नेपाल प्रहरीका चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फ रिक्त रहेको तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पदमा सोही समूह र उपसमूहका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरीका अनुसार यी तीन जना नै नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् ।
करोडौंको निजी विमान र तीन दर्जन लक्जरी कार भएका धनाढ्य राष्ट्रपति, विदेशमा पनि लगानी
काठमाडौं । के तपाईंले बोला अहमद टिनुबुको नाम सुन्नु भएको छ ? उनी नाइजेरियाका राष्ट्रपति हुन् । उनको सम्पत्ति सुनेर धेरै मानिस आश्चर्यमा पर्छन् । सन् १९९१ देखि राजनीतिक करिअर सुरु गरेका टिनुबु विश्वकै धनी राजनीतिज्ञमध्ये एक हुन् । उनी २०२३ मा नाइजेरियाको १६औं राष्ट्रपति बनेका थिए । राजनीतिबाहेक टिनुबु व्यापारको दुनियाँमा पनि ठूलो नाम हो । उनीसँग निजी विमान, हवेली र ३० भन्दा बढी लक्जरी कार छन् । यति मात्र होइन, उनको बेलायत र अमेरिकालगायत विभिन्न देशमा पनि सम्पत्ति छ । हाल उनी ७२ वर्षका भए । करोडौंको निजी विमान टिनुबुसँग निजी विमान छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसको मूल्य २१.७ बिलियन नाइजेरियन नायरा (करिब ११८ करोड रुपैयाँ) रहेको छ । टिनुबुले आफ्नो निजी विमान देशभर लामो यात्रा र अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्दछन् । ३० भन्दा बढी लक्जरी कार शौखिनको मामिलामा टिनुबु विश्वका अन्य धनाढ्यभन्दा कम छैनन् । उनीसँग ३० भन्दा बढी लक्जरी कार छन् । यी कारहरूमा जीप प्राडो र ल्यान्ड रोभरजस्ता विश्वका महँगा कार समावेश छन् । यसबाहेक उनको कार कलेक्शनमा बीएमडब्ल्यू, फर्ड, लेक्सस, मर्सिडिज बेन्ज र पोर्च पनि पर्छन् । विदेशमा पनि सम्पत्ति टिनुबुको नाइजेरियामा मात्र नभई विदेशमा पनि पर्याप्त सम्पत्ति छ । यसमा धेरै हवेली र सपिङ सेन्टर छन् । बेलायत र अमेरिकामा समेत उनका हवेली छन् । नाइजेरियाको राजधानी अबुजामा रहेको हवेलीको मूल्य ६५० मिलियन नाइजेरियन नाइरा (लगभग ५.२८ करोड रुपैयाँ) बताइएको छ । उनी यही महलमा बस्छन् । यसबाहेक नाइजेरियामा उनको अन्य धेरै सम्पत्ति छ, जसको कुल मूल्य करोडौं रुपैयाँ छ । नेटवर्थ कति ? टिनुबु अपार सम्पत्तिका मालिक हुन् । फोर्ब्सको रिपोर्टअनुसार उनको कुल सम्पत्ति करिब ११५ अर्ब नाइजेरियाली नायरा (लगभग ९३७.६ करोड रुपैयाँ) छ । उनको मुख्य आम्दानीको स्रोत उनले राष्ट्रपतिको रूपमा पाउने तलब र व्यापारबाट हुने आम्दानी हो । सञ्चार माध्यमका अनुसार राष्ट्रपतिको रूपमा उनको वार्षिक तलब ५० करोड नाइजेरियन नाइरा (लगभग ४० लाख रुपैयाँ) रहेको छ । टिनुबुले आफ्नो सबै सम्पत्ति भाडामा दिएका छन् । यसबाट उनले हरेक वर्ष करिब ३३० करोड नाइजेरियन नाइरा (लगभग १९.२ करोड रुपैयाँ) कमाउँछन् । टिनुबुको सम्पत्तिलाई लिएर बेलाबेलामा विवाद पनि हुने गर्दछ । उनीमाथि राजनीति र उच्च पदको दुरुपयोग गरी धेरै सम्पत्ति जम्मा गरेका आरोप लाग्ने गर्दछ । (एजेन्सीको सहयोगमा)
चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ
काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने प्रहरीले जानकारी दिएको छ ।
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु अस्पतालमा आई उनीप्रति श्रद्धाञ्जलि प्रकट गर्ने कार्यक्रम छ । अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहेका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ ।
