३ महिनामा ४ खर्ब बढी रेमिट्यान्स भित्रियो
काठमाडाैं । चालु आर्थिक वार्षको ३ महिनामा नेपालमा भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि भएको छ । यो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.४४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४०४ अर्ब ७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गर्यो साधारण सभा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८औं साधारणसभा आह्वान गरेको छ । साधारणसभा मंसिर २५ गते हुन लागेको हो । साधारणसभाले चुक्ता पुँजीको २५.५० प्रतिशत लाभांश पारित गर्ने बैंकले जनाएको छ । यसैगरी, १९ प्रतिशत नगद र ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा राखिने छ । साधारणसभाका लागि बैंक सञ्चालक समितिले मंसिर ट गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
अवैध रुपमा सञ्चालन भएका टहरामा राखिएका ८२ पसल हटाइयो
काठमाडौं । टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले मंगलबार नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिए । ‘सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएका हौँ’, उनले भने । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उनको भनाइ थियो । नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो । नगरपालिकाले केही दिनअघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।
एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक र क्यानको संयुक्त पहलमा यो प्रायोजन सम्झौता सम्पन्न भएको हो । ब्राण्ड लजिकले यसअघि एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकिएको छ । प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान मा सञ्चालन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रशारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग प्रशारण सम्झौता गरिएको छ ।
अपि इन्फ्राको १२० करोड लगानीमा बन्ने लक्जरी अपार्टमेन्टको शिलान्यास, २ वर्षमा निर्माण सम्पन्न हुने
काठमाडौं । अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको छ । ललितपुरको झम्सीखेलमा सोमबार विशेष पूजापाठ कार्यक्रम गरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरिएकाे हाे । कम्पनीका अनुसार यो परियोजना १ अर्ब २० करोड रुपैयाँको लगानीमा निर्माण हुँदैछ । ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहने कम्पनीले जनाएकाे छ । अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काले जानकारी दिइन् । खड्काका अनुसार कम्पनीले बुकिङ खुला गरिसकेको छ । हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दावी छ । के-के छन् विशेषता ? साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर मोशन सेन्सर, स्मार्ट स्विच, र २४ सै घण्टा पावर ब्याकअप प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने युनिटहरू १ बीएचके युनिट युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी) २ बीएचके युनिटहरू युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)। युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी) युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी) युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी) युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी) ३ बीएचके युनिटहरू युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी) युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)
प्लाष्ट नेपालको आयोजनामा चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी हुने
काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा यही मंसिर १३ गतेदेखी १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । यस प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादनहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडियारसेवा प्रदायकहरुको सहभागिता रहने छ । फाउण्डेशनका अनुसार मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ । यस मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा सहयोग पुर्याउने आयोजकले बताएका छन् । प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरुमा जागरण ल्याउने एवं जानकारी गराउने, प्लाष्टिक उद्योगहरुको जनशक्ति विकास गर्न तालिमरप्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउनेरहस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको परीक्षण र विकास सम्वन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको सम्वन्धमा ३ आरको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरि नेपाललाई प्लाष्टिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित स्थापना भएको प्लाष्ट नेपाल फाउण्डेशनले यस भन्दा अगाडी तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापुर्वक सम्पन्न गरीसकेको छ ।
फेरि पक्राउ परे विवादित व्यवसायी दुर्गा प्रसाईं
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट मंगलबार बिहान पक्राउ गरेकाे हाे । प्रसाईंले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति आएसँगै उनी पक्राउ परेका हुन् । ओली र प्रसाईं कुनैबेला निकै निकट मानिन्थे । यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य टीका संग्रौला लगायतको चरित्र हत्या गरेको आरोपमा गत असोजमा पक्राउ परेका थिए ।
भक्तपुर अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया सुरु
भक्तपुर । भक्तपुर अस्पतालले मोतीबिन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतीबिन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो । प्रदेश सरकारले उपकरण प्रदान गरेपछि सेवा सञ्चालन भएको हो । यसैबीच, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।