सिवाईसी लघुवित्तबाट एकैपटक १३ भन्दा बढी संस्थापक बाहिरिँदै, ८६४ रुपैयाँमा सेयर किन्ने मौका
काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्थाबाट एकैपटक १३ जना भन्दा बढी संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्त संस्थामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर १३ संस्थापक सेयरधनी बाहिरिने भएका हुन् । डोलराज खत्रीको ४ हजार ३३१ कित्ता, फुल कुमारी के.सीको ५ हजार ४ सय कित्ता, राजकुमारी लम्सालको ४ हजार ९५४ कित्ता, होमकान्त कोइरालाको ३ हजार ११३ कित्ता, केयरसिंह के.सीको १४ हजार ७५९ कित्ता, विष्णु कुमारी के.सीको ५ हजा ३ सय कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै, चन्द्र बहादुर बस्नेतको २ हजार १६५ कित्ता, खड्ग बहादुर खत्रीको २ हजार ३०१ कित्ता, बुद्धि प्रसाद शर्मा रेग्मीको १९ हजार ९१९ कित्ता, केदार काफ्लेको ५ हजार ४१४ कित्ता, शिव पंगेनीको १० हजार ८२८ कित्ता, डोलराज ढुंगानाको ५ हजार ९५५ कित्ता, सहनशिला रावल भण्डारीको ३ हजार ७४४ कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्तले जनाएको छ । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकेको छ । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ आवेदन अर्थात् पुस २१ गतेसम्म दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकको कार्य भने आरविवि मर्चेन्ट बैंकिङ्गले गर्नेछ । साथै, सोही लघुवित्तले संस्थापक समूहको १८ हजार ३६० कित्ता सेयर बिक्रीमा राखेको छ । लघुवित्तको सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।
विजय लघुवित्तको आयेजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । विजय लघुवित्त वित्तिय संस्थाको आयोजनामा बिद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनको सभाहल गैडाकोटमा आयोजित कार्यक्रममा सो विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडका सञ्चालक खेमराज सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष लोक बहादुर खड्का, सञ्चालक कपिल न्यौपाने, सञ्चालक कमलप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्साल, विद्यालयका उपाध्यक्ष विरभद्र सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत नारायण सापकोटाले गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्सालले वित्तीय साक्षरताको विषयमा प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा वित्तीय साक्षरताको अर्थ, यसको महत्व, सिद्धान्तहरु तथा वित्तीय साक्षरताका क्षेत्रहरुकोविषयमा विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफल गरे । उनले आवश्यकता र चाहाना, पारिवारिक बजेट, वित्तीय लक्ष्य, बचत, कर्जा तथा वित्तीय सेवा प्रदायक संस्थाहरुको बारेमा विस्तृत रुपमा भएको छलफल गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष श्री लोक बहादुर खड्काले निक्षेप तथा कर्जा सुरक्षा, विद्युतीय वित्तीय सेवा र यसको उपयोग, सम्पत्ती शुद्धीकरणको विषयमा जानकारी गराए । सोही अवसरमा मन्तब्य दिनु हुदै संस्थाका सञ्चालक कमल प्रसाद ज्ञावालीले लघुवित्तले वित्तीय पहुँचमा पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए । शुभकामना ब्यक्त गर्दै विद्यालयका उपाध्यक्ष विरभद्र सापकोटाले कार्यक्रम विद्यार्थीहरुका लागि उपयोगी रहेको बताए ।
बलेफी हाइड्रोले मंसिर २७ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने, आयोजनाको ऋण तिर्ने
काठमाडौं । बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हकप्रद सेयरबाट संकलन भएको रकमले आयोजना निर्माण गर्दा बैंकबाट लिएको १ अर्ब ४० करोड रुपैयाँ कर्जा आंशिक भुक्तानी गर्ने, प्रबद्र्धकबाट लिएको ऋण ३० करोड ६४ लाख ४६ हजार रुपैयाँ पूर्ण भुक्तानी गर्ने, ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार रुपैयाँ भुक्तानी गर्नेछ ।
स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, कहाँ को निर्वाचित ?
काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गरे । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ । उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरे । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भएकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन् । सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजय हासिल गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरे । आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५, नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार, जनता समाजवादी पार्टीका राजकुमार राईले दुई सय सात, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले एक सय २३ मत प्राप्त गरेका छन् । मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ । उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन् । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए कहाँ को निर्वाचित ? मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गरे । दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी भएका छन् । उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याए । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित भईन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत प्राप्त गरेकी छिन् । रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाइन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाइन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरे । झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाए । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी बने। उनीसँग एमालेका बुद्धबहादुर लिम्बू तीन सय ६० मत प्राप्त गरी पराजित भए । सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित बने । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी बने । उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल एक सय ७७ मत पाएर पराजित भए । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भएका छन् । उनले नौ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गरे । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनीसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत मात्र प्राप्त गरी पराजित भए । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी बने । उनका प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाए । धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरे । रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गरेकी थिइन् । गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले छ सय ३१ मत पाए । रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित भए। नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए । कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गरे । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित भए । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाए । वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले चार सय ९५ मत पाए । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित भए । गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले चार सय दुई मत मात्र पाए । गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी बने । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत पाए । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी बने । उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत पाए । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी शेरबहादुर थारुले छ सय ७८ मत पाए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित बने । उनको प्रतिस्पर्धी नरबहादुर रोकाले एक सय १६ मत पाए । कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित भइन् । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाए । दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाए । रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित बने। उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले पाँच सय ३७ मत पाए । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा चार सय ८७ मतमा सीमित भए । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले तीन सय एक मत पाए । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित भए । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याए ।
नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार निजहरूको साथबाट नगद २ लाख ७२ हजार ४३० रुपैयाँ, भारतीय रुपैयाँ २ हजार ६३० रुपैयाँ, सुनजस्तो देखिने बिस्कुट ८ थान, विभिन्न पहेँलो धातुको तिलहरी ४ थान र अन्य सुनका गरगहना बरामद भएको छ । निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताए ।
जब पर्यटनमन्त्री पाण्डे मध्यराति त्रिभुवन विमानस्थल पुगे…
काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । आज मध्यराति पर्यटनमन्त्री, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेका हुन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब १५ अर्ब रुपैयाँ खर्च हुने आयोजना कार्यालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सोमबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिपछि बन्ने धावनमार्ग बारे जानकारी लिँदै विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गरे । पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको जनाउँदै निर्धारित समयमा काम सकेपछि विमानस्थलको उडान सेवा प्रभावकारी र थप गुणस्तरीय हुने विश्वास व्यक्त गरे । ‘१० घण्टा विमानस्थल बन्द गरेर निर्माण तीव्र गतिमा सबै क्षेत्रमा भइरहेको छ । आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, अहिलेको युद्धस्तरमा भइरहेको कामले त्योभन्दा पहिला सम्पन्न हुने सङ्केत गरेको छ,’ उनले भने । पर्यटनमन्त्री पाण्डेले हरेक परियोजना समयमा काम नहुने, ठेक्का तोडिने र सडक तथा भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित स्थानीय तह, नागरिक समाजले पनि निर्माण कम्पनीलाई दबाब सृजना गर्नुपर्नेमा जोड दिए । विमानस्थलमा भइरहेको निर्माणको गतिले तोकिएकै समयमा काम सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे । विमानस्थल क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरेर अहिले विमानस्थलको क्षमता अभिवृद्धिको काम भइरहेको बताए । उनका अनुसार तीन सयभन्दा दक्ष जनशक्ति, आधुनिक उपकरणको सहायताले दैनिक १० घण्टा विमानस्थल विस्तारको काम भइरहेको छ । विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको प्रमुख श्रेष्ठले जानकारी दिए । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ । विमानस्थल स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरेर विस्तारको काम गरिएको प्राधिकरणले जनाएको छ । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।
होटल सब्रिनाले १५ करोडको आईपीओ जारी गर्ने, पाँच तारे बन्ने योजना
काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्काशन प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए । ९० करोड रुपैयाँ अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्ता पुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डमा आर्इपीओ निष्काशनको अनुमतिका लागि आवेदन दिने अध्यक्ष निराजन थापाको भनाइ छ । काठमाडौंको बुढानिलकण्ठ ६,गणेश चोकमा रहेको होटेल सब्रिनाले क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नती गर्नका लागि आईपीओ जारी गर्न लागेको हो । साथै कम्पनीको कर्जालाई चुक्ता गर्ने लक्ष्य रहेको अध्यक्ष थापा बताउँछन् । अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दैछ । होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुँदै
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदान लगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन् । चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनेछन । चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उनी बेइजिङ पुगेका हुन् । उनलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेकी छिन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन् ।