घट्यो अन्डाको मूल्य, प्रतिक्रेट कति ?
काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघकाअनुसार यसअघि कात्तिक २० गते तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको छ । संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ । यस्तै ठूलो अन्डाको भाउ ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ । यसअघि ५ सय ५ रुपैयाँ थियो । त्यसैगरी सबैभन्दा ठूलो (एक्सएल) अन्डाको भाउ भने नयाँ तोकिएको छैन । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । आइतबार सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ । शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम, जेठभित्र सम्पन्न गर्ने
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०-१३२ केभी र १३२-११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी जडान भइरहेको छ । नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि उपकरणहरुको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले भने, ‘४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरुको विद्युत यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती ४०० केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ, हिउँदयामका खिम्तीतर्फबाट काठमाडौं उपत्यकामा थप विद्युत् ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप विद्युत् पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ,त्यसैले सबस्टेसन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रुत गतिमा अगाडि बढाऔं ।’ खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४०० केभी सबस्टेसन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माणाधीन छन् । तामाकोशी–काठमाडौँ २२०-४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाडौ प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताए । खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये ११७ वटा जग हालिएको छ । ११५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी १ वटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये ११८वटाको जग हालिएको छ । ११७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ । खिम्ती–बाह्रबिसे–काठमाडौं हुँदै प्रवाह भएको विद्युत्लाई काठमाडौं उपत्यककामा छिराउन लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ । स्थानीयको अवरोधका कारण निर्माण प्रभावित छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि लप्सीफेदीबाट विद्युत्लाई नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) भुमहीस्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।
लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्यो एनसेल
काठमाडौं । नेपाल प्रिमियम लिग (एनपीएल)को टिम लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल बनेको छ । आइतबार लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरे । अध्यक्ष जीसीले यो सम्झौता क्रिकेटको विकासका लागि भएको बताए । उनले भने, ‘यो सम्झौता क्रिकेटको विकासको लागि हो । यो एउटा लुम्बिनी रोयल्स मात्रै नभएर, समग्र देशको लागि हो ।’ अध्यक्ष जीसीले एनसेलसँगको सहकार्यले थप हौसला दिने पनि बताए । उनले भने, ‘जति सबल टिम छ, त्यति नै अब्बल स्पोन्सर रहेको छ । एनसेलसँगको सहकार्यले थप हौसला मिल्नेछ ।’ एनसेलका सीईओ कायमुले लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्दा खुसी लागेको विचार व्यक्त गर्दै एनपीएलले नेपाली क्रिकेटमा थप विकास गर्ने बताए । मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । एनपीएलमा आठ टिम समावेश छन् । यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालैमात्र एनपीएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तिकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्याउने विश्वास लिइएको छ । यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । हिजोदेखि सुरु भएको यस एनपीएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
सीईओ क्लब सदस्यबाट नेशनल लाइफ लुम्बिनी प्रदेशका अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्विनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्विनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतज्यूले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको बताए । उनले यो कार्यक्रम मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्विनी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । साथै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको जानकारी गराए । उनले, अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए । समारोहमा सीईओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको जानकारी दिए ।
ऋणको दलदलमा भासिँदै अमेरिका, ट्रम्प र मस्कले जोगाउलान् डलरको सान ?
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अमेरिका तीव्र गतिमा ऋणको भारमा थिचिँदै गएको बताएका छन् । उनको भनाइले सारा अमेरिका तर्सिएको छ । उनले यो समस्या समाधान नभए डलरको मूल्य नरहने चेतावनीसमेत दिए । इकोनोमिक टाइम्सका अनुसार अमेरिकी मुद्रा डलरले आगामी दिनमा ठूलो झट्का सामना गर्न सक्नेछ । किनभने अमेरिकामा ऋणको बोझ लगातार बढिरहेको छ । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्नुअघि नै अमेरिकाको ऋण रेकर्ड स्तरमा पुगेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको हो । यो वर्ष दुई ट्रिलियन डलरले ऋण बढेको छ । जीडीपीको प्रतिशतको रूपमा घाटा खर्च दोस्रो विश्वयुद्धको स्तरमा पुगेको छ । कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन । २४ वर्षमा ६ गुणा ऋण बढ्यो पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो । यो २०१० मा १२.३ ट्रिलियन र २०२० मा २३.२ ट्रिलियन थियो । यूएस कंग्रेसको बजेट कागजातअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । देशको ऋण जीडीपीको करिब १२५ प्रतिशत छ। अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट छ । तत्काल आवश्यक उपायहरू नअपनाएको खण्डमा अमेरिकाको अर्थतन्त्र धरासायी हुनेछ । के मस्क र ट्रम्पले बचाउलान् ? एलन मस्क र डोनाल्ड ट्रम्पबीचको मित्रताबारे सबैलाई थाहा छ । मस्कले चुनावमा ट्रम्पलाई खुलेरै समर्थन गरेका थिए । चुनाव जितेपछि ट्रम्पले मस्कलाई पुरस्कार पनि दिएका थिए । ट्रम्पले ट्रम्प र विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखको रूपमा नियुक्त गरे । यस विभागको काम अनियन्त्रित सरकारी खर्च कटौती गर्ने हो । अमेरिकाको ब्याज भुक्तानी अमेरिकी सेनामा खर्च गर्नेभन्दा बढी भएको मस्क बताउँछन् । उनले यसलाई ठूलो समस्या भनेका छन् । मस्कले अत्यधिक सरकारी खर्चले मुद्रास्फीति निम्त्याउने दाबी पनि गरे । यसलाई सकेसम्म चाँडो समाधान गर्न आवश्यक छ । अन्यथा, डलरको बल छोटो समयमा उल्लेखनीय रूपमा कमजोर हुनेछ । अब डीओजीईले के-कसरी काम गर्छ, त्यो भने हेर्न बाँकी छ ।
राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको बढि रुचाईएको बैंक बनाउन आग्रह गरेका हुन् । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दावी गरे । यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैंकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताए । साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै सीईओले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैंकले आफ्ना सूचकहरुलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराए ।
ओमानसँगको व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर पुर्याउने टर्किएको लक्ष्य, १० सम्झौतामा हस्ताक्षर
काठमाडौं । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पुर्याउने लक्ष्य राखेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताए । यद्यपि यस चरणको समयावधि तोकिएको छैन । एर्दोगानले ओमानी सुल्तान हैथम बिन तारिक अल सइदसँग अंकारामा भएको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । टर्कीका ठेकेदार कम्पनीहरूले ओमानमा हालसम्म ७ अर्ब डलरको परियोजना पूरा गरिसकेको एर्दोगानले बताए । आफ्नो पक्षबाट टर्किए भ्रमण गर्ने पहिलो ओमानी राज्य प्रमुख हैथमले क्षेत्रीय सहयोगलाई बलियो बनाउनुपर्नेमा जोड दिए । हैथमको भ्रमणका क्रममा दुवै पक्षले लगानी, कृषि, स्वास्थ्य, श्रम, संस्कृति, कुटनीति, केन्द्रीय बैंक तथा साना तथा मझौला उद्यमहरूबीचको सहकार्यलगायतका प्रमुख क्षेत्रहरूलाई समेट्ने १० वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।