‘छोटे-बडे भाइ’ प्रसंग : दिल्लीमा देखिएको दुर्लभ दृश्य
टिप्पणी । बेला बखत विश्व राजनीतिमा छोटे र बडे भाइको प्रसंगले बजार तताउँछ, तरंग ल्याउँछ, तहल्का मच्चाउँछ । विशेषगरी भौगलिक बनावट र ठूलो अर्थतन्त्र भएका देशले साना राष्ट्रलाई हेर्ने संकुचित दृष्टिकोणबाट उद्देलित हुँदै उनीहरू सानालाई ‘छोटे भाइ’को उपमा दिन्छन् । यही फेहरिस्तको पुनरावृत्ति भारतको राजधानी नयाँ दिल्लीमा पनि भयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक कमजोरी र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेको अपरिपक्वताले अन्तर्राष्ट्रिय कुटनीतिमा गम्भीर सवाल उठाएको छ । गत साता अन्तर्राष्ट्रिय सहकारी महासंघको आयोजनामा भारतको नयाँ दिल्लीमा उद्घाटन भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री तोग्बेले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने नाममा अन्तर्राष्ट्रिय जगतमा आलोचना हुने टिप्पणीको अंकमाल गरे । छिमेकी देशको प्रधानमन्त्रीको रूपमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा अतिथि बनेर पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीको तारिफसँगै नाक चुच्चो बनाएर फर्किए । त्यसको बदला प्रधानमन्त्री मोदीले पनि उनको वक्तव्यमा ‘ होस्टेमा हैसे’ लगाउँदै कुटनीतिक कमजोरी प्रदर्शन गरे । सम्मेलनको उद्घाटन कार्यक्रममा अतिथिको रूपमा भारत पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई कार्यक्रमको दौरानमा पटक–पटक ‘बडे भाइ’ ले सम्बोधन गरे । उनले आफू भुटानको प्रधानमन्त्री भएको भुल्दै, भारत भ्रमण आफ्नो ठूलो उपलब्धि भएको भन्दै भ्रमणको अवसर दिने सहकारीमन्त्री अमित शाहलाई दुई हात जोडेरै सम्बोधन गरे । अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा १० मिनेट आफ्नो मन्तव्य राखेका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई सात पटक बडे भाइ भनेर सम्बोधन गरे । उनको सो शब्दमा हलमा उपस्थित साढे चार हजार सहभागी गज्जबले हाँसे । नरेन्द्र मोदी मुस्कुराए । ताली बजाए । तर, भुटानबाट सम्मेलनमा सहभागी भएकाहरू भने आफ्ना प्रधानमन्त्रीको लज्जास्पद अभिव्यक्तिले निराश बने । उनीहरूले न ताली बजाए न त हाँसोमा मुस्कान फिजाए । प्रमुख वक्ताको रूपमा सहभागी प्रधानमन्त्री मोदीले पनि तोग्बेको सम्बोधनमा साथ दिँदै मुस्कानका साथ मन्तव्यको सुरुमै उनलाई ‘मेरा छोटे भाइ’ भनेर भाषणको सुरुवात गरे । दुई देशका प्रधानमन्त्रीबीचको ‘छोटे–बडे भाइ’को सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा भने लज्जितको विषय बनेको छ । दुई राष्ट्रबीचको सम्बन्ध समानताको आधारमा हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता छ । कुनै पनि देशका प्रधानमन्त्री सानो र ठूलो भन्ने हुँदैन । अन्तर्राष्ट्रिय रूपमा सबै देशका प्रधानमन्त्रीको हैसियत समान हुन्छ । दुई देशको सम्बन्धलाई सम्मान, स्वायत्तता र पारस्परिक हितको दृष्टिले हेर्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले भने कुटनीतिक मर्यादालाई भुले । प्रधानमन्त्रीस्तरबाट आउने यस्ता अभिव्यक्तिले कूटनीतिक असमानता झल्काउँछ । यस्तो टिप्पणीले कूटनीतिक वार्ता वा सहयोगमा पनि अवरोध सिर्जना गर्न सक्छ । आर्थिक, भौगलिक वा पूर्वाधार विकासको हिसाबले कुनै देशको हैसियत ठूलो र कुनैको सानो हुनु स्वाभाविक हो । तर, अन्तर्राष्टिय मञ्चमा प्रधानमन्त्रीको हैसियतले धारणा राख्दा हरेक शब्दमा ध्यान दिनुपर्छ । एक अर्कालाई सम्मान र बराबरीको हैसियतको सन्देश सम्प्रेषण गर्न सक्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले ‘छोटे-बढे’को उपमा दिँदै कुटनीतिको खिल्ली उडाए । यसले भुटानका जनतामा वितृष्णा पैदा गर्छ भने आत्मसम्मानमा आँच पुर्याउँछ । हरेक देशका नागरिकको पनि समान हैसियत हुन्छ चाहे त्यो विकसित देश होस् वा विकासोन्मुख । बेला बखत भारतले नेपाललाई पनि छोटे भाइले सम्बोधन गर्ने प्रयत्न्न गर्छ । तर, नेपालले भने त्यसलाई अनुसरण गरेको छैन । नेपालले आफूलाई एउटा स्वायत्त र स्वतन्त्र राष्ट्रको रूपमा आफूलाई चिनाइरहेको छ । भारत र नेपालबीच रोटी–बेटीको सम्बन्ध भए पनि नेपाले छोटे भाइको उपमा भने स्वीकार गरेको छैन । छोटे र बडे भाइको सम्बन्धले भने नेपाल र भारतबीचको सम्बन्धलाई थप जटिल भने बनाउँदै गएको छ ।
मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं, ३३ वर्षको बैंकिङ अनुभव
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको कम्पनीका वरिष्ठ प्रवन्धक विशाल श्रेष्ठले जानकारी दिए । यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् । नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ । हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक हुन् ।
नेपाल इन्डिया चाइना एक्सपो- २०२४ फागुन १२ देखि सुरु, १ हजार बढीको सहभागिता रहने
काठमाडौं । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो (मेला) आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य हुने छ । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी १ हजार बढीको सहभागिता रहनेछ। उनले एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठुला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको बताए । ‘नाइस फर माइस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभइ माईस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ । एक्स्पोका संयोजक सुनिल भट्टराईले छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटनसम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एव् सङ्घ संस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताए । नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले दुई ठूला पर्यटन स्रोतबजारका क्रेता र विक्रेतालाई जोडेर पर्यटकीय गतिविधि र अनुभव आदानप्रदान गर्ने सो कार्यक्रम पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नाईस कार्यक्रमलाई विशेष र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताए ।
आईपीओ ल्याउँदै मोरु डिजिटल वालेट, कम्पनीले अघि बढायो प्रक्रिया
काठमाडौं । मोरु डिजिटल वालेटले आफ्नो सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी थालेको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीका रूपमा परिवर्तन हुँदै नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको आवश्यक प्रक्रिया पूरा गरेर आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) ल्याउने योजना बनाएको छ । कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढिसकेको मोरुका सञ्चालक ऋषिराम अधिकारीले जानकारी दिए । नियामक निकायहरूको स्वीकृति प्राप्त गरेपछि आईपीओ ल्याउने उद्देश्य रहेको उनले बताए । मोरुले सार्वजनिक गरेको पेमेन्ट लेजर र च्याटजस्ता सुविधाले ग्राहकको कारोबारमा सुधार ल्याएको अधिकारीको दाबी छ ।
ओपन एआई भर्सेस मस्क : अदालतमा मुद्दा दर्ता, एआई कोल्ड वारको सुरुवात
काठमाडौं । अर्बपति एलन मस्कले संघीय अदालतमा निवेदन दर्ता गर्दै ओपन एआईलाई पूर्ण रूपमा नाफामूलक व्यवसायमा रूपान्तरण हुनबाट रोक्न आग्रह गरेका छन् । मस्क, उनको एआई स्टार्टअप एक्सएआई र पूर्व ओपन एआईका बोर्ड सदस्य शिवोन जिलिसको प्रतिनिधित्व गर्ने वकिलहरूले शुक्रबार ओपन एआई विरुद्ध प्रारम्भिक आदेशको लागि निवेदन दर्ता गरेका हुन् । यो नयाँ मुद्दाले मस्क, ओपनएआई र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानबीचको कानुनी विवादलाई थप बढाएको छ । यस मुद्दामा टेक लगानीकर्ता रिड हफम्यान र माइक्रोसफ्ट पनि समावेश भएका छन् । मस्कले २०२४ को मार्चमा सान फ्रान्सिस्को राज्य अदालतमा पहिलो पटक ओपनएआईविरुद्ध मुद्दा दर्ता गरेका थिए । पछि उनले यो मुद्दा फिर्ता लिएर संघीय अदालतमा पुनः दर्ता गरे । संघीय मुद्दामा मस्कका वकिलहरूले ओपनएआईले कानुन उल्लङ्घन गरेको दाबी गरेका छन् । मस्कका वकिलहरूले आफ्नो उजुरीमा ओपनएआई र माइक्रोसफ्टले प्रतिस्पर्धाविरोधी कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन् । साथै