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९ एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सी-चेकको मर्मतसम्भार सम्पन्न गरी विमानले पुन: उडान सुरु गरेको हो । सोमबार बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको हो । मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।
आयातित सामानमा भ्याट छुट नपाउँदा बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माणमा समस्या
काठमाडौं । बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्नसक्ने अवस्था नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूले गत वर्ष देशको पूर्ववर्ती क्षेत्रमा आएको बाढीले क्षति भएको आयोजनाहरूको पुनर्निर्माण र मर्मत गर्ने काम बाँकी रहेको अवस्थामा हालैको बाढीले पुनः जलविद्युत आयोजनाहरूले ठूलो नोक्शानी व्यहोर्नुपरेको व्यवसायीहरूले बताए । यो अवस्थामा राज्यले व्यवसायीलाई सुविधा दिन नसकेको गुनासो गरेका हुन् । उनीहरूले जलविद्युत उत्पादनको अनुमति लिँदा नै विपद् र प्राकृतिक प्रकोपको समयमा क्षति भएका आयोजना निर्माणमा आवश्यक मेसिनरी १ प्रतिशत भन्सारमा सामान आयातमा गर्ने व्यवस्था नपाएको बताए । व्यवसायीहरूले सरकारले आर्थिक विधेयकमार्फत बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा दिँदै आएको भ्याट छुट व्यवस्था खारेज गरेसँगै व्यवसायीहरू विगत दुई वर्षदेखि समस्यामा रहेको बताए । उनीहरूले भ्याट छुट दिने विषयमा अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबीच जुहारी चलिरहनु राम्रो नभएको भन्दै यो विषय चाँडै नटुंगिए निजी क्षेत्रले चाँडै आयोजना पुनर्निर्माण गर्न नसक्ने दाबी छ । बनाउँदै गरेका सामान बगाएर लगेको र उक्त सामान तत्काल आयात गर्नुपर्ने भएकाले सरकारले भ्याट छुटका विषयमा तत्काल निर्णय लिन आवश्यक रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए । उनले बाढीले क्षति पुर्याएका आयोजनाको पुनर्निर्माण गर्न सरकारले भ्याट छुटको सुविधा दिएर सहजीकरण गर्न आवश्यक रहेको जानकारी दिए । उनले आयोजनाको अन्य क्षति बीमामार्फत भुक्तानी हुने भएपनि विद्युतीय सामान आयात गर्दा व्यवसायीले पाउने भ्याट छुट सुविधा दिनुपर्ने बताए । सरकारसँग क्षतिपूर्तिका लागि इलेक्ट्रिकल मेकानिकल सामान ल्याउँदा १ प्रतिशत भन्सार तिरेर समान ल्याउन पाउने व्यवस्था रहेको तर अघिल्लो वर्षको आर्थिक विधेयकमा त्यस्तो व्यवस्था हटाएको बताए । पुरानो व्यवस्था पुनः कायम हुनुपर्ने माग गरे । जलविद्युत व्यवसायीहरूले पाउनुपर्ने अधिकारको रुपमा सरकारले छुट दिनुपर्ने बताए । व्यवसायीले राज्यले दिँदै आएको सुविधालाई कटौती गर्दा १ प्रतिशत भन्सारमा अहिले २८ प्रतिशत भन्सार तिरिरहेको जानकारी दिए । ‘जलविद्युत व्यवसायीले अनुमति लिँदा ऐनले दिएको अधिकार व्यवसायीहरूले लिन नपाउने विषय हुँदैन । व्यवसायीहरुले सामान्य किसिमका सामानहरु २८ प्रतिशत तिरेर पनि ल्याएका छौं’, उनले भने । