निर्धन उत्थान लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा/नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरू अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरू स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घट्यो
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ । देशको केन्द्रीय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो घटक विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ४३ करोड डलरले घटेर ५६६.७९१ अर्ब डलर पुगेको भारतीय रिजर्भ बैंकले जनाएको छ । तर समग्र सुनको सञ्चिति १ अर्ब ८२८ करोड डलरले बढेर ६७ अर्ब ५७३ करोड डलर पुगेको छ । अघिल्लो साता (नोभेम्बर १५ मा समाप्त भएको) मा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ बिलियन डलरले घटेको थियो । जसलाई एक सातामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट भनिएको थियो । सेप्टेम्बरमा ७०४.८८५ बिलियन डलरको सर्वकालीन उच्चमा पुगेको विदेशी मुद्रा सञ्चिति धेरै सातादेखि घट्दै गइरहेको थियो ।
समृद्धि फाइनान्सको सीईओमा लोहोनी पुन: नियुक्त
काठमाडाैं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको यसअघिको कार्यकाल मङ्सिर १४ गते सकिएको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागू हुनेगरी उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले लोहनीलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।
सिटी होटलले ऋण तिर्न हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंसिर १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि हालको चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रदसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गरिने होटलले जनाएको छ ।
सानिमा रिलायन्स लाईफले सुरु गर्यो पुनर्जागरण अभियान
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।
उपनिर्वाचन : ४१ पदका लागि ३७६ जनाको प्रतिस्पर्धा, दुई दिनभित्रै मतपरिणाम
काठमाडौं । आज देशभरका विभिन्न ठाउँमा स्थनीय तहको उपनिर्वाचन भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण ढंगबाट अगाडि बढिरहेको बताइएको छ । विभिन्न ठाउँमा ४१ पदका लागि ३७६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट ३७६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । विभिन्न ठाउँमा भइरहेको मतदान शान्तिपूर्ण ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको र शान्तिपूर्ण ढंगबाट भइरहेको बताए । अहिले उपनिर्वाचनलाई लक्षित गर्दै नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेका छन् । उनीहरु आफ्ना समथर्थकलाई मतदान गर्न मतदातालाई आग्रह गरिरहेका छन् । निर्वाचन आयोगले दुई दिनभित्र निर्वाचनको मतपरिणाम आइसक्ने जानकारी दिएको छ ।
लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ६ करोड १० लाख १८ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव पियुस राज अर्यालले जानकारी दिए । यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
युनिक नेपाल लघुवित्तले लाभांश नदिने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । मंसिर १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।