विकासन्युज

ग्रेट हल अफ पिपलमा प्रधानमन्त्रीको भव्य स्वागत (फोटोफिचर)

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए । अहिले दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा, आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरू, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू छन् ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार तोलामा १ हजार २ सयले घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनचाँदी दुबैको मूल्य बढेको हो । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । सुनको मूल्य बढेसँगै मंगलबार प्रतितोला १ लाख ५० हजार ३ सय र चाँदीको मूल्य १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ । पछिल्लो केही दिन सुनचाँदीको मूल्य एक दिन बढ्ने र अर्को दिन घट्दो क्रममा रहेको महासंघले जानकारी दिएको छ ।

महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफजीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १७ गते संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ । महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

१५ प्रतिशत नगद लाभांश बाँड्ने माउन्टेन इनर्जी नेपालको घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.०७८९५ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन् । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

बयानका लागि रवि लामिछानेलाई चितवन लगियो

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । लामिछानेलाई मंगलबार काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत बयानका लागि चितवन लगिएको हो । चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो। यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६ औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्ति/मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरेको हो । सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्षपदमा सर्वसम्मतिबाट चयन गरेको छ । विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानूनलगायतका मामिला हेर्छन् । विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राजपन्त,स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

रिचार्ज कार्ड अभावको समस्या सुल्झिएको टेलिकमको दाबी

काठमाडौं । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा उक्त समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ । हाल पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भईसकेको उल्लेख गरेको  छ । कम्पनीले केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको भन्दै उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत जिकिर गरेको छ । रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकहरुले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल पोइन्ट अफ सेल्स (एमपोस) र नमस्ते पे, ईसेवा, खल्ती र आइएमईपे लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको बताएको छ । रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीका प्रवक्ता हरि ढकालले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

सिङ्गापुरमा काम गरेर फर्किएका कुमार बस्नेतले दूध बेचेर वार्षिक ३० लाख आम्दानी गर्दै

गलकोट । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन् । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन् । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् । छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाएका थिए । जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उनलाई कहिल्यै पछुताउनु परेको छैन । बस्नेतलाई उनकी श्रीमती अप्सराको दरिलो साथ छ । बीस वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गरेका छन् । दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आएका बस्नेतले मासिक रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिनुभएका उनले बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेको जानकारी दिए । बस्नेतले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेको बताउँदै बजारीकरणको समस्या नरहेको उल्लेख गरे । चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको उनको भनाइ छ । गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेको उनले जानकारी दिए । दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौँ लिटर दूध बिग्रिएर जाने गरेको भए पनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डिसिआर डिसी बागलुङले अनुदानमा प्रदान गरेको ‘डिप फ्रिज’ले राहत पुगेको बस्नेतले बताए । बैंकबाट कृषि कर्जा लिएको भन्दै जानकारी नभई घटबढ हुने व्यजदरले भने सास्ती दिएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल, पशुपालक कृषकसँग काम गर्दै आउनुभएका सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) र साना किसान सहकारी सङ्घसंस्थाबाट प्राप्त प्रोत्साहनले पशुपालनमा लाग्न सहज वातावरण बनाएको बस्नेतले प्रतिक्रिया दिए । गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर एक सय ५० केजी सुडान छरेको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको बताउँदै बस्नेतले लम्पीस्किन रोगले भने तीन वटा गाई र एउटा भैँसी मरेको जानकारी दिए । उनका अनुसार व्यवसाय विस्तारका क्रममा फार्ममा रु ३० लाखभन्दा बढी लगानी पुगिसकेको छ । भारतको विहारबाट रु एक लाख ३० हजार तिरेर भैँसी ल्याएको जनाउँदै बस्नेतले ती भैँसीले एक छाकमा १० लिटरभन्दा बढी दूध दिने उल्लेख गरे । समग्रमा वार्षिक रूपमा रु ३० लाखभन्दा बढी आम्दानी हुने बताउँदै उनले स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । रासस