२१ निर्माण कम्पनी सरकारको कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको मंसिर १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।
अर्को समस्यामा अनिल अम्बानी, कम्पनीको बैंक र डिम्याट खाता जफत गर्न आदेश
काठमाडौं । ऋणमा डुबेका भारतीय उद्योगपति अनिल अम्बानीको अर्को कम्पनी समस्यामा परेको छ । बजार नियामक भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी)ले रिलायन्स बिग इन्टरटेनमेन्टको बैंक खाताको साथमा सेयर र म्युचुअल फन्ड खाताहरू जफत गर्न आदेश दिएको छ । रिलायन्स बिग इन्टरटेनमेन्टले जरिवाना नतिरेकोमा सेबीले यस्तो आदेश दिएको हो । सेबीले यसअघि नोभेम्बर १४ मा रिलायन्स बिग इन्टरटेनमेन्ट प्रालिलाई एक नोटिस पठाउँदै रिलायन्स होम फाइनान्स लिमिटेडको रकम दुरुपयोगको मामिलामा १५ दिनभित्र बक्यौता तिर्न भनेको थियो । बजार नियामकले बक्यौता असुल गर्नका लागि कम्पनीको बैंक, डिम्याट खाता र म्युचुअल फण्डको फोलियो जफत गर्न आदेश दिएको छ । नोटिसका अनुसार रिलायन्स बिग इन्टरटेनमेन्टले २६ करोड भारु तिर्न बाँकी छ, जसमा ब्याज र वसुली लागत समावेश छ । खातामा रोक सेबीलेले सबै बैंक, डिपोजिटरी र म्युचुअल फन्डलाई खाताबाट कुनै पनि रकम निकाल्न अनुमति नदिन आग्रह गरेको छ । गत हप्ता नियामकले तीन कम्पनीलाई कम्पनीबाट अवैध रकम झिक्ने गरी कुल बक्यौता ७८ करोड भारु असुली गर्न सूचना पठाएको थियो । यी कम्पनीहरू आधार प्रोजेक्ट म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेड, इन्डियन एग्री सर्भिस प्राइभेट लिमिटेड र मोहनवीर हाई-टेक बिल्ड प्राइभेट लिमिटेड हुन् । अगस्टमा सेबीले अनिल अम्बानी, रिलायन्स होम फाइनान्सका पूर्व प्रमुख कार्यकारीहरू र अन्य २४ संस्थाहरूलाई धितो बजारबाट कम्पनीको रकम चोरेकोमा पाँच वर्षको लागि प्रतिबन्ध लगाएको थियो । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको थियो । गत भदौमा अनिल अम्बानीको एउटा कम्पनी ऋणमुक्त भएको थियो । रिलायन्स पावरको सहायक कम्पनी रोजा पावर सप्लाई कम्पनीले सिंगापुरको ऋणदाता भेर्डे पार्टनरलाई ४८५ करोड भारु ऋण चुक्ता गरेसँगै रोजा पावर ऋणमुक्त कम्पनी बनेको थियो । अनिल भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ हुन् । (एजेन्सीको सहयोगमा)
ग्लोबल आइएमई बैंकबाट दुई ठूला सेयरधनी बाहिरिए, गौरी श्रेष्ठ भित्रिइन्
काठमाडौं । ग्लोबल आइएमई बैंकबाट दुई ठूला सेयरधनी बाहिरिएका छन् । बैंकका संस्थापक सेयरधनी रहेका मङ्गल कलश इन्भेष्टमेन्ट प्रालि र डम्बरबहादुर मल्लले गत वर्ष आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिएका हुन् । आर्थिक वर्ष २०७९/८० मा मङ्गल कलश इन्भेष्टमेन्टको १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता र डम्बरबहादुर मल्लको ०.६३ प्रतिशत अर्थात् २२ लाख ४७ हजार १९७ कित्ता सेयर स्वामित्व थियो । तर, गत आव २०८०/८१ को तथ्याङ्कमा भने यी सेयरधनीको नाम छैन । यस्तै, बैंकमा नयाँ संस्थापक सेयरधनीको सूचीमा गौरी श्रेष्ठ थपिएकी छन् । उनले गत वर्ष बैंकको ०.५७ प्रतिशत अर्थात् २० लाख ५८ हजार ९३२ कित्ता सेयर खरिद गरेर ठूला लगानीकर्ताको सूचीमा थपिएकी हुन् । गत असोजसम्म ग्लोबल आइएमई बैंकमा १९ जना सेयरधनीहरूको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको छ । कर्मचारी सञ्चय कोषको ४.७४ प्रतिशत अर्थात् १ करोड ७१ लाख ४१ हजार २५१ कित्ता सेयर स्वामित्व छ । यस्तै, आइएमई होल्डिङ्ग्स प्रालिको २.