विकासन्युज

प्रधानमन्त्री ओली–सिपिसी अध्यक्ष भेटवार्ता, पारस्परिक चासोका साझा विषयमा छलफल

बेइजिङ (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो । साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सीपीसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ली छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुगेका हुन् ।

१७ अंकले बढ्यो सेयर, ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । यस्तै, ३०७ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने न्याग्दी ग्रुप पावर लिमिटेड रहेको छ । मंगलबार न्याग्दी ग्रुप पावरको २६ करोड ७४ लाख रुपैयाँ बढीको करोबार गरेको छ । साथै, जानकी फाइनान्स लिमिटेडको २६ करोड ५१ लाख, बेस्ट फाइनान्स कम्पनीको २४ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको २३ करोड ८७ लाख, एनआईसी एसिया बैंकको १७ करोड २५ लाख रुपैयाँ बढीको करोबार भएको छ । यस्तै, दिव्यश्वरी हाइड्रोपावरको लिमिटेड र इगंवा हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।

अमेरिकाले युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग गर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई किभलाई आफ्नो क्षेत्रिय, स्वतन्त्रता र स्वाधिनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिएका छन् । सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनु अघि युक्रेनलाई सयौं, हजारौं तोप र थप मिसाइल लगायत महत्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गरेका छन् । पछिल्लो समयममा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ ।

घर बनाएर ५० लाखमा बेच्ने गभर्नरको आइडियामा सरकारले देला साथ ?

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री, अर्थमन्त्री वा उच्च अधिकारीसँग बस्दा गभर्नर महाप्रसाद अधिकारी एउटा आइडिया सुनाइहाल्छन्-    ‘काठमाडौंको एउटा ठाउँमा घर बनाऔं, सस्तैमा बेचौं, यसले अर्थतन्त्रमा एक किसिकको रिभाइभ ल्याउँछ ।’ उनले सरकारी उच्च अधिकारीसँग मात्रै होइन, सार्वजनिक कार्यक्रममा पनि सो आइडियालाई प्रस्तुत गर्न थालेका छन् । गभर्नर अधिकारी पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताले चिन्तित छन् । कागजमा अर्थतन्त्र सन्तोषजनक भने पनि उनले अर्थतन्त्र सही ट्र्याकमा नभएको औंल्याएका छन् । समस्यामा रहेको अर्थतन्त्रलाई कसरी लयमा ल्याउने होला ? भन्ने विषयको जवाफ उनी आफैंभित्र खोजिरहेका छन् । नेपाल राष्ट्र बैंकबाट हुन सक्ने नीतिगत सहजता उनले गरिसकेका छन् । मौद्रिक नीतिबाट दिनसक्ने राहत र सुविधा दिइसकेका छन् । ती सुविधापछि पनि निर्माण तथा घरजग्गा क्षेत्र चलायमान हुन नसकेपछि अब कसरी अगाडि बढ्ने, अर्थतन्त्रको प्राण कसरी दिनेभन्ने विषयमा सोचिरहन्छन् । गभर्नरका रूपमा आफ्नो कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदा अर्थतन्त्र सुधारको बाटो देखाएर बाहिरिन चाहन्छन् उनी । थला परेको अर्थतन्त्रलाई यही हालतमा छोडेर बाहिरिन उनको मनले मानेको छैन । त्यसैले पनि उनी अहिले सरकारी उच्च अधिकारीसँगको छलफलमा  आफ्नो आइडिया बताइहाल्छन् । केही दिनअघि काठमाडौंमा भएको एउटा सार्वजनिक कार्यक्रममा गभर्नर अधिकारीले सो आइडिया सार्वजनिक गरे । आन्तरिक छलफल तथा नीतिगत तयारीका विषयले पूर्णता नपाउँदा सार्वजनिक कार्यक्रममा बोल्न नरुचाउने उनले त्यो दिन भने आफूले उच्च अधिकारीहरुसँग सस्तोमा घर बनाएर बिक्री गर्ने आइडियाकाे विषयमा छलफल गरेकाे मञ्चबाटै उद्घोष गरे । उनले पछिल्लो समय घरजग्गा व्यवसाय समस्यामा परेको बताउँदै सो क्षेत्रलाई सुधारको लागि आफ्नो आइडियाले केही हदसम्म काम गर्ने धारणा राखे । उनले घरजग्गाको मूल्य नघट्दासम्म आर्थिक गतिविधि चलायमान हुन नसक्ने पनि बताए । उनले कार्यक्रममा भनेका थिए, ‘काठमाडौंमा ५/६ करोड कमको घर पाइँदैन । मान्छेको क्षमता १ करोडभन्दा कम छ, क्षमता कम भएको मान्छेले ४/५ करोडको घर किन्न सक्दैनन्, सरकारले घर बनाएर ५० लाख रुपैयाँमा बेच्न सक्यो भने यहाँ जसले पनि घर किन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ ।’ गभर्नर अधिकारीले सरकारले घर बनाएर बिक्री गर्न सके सहजै आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार, उपत्यका विकास प्राधिकरण र सहरी विकास मन्त्रालय लगायत निकायको समन्वयमा यो काम गर्न सकिने उनको भनाइ छ । उनले सेयर बजार र गाडीपछि लागेर अर्थतन्त्र सुधार नहुने विषय पनि प्रष्ट पारे । उनले उपत्यकाको कुनै कुनामा ५० लाख पर्ने १० हजार घर बनाएर बिक्री सुरु गर्‍यो भने सरकारलाई पनि फाइदा, घर किन्नेलाई पनि फाइदा र यसले समग्र अर्थतन्त्रमा पनि टेवा पुग्ने धारणा राखे । आफूले एक जना इन्जिनियरलाई हिसाब गर्न लगाउँदा प्रतिघर ४२ लाखमा बनाउन सकिने हिसाब निस्केको बताए । ‘एकै पटक हजार घर बनाउँदा १५ अर्ब बढीको सिमेन्ट बिक्री हुन्छ, सोहीबराबर स्टिल र इँटा बिक्री हुन्छ, हजारौंले रोजगारी पाउँछन्, अर्थतन्त्रमा स्वतः राहत मिल्छ,’ उनले भने । यसले समग्र क्षेत्रमा आर्थिक चलायमान हुने धारणा उनकाे छ । यस विषयमा सरकारी अधिकारीहरूले पनि चासो दिइएको बुझिएको छ ।

