विकासन्युज

मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, मन्दिरको रकममा दुरुपयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार सिंहले विद्यालय र मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकम १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ (झन्डै २८.२५ प्रतिशत) घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए। सो रकमको केही हिस्सा उनले स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा पनि जम्मा गराएको अख्तियारले जनाएको छ ।  

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगले गर्यो राजनीतिक दलहरूसँग छलफल

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगले बिहीबार (आज) प्रमुख राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । आयोगले निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले दलहरूसँग सुझाव संकलन गरेको हो । छलफलका लागि आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजयी भएका दलहरूलाई पत्राचार गरी आमन्त्रण गरेको थियो । छलफलमा विभिन्न प्रमुख दलका प्रतिनिधिहरू सहभागी रहेका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कवीन्द्र बुर्लाकोटी र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे सहितका नेताहरू बैठकमा सहभागी रहेका छन् । छलफलमा आयोगले आसन्न निर्वाचनको तयारी, समयतालिका, मतदाता नामावली अद्यावधिक, सुरक्षा व्यवस्था, आचारसंहिताको कार्यान्वयन लगायत विषयमा जानकारी गराएको थियो । सहभागी दलका प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउन आवश्यक सुझावहरू पनि दिएका छन् । निर्वाचन आयोगले निकट भविष्यमा थप प्राविधिक र व्यवस्थापकीय विषयमा समेत दलहरूसँग छलफल गर्दै जाने जनाएको छ ।

साना किसान लघुवित्तले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्ने, १९ कात्तिकसम्म दरखास्त आह्वान

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने भएको छ । लघुवित्तले खुला प्रतिस्पर्धाका माध्यमबाट सीईओ छनोट गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।  लघुवित्तको सीईओ बन्न इच्छुकले कात्तिक १९ गतेभित्र दरखास्त दिनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्याङ्क, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा कम्तीमा स्नातक तहको उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।  यस्तै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत तह वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्यानुभव र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (५ घ) बमोजिम अयोग्य नभएको हुनुपर्ने सर्त राखिएको छ । यसअघि सीईओ रहेका डा. शिवराम प्रसाद कोइरालाको गत भदौ १३ गतेदेखि कार्यकाल सकिएपछि अहिले संस्था सीईओ विहीन छ । नयाँ सीईओ नियुक्त नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायममुकायम सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनी सचिव अनिल कृष्ण जोशीले जानकारी दिए ।

यातायात विभागको सर्भर क्षतिग्रस्त हुँदा ट्राफिकको अनलाइन सेवा ठप्प

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको तोडफोड र आगजनीका कारण विभागको अत्यन्त महत्त्वपूर्ण प्रणाली ईडीएलभीआरएस (विद्युतीय चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता प्रणाली) पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । जसका कारण ट्राफिक प्रहरीले प्रवाह गर्दै आएको अनलाइन सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।  नागरिक एपमार्फत क्यूआर कोड देखाएर ट्राफिक कारबाही गर्ने वा अनलाइन सचेतना कक्षा सञ्चालन गर्ने जस्ता डिजिटल सेवाहरू यो प्रणालीमार्फत सञ्चालन हुँदै आएका थिए । तर ईडीएलभीआरएस सर्भर नचल्दा यी सेवा अवरुद्ध भएका छन् । अबदेखि नियम उल्लङ्घन गर्दा अनलाइन ई-चलान होइन, २४ घण्टे पुर्जीमार्फत कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।  ईडीएलभीआरएस सर्भरमा क्षति पुगेपछि यातायात विभागको सम्पूर्ण डिजिटल सेवा ठप्प छ । विभागले हाललाई अघिल्ला अभिलेख वा सेवाग्राहीका कागजातका आधारमा सेवा दिने निर्देशन विभिन्न कार्यालयहरूमा पठाएको छ।  जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र तोडफोडले भौतिक संरचना मात्र होइन, विद्युतीय प्रणालीमा पनि गम्भीर क्षति पुर्‍याएको विभागको भनाइ छ ।  भवन क्षतिग्रस्त भएपछि विशेषगरी डिजिटल सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन् । ‘डिजिटल सेवाहरू हामी केही पनि चलाएका छैनौं,’ विभागका सूचना अधिकारी गणेश राईले भने,  ‘यो पूर्ण रूपमा प्रभावित छ ।’ प्राविधिक जटिलताका कारण डिजिटल सेवाहरू कहिलेबाट पुनः सुरु हुन्छ भन्ने बारेमा निश्चित जानकारी दिन विभागले सकेको छैन । म्यानुअल सेवाको तुलनामा प्राविधिक सेवाको पुनःस्थापनामा समय लाग्ने उनको भनाइ छ । सेवाग्राहीहरूले हाल कार्यालय भवनको बाहिर छेउमा राखिएका अस्थायी काउन्टरबाट सेवा लिन सक्ने राईले बताए । विभागले सर्भर मर्मत तथा पुनः स्थापना प्रक्रिया अगाडि बढाएको बताएको छ । तर कति समय लाग्ने भन्ने टुंगो छैन । यसबीचमा नागरिकले ट्राफिक तथा यातायात सेवा लिन भौतिक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । 

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो

काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब  पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ ।  २०८१ भदौ मसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । त्यतिबेला बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१.८८ प्रतिशत रहेकोमा गत भदौमा ७३.१५ प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा २५८०.७६ रहेको नेप्से सूचकांक गत भदौ मसान्तमा २६७२.२५ कायम भएको छ । गत भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७६ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । अघिल्लो वर्षको भदौमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत भदौ मसान्तमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, १ अर्ब ८३ करोड बराबरको बोनस सेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।   

वीरगञ्जमा दिपल एस०५ सार्वजनिक, सुरु भयो टेस्ट ड्राइभ र एक्सचेन्ज

वीरगञ्ज । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले वीरगन्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको दिपल एस ०५ सार्वजनिक गरेको छ । बुधबार आयोजना गरिएको समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, विरगञ्ज दिपल नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाललगायतले नयाँ दिपल एस ०५ लाई सार्वजनिक गरेका हुन् । दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो । दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ समावेश छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । दिपल एस ०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिने कम्पनीको दाबी छ । साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डसिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ । वीरगञ्जमा दिपलको नयाँ सोरुम, चारदिने टेस्ट ड्राइभ र एक्स्चेन्ज यसैबीच वीरगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा नोभस ब्रदर्स प्रालिले दिपलका अत्याधुनिक ईभीको बिक्री वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइरहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।

तिहार : सजिँदै बजार, बढ्दै चहलपहल (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ । सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ । तिहारमा टीका लाउन/लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।    

केयर रेटिङ्गस नेपालको ६० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । केयर रेटिङ्गस नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले करसहित ६० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते पुतलीसडक काठमाडौंमा दिउँसो साढे १२ बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।  यस्तै, सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्त गर्नेछ ।