इतिहासमै पहिलोपटक सुनको साम्राज्य ३० ट्रिलियन पार, एनभीडीयाको भन्दा सात गुणा बढी
काठमाडौं । सुनको मूल्यले दिनहुँ नयाँ–नयाँ रेकर्ड तोड्दैछ । यो वर्ष अहिलेसम्म सुनको मूल्यमा करिब ६० प्रतिशतको वृद्धि भइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक सुनको मूल्य प्रतिऔंस ४ हजार ३०० अमेरिकी डलर पार गरेको छ । यससँगै सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । बिहीबार सुनको मूल्य ३.१२ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ३३३ अमेरिकी डलर पुग्यो । यस आधारमा सुनको बजार पूँजीकरण (मार्केट क्याप) ३०.१२४ ट्रिलियन डलर पुगेको छ । एआई चिप उत्पादन गर्ने अमेरिकी कम्पनी एनभीडीयाको मार्केट क्याप ४.४२६ ट्रिलियन डलर छ । माइक्रोसफ्टको ३.८०२ ट्रिलियन, आइफोन बनाउने एप्पलको ३.६७२ ट्रिलियन, गुगलकी मातृ कम्पनी अल्फाबेटको ३.०४१ ट्रिलियन र चाँदीको बजार मूल्य ३.००१ ट्रिलियन डलर पुगेको छ । यसरी हेर्दा चाँदी विश्वको छैटौं सबैभन्दा मूल्यवान एसेट बनेको छ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँ बढी सुनले नयाँ कीर्तिमान कायम राखेको हो । यो वर्षमात्र सुनको बजार मूल्यमा ११ ट्रिलियन डलरको वृद्धि भएको छ । गोल्डम्यान स्याचका अनुसार सन् २०२६ डिसेम्बरसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ९०० डलर पुग्न सक्छ । सुनको माग तीव्र रूपमा बढ्नुका केही प्रमुख कारण छन् । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । दोस्रो अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् ।
सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ
काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँ बढी सुनले नयाँ कीर्तिमान कायम राखेको हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, कात्तिक ३० गते डाक्यो सभा
काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ। लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। त्यसैले कात्तिक १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
कात्तिकमा थप घटाए बैंकहरूले ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिकमा पनि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । कात्तिक महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर औसत ५.२० प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो । यस्तै, कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत ब्याजदर थियो । कात्तिक महिनाका लागि १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । यस्तै, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकमा ब्याजदर स्थिर राखेका छन् ।
सडक रूग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै
काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रूग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभाग अन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनीगाहपुर तथा निर्देशनालयले ५/५ र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सडक अन्तर्गत २५८ ठेक्का रूग्ण छन् । ठेक्का सम्झौता तोड्न लागिएकोमा सबैभन्दा ठूलो झापाको कन्काई पुलको रहेको छ । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ । पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । मन्त्री घिसिङले २६ असोजमा उक्त पुल निर्माणबाट छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । ठेक्का तोड्न लागिएका सबै परियोजनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएको उल्लेख गरिएको छ । विभिन्न मितिमा लिखित तथा मौखि रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाइको ठेक्का समझौता उल्लंघन गरिएको जनाइएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र का सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।
पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइ देखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ । नेपालमा २०११ सालदेखि सामान्य रुपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रुप धारणा गरेको हो । पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ । पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो । यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहार लक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ । विशेषगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ । तिहारमा काठमाडौं उपत्यकाभित्र मात्र ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन् । फूलको प्रयोग बढिरहेको नेपालमा नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको उनको भनाइ छ । बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहर तथा देशका ५२ जिल्लामा पुष्पखेती भइरहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘नेपालको वातावारण फूलखेतीका लागि अनुकूल छ,’ उनले भने । देशभरका झण्डै २७० हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिएको छ । पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको र ५३ हजार ५०० व्यक्तिलाई रोजगार प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ । कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने २०८१/८२ मा ३ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको अध्यक्ष श्रेष्ठले बताए । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात १ करोड २ लाख १२ हजार रुपैयाँ कारोबार रहेकामा आव २०८१/८२ मा २ करोड १३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, युएईलगायत मुलुकमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ । काठमाडौं महानगरपालिकाले भने यस वर्ष स्वदेशमै उत्पादित फूललाई प्रवद्र्धन गर्ने उद्देश्यले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने नीति महानगरले लिएको बताए ।
काठमाडौं र पोखरामा मोटरसाइकल आतंक, प्रहरीको विशेष अप्रेशन
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी ध्वनि निकाल्ने कम्तीमा पनि २ सयभन्दा बढी मोटरसाइकलहरू नियन्त्रणमा लिइएको छ । भारी आवाज निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । ‘हामी सबैको जीवनशैलीमा ध्वनि प्रदूषणले प्रत्यक्ष असर पारिरहेको छ । मोटरसाइकलबाट आउने चर्को आवाजका कारण राति निद्रा लाग्न नसक्ने, तनाव हुने र समाजमा त्रासको वातावरण सिर्जना हुने अवस्था देखियो । रमाइलोका नाममा अरूलाई पीडा दिने प्रवृत्ति विरुद्ध अब कडा निगरानी गरिन्छ,’ उनले भने । सवारी तथा यातायात व्यवस्था ऐनले कम्पनीले तोकेको मापदण्ड अनुसार मात्र सवारी सञ्चालन गर्न दिने व्यवस्था गरेको भए पनि पछिल्लो समय धेरै मोटरसाइकल चालकले यो नियम उल्लङ्घन गर्दै मनपरी साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाउने गर्न थालेपछि कडाइ गर्नुपरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । पोखरामा ‘अपरेसन ३६५’ सञ्चालन, १०४ मोटरसाइकल कारबाहीमा स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत सोमबारदेखि ‘अप्रेशन ३६५’ सुरु गरेकामा हालसम्म यस्ता १०४ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रुपमा सुरु गरेको उक्त अपरेशनका क्रममा समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने २८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । १६ जना मोटरसाइकल चालकलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास सिर्जना गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार केसीले बताए । मोटरसाइकलका पार्टपूर्जाहरु फेरेर स्वरुप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खल्बलाउने जस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अपरेशन ३६५’ सञ्चालन गरेको हो । प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ । प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनियता कायम राखिने जनाइएको छ । कास्की प्रहरीले गत वर्ष पनि अभियानकै रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको थियो । स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
२ खर्बको अतिक्रमित जग्गा फिर्ता ल्याउने बालेनको लक्ष्य, २३ अर्बको जग्गा फिर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमणमा परेको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले अतिक्रमणमा परेका २३ अर्ब रुपैयाँ बराबरको २ सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको जानकारी दिए । आफू नेतृत्वमा आएसँगै महानगरले करिब २ खर्ब रुपैयाँ बराबरको १ हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने लक्ष्यका साथ काम गरिरहेको नगर प्रमुख शाहको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनःप्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए । महानगरले फिर्ता गरिएका जग्गालाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलका रूपमा विकास गर्ने कार्य तीव्रगतिमा अघि बढाइरहेको छ । सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानी मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले भोलिदेखि कार्यप्रारम्भ गर्ने महानगरले जनाएको छ । नगरप्रमुख शाहले उक्त अभियान केवल सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउनमात्र नभई सार्वजनिक सम्पत्तिमा सर्वसाधारण सबैको पहुँच बढाउन, जनताले उपभोग गर्न पाउने अधिकार स्थापित गर्न साथै स्वाभिमानको रक्षा गर्न भएको बताए ।