दुरुपयोगको मुद्दा टुंगो लगाउन बजार नियामकको शरणमा अडानी

काठमाडौं । अडानी समूहका धेरै कम्पनीहरूले सार्वजनिक सेयर होल्डिङसँग सम्बन्धित नियमहरूको उल्लङ्घनको मुद्दा सुल्झाउन बजार नियामक भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) लाई सम्पर्क गरेका छन् । समूहका चार सूचीकृत कम्पनीमाथि घोटाला गरी सार्वजनिक सेयर नियम उल्लंघन गरेको आरोप छ । अडानी इन्टरप्राइजेज, अदानी पावर, अदानी पोर्ट्स एण्ड स्पेशल इकोनोमिक जोन र अडानी इनर्जी सोलुसन्स अनुसन्धानमा रहेका चार सूचीकृत कम्पनी हुन् । मौरिससमा आधारित एफपीआई इमर्जिङ इन्डिया फोकस फन्ड्स (ईआईएफएफ) ले गत हप्ता २८ लाख भारुको सम्झौता रकम प्रस्ताव गरेको थियो। सेबीले यो कोष गौतम अडानीका सौतेनी भाइ विनोद अडानीसँग जोडिएको आरोप लगाएको छ । ईटीले यससँग सम्बन्धित कागजातहरू हेरेको छ । साथै, समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजका निर्देशक विनय प्रकाश र अम्बुजा सिमेन्टका निर्देशक अमित देसाईले तीन–तीन लाख भारु सेटलमेन्ट रकम प्रस्ताव गरेका छन् । अडानी इन्टरप्राइजेजले पनि यस विषयमा समाधान गर्न माग गरेको छ । सेबीले सेप्टेम्बर २७ मा कारण देखाउनुहोस् आदेश दिएपछि यी सेटलमेन्ट प्रस्तावहरू आएका हुन् । सेटलमेन्ट आवेदनले दोष स्वीकार्न गर्न वा अस्वीकार गर्न संकेत गर्दैन । इटीलाई चारवटा कम्पनीको आवेदनको बारेमा जानकारी छ तर यो सम्भव छ कि समूह स्तरमा कानूनी रणनीति बनाइएको हुनाले यसमा संलग्न सबै अडानी समूह कम्पनीहरूले सेटलमेन्टको लागि आवेदन दिएका हुन सक्छन् । घटनाक्रमसँग परिचित एक व्यक्तिले सेबीले हालसम्म सेटलमेन्ट आवेदनहरूमा कुनै निर्णय नगरेको बताए । कारण देखाऊ आदेश यी चार संस्थाबाहेक सेबीले गौतम अडानी, उनका भाइहरू विनोद, राजेश र वसन्त, भतिज प्रणव (विनोदका छोरा) र जेठाजु प्रणव भोरासहित २६ अन्य संस्थाहरूलाई कारण देखाऊ नोटिस जारी गरेको थियो । एउटा स्रोतले समूह कम्पनीहरूले आरोपहरू अस्वीकार गरेकाे बताएकाे छ र आवेदन केवल प्रक्रियाका लागि दिइएकाे छ । समूहका निकायहरूले आरोप अस्वीकार गर्दै कारण देखाऊ सूचनाको छुट्टै जवाफ पनि दायर गरेका छन् । जसको आधारमा आरोप लगाइएको छ, त्यसको आधारमा कागजपत्र जाँच्न अनुरोध गरेको स्रोतले जनाएको छ । कुरा कहिलेको हो ? यी कम्पनीहरूले दोस्रो त्रैमासको नतिजामा प्रवर्द्धकको सेयर होल्डिङलाई सार्वजनिक सेयर होल्डिङको रूपमा वर्गीकरण गरेको सम्बन्धमा कारण देखाऊ सूचना प्राप्त गरेको स्वीकार गरेका छन् । सेबीले पनि विनोद अडानी र उनका सम्बद्ध संस्थाहरूले चार कम्पनीहरूमा सेयर प्राप्त गर्न जटिल संरचनाहरू बनाएर कमाएको २ हजार ५०० करोड भारुभन्दा बढीको अवैध नाफा फिर्ता गर्न खोजेको छ । यो मामिला जुन-जुलाई २०२० को हो, जब सेबीलाई अडानी समूहका कम्पनीहरूले न्यूनतम सार्वजनिक सेयर होल्डिङ नियमहरू पालना नगरेको गुनासोहरू प्राप्त गरेको थियो । नियमअनुसार सूचीकृत कम्पनीले कम्तीमा २५ प्रतिशत पब्लिक सेयर राख्नुपर्छ । यसको उद्देश्य कम्पनीको इक्विटीको अर्थपूर्ण अंश सार्वजनिक रूपमा कारोबार भएको र सेयरको कारोबारमा पर्याप्त तरलता रहेको सुनिश्चित गर्नु हो । सेबीले २०२० को अक्टोबर २३ देखि औपचारिक जाँच सुरु गरेकाे थियाे, जसमा २०१२ को सेप्टेम्बर १ देखि २०२० को ३० सेप्टेम्मबरसम्मको लेनदेन जाँच गरिएको थियाे । (एजेन्सीहरूको सहयोगमा)

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् । उनले भने, ‘सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरूविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।’

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेजले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी मेलाको पाँचौं संस्करण बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने भएको हो । मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयर लगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ । यस बाहेक मेलामा रोबो र्‍याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्ट लगायतका गतिविधि हुनेछन् । यसअघि आइसिटी मेलाको प्रि-इभेन्टको रूपमा रिल्स र युआईरयुएक्स प्रतियोगिता सम्पन्न भइसकेका छन् । आईटीमा रूची हुने सबैले मेलाको निःशुल्क अवलोकन गर्न सक्ने छन् । मेलामा मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू प्रदर्शनमा राखिने छन् । साथै, मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ ।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन् । बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ । यस्तै, बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन् । उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् । उनी वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनमा काम गरिरहेकी छन् । प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्त्वपूर्ण भूमिका खेलेकी बीबीसीले उल्लेख गरेको छ । उद्यमशीलतालाई वातावरणीय न्याससँग जोड्नुपर्नेमा जोड दिने उनले काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आएकी छन् । वातावरण संरक्षणमा नीति निर्माणसम्म सक्रिय उनको कम्पनी ग्रामीण र शहरी क्षेत्रमा वातावरणीय प्रभावलाई कम गर्न स्थानीय तहमा काम गरिरहेको छ।