ने महासचिव घिमिरेको दाबी छ । यस्तै, महासंघले घरजग्गा व्यवसाय सुधारका लागि सरकारले सुधार्नुपर्ने  विषयहरू समेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । महासंघले अफ्ना विभिन्न ६ मागसहितको पत्र गभर्नरलाई बुझाएको हो । यस्ता छन् माग (१) अनुमति प्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने । (२) कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत गर्नुपर्ने । (३) रियल इस्टेट व्यवसाय गर्ने कम्पनीहरुलाई प्रदान गरिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्नुपर्ने । (४) रियल स्टेट कर्जाको पुनर्तालिकीकरण / पुनर्संरचना गर्नुपर्ने । (५) अर्थतन्त्र चलायमान नभएको वर्तमान परिप्रेक्ष्यमा कर्जाको प्रिमियम घटाउनुपर्ने । (६) रियल इस्टेट कर्जालाई वर्किङ क्यापिटल गाइडलाइन लागू नगर्नका लागि स्पष्ट निर्देशन दिनुपर्ने ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग (सूचनासहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त पेस गर्न आह्वान गरेको छ । सरकारले तोकिएका योग्यता पुगेको व्यक्ति कार्यकारी निर्देशक पदमा उम्मेदवार हुन पाउने गरी सूचना निकालेको छ । कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् । इच्छुक र तोकिएको योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।  

सयपत्री हाइड्रोपावरले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । सयपत्री हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १:१ (एक सेयर बराबर एक सेयर) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय भएको छ । कम्पनीले विद्युत नियमन आयोगसँग हकप्रद निष्कासनको अनुमति मागेको छ । नियमन आयोगले स्वीकृति दिएपछि वार्षिक साधारणसभामा पेस हुनेछ । वार्षिक साधारण सभाले स्वीकृत गरेपछि कम्पनी हकप्रद निष्कासन गर्नेछ । यो कम्पनीको चुक्तापुँजी ३० करोड रुपैयाँ छ । कम्पनी हकप्रद मार्फत प्राप्त हुने रकम ऋण तिर्न र दरम खोला ‘ए’ जलविद्युत् आयोजनाको मर्मतमा खर्च गरिने दाबी गरिएको छ ।

अहिले सञ्चालित उद्योग व्यवसायलाई नयाँ सोचबाट अघि बढाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयांँ नविनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य उनको भनाइ छ । अध्यक्ष ढकालले अहिले सञ्चालित उद्योग व्यवसायहरूलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताए । नयाँ सोचका साथ व्यवसाय बिस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरू सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरूको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको जानकारी दिए । उनले महासंघले इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवर्द्धनमा सघाउ पुर्‍याउन ‘स्टार्टअप एण्ड इनोभेसन फोरम’ गठन गरेको बताए । लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको अध्यक्ष ढकालको भनाइ छ । निर्यात प्रवर्द्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको उनले बताए । ‘विकासउन्मुख देशमा स्तरउन्नति भएको परिवेशमा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयाँ इनोभसन सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य भएको छ । साथै सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको छ,’ अध्यक्ष ढकालले भने । उनले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रक्रियाहरूमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताए । उनले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको पनि उल्लेख गरे ।

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले मंगलबार केन्द्रिय कार्यालय बन्द गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रिय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टी केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुंगानाकोप्रति शोक प्रश्ताव पारित गर्दै २ दिन पार्टीको आधा झण्डा झुकाउने र मंसिर ४ गते मंगलबार पार्टीको केन्दिय कार्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले उनको निधन भएको १३ औं पुण्यतिथिको दिन पार्टी केन्द्रिय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । कांग्रेसद्वारा जारी शोक प्रश्तावमा स्वर्गीय ढुंगानाले मानव अधिकार, न्याय क्षेत्र, बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्याएकाे भएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै लागि उनले पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ । महामन्त्री थापाले भने, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीका फ्रन्टलाईन अस्पतालमा उपचारको क्रममा मंसीर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ ।’ बैठकमा बोल्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुंगानाले पार्टी र सभामुखको रुपमा खेलेको निष्पक्ष भुमिका सदा स्मरणीय रहिरहने बताए । उनले भने, ‘संसद उहाँले निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुपर्यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भईहाल्यो । उहाँको असामयिक निधन भयो ।’ पूर्वसभामुख ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भुमिका निर्वाह गरेका थिए । उनले सभामुखको रुपमा संसद संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यसैगरी स्वर्गीय ढुंगानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उनको सक्रिया भुमिका खेलेको पनि कांग्रेसले जनाएको छ ।

प्रदूषणका कारण दिल्लीका विद्यालय बन्द, विश्व र्‍याङ्किङमा लगातार शीर्ष स्थानमा

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो । आइतबार साँझ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम २.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कणहरू) रेकर्ड गरिएको थियो । सोमबार बिहान यी मात्राहरू चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थिए र सहर बाक्लो खैरो र पीडादायक धुवाँले ढाकिएको थियो । यो सहर प्रत्येक वर्ष पीडादायक धुवाँले ढाकिने गर्दछ । विशेष गरी छिमेकी क्षेत्रहरूमा किसानहरूले जोत्नका लागि आफ्नो खेतहरू सफा गर्न पराल जलाउने साथै कारखाना र सवारीसाधनको धुवाँलाई दोष दिइन्छ । हावाको गुणस्तर ‘अझ बिग्रनबाट रोक्ने प्रयासमा’ सहरका अधिकारीहरूले यी प्रतिबन्धहरू लगाएका हुन् । अधिकारीहरूले बच्चाहरूलाई घरमै राखेर सवारी साधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा राखेका छन् । प्राथमिक विद्यालयहरूलाई बिहीबार व्यक्तिगत कक्षाहरू बन्द गर्न आदेश दिइएको थियो । सोमबार डिजेल सञ्चालित ट्रकहरू र निर्माण कार्य सीमित गर्ने लगायत थप प्रतिबन्धहरू लगाइएको छ । सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिहरूलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ । सहरका धेरैले एयर फिल्टर किन्न सक्दैनन् । उनीहरूसँग हजारौँ समयभन्दा अघि नै मृत्यु हुने कारण मानिएको दुर्गन्धित हावाबाट प्रभावकारी रूपमा जोगिन सक्ने घरहरू पनि छैनन् । यी आदेश सोमबार बिहानदेखि लागू भएका छन् । तीन करोडभन्दा बढी मानिस बस्ने नयाँदिल्ली र यसको वरिपरिको महानगरीय क्षेत्र हिउँदमा वायु प्रदूषणको विश्व र्‍याङ्किङमा लगातार शीर्ष स्थानमा रहन्छ । चिसो तापक्रम र सुस्त गतिको हावाले हरेक हिउँद मध्य अक्टोबरदेखि कम्तीमा जनवरीसम्म घातक प्रदूषकहरूलाई समातेर स्थिति झन् खराब बनाउँछ । भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्यस्तरका अधिकारीहरू दुवैलाई कारबाही गर्न आदेश दिएको थियो ।

जनकपुरधामका शैक्षिक संस्था अनिश्चितकालीन बन्द रहने, शुल्कको विषयमा विवाद

जनकपुरधाम । जनकपुरधामका शैक्षिक संस्था सोमबारदेखि अनिश्चित समयका लागि बन्द भएका छन् । छात्रवृत्तिमा अध्ययनको शुल्कको विषयलाई लिएर हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरूपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरूको माग छ । सो निर्णय अनुसारको शुल्कमा पढाउन नसकिने बताउँदै संगठनहरूले यसअघि १३ भदौ २०८१ मा उपमहानगरपालिकाको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णयनुसार नै लिन पाउनु पर्ने माग गरेको छ । ‘छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुन: २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने,’ तीनवटै संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भतरपुर, विराटनगर, बुटवललगायतकै स्थानजस्तै शुल्क लिन दिन कात्तिक २९ गते जनकपुरधाम उपमहानगरका नगर प्रमुखलाई अनुरोध गर्दा केही पहल नभएकोले तीनवटै संस्थासँग आवद्ध विद्यालयहरू बन्द गर्न बाध्य भएको संगठनहरूको भनाइ छ ।