७८ प्रतिशत अर्थात् १ करोड ३८ हजार २२७ कित्ता र आइएमई इन्भेष्टमेन्ट प्रालिको २.५१ प्रतिशत अर्थात् ९० लाख ५६ हजार ७५ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । अघिल्ले वर्ष पाँचौं नम्बरमा रहेका सुमितकुमार अग्रवाल गत वर्ष भने चौंथो ठूलो सेयरधनी बनेका छन् । अग्रवालको बैंकमा १.८२ प्रतिशत अर्थात् ६५ लाख ८१ हजार ४८८ कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो अग्रवालको १.४० प्रतिशत अर्थात् ५० लाख ३ हजार ७८५ कित्ता सेयर थियो । तर, अघिल्लो वर्ष चौथो ठूला सेयरधनी रहेका विष्णुप्रसाद न्यौपाने गत वर्ष भने पाँचौं नम्बरमा झरेका छन् । गत वर्ष न्यौपानेको १.४१ प्रतिशत अर्थात् ५० लाख ८३ हजार ९०६ कित्ता सेयर स्वामित्व छ । यस्तै, बैंकमा कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको १.१५ प्रतिशत अर्थात् ४१ लाख ६३ हजार ५३४ कित्ता सेयर स्वामित्व छ । तर, गत वर्ष बैंकमा उत्तमकुमार नेपालको स्वामित्व भने घटेर ०.९३ प्रतिशत अर्थात् ३३ लाख ६२ हजार ९७४ कित्तामा झरेको छ । अघिल्लो वर्ष नेपालको ०.९५ प्रतिशत अर्थात् ३३ लाख ९१ हजार ८५१ कित्ता सेयर स्वामित्व थियो । यस्तै, नागरिक लगानी कोषको ०.९२ प्रतिशत अर्थात् ३३ लाख १८ हजार ६४८ कित्ता, रणबहादुर शाहको ०.७८ प्रतिशत अर्थात् २८ लाख ३२ हजार १८७ कित्ता, निमिषा इन्भेष्टमेन्ट प्रालिको ०.७४ प्रतिशत अर्थात् २६ लाख ८२ हजार ३२१ कित्ता, होमल्यान्ड डेभलपर्सको ०.७३ प्रतिशत अर्थात् २६ लाख २७ हजार ८३९ कित्ता सेयर स्वामित्व छ । यस्तै, हेमराज ढकालको ०.६७ प्रतिशत अर्थात् २४ लाख २६ हजार ३४७ कित्ता, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत अर्थात् २२ लाख ९५ हजार ५६९ कित्ता, कामधेनु इन्भेष्टमेन्टको ०.६२ प्रतिशत अर्थात् २२ लाख ४१ हजार ९५८ कित्ता, रिता मल्लको ०.५६ प्रतिशत अर्थात् २० लाख १७ हजार ८१७ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । यस्तै, शारदा देवीको ०.५३ प्रतिशत अर्थात् १८ लाख ९७ हजार ६८१ कित्ता र सन्दीप अग्रवालको ०.५२ प्रतिशत अर्थात् १८ लाख ७१ हजार ७६८ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । गत असारसम्म बैंकमा सर्वसाधारणको ४८.७६ प्रतिशत, अन्य संस्थाहरूको १४.८७ प्रतिशत, अन्यको ३६.३० प्रतिशत र नेपाल सरकारको ०.०८ प्रतिशत बराबरको स्वामित्व छ ।
सिलीगुडी-झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
काठमाडौं । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । उनीहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका थिए । यसैबीच, सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताएको मन्त्री भण्डारीले नयाँदिल्लीबाट बताए । त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएका उनले बताए । भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
नेपाल र चीनबीच यी ९ समझदारी पत्रमा हस्ताक्षर, टोखा-छहरे सुरुङमार्ग निर्माणदेखि नगद सहयोग गर्ने
काठमाडौं । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आज हस्ताक्षर भएको हो । यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी -टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान -नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान -९ तले बसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान -भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर -विकास योजनासम्बन्धी समझदारीपत्र -आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र -नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान -स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र -नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी)बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
