काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्रले प्रधानन्यायाधीशमा मनोज कुमार शर्माको सिफारिस न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा लैजान खोजिएको आरोप लगाएका छन्।
सर्वोच्च अदालत परिसरमा मंगलबार कानुन व्यवसायीहरूले लाल्टिन बालेर गरेको विरोध प्रदर्शनका क्रममा उनले संविधान मिचेर मिलेमतोमा नियुक्ति प्रक्रिया अघि बढाइएको दाबी गरे ।
मिश्रले आवश्यक परे नेपाल बारले इजलास बहिष्कारसम्मको कदम चाल्न सक्ने चेतावनी पनि दिए ।
उनले मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको उल्लेख गर्दै न्यायपालिकामा गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरे ।
बार अध्यक्ष मिश्रले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दरपीठ गर्नु र निवेदन रोक्नु न्यायमा अवरोध भएको आरोप लगाउँदै सम्बन्धित कर्मचारीमाथि कारबाहीको मागसमेत गरेका छन् ।
प्रधानन्यायाधीशका लागि सिफारिस भएका शर्माको संसदीय सुनुवाइ अहिले संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा जारी छ ।