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जीवि चटौतले जलविद्युत आयोजनाहरुमा बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरु भएको क्षतिको विवरण मन्त्रालयले लिइरहेको बताए । उनले जलविद्युतमा मेसिनहरू ल्याउनको लागि राज्यले १ प्रतिशत भन्सार छुट दिने व्यवस्था अघिल्लो आर्थिक वर्षमा खारेज भएको तर व्यवसायीहरूले माग गरिरहेको बताए । मन्त्रालयले गत वर्षदेखि काम गरिरहेको भएपनि अझै टुङ्गो नलागेको बताए । मन्त्रालयले मन्त्रीपरिषद्मा प्रश्ताव लैजाने तयारी गरेको बताए । भन्सार छुटका विषयमा अर्थ मन्त्रालयको सहमति भएको जानकारी दिए । उनले व्यवसायीहरूले १ प्रतिशत छुट पाउनुपर्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताए । व्यवसायीहरुको विद्युतको सामानको छुटको लागि सिफारिस गर्न दोस्रो पटक भएकाले गर्न समस्या भएको बताए । पुनः भन्सार छुट दिने नयाँ व्यवस्था नहुँदासम्म मन्त्रालयले सिफारिस गरेपनि सम्बन्धित निकायले नछाड्ने र मन्त्रालयले पनि नभएको व्यवस्था सिफारिस गर्न नमिल्ने भएको समस्या भएको जानकारी दिए । ‘जलविद्युत आयोजनाहरुमा बाढी पहिरोका कारण गत वर्ष र अहिले धेरै क्षति गरेको छ ।जलविद्युतमा मेसिनहरु ल्याउनको लागि राज्यले १ प्रतिशत भन्सार छुट दिएको छ । गत वर्षदेखि काम गरिरहेका छौं’, उनले भने । जलविद्युत आयोजनाहरूमा गत वर्ष र यो वर्षगरी दुई वर्षमा ठूलो क्षति भएको छ । गत वर्षको असार १ र २ गते पूर्वका जिल्लामा र यस वर्ष असोजमा आएको भारी वर्षाको कारण आएको बाढीले ठूलो क्षति गरेको छ । यस वर्षको बाढीले २० जलविद्युत आयोजनामा कम्तीमा दुई अर्ब ३९ करोड रुपैयाँको क्षति भएको इप्पानले जनाएको छ ।
नबिल बैंकले विदेशी साझेदार भित्र्याउने, सेयरधनीलाई २.७० अर्ब रुपैयाँ बाँड्ने
काठमाडौं । नबिल बैंकले विदेशी साझेदार भित्र्याउने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्यांकनकर्ता नियुक्त गर्नदेखि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ अर्ब ७० करोड ५६ लाख ९९ हजार रुपैयाँ नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन, बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभाले साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन, संस्थापक सेयरधनी आईएफआईसी बैंक पीएलसी बंगलादेशको प्रतिनिधित्व गर्ने सञ्चालक सइद मन्सुर मुस्तफाको नियुक्तलाई अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित
काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवाली यही असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले ज्ञवालीलाई आगामी तीन वर्षको लागि निर्वाचित गरेको हो । त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्ष मा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रूपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन् त्यस्तै, कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोषाध्यक्षमा मञ्जु गौतम विजयी भएकी छन् । त्यस्तै, सदस्यहरूमा सृष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन् । त्यस्तै, सदस्यहरूमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोष खतिवडा, पूर्णबहादुर कार्की, महिला सदस्य कुसुम राना (निर्विरोध), आदिवासी जनजातिमा गोपालकृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपांगमा रोहित ओली निर्वाचित भएका छन्। तीन चलेको अधिवेशनले लामो समयदेखि अड्किएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै मङ्सिर १ गतेको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो । युनियनमा करिब पाँच सय कर्मचारी आबद्ध छन् ।