डीआईटी सोलुसन र आदिम कलेजबीच सहकार्य हुने, विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउने
काठमाडौं । दुर्गा इन्फर्मेसन टेक्नोलोजी सोलुसन प्रालि (डीआईटी सोलुसन) र चाबहिलस्थित आदिम नेशनल कलेजबीच समझदारी भएको छ । दुईबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, इन्टर्नशीप र रोजगारीको अवसर प्रदान गर्न सहकार्य गर्ने समझदारी भएको हो । शैक्षिक र व्यावसायिक क्षेत्रबीचको खाडल पुर्ने उद्देश्यले सहकार्य हुने भएको हो । दुवै संस्थाहरूले विद्यार्थीलाई उद्योगमै प्रयोग हुने सीपहरू सिकाउने र उनीहरूलाई रोजगारीका लागि तयार गर्ने प्रतिबद्धता जनाएका छन् । डीआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले यस सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन् । आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मीना भट्टाराईले यो सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करिअरमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेकी छन् । डीआईटी सोलुसन र आदिम नेशनल कलेजबीचको यो सहकार्यले आईटी शिक्षा र उद्योगको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत गर्नेछ । यसले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। समझदारीका मुख्य विशेषताहरू इन्टर्नशीप कार्यक्रम: विद्यार्थीहरूलाई संरचित इन्टर्नशीप अवसर प्रदान गरिनेछ जसले उनीहरूलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुग्नेछ । रोजगारीका अवसरहरू: योग्य स्नातकहरूलाई रोजगारीमा प्राथमिकता दिइनेछ । विद्यार्थीको प्रदर्शन र संस्थाको आवश्यकतालाई ध्यानमा राखेर रोजगारीका अवसरहरू सिर्जना गरिनेछ । सीप विकास: उद्योगका विशेषज्ञहरूद्वारा तालिम र कार्यशाला सञ्चालन गरिनेछ। विद्यार्थीहरूले प्रत्यक्ष परियोजनामा सहभागी भई अनुभव बटुल्न सक्नेछन् । ज्ञान साझेदारी: नयाँ प्रविधि र आईटी क्षेत्रका ट्रेन्डबारे अतिथि व्याख्यान र परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । कलेजले योग्य विद्यार्थीहरूलाई नामांकित गराउन सहयोग गर्नेछ । यो सहकार्यले विद्यार्थीहरूलाई के-के फाइदा ? प्रत्यक्ष परियोजनामा अनुभव उद्योगका विशेषज्ञहरूसँग नेटवर्किङको अवसर रोजगारीका लागि तयार हुने व्यावसायिक सीप
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
बेइजिङ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेका हुन् ।
आइतबारसम्म काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती जाने
काठमाडाैं । काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य जारी रहेकाले काठमाडौंका विभिन्न क्षेत्रमा आगामी आइतबारसम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य जारी छ । जसको कारणले आज मंगलबारदेखि आइतबारसम्म ६ दिन दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आज मंगलबार स्वयम्भू क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ भने भोलि बुधबार कलंकीदेखि थानकोट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ । यसैगरी, बिहीबार स्वयम्भू क्षेत्र, शुक्रबार कलंकीदेखि सोल्टीमोड क्षेत्र, शनिबार र आइतबार कालिमाटीदेखि बल्खु क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।