च्याटजीपीटी निर्माणकर्ताले लगानीकर्ताहरूलाई प्रतिस्पर्धी कम्पनीहरूमा लगानी नगर्न सहमत गराएको पनि आरोप लगाइएको छ । माइक्रोसफ्टले भने यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । ओपनएआई हालैका वर्षहरूमा सबैभन्दा ठूलो स्टार्टअपहरूमध्ये एकको रूपमा उभिएको छ । च्याटजीपीटी निकै प्रसिद्ध भएको छ र यसले एआई र सम्बन्धित ठूला भाषा मोडलहरूमा निकै उत्साह ल्याएको छ । मस्कले २०२३ को जुलाईमा एक्सएआईको डेब्यू घोषणा गरेदेखि उनको नयाँ एआई व्यवसायले आफ्नो ग्रोकबाट च्याटबोट जारी गरेको छ । वकिलहरूले ओपनएआईले लगानीकर्ताहरूलाई ‘समूह बहिष्कार’ मा सहमत हुन आग्रह गरेको सर्तहरू ‘एक्सएआईको आवश्यक लगानी पुँजीमा पहुँच रोक्ने बताउँछन्। ओपनएआईका प्रवक्ताले एलनको यो चौथो प्रयास एउटै आधारहीन आरोपमाथि आधारित भएको र बेतुकको भएको बताए । ओपनएआई २०१५ मा गैर-नाफामूलक संस्था रूपमा स्थापना भएको थियो र २०१९ मा सीमित नाफामूलक मोडलमा रूपान्तरण भयो । अहिले ओपनएआईले पूर्ण रूपमा नाफामूलक सार्वजनिक लाभकारी संस्थामा रूपान्तरणको प्रक्रिया अघि बढाइरहेको छ । माइक्रोसफ्टले ओपनएआईमा लगभग १४ बिलियन डलर लगानी गरिसकेको छ, तर हालैको वित्तीय विवरणअनुसार यसले १.५ बिलियन घाटा बेहोर्नुपरेको छ । जनरेटिभ एआई बजार, जसले आगामी दशकभित्र १ ट्रिलियन आम्दानी पार गर्ने अनुमान गरिएको छ । मस्कका वकिलहरूले दायर मुद्दामा भनेका छन् कि ओपनएआईले माइक्रोसफ्टसँगको साझेदारीको माध्यमबाट अवैध रूपमा प्रतिस्पर्धात्मक जानकारीको फाइदा उठाएको छ। एन्थ्रोपिक, एक्सएआई र गुगलजस्ता जस्ता कम्पनीहरूले ओपनएआईलाई चुनौती दिइरहेका छन् अक्टोबरमा, ओपनएआईले स्टार्टअपको मूल्य १५७ बिलियन डलर रहेको प्रमुख फन्डिङ बन्द गरेको थियो । थ्राइभ क्यापिटलले फाइनान्सिङको नेतृत्व गरेको थियो भने माइक्रोसफ्ट र एनभीडीयालगायतका लगानीकर्ताहरूले पनि सहभागिता जनाएका थिए । (एजेन्सीहरूको सहयोगमा)
‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड
काठमाडौं । एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात पारेको हो । अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई ‘लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको थियो । नेपालमा फोटोन ईभीको बिक्रीमार्फत दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गरेवापत यो अगार्ड प्रदान गरिएको हो । यसैगरी, एमएडब्लू वृद्धी कमर्शियलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुषार गुप्तलाई एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्रदान गरिएको थियो । यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्ने कम्पनीले जनाएको छ । अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए । प्रतिष्ठित व्यक्तित्वबाट प्राप्त यी अबार्डले एमएडब्लू ग्रुपको ईभी उद्योगमा विश्वव्यापी प्रभावलाई जोड दिने विश्वास लिइएको छ । नेपालमा ‘इनर्जी–इफिसियन्ट’ गतिशीलतालाई अगाडि बढाउन एमएडब्लू ग्रुपको अटल समर्पणलाई अवार्डले थप पुष्टि गरेको कम्पनी भनाइ छ । फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदानलाई स्वीकार गरेको जनाइएको छ । यी अवार्डले ईभी क्षेत्रमा ट्रेन्डसेटरको रूपमा समूहको प्रभाव र हरित भविष्यलाई आकार दिने प्रतिबद्धतालाई समेत जोड दिने बताइएको छ ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ५० अर्ब उठाउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ। बजारमा अत्यधिक तरलता भएपछि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोल विधिमार्फत् २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको निक्षेप व्यवस्थापन गर्न राष्ट्र बैंकले तरलता खिच्न लागेको हो । आज दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सकिने बैंकले जनाएको छ ।
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
काठमाडौं । विभिन्न चार देशका राजदूहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।