विकासन्युज

वायुसेवाको जहाज सि-चेकपश्चात् काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन-यएलजेड जहाज सि-चेकपश्चात् सोमबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी नाइन-य एलजेड (मकालु) को जहाज नियमित सि-चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र संघीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल संगठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरु युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताए । उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

घट्यो अमेरिकी डलरको मूल्य, यूरो र पाउण्डको भाउमा निरन्तर गिरावट

काठमाडौं । निरन्तर उच्च बिन्दुमा स्थिर रहेको अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.९६ रुपैयाँ र बिक्रीदर १४२.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.९६ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७६ रुपैयाँ र बिक्रीदर १५२.४४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५७ रुपैयाँ र बिक्रीदर ९६.०० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६१ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८९ रुपैयाँ र बिक्रीदर ३६.०५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९४ रुपैयाँ र बिक्रीदर ३७.१० रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.०७ रुपैयाँ र बिक्रीदर ३०.२० रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२३ रुपैयाँ र बिक्रीदर १२.२९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.८६ रुपैयाँ र बिक्रीदर ४३९.८१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४० रुपैयाँ र बिक्रीदर ३५८.९९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

मन्दीमा अलैँची प्रशोधन उद्योग सञ्चालन, निर्यातमा योगदान पुर्याउने

काठमाडौं । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्डबाट विश्वबजारमा पुर्याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्याउने बताए । उनले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्वबजारमा उच्च माग रहेको भए तापनि यसअघि आफ्नै ब्राण्ड नहुँदा अर्कै मुलुक र अर्कैको ब्राण्डबाट बजार पुगिरहेको चर्चा गरे । उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले नेपाली अलैँचीलाई प्रशोधन गरी निर्यात गर्दा विदेशी मुद्राको आर्जनका साथै स्वदेशमा थप रोजगारीको सृजना हुने बताए । विश्वबजारमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासी व्यापारमा अलैँचीको योगदान उच्च रहेको जनाउँदै यसका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरणका लागि सहजीकरण गर्न केन्द्र तयार रहेको बताए । युएसआइडीको ट्रेड एण्ड कम्पेटीटिभनेसले उद्योगलाई मेसिनरी सहयोग गरेको जनाइएको छ । उक्त दातृ संस्थाका प्रवक्ता जेसन सुकले विश्वबजारमा आर्थिक मन्दी छाइरहेको अवस्थामा स्थापित अलैँची प्रशोधन उद्योगले स्वदेशमा रोजगारी र निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनेमा आफू विश्वस्त रहेको बताए । उद्योगले ‘एभरेष्ट शान’ ब्राण्डमा अलैँची चिया मसला, अलैँची मिश्रित गरम मसला, माउथ फ्रेसनर र अलैँची तेल उत्पादन गरेर तेस्रो मुलुकमा बिक्री गर्न थालिसकेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिए । उनले खाडी मुलुकमा अलैँचीको ठूलो बजार रहेका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए । खाडी मुलुकको युएई, कतार, साउदी अरबलगायत अष्ट्रेलिया, युरोप र अमेरिकामा नेपाली अलैँची र यसका प्रशोधित उत्पादन खपत हुने गरेको उनले बताए ।

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९.२२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार ४ महिना (साउन–कात्तिक) मा ८ हजार ६२.१६४ मेट्रिकटन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७.८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो चार महिनामा २ अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड ३४ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आवको सोही अवधीको तुलनामा अलैँची ११.८७ प्रतिशत, अम्रिसो ११.६६ प्रतिशत, छुर्पी ४१.४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७.९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार भेनियर सिटको निर्यात १४१.९४ र प्लाइउडको निर्यात २९.६३ प्रतिशले बढेको छ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म ४ अर्ब ७२ करोड ७ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७.२२ प्रतिशत हो ।

गलकोटका सबै बस्तीमा पुग्यो सडक

ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब २२० किमी बढी सडक निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किमी ग्रामीण सडक रहेका छन् । नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए । अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे । यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ । गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उनले जानकारी दिए । ‘गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँगाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ,’ प्रमुख गैरेले भने, ‘अधिंकाश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेको ठाउँमा ट्र्याक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौँ ।’ गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको उनको भनाइ छ । नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताए । सात वर्षको अवधिमा करिब २० किमी ढलान तथा कालोपत्र, ८० किमी ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उनले जानकारी दिए । गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताए । दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उनले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सकज भएको उल्लेख गरे ।

कालीगण्डकी करिडोर सडक दैनिक ६ घण्टा बन्द

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक ६ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि ८ दिनसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए । म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनले बताए । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताए । उक्त खण्ड अवरुद्ध हुँदा मालढुङ्गा-बागलुङ-बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताए । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । कुश्मा-१ मालढुङ्गाबाट जलजला गाउँपालिका-८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । १३ किमी दूरीको बेनी-मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी-जोमसोम–कोरला सडक आयोजना र एपेक्स-खड्का-कृष्ण जेभीबीच विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ३० महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ । उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनीअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, यस्तो छ तालिका ?

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । यस्तो छ लिग चरणको खेल तालिका ? मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ । यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौं  गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ । मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ । त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौं गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौं गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ । जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।

बाढीले ९ वटा पुलमा क्षति गरेपछि र्‍याफ्टिङको व्यवस्था

फाइल फोटो काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने ९ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो । सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र मन्सुली घाटको झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक राजुप्रसाद पौडेलले बताए । बाढीले बगाएको खुर्कोट र खैरेनी घाटको पक्की पुलमध्ये खुर्कोटमा सेनाको सक्रियतामा बेलिब्रीज निर्माण गरी सञ्चालनमा आइसकेको छ भने खैरेनीघाटको पुल भने अझै निर्माण सुरु हुन नसकेको उनको भनाइ छ । बाढीले विभिन्न ठाउँको झोलुङ्गे पुल बगाएपछि समस्यामा रहेका स्थानीयको सहजताका लागि खाँडादेवी गाउँपालिकाले पालिकाभित्र ‘र्‍याफ्टिङ’ व्यवस्था गरेको छ । खाँडादेवी गाउँपालिका-१ राकाथुमस्थित दुई वटा झोलुङ्गे पुलमा बाढीले क्षति गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए । पुल बाढीले बगाएपछि तत्कालका लागि र्‍याफ्टिङमार्फत कोसी वारपार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुल बगाएपछि शिक्षा, स्वास्थ्य उपचारलगायतमा सहज सेवा लिन स्थानीयलाई समस्या भएपछि स्थानीयको मागअनुसार अस्थायी रुपमा रयाफ्टिङ सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । सुनकोसीमा आएको बाढीले झोलुङ्गे तथा पक्की पुलसमेत बगाएपछि गाउँपालिकाका विभिन्न स्थानका नागरिक समस्यामा परेका छन् । सोही पालिका–४ स्थित पुछिघाटको पुलमा बाढीले क्षति पु¥याएपछि खाल्टेमा अध्ययन गर्न जानेआउने विद्यार्थी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । खाँडादेवी गाउँपालिकाको कोथबे, पुछिघाट लुवु, डप्खालगायत स्थानका माझी समुदायले कोसी वारपार गर्न र्‍याफ्टिङ बोर्डको माग गरेका छन् । गाउँपालिकाले कोथबे र लुवुघाटका माझी समुदायलाई कोसी वारपार गर्ने सुविधाका लागि र्‍याफ्टिङ बोर्ड उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताए । उनले तालिम प्राप्त र्‍याफ्टिङ चालको अनुमति लिएका चालकबाट ‘लाइफज्याकेट’ प्रयोग गरी स्थानीयलाई आवतजावतको सुविधा दिने व्यवस्था गरिएको जानकारी दिए । र्‍याफ्टिङले स्थानीयलाई स्वास्थ्योपचार सेवा लिन तथा कृषिकर्मका लागि कोसी वारपार गर्न केही भए पनि सहज भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाइ छ ।