विकासन्युज

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली साेमबारदेखि चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ । गत असोजमा प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहँदा पनि प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

गृहमन्त्री लेखकले घटाए ‘भिभिआइपी’ बिदाइ र स्वागतमा पदाधिकारी सङ्ख्या

काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ । मन्त्रिपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा कार्यान्वयनमा आएको गृह मन्त्रालयले स्पष्ट गरेको छ । कार्यविधि संशोधनसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदारआउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती भएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । ‘भिभिआइपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थासम्बन्धी प्रस्ताव चार दिनअघि मात्र संशोधनसहित मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,’ सूचना अधिकारी तामाङले भने, ‘भिभिआइपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको हो, सम्माननीय प्रधानमन्त्रीज्यू आज मित्रराष्ट्र चीनतर्फ प्रस्थान गर्नुहुँदा उपस्थिति छरितो देखिएको छ ।’ कार्यविधि संशोधनपछि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा आउँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किंदा उपराष्ट्रपतिसहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । त्यसैगरी, राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको छ । मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर नौजना पदाधिकारीमा सीमित गरिएको छ । नयाँ कार्यविधिअनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था संशोधन भई प्रधानमन्त्रीसहित सातजना उपस्थित हुनुपर्ने व्यवस्था कायम भएको छ । त्यस्तै, विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारी सातबाट घटाएर चार पुर्याइएको छ । अब प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मात्र उपराष्ट्रपतिको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा उपस्थित हुनुपर्नेछ । त्यसैगरी, संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्नेछ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । त्यस्तै, प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित छजना पदाधिकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो । संशोधित नयाँ कार्यविधिअनुसार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन । राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा सभामुख र राष्ट्रियसभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था संशोधनपछि हटेको छ ।

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ । अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै  शूक्रबार कम्पनीकोे प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’ को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रुपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो । अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यवसायिक संस्थाहरुले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गरिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गरिन् । उक्त कार्यक्रममा अर्यालले, लैङ्गिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् । फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गरिन् । फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताइन् । कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत दिप बहादुर वि.सीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे । यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।

रविको पासपोर्ट दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा पेसीमा चढेको छ । सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेसीमा मुद्दाको सुनुवाइ हुँदै छ । युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो । तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ मा मुद्दा नचल्ने निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

३५ दिन भित्र बिजुलीको तारमुनिका संरचना हटाउन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउन आग्रह गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै यस्ता संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो । महानगरको सहरी व्यवस्थापन विभागद्धारा जारी गरिएको सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रसारण लाइन तथा वितरण लाइनको मुनि तथा दायाँबायाँ रहेका संरचना हटाउनुपर्ने छ । सूचनामा विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लघन् भएको पाइएको महानगरले जनाएको छ । खास गरी घर टहरा विद्यालय भवन ग्यारेज पर्खाल जस्ता संरचना प्रसारण लाइनमुनि बनेको पाइएको भन्दै महानगरले त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । ३५ दिनको अवधि दिँदै जारी सूचनामा यस्ता संरचना आफैँ नहटाए महानगरले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ । मापदण्ड अनुसार २३० केभीदेखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १२५ मिटर र सोभन्दा माथिको क्षमताकोमा १.५ मिटर टाढा रहनुपर्ने प्रावधान छ ।

सिद्धार्थ केबलकारले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१२५ अनुपात (अर्थात् १ कित्ता सेयरबराबर नयाँ १.१२५ कित्ता) हकप्रद सेयर निष्कासन गर्दै छ । पुस ४ गतेदेखि मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरूका लागि कम्पनीले १०० रुपियाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रद सेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

कीर्तिपुर–४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन् ।

बीमा कम्पनीले वैदेशिक रोजगार बीमाबाट गरे १ अर्ब बढीको व्यवसाय, सन र एसियन अगाडि

काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री भएको छ । १४ जीवन बीमा कम्पनी (लघु जीवनसहित) ले कार्तिक मसान्तसम्म १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन्। वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार सबैभन्दा धेरै सन नेपाल लाइफले गरेको छ । सन् नेपालले चार महिनामा ४६ करोड ५२ लाख रुपैयाँ बढीको व्यापार गरेको हो । कम्पनीले कार्तिक महिनामा मात्रै १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सन नेपालले वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत कार्तिक महिनामा ३२ हजार ८१ वटा पोलिसी बिक्री गरेको छ । यसैगरी, एसियन लाइफले २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै ८ करोड २६ लाख रुपैयाँको व्यापार गरेको हो । कार्तिक महिनामा एसियन लाइफले १८ हजार ९०४ वटा पोलिसी बिक्री गरेको छ । नेपाल लाइफले ८ करोड ९६ लाख, नेसनल लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्स लाइफले ५ करोड ३४ लाख, सूर्यज्योति लाइफले ५ करोड १७ लाख र रिलायबल लाइफले ४ करोड ३० लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन् । कार्तिक महिनामा नेपाल लाइफले २ करोड १६ लाख, नेसनल लाइफले २ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले १ करोड २८ लाख, सूर्यज्योति लाइफले १ करोड २५ लाख र रिलायबल लाइफले ३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत संकलन गरेका छन् । कुनको कति ?