काठमाडौं । नागरिकले अब घरैमा बसेर प्रहरीसमक्ष उजुरी दिन पाउने भएका छन् ।
नेपाल प्रहरीको मोबाइल एपबाट नागरिकले घरमा बसेर घटनाको विवरण उल्लेख गरेर अनलाइनबाट उजुरी दिन पाउने भएका हुन् ।
उजुरीकर्ताले सम्बन्धित कुन जिल्ला तथा इलाकामा उजुरी दिन चाहेको घटनासहित अनलाइनमा उल्लेख गर्नुपर्ने प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताए ।
मंगलबार केन्द्रीय प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा नागरिक सहायता तथा गुनासो व्यवस्थापन शुभारम्भको उद्घाटन गर्दै उनले नागरिकले उजुरी दिनका लागि नेपाल प्रहरीको मोबाइल एपबाट उजुरी दिन सक्ने जानकारी दिए ।
उनका अनुसार उजुरी गरेको रिपोर्टको प्रगति विवरणको अपडेट हेर्न पाउँछन् ।
‘नागरिकले प्रहरी कार्यालयसम्म पुगेर उजुरी दिनुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘प्रहरीले पनि उजुरी पानीले भिजायो र मुसाले खायो भन्नुपर्ने दिनको अन्त्य भएको छ ।’
प्रहरीको यस्ता अपडेटले नागरिकलाई थप सहज बनाउने कार्कीले विश्वास व्यक्